फूलैफूलको चाड तिहार

डा. वासुदेवकृष्ण शास्त्री

काठमाडौँ — कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्वितीयासम्मका ५ दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी ५ दिनलाई यमपञ्चक भनिएको हो ।

यमपञ्चकको पहिलो दिन (कागतिहार) बिहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रूपमा कागलाई पूजा गरिन्छ, कागलाई मिठो लाग्ने विविध खानेकुरा दिइन्छ। कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ। पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ। कागलाई हिन्दु धर्मावलम्बीले वसुधैव कुटुम्बकमको भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्छन्। भगवान विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाटोकोसेरो, सरस्वतीको वाहन हंश, कार्तिकेयका वाहन मयूर र यमको दूतको रूपमा कागलाई लिनाले पन्क्षीप्रतिको अनुराग पनि महत्त्वपूर्ण छ।

पौराणिक रूपमा मात्र नभएर कागले सामाजिक रूपमा पनि घरगाउँमा रहेका कतिपय फोहोर–मैला खाएर वातावरण सफा गर्ने गर्छन्। पितृकार्यमा पनि मान्छेको देहावसान भएपछि अनिवार्य रूपमा कागबलि (खाना) दिने विधान छ। पौराणिक रूपमा काग भुसुन्डी नामक ऋषि प्रसिद्ध भएको र रामायणको कथा सुनाएको प्रसंग पनि अवगत हुन आउँछ।

Yamaha

समुद्र मन्थन गर्दा चौध रत्नहरू समुद्रबाट निस्किए। त्यसमा आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ। यसै दिन साँझ मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। कात्तिक महिनाभरि पाँचैदिन घर बाहिर–भित्र ज्योति बाल्नाले अल्पमृत्यु, दु:ख, अशुभभाव नाश हुन्छ। सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ।

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। यस दिन बिहानै शरीरमा तेल लगाएर अपमार्गको लेप बनाई स्नान गर्नुपर्छ। विविध औषधीको प्रयोग गरी स्नान गर्नुपर्छ। पितृहरूलाई सम्झेर नदी, तलाउ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ। आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुर पूजा गर्नुपर्छ। पशुहरूमा तुच्छ रूपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवको वाहनका रूपमा लिने गरिन्छ।

स्याव र शवलनाम गरेका कुकुरको जन्म वैवश्वत कुलमा भएको पौराणिक प्रमाण छ। यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट देखिन्छ। सनातन हिन्दु धर्मावलम्बीले यस वफादार प्राणीको सम्मान गर्दै यमपञ्चक अन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्छन्। कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ।
कुकुरको सामाजिक महत्त्व पनि छ। प्राणीहरूमा अत्यन्त तीव्र घ्राणशक्ति भएको चौपाया कुकुर हो। कुकुरको सहयोगले ठूलठूला अपराधीहरूलाई पत्ता लगाउने गरिन्छ। यो प्राणी आफ्नो स्वामीप्रति सधैं उत्तरदायी रहन्छ। धेरै खाने मांसभक्षी जनावर भए पनि थोरैमा पनि सन्तुष्ट हुने स्वभाव पाइन्छ। कुकुर तिहारले आफ्ना स्वामी (ईश्वर) प्रति सधैं वफादार रहने, सधैं चतुर, आलस्यरहित हुनुपर्ने सामाजिक दायित्वबोध गराउने सन्देश प्रदान गर्छ।

यमपञ्चकको तेस्रो दिन कात्तिक कृष्ण अमावश्या (गाईतिहारे औंसी) लक्ष्मीपूजा मनाइन्छ। धनकी लक्ष्मी, गणेश, कुवेर आदिको पूजा गरिन्छ। मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्– दुर्भाग्यलक्ष्मी र सौभाग्यलक्ष्मी। अधर्मीमा घरमा दुर्भाग्यलक्ष्मीले बास गरेर कष्ट प्रदान गर्छिन् भने साधक सन्त पुण्यात्माको घरमा धन–धान्य, सु:ख, शान्ति प्रदान गर्छिन्। औंसीको दिन (लक्ष्मीपूजा) बिहान घरलाई लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्यलक्ष्मीको प्रार्थना गरिन्छ। दुर्भाग्यलक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ। कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकाले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्यलक्ष्मीको पूजा गर्नुपर्छ।

त्यसपछि धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धिले युक्त भएका भगवान गणेश, कुवेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ। गाईलाई लक्ष्मीको रूपमा मानी ३३ कोटी देवताहरू गाईको शरीरमा रहने भएको हुनाले गाईको पूजाले सम्पूर्ण ३३ कोटी देवताको पूजा भएको मानिन्छ। पूजा गरिसकेपछि मिठो घाँस, कुँडो, रोटी, पसाएको हरियो धान आदि ख्वाउने गरिन्छ। बाँचुन्जेल जीवनदायिनी शक्तिको रूपमा गोरस पान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराका रूपमा गाईलाई हिन्दु धर्मले सम्मानपूर्वक विशिष्ट स्थान दिएको छ।

यसै दिन सन्ध्याकालमा कुवेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपमालिका (दीपावली) गर्ने गरिन्छ। स्थिर लक्ष्मी, यश, कीर्ति, ऐश्वर्य, उन्नति प्राप्तिका लागि सन्ध्याकालमा कोठा, चोटा, प्रांगण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ। गाईलाई हिन्दु धर्मावलम्बीले माताका रूपमा सम्मान प्रकट गर्छन्। गाईले दूधपान गराएर मानिसको शरीरलाई हृष्ठपुष्ट गराउँछिन्। गोमूत्रपान गरी आन्तरिक वात, कफ, पित्त आदि रोग निवारण हुनुका साथै आत्मिक शुद्धि पनि गराउँछिन्। गौदुग्धलाई अमृत मानिन्छ, त्यस्तै घ्युलाई आयुर्वै ‘घृतम’भनिन्छ। त्यसैले गाईलाई माताका रूपमा, लक्ष्मीका रूपमा र हाम्रो देशमा राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिएको छ। यसै दिन साँझ महाकालीको पूजा गरिन्छ। नयाँ बहीखाताहरूमा, सरस्वतीको तथा धनियाँ, सुठो, कौडा, कमलगफा भोजपत्र आदिमा लक्ष्मीको स्थापना गरी पूजा गरिन्छ।

यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्लप्रतिपदाको दिनलाई गोबर्धन पूजा अर्थात् गोरुतिहार भनिन्छ। यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोबरले गोबर्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्छ। गोबर्धन पूजाबारे कृष्णचरित्र भागवतमा विस्तृत चर्चा गरिएको पाइन्छ। अभिमानी इन्द्रको घमन्डलाई चुर गर्न भगवान श्रीकृष्णले गोबर्धन पूजाको परम्परा बसाएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ।

सनातन आर्य जातिहरूले गाईलाई विशेष महत्त्व दिएर माताका रूपमा सम्मान गर्ने हुनाले तिनीहरूको चरण, घाँसपात प्रदान गर्ने क्षेत्र वा प्रकृतिलाई नै गोबर्धनका रूपमा पूजा गरिएको, संरक्षण गरिएको अवगत हुन आउँछ। यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान छ। अमावश्याको दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटीहरू आपसमा भेला भई घर–घरमा भैलो खेल्छन्। गोबर्धन पूजाको दिन र यमद्वितीयाको दिन दाजुभाइहरू मिलेर देउसी खेल्ने प्रचलन छ।
गाउँघरमा लिंगेपिङ हाली रमाइलो गर्ने, ऋतुराज अनुजका रूपमा शारदीय समयमा वसन्त ऋतुझैं पुष्पहरू फुल्ने, खेतबारीमा अन्नबाली लहलहराउने, बाटाघाटा सफा र स्वच्छ रहने हुनाले अति नै सुन्दर समयमा यो पूजा या गोबर्धन उत्सव गरिन्छ।

यमपञ्चकको पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ। यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ। बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ।

दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ। त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन छ। यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ।

दाजुभाइले दिदीबहिनीलाई आफ्फ्नो अवस्था अनुसार दक्षिणा, उपहार दिने प्रचलन छ। यमपञ्चकको पाँच दिनमा क्रमश: काग, कुकुर, गौ, लक्ष्मीगोबर्धन र भाइपूजा गरी पशुपन्क्षी लगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्यता, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ।

पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ। हाम्रा पर्वहरू संसारभरि फैलिएका छन्। सुमात्रादेखि हिन्द–एसिया ब्रह्मदेश (बर्मा) देखि अजरवैजानको वाकुसम्म ज्योति र प्रकाश र फूलैफूलको पर्व, रंगीविरगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई विश्वभरि फैलिएको छ।

Esewa Pasal

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बालबालिकाको मनो

डा. धनरत्न शाक्य

नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् ।

उनीहरूमा पनि रोगकै स्वरूपको मानसिक समस्या अरूमा भन्दा कम हुँदैन । करिब २० प्रतिशतमा कुनै न कुनै खालका मानसिक समस्या हुने गर्छ । कतिपय यस्ता समस्यामा उनीहरूको व्यवहारमा गडबडी, जस्तै– चकचक गर्ने, झगडा गर्ने, तोडफोड गर्ने, भनेको नमान्ने वा नमिल्ने र असामाजिक गतिविधि गर्ने हुँदा तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक लगायतलाई मर्का परेको हुनसक्छ । उनीहरूमा आफैंलाई छट्पटी, पीडा, दु:ख अनुभव हुने अवस्था हुनसक्छ । अरू कतिपय अवस्थामा भने तिनको मानसिक, मनोवैज्ञानिक, सामाजिक, बौद्धिक विकासमा समस्या हुनसक्छ ।

भयावह बन्दै बाल मनोरोग 
एकातिर कतिपय यस्ता मनोगत समस्या यो उमेर समूहका बालबालिका र किशोर–किशोरीमा हुन्छन् भने कतिपयचाहिँ ५० देखि ७५ प्रतिशत वयस्कहरूलाई हुने रोग पनि यही उमेरमा सुरु हुने गर्छ । जीवनको सुरुवाती चरणमा शिक्षा, तालिम, सामाजिक व्यवहार, सदाचार, विवेक सिक्ने र विकास हुने बाल्यावस्था र किशोरी अवस्थामा हुन्छन्, यस अवस्थामा यस्ता रोगबाट ग्रस्त भएमा त्यसको असर शारीरिक रोग वा अस्वस्थताको भन्दा अझ गम्भीर र दूरगामी हुने गर्छ । यस्ता समस्याबाट ग्रसित बालबालिका र किशोर–किशोरी शारीरिक रोगबाट पनि बढी पीडित हुने गरेको पाइन्छ । शारीरिक रोगबाट ग्रसित बालबालिका र किशोर–किशोरी पनि मानसिक समस्याबाट पीडित हुने डर ज्यादा हुने गर्छ । 

बदलिँदो समाज, परिवार संरचना, समयको मूल्य–मान्यता, प्रचलन, अस्वस्थ प्रतिस्पर्धा, ठूला मानिसको उनीहरू माथिको पढाइ वा अरू कुराको अनुपयुक्त दबाब, देखासिकी, खुला, अनियन्त्रित सञ्चार पहुँच, हिंसा र तनाव आदि खतराजन्य तत्त्वहरू आजभोलि एकातिर बढ्दै गएको देखिन्छ भने अर्कोतिर अभिभावक र परिवारजनको साथ–सहयोग, समय, सामाजिक चालचलन आदिजस्ता बचाउका तत्त्वहरूमा गिरावट आएको महसुस गरिन्छ । 

बाल मनोरोगका जटिलता
हामीमध्ये धेरै अभिभावक, परिवार, साथीभाइ, शिक्षक, छरछिमेकलाई तिनलाई पनि यस्तो रोग लाग्न सक्छ, के कस्ता लक्षण वा अवस्थामा मनोरोग भएको बुझेर उपचारतिर लाग्नुपर्छ । 

समयमै समस्या वा रोग नचिन्दा धेरै अस्वस्थ अवस्थामै रहन्छन् । त्यसले गर्दा उनीहरूको पढाइ लगायत सामान्य दैनिकी, खेलकुद, सामाजिक अन्तरक्रिया आदिमा गिरावट आई विकलांगताको स्थितिसम्म आइपर्छ । यस्ता समस्याग्रस्त बालबालिका र किशोर–किशोरीमा शारीरिक अस्वस्थता पनि अधिक हुन्छ । तिनमा मृत्युको प्रमुख कारण आत्महत्या बढ्न सक्छ । यस्तो विषम परिस्थिति बदल्न बालबालिका, किशोर–किशोरी, तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्न जरुरी छ । हाम्रा निर्दिष्ट जिम्मेवारी र भूमिका छन् र सबैबाट तिनको निर्वाह भएमा र उपयुक्त तरिकाले व्यवस्थापन भएमा यी समस्याको पहिचान समयमै हुन सम्भव छ । उपचार र व्यवस्थापन गर्दा अधिकांश जटिलता कम हुन्छन् ।

बालबालिका, किशोर–किशोरी हाम्रा भविष्य हुन् । सुखद, प्रगतिगामी र स्वस्थ भविष्यको लागि बालमैत्री भावना, हृदय र पहुँचबारे सोचौं । बालबालिकाको मनो–स्वास्थ्य नभुलौं । बाल मनो–स्वास्थ्य प्रबद्र्धन गर्न अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले यसबारे सरोकार राखौं । यसबारे आवश्यक जानकारी राखौं । आवश्यक सीप र कला, जस्तै– रिस र तनाव व्यवस्थापन गर्न सिकौं । तिनका लागि माया, प्रेम, सद्भाव, अनुशासन, विवेक, समय, साथ र स्वस्थताको जीवनशैली र वातावरण दिने कोसिसमा जुटौं ।

कसैमा कुनै खालका व्यवहार, भावना वा विकास सम्बन्धी कुनै समस्या, लक्षण देखिएको अवस्थामा पनि इज्जतमा दाग लाग्ने, अरूबाट हेय हुने, हेपिने वा अरू धेरै खालका कारणले उपचार व्यवस्थापनतिर लाग्नबाट चुक्ने डर रहन्छ । यथार्थ तथ्य मनन गरेर उपयुक्त उपाय, उपचार र व्यवस्थापनमा लागौं । उदासीनताको डिप्रेसन, छटपटीको एन्जाइटी, पागलपनको साइकोसिस, सुस्त मनस्थिति, अटिजम, अधिक चकचकेपन जस्ता निर्दिष्ट मनोरोग मात्र होइन, हाम्रा बालबालिका र किशोर–किशोरी कतै अरूबाट हेपिएर, त्रसित भएर, यातना पाएर पीडित त भएका छैनन् ? सचेत रहौं । 

समयमै चालिएको उपयुक्त कदम र व्यवस्थापन प्रभावकारी र सुरक्षित हुने गर्छ । यी कार्यक्रम, सेवा, अभियान र कदममात्र अस्पताल वा स्वास्थ्य केन्द्रको चौघेरामा सीमित रहनुहुन्न । समाजका हरेक कुना, हरेक व्यक्ति, परिवार, विद्यालयका कोठा, जागरणका पाटीपौवा, चौतारा, चियापसल वा मन्दिर आदिको जमघट सबैतिर विभिन्न स्वरूपमा पुग्नुपर्छ । यो हाम्रालागि आवश्यक छ र सम्भव छ । भएका सेवाबारे जानकारी राखौं, तिनको अधिकतम र उपयुक्त ढंगले उपभोग गरौं । हाम्रा लागि आवश्यक तर नभएका सेवा, कार्यक्रमका लागि सम्बन्धित ठाउँमा आवाज पनि उठाऔं, पैरवी गरौं । हाम्रा बालबालिका र किशोर–किशोरीलाई सताएर हाम्रो भविष्य धमिल्याउने मानसिक रोगबारे सतर्क बनौं । 
 

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT