कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कम्युनिस्ट एकता स्वाभाविक कि अस्वाभाविक ?

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल होस् अथवा अन्य दलहरूले निर्वाचनपूर्व गठबन्धन गरुन्, चुनावी अभ्यासका क्रममा यस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिनु र लिइनुपर्ने हो ।

कम्युनिस्ट एकता स्वाभाविक कि अस्वाभाविक ?

तर एमाले–माओवादी मिलनलाई त्यसरी लिइएन, किनभने तालमेलको घोषणा गर्दा त्यहाँ फुटेका, टुक्रेका कम्युनिस्टहरूलाई एकजुट बनाएर देशै कम्युनिस्टमय बनाउने उद्घोष गरियो । त्यसो गरिँदैनथ्यो भने निश्चय नै यस तालमेललाई पनि अरू राजनीतिक तालमेलझैं सामान्य रूपमा लिइन्थ्यो । अझ भनौं, यसलाई चुनावले मागेको तालमेलमात्र भनिएको हुन्थ्यो भने कुनै गम्भीर खतराको घन्टीका रूपमा लिइने थिएन । हुन पनि एमाले–माओवादीबीच पटक–पटक संयुक्त सत्ता–अभ्यास भएकै हो । ती सत्ता–अभ्यासलाई दुई कम्युनिस्टबीच एकता नभएर वास्तवमा दुई पार्टी बीचको तदर्थ सहकार्यका रूपमा बुझिएको थियो ।

तर स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एमाले र माओवादी केन्द्रले छापामार शैलीमा चुनावी तालमेलको घोषणामात्र गरेनन्, प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनपछि पार्टी एकता नै गर्ने समझदारी भइसकेको सार्वजनिक गरे । माथि पनि भनियो, चुनावी तालमेललाई कदाचित् अन्यथा लिन मिल्दैन र दुई पार्टीबीच एकता हुनु पनि कुनै उदेकै मानिहाल्नुपर्ने र तर्सिहाल्नुपर्ने विषय होइन । तर समस्या कहाँ छ भने उनीहरूले जसरी कम्युनिस्ट एक हुने उद्घोष गरे, त्यसमा उनीहरूमा दबेर रहेको साम्यवादी अधिनायकवादको युटोपियाको उद्बोधन भइरहेको पाइयो । त्यतिमात्र होइन, एकातिर कम्युनिस्ट एकताको उद्बोधन भइरहँदा अर्कोतर्फ सिद्धिएका दरबारियाहरूका चिहानमा हलचल हुनथाल्यो ।

सिद्धिएको दरबारिया चिहानमा हलचलसँगै नयाँ आशंका जन्मिए । कम्युनिस्ट के हुन् भन्ने चिनेका पुस्ता तर्सिए । नयाँ पुस्ता अलमलियो ।

कम्युनिस्टहरू आफैंलाई भने कम्युनिस्ट भनेको बडो विचित्र प्राणी हो भन्ने पक्कै थाहा नहोला । हुन पनि आफ्ना बारेमा धेरै कमलाई मात्र थाहा हुन्छ । अधिकांशलाई त विलकुल थाहै हुँदैन । त्यसैले उनीहरूलाई कम्युनिस्ट विचित्र हुन्छ, अन्यले आफूलाई कसरी हेर्छन् भन्ने थाहा नहुनु स्वाभाविक हो । कम्युनिस्ट भनेका के हुन्, कस्ता हुन्छन्, अरूले उनीहरूलाई कसरी हेर्छन्, यसबारे यहाँ म संक्षेपमा भन्ने अनुमति चाहन्छु । ईश्वर नमान्ने, धर्मलाई अफिम भन्ने, आफूमा समस्या कहिल्यै नदेख्ने, दोषजति सबै अरूमा मात्रै देख्ने अधिकांश भट्किएका आत्माहरू कम्युनिस्ट चोलामा जन्मेका हुन्छन् । नयाँ जन्ममा पनि उनीहरूमा रत्तिभर आध्यात्मिकता हुँदैन । विरलै मात्र भाग्यमानी हुन्छन्, जो यस्तो विचित्र अवस्थाबाट मुक्त भएर उज्ज्वल नक्षत्रझैं चम्किन्छन् ।

मेरा मनमा कम्युनिस्ट चोला पाएर जन्मनेहरूप्रति विशेष सहानुभूति छ । किनभने कम्युनिस्टहरू एक प्रकारले अभिशप्त प्राणीहरू हुन्, जसमा सौन्दर्यबोध विलकुलै हुँदैन । सौन्दर्यबोधलाई उनीहरू बुर्जुवा विलासिता भन्छन् । प्रेमलाई आत्मिक मिलन मान्दैनन्, विचराहरू जैविक, शारीरिक क्रीडामात्र ठान्छन् । हरेक देहमा अदृश्य सञ्चालक हुन्छ, त्यसैबाट यो सृष्टि व्याप्त छ भन्यो यदि कसैले भने यो कुरा उनीहरूको समझभन्दा पर हुन्छ । त्यसैले यस्ता तत्त्वबोधी विचारलाई बुर्जुवा बुद्धिविलास भनेर पानीखेदो गर्ने गर्छन् । जे घोकिएको, घोकाइएको छ, त्यही मान्छन् । असहमति, विरोध, प्रतिविचार, शास्त्रार्थ, वाद–प्रतिवादलाई उनीहरू बुर्जुवाहरूको मनोविनोद, सर्वहारालाई अलमल्याउने चाल ठान्छन् ।

वर्तमान विश्वमा यस प्रकारका प्राणीहरू झन्डै–झन्डै लोप भइसकेका छन् । यस प्रकारका प्राणी इसाको अठारौं शताब्दीको युरोपमा पहिलोचोटी देखापरेका र बीसौं शताब्दीको अन्तिम दशकसम्म तिनको संख्या निरन्तर वृद्धि भइरहेको देखिएको थियो । वृद्धि हुनाका कारण थिए र ती कारणहरू आर्थिक थिए । विज्ञानले गरेका एकपछि अर्को चमत्कारका कारण, त्यसबखतको युरोपमा, उत्पादनका क्षेत्रमा वाष्पचालित यन्त्रको प्रवेश भएको थियो । पुँजी अरू क्षेत्रबाट यन्त्रचालित उद्योगहरूमा केन्द्रित हुनथाल्यो । फलस्वरूप, परम्परागत व्यवसाय तथा हस्तचालित घरेलु उत्पादनका क्षेत्रबाट धेरैजसो मानिस औद्योगिक केन्द्रतर्फ स्थानान्तरित हुन बाध्य र आकर्षित दुबै भए । त्यो काल बेलालाई औद्योगिक क्रान्तिको युग भनिएको छ ।

औद्योगिक क्रान्तिसँगै उत्पादनको प्रवृत्ति र शैली बदलियो । मानिस रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरमा थुप्रिने क्रममा तीव्रता आयो एकतिर भने अर्कातिर कामदारको बढ्दो मागका चल्ते सस्तो अथवा सित्तै श्रमशोषण गर्न ग्रामीण क्षेत्रका निमुखा समुदाय र युरोपीय उपनिवेशहरूबाट बलपूर्वक दासका रूपमा ल्याइएकालाई विभिन्न उद्योगमा श्रमिकका रूपमा राखियो । त्यो काल बेलामा वास्तवमा विगतका सबै अवधारणा र कथ्यहरू विस्थापित र नयाँ मानकहरू स्थापित हुँदै थिए । वाष्प इञ्जिनको आविष्कारका कारण एकातिर उद्योगमा क्रान्ति र अर्कातिर यातायातमा नयाँ प्रविधि भित्रिँदै थियो । उन्नाइसौं शताब्दीमा त झन् घोडागाडीलाई लिकमा तानेर गुड्ने वाष्पचालित रेलगाडीले विस्थापित गर्दै थियो । पानीजहाजमा इञ्जिन जडान गरिँदै थियो ।

नयाँ प्रविधिका कारण उत्पादन र यातायातमा युगान्तकारी बदलाव आइरहँदा पनि ठूलो मानव समूह भने यस लाभबाट बञ्चित थियो । जबकि यसै समूहको श्रमका बलमा युगको यन्त्र चलिरहेको थियो । उत्पादन र उत्पादित वस्तुको बिक्रीका कारण पुँजीको आकार बढिरहेको तर त्यो पुँजी सीमित व्यक्तिमा केन्द्रित र तिनैमाझ आदान–प्रदान भइरहेको थियो । अंगणित मजदुरहरूको श्रमको चरम शोषण भइरहेको, तिनलाई मानवोचित व्यवहार त परै, जीवन धान्न नै मुस्किल परिरहेको तैपनि तिनीहरू कहिल्यै उन्मुक्ति प्राप्त नहुने शोषण चक्रमा पिसिइरहेका थिए ।

एकातिर दुर्दान्त शोषण चलिरहेको तर साथसाथै युरोपको त्यो र त्योभन्दा पूर्वको समय विज्ञानका क्षेत्रमा चामत्कारिक आविष्कार र जीवनका यावत पक्षमा बौद्धिक चेतका हिसाबले लोभलाग्दो थियो । जिन ज्याँ रूसोको सामाजिक करारको सिद्धान्त (सोसल कन्ट्राक्ट थियरी), इम्मानुयल कान्टको सार्वजनीन चेतना, फ्रेड्रिक हेगेलको उदारचेता वैचारिक मानवको परिकल्पना र तिनै हेगेलका चेला कार्लमाक्र्सको शोषणमुक्त समाजको आधारशिला राख्ने चिन्तन त्यस युगका उदात्त प्रतिनिधि विचारहरू थिए । रूसो फ्रान्सिसी क्रान्तिका उत्प्रेरकका रूपमा चिनिन्छन् भने माक्र्ससँगै इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण जन्मिएको थियो ।

रूसोले स्वतन्त्रता तथा माक्र्सले समानताको आन्दोलनको शिलान्यास गरेको मान्नैपर्छ । रूसो र माक्र्स वास्तवमा एकअर्का विरुद्ध रोजिने पात्र होइनन्, परिपुरक हुन् । तर स्वघोषित माक्र्सका अनुयायीहरूले रूसोलाई छाडे, जहाँ–जहाँ आफूलाई चाहियो, त्यहाँ–त्यहाँ माक्र्सलाई बोके । माक्र्स बोक्दा, हेगेललाई छाडे, कान्ट त तिनीहरू चिन्दै चिन्दैनथे । तिनीहरू नै प्रकारान्तरमा कम्युनिस्टका रूपमा चिनिए । माक्र्सका चिन्तनका आधारमा पछि आएर भ्लादिमिर लेनिनले रूसमा तथा माओ–जे–दुङले चीनमा प्रयोग गरे, तर एकांगी । उनीहरूले रूसो लगायतका स्वतन्त्रता पक्षधर विचारक र चिन्तकहरूलाई एक प्रकारले बहिष्कारै गरे । मूलभूत अन्तरविरोध यहींबाट प्रारम्भ भयो । किनभने स्वतन्त्रताप्रति वैरभाव राखेर समानताको लक्ष्य प्राप्ति सम्भव थिएन र भएन । तिनै लेनिन र माओको कोरा नक्कलका रूपमा भारतमा कम्युनिस्ट विचारलाई पछ्याउने समूहहरू देखिए । तिनको नक्कल र तिनैले हिन्दीमा अनुवाद गरेका किताब पढेर नेपालमा कम्युनिस्ट कथा वाचन प्रारम्भ गरियो । यो कथाका नेपाली वाचकहरूमा, मदककुमार भण्डारीलाई अपवाद मान्ने हो भने पदार्थवादी विचार प्रक्रियामै पनि मौलिक र उपल्लो चेत कहिल्यै देखिएन । किनभने यिनीहरूले माक्र्सले उसबेला तात्कालिक वर्गचरित्र अनुसार ठम्याएको वर्ग संघर्षका उपकरणहरू, वर्गचरित्र नै नितान्त भिन्न भएको नेपालमा हुबहु उतार्न खोजे । अर्कातिर तिनै मध्येको एउटा समूहले, लेनिनले नितान्त भिन्न सन्दर्भमा भनेको जातीय स्वायत्ततालाई नेपालजस्तो अन्तरजातीय अन्तरक्रियाद्वारा निर्मित घुलनशील समाजमा जातीय संघर्षका रूपमा प्रयोग गर्न खोज्यो । मैले माथि इंगित गरेका कम्युनिस्ट यिनै दुईथरी हुन् ।

वर्ग संघर्षवाला धार बोकेको पक्ष, २०४६ साल अर्थात् सन् १९९० मा आएर लोकतान्त्रिक आन्दोलनमा समावेश भयो र क्रमिक रूपमा लोकतन्त्रको मूलप्रवाहमा मिसियो । त्यही समूह वर्तमान एमाले हो । यसले आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै गयो र यस्तो प्रतीत भइरहेको थियो कि यो नै नेपाली कांग्रेसकै हाराहारी नेपालको लोकतान्त्रिक मूलधार हो । तर पछिल्लो प्रकरणले उसको वर्ग संघर्षीय युटोपिया अझै जीवितै रहेको दृष्टिगोचर हुनपुगेको छ ।

धेरै नेपालीका मनबाट एमालेको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) हो भन्ने झन्डै विस्मृत भइसकेको थियो । धेरैले बिर्सिसकेका थिए, यो पनि एउटा कम्युनिस्ट पार्टी हो । माथि भनिएझैं, यसलाई नेपाली कांग्रेसको सशक्त विकल्पका रूपमा हेरिँदै थियो । लोकतन्त्रको मियो, एउटा लोकतान्त्रिक पार्टीका रूपमा स्वीकार्ने क्रम तीव्र थियो । तर पछिल्ला घटनाक्रमले, विशेष गरेर माओवादी केन्द्रसँग तालमेल र एकताको उद्घोष गरिरहँदा दुबैका भावभंगिमाका कारण, जसको नामैमा कम्युनिस्ट छ, त्यसमाथि यो माक्र्सवादी र लेनिनवादी एकैसाथ दुबै हो, यसलाई कम्युनिस्ट रहेन, लोकतान्त्रिक भइसक्यो भन्न हतारिनु हुँदैन भन्ने सन्देश दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?