१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फूलैफूलको चाड तिहार

काठमाडौँ — कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्वितीयासम्मका ५ दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी ५ दिनलाई यमपञ्चक भनिएको हो ।

फूलैफूलको चाड तिहार

यमपञ्चकको पहिलो दिन (कागतिहार) बिहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रूपमा कागलाई पूजा गरिन्छ, कागलाई मिठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ । पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ । कागलाई हिन्दु धर्मावलम्बीले वसुधैव कुटुम्बकमको भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्छन् । भगवान विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाटोकोसेरो, सरस्वतीको वाहन हंश, कार्तिकेयका वाहन मयूर र यमको दूतको रूपमा कागलाई लिनाले पन्क्षीप्रतिको अनुराग पनि महत्त्वपूर्ण छ ।

पौराणिक रूपमा मात्र नभएर कागले सामाजिक रूपमा पनि घरगाउँमा रहेका कतिपय फोहोर–मैला खाएर वातावरण सफा गर्ने गर्छन् । पितृकार्यमा पनि मान्छेको देहावसान भएपछि अनिवार्य रूपमा कागबलि (खाना) दिने विधान छ । पौराणिक रूपमा काग भुसुन्डी नामक ऋषि प्रसिद्ध भएको र रामायणको कथा सुनाएको प्रसंग पनि अवगत हुन आउँछ ।

समुद्र मन्थन गर्दा चौध रत्नहरू समुद्रबाट निस्किए । त्यसमा आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझ मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । कात्तिक महिनाभरि पाँचैदिन घर बाहिर–भित्र ज्योति बाल्नाले अल्पमृत्यु, दु:ख, अशुभभाव नाश हुन्छ । सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ ।

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ । यस दिन बिहानै शरीरमा तेल लगाएर अपमार्गको लेप बनाई स्नान गर्नुपर्छ । विविध औषधीको प्रयोग गरी स्नान गर्नुपर्छ । पितृहरूलाई सम्झेर नदी, तलाउ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ । आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुर पूजा गर्नुपर्छ । पशुहरूमा तुच्छ रूपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवको वाहनका रूपमा लिने गरिन्छ ।

स्याव र शवलनाम गरेका कुकुरको जन्म वैवश्वत कुलमा भएको पौराणिक प्रमाण छ । यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट देखिन्छ । सनातन हिन्दु धर्मावलम्बीले यस वफादार प्राणीको सम्मान गर्दै यमपञ्चक अन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्छन् । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ ।
कुकुरको सामाजिक महत्त्व पनि छ । प्राणीहरूमा अत्यन्त तीव्र घ्राणशक्ति भएको चौपाया कुकुर हो । कुकुरको सहयोगले ठूलठूला अपराधीहरूलाई पत्ता लगाउने गरिन्छ । यो प्राणी आफ्नो स्वामीप्रति सधैं उत्तरदायी रहन्छ । धेरै खाने मांसभक्षी जनावर भए पनि थोरैमा पनि सन्तुष्ट हुने स्वभाव पाइन्छ । कुकुर तिहारले आफ्ना स्वामी (ईश्वर) प्रति सधैं वफादार रहने, सधैं चतुर, आलस्यरहित हुनुपर्ने सामाजिक दायित्वबोध गराउने सन्देश प्रदान गर्छ ।

यमपञ्चकको तेस्रो दिन कात्तिक कृष्ण अमावश्या (गाईतिहारे औंसी) लक्ष्मीपूजा मनाइन्छ । धनकी लक्ष्मी, गणेश, कुवेर आदिको पूजा गरिन्छ । मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्– दुर्भाग्यलक्ष्मी र सौभाग्यलक्ष्मी । अधर्मीमा घरमा दुर्भाग्यलक्ष्मीले बास गरेर कष्ट प्रदान गर्छिन् भने साधक सन्त पुण्यात्माको घरमा धन–धान्य, सु:ख, शान्ति प्रदान गर्छिन् । औंसीको दिन (लक्ष्मीपूजा) बिहान घरलाई लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्यलक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्यलक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ । कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकाले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्यलक्ष्मीको पूजा गर्नुपर्छ ।

त्यसपछि धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धिले युक्त भएका भगवान गणेश, कुवेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ । गाईलाई लक्ष्मीको रूपमा मानी ३३ कोटी देवताहरू गाईको शरीरमा रहने भएको हुनाले गाईको पूजाले सम्पूर्ण ३३ कोटी देवताको पूजा भएको मानिन्छ । पूजा गरिसकेपछि मिठो घाँस, कुँडो, रोटी, पसाएको हरियो धान आदि ख्वाउने गरिन्छ । बाँचुन्जेल जीवनदायिनी शक्तिको रूपमा गोरस पान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराका रूपमा गाईलाई हिन्दु धर्मले सम्मानपूर्वक विशिष्ट स्थान दिएको छ ।

यसै दिन सन्ध्याकालमा कुवेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपमालिका (दीपावली) गर्ने गरिन्छ । स्थिर लक्ष्मी, यश, कीर्ति, ऐश्वर्य, उन्नति प्राप्तिका लागि सन्ध्याकालमा कोठा, चोटा, प्रांगण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ । गाईलाई हिन्दु धर्मावलम्बीले माताका रूपमा सम्मान प्रकट गर्छन् । गाईले दूधपान गराएर मानिसको शरीरलाई हृष्ठपुष्ट गराउँछिन् । गोमूत्रपान गरी आन्तरिक वात, कफ, पित्त आदि रोग निवारण हुनुका साथै आत्मिक शुद्धि पनि गराउँछिन् । गौदुग्धलाई अमृत मानिन्छ, त्यस्तै घ्युलाई आयुर्वै ‘घृतम’भनिन्छ । त्यसैले गाईलाई माताका रूपमा, लक्ष्मीका रूपमा र हाम्रो देशमा राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिएको छ । यसै दिन साँझ महाकालीको पूजा गरिन्छ । नयाँ बहीखाताहरूमा, सरस्वतीको तथा धनियाँ, सुठो, कौडा, कमलगफा भोजपत्र आदिमा लक्ष्मीको स्थापना गरी पूजा गरिन्छ ।

यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्लप्रतिपदाको दिनलाई गोबर्धन पूजा अर्थात् गोरुतिहार भनिन्छ । यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोबरले गोबर्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्छ । गोबर्धन पूजाबारे कृष्णचरित्र भागवतमा विस्तृत चर्चा गरिएको पाइन्छ । अभिमानी इन्द्रको घमन्डलाई चुर गर्न भगवान श्रीकृष्णले गोबर्धन पूजाको परम्परा बसाएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ ।

सनातन आर्य जातिहरूले गाईलाई विशेष महत्त्व दिएर माताका रूपमा सम्मान गर्ने हुनाले तिनीहरूको चरण, घाँसपात प्रदान गर्ने क्षेत्र वा प्रकृतिलाई नै गोबर्धनका रूपमा पूजा गरिएको, संरक्षण गरिएको अवगत हुन आउँछ । यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान छ । अमावश्याको दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटीहरू आपसमा भेला भई घर–घरमा भैलो खेल्छन् । गोबर्धन पूजाको दिन र यमद्वितीयाको दिन दाजुभाइहरू मिलेर देउसी खेल्ने प्रचलन छ ।
गाउँघरमा लिंगेपिङ हाली रमाइलो गर्ने, ऋतुराज अनुजका रूपमा शारदीय समयमा वसन्त ऋतुझैं पुष्पहरू फुल्ने, खेतबारीमा अन्नबाली लहलहराउने, बाटाघाटा सफा र स्वच्छ रहने हुनाले अति नै सुन्दर समयमा यो पूजा या गोबर्धन उत्सव गरिन्छ ।

यमपञ्चकको पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ ।

दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन् । माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ । त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ ।

दाजुभाइले दिदीबहिनीलाई आफ्फ्नो अवस्था अनुसार दक्षिणा, उपहार दिने प्रचलन छ । यमपञ्चकको पाँच दिनमा क्रमश: काग, कुकुर, गौ, लक्ष्मीगोबर्धन र भाइपूजा गरी पशुपन्क्षी लगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्यता, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ ।

पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । हाम्रा पर्वहरू संसारभरि फैलिएका छन् । सुमात्रादेखि हिन्द–एसिया ब्रह्मदेश (बर्मा) देखि अजरवैजानको वाकुसम्म ज्योति र प्रकाश र फूलैफूलको पर्व, रंगीविरगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई विश्वभरि फैलिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?