१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चीनमा ‘सी विचारधारा’ को युग ?

डम्बर खतिवडा

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन (अक्टोबर १८–२४) भर्खरै सम्पन्न भएको छ । कम्युनिष्ट परम्परामा सामान्यत: पार्टी महाधिवेशनका मुख्य तीनवटा काम हुन्छन् । पहिलो– विगत कार्यकालको समीक्षा गर्नु । दोस्रो– आगामी कार्यभार तय गर्नु । तेस्रो– नयाँ नेतृत्व निर्वाचित गर्नु ।

चीनमा ‘सी विचारधारा’ को युग ?

पहिलो र दोस्रो कामका लागि पार्टी नेतृत्वले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्छ । पार्टी विधान संशोधनको प्रस्ताव आउन सक्छ । महाधिवेशन प्रतिनिधिले प्रतिवेदन र प्रस्तावमाथि छलफल गरी सुझावहरू दिन्छन् । सुझावसहित प्रतिवेदन पारित भएको घोषणा गरिन्छ । नेतृत्व चयन महाधिवेशन प्रतिनिधिहरूको अधिकार भनिए तापनि निवर्तमान नेतृत्व समूहले नेतृत्वका लागि नामहरू प्रस्तावित गर्छ, महाधिवेशन प्रतिनिधिहरूले त्यसलाई अनुमोदन गरिदिन्छन् वा अस्वीकारको भोट गर्न पाउँछन् । यस विधिबाट विद्यमान नेतृत्व समूहको इच्छा विपरीत नेतृत्व परिवर्तन लगभग असम्भवझैं हुन्छ । चिनियाँ परम्परामा पार्टी महाधिवेशनमा आन्तरिक लोकतन्त्रका लागि मतदान भएको खासै बलियो इतिहास छैन । यस पटकको महाधिवेशन पनि यही परम्परा अनुरुप सम्पन्न भएको छ ।
वर्तमान पार्टी महासचिव सी चिनफिङ सन् २०१२ मा भएको १८ औं पार्टी महाधिवेशनबाट पहिलोपटक पार्टी प्रमुख भएका थिए । चिनियाँ शासन पद्धति अनुसार १० वर्ष अर्थात् दुई कार्यकालमात्र एक व्यक्ति पार्टी प्रमुख हुनसक्छ । यस अघिका महासचिव हु जिन्ताओले १८ औं महाधिवेशनमा कार्यकाल पूरा गरेका थिए । सी त्यही अवसरमा पार्टी महासचिव भए । अहिले सीले पहिलो कार्यकाल पूरा गरेका छन् । दोस्रो कार्यकालका लागिसमेत अनुमोदित भएका उनी सन् २०२२ सम्म पार्टी प्रमुख रहनेछन् ।

चिनियाँ सत्ता सन् १९४९ यता ‘एक पार्टी राज्य’ हो । चीनको संविधानमा वैधानिक सत्ता सञ्चालक दलका रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको नाम उल्लेख गरिएको छ । त्यहाँको सत्ताको विद्यमान संरचना अनुरुप पार्टी प्रमुख, राष्ट्रपति र सैन्य आयोगको अध्यक्ष मुख्य पदहरू हुन् । पार्टी प्रमुख, राष्ट्रपति वा सैन्य आयोगको अध्यक्ष सर्वोच्च जनसंसदबाट निर्वाचित हुनुपर्छ । तर त्यो एक प्रकारको औपचारिकता मात्र हो । संविधानले राष्ट्रपति र सैन्य आयोगको कार्यकाल तोकेको छैन । तर पार्टी प्रमुख नै जनसंसदबाट राष्ट्रपति चुनिने हुँदा राष्ट्रपतिको कार्यकाल पनि दुई अवधिको जस्तो हुनपुगेको छ । सी चिनफिङ वर्तमान चिनियाँ सत्ताका तीनवटै ठूला पदका प्रमुख हुन् । पार्टीको १९ औं महाधिवेशनले यी तीन पदमा उनको दोस्रो कार्यकालका लागि बाटो खोलिदिएको छ ।

यी त महाविधेशनका प्राविधिक तथा सांगठनिक पक्षहरू मात्र हुन् । मुख्य प्रश्न भने चिनियाँ सत्तामा असीमित रूपले बढ्दो सीको शक्ति र उनले लिने राजनीतिक कार्यदिशा नै हो । विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा चीनको उदय, भ्रष्टाचार विरुद्धको आक्रामक कारबाही र ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ जस्तो महत्त्वाकांक्षी योजनाले सीको सत्तालाई निकै मजबुत बनाइदिएको छ । चिनियाँ सञ्चार माध्यमहरूले उनलाई ‘एक्काइसौं शताब्दीका माओ’ भन्न थालेका छन् । अझ रोचक कुरा के छ भने सी चिनफिङले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादी विचारधारा’ नामको ‘नयाँ सिद्धान्त’ प्रतिपादन गरेको जश लिन खोजेका छन् । कम्युनिष्ट परम्परामा यसरी सिद्धान्तहरू पार्टी विधान र दस्तावेजमा औपचारिक मान्यता दिने कामको ठूलो महत्त्व हुन्छ । नयाँ चिन्तक, सिद्धान्तवेत्ता र युगको मार्गदर्शकका रूपमा स्वीकार गरेको मानिन्छ । सी चिनफिङले आफ्ना सिद्धान्तलाई ‘सी चिनफिङ विचारधारा’का रूपमा वैधानिक मान्यता दिलाउने प्रयास गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा आजसम्म दुई नेताको नाममा मात्र यस्तो सिद्धान्त प्रचलित भएको पाइन्छ : माओ त्सेतुङको नाममा ‘माओ विचारधारा’ र देङ सियाओ पिङको नाममा ‘देङ सिद्धान्त’ । एक चिनियाँ विश्लेषकका अनुसार सन् १९४९ यताको ‘कम्युनिष्ट चीन’लाई तीन युगमा बाँड्न सकिन्छ । माओ युग, देङ युग र सी युग । माओले चीनमा कम्युनिष्ट सत्ता स्थापना गरे । क्रान्तिकालमा उनले ‘नयाँ जनवादी क्रान्ति’ ‘जनयुद्धको सैन्य रणनीति’, ‘संयुक्त मोर्चाको अवधारणा’, ‘संयुक्त जनवादी अधिनायकत्व’ र ‘तेस्रो विश्वको सिद्धान्त’ जस्ता अवधारणाहरू प्रतिपादन गरेका थिए । क्रान्तिपछि उनले ‘चिनियाँ समाजको छलाङमय समाजवादीकरण’, ‘निरन्तर क्रान्ति’ र ‘सांस्कृतिक क्रान्ति’ जस्ता अवधारणा पस्किए । माओका यी अवधारणामध्ये कतिपयलाई आज चिनियाँ कम्युनिष्ट पार्टीले मान्छ, कतिपयलाई मान्दैन । तर समग्रमा ‘माओ विचारधारा’लाई भने मार्गदर्शक सिद्धान्तका रूपमा वैधानिकीकरण गरिएको छ ।

‘देङ सिद्धान्त’ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को मार्गदर्शक सिद्धान्त हो । सांस्कृतिक क्रान्तिको असफलतापछि देङ सिआओ पिङले चिनियाँ समाज र अर्थतन्त्रको ढाँचालाई नयाँ मोड दिएका थिए । राजनीतिक सिद्धान्तका हिसाबले माओझैं देङ पनि ‘एक पार्टी राज्य’कै पक्षधर थिए । सन् १९८९ मा तियानमेन चोकमा भएको लोकतन्त्रवादी विद्यार्थी आन्दोलनलाई देङले निर्मम दमन गरे । तर कृषि कम्युनको अन्त्य र जमिनको निजीकरण, निजी स्वामित्वलाई मान्यता, ‘चार आधुनिकीकरण’, चिनियाँ विशेषता सहितको समाजवादका लागि ‘बजार अर्थतन्त्रमा आधारित समाजवाद’को पक्षपोषण, सैन्य क्षमताको सामरिक अभिवृद्धि, वैदेशिक पुँजी र प्रविधिका लागि खुल्लापन, अर्थतन्त्रको भूमण्डलीकरण, देशीय उद्योगहरूको विविधीकरण र उत्पादकत्व वृद्धि आदि देङका मुख्य नीतिहरू थिए । देङकै नीतिहरूको कारण चीनको वर्तमान आर्थिक तरक्की सम्भव भएको एकथरी विश्लेषकहरूको ठहर छ ।

देङ र सी चिनफिङको बीचमा झियाओ झमिन र हु जिन्ताओ जस्ता नेताहरूको भूमिका प्रमुख थियो । यी नेताहरूले कुनै भिन्नै वाद, विचारधारा र सिद्धान्त स्थापित गर्ने महत्त्वाकांक्षा राखेनन् । देङका असल उत्तराधिकारीका रूपमा उनीहरूले आफ्नो कार्यकाल पूरा गरे । सीले भने आफ्नो शासनकालमा केही नयाँ नारालाई लोकप्रिय बनाए । तीमध्ये ‘महान चीनको सपना’, ‘सन् २०५० सम्म चीनलाई संसारकै सबभन्दा सभ्य, भव्य र समुन्नत समाजवादी राष्ट्र बनाउने र विश्वको नेतृत्व गर्ने’, ‘चिनियाँ समाजवादमा भ्रष्टाचार सह्य हुँदैन, घुस लिने र दिने दुबैलाई कारबाही हुन्छ’ र ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मुख्य छन् । तर के यतिकै कारणले ‘सी चिनफिङ विचारधारा’ माओ विचार र देङ सिद्धान्तझैं मार्गदर्शक सिद्धान्त बन्न सक्ला ? यदि हैन भने ‘सी चिनफिङ विचारधारा’का आधारतत्त्वहरू के हुन् भन्ने जिज्ञासा सर्वत्र छाएको छ ।

सी उदार लोकतन्त्रका प्रस्ट विरोधी हुन् । तसर्थ उनले ‘बहुदलीय लोकतन्त्र’को बाटो समात्ने कुनै संकेत देखिएका छैनन् । पश्चिमा लोकतन्त्रका सात पक्षहरू ‘दलीय स्वतन्त्रता, नागरिक समाजको पहलकदमी, प्रेस स्वतन्त्रता, उदारवादी बजार अर्थतन्त्र, राजनीतिक सुधार, मानवअधिकारका विश्वव्यापी मान्यता र चिनियाँ इतिहासको लाञ्छनापूर्ण आलोचना’लाई उनी ‘चिनियाँ परम्पराका महान पक्षहरू’लाई ध्वस्त बनाउने षडयन्त्रका रूपमा हेर्छन् । यी विचारलाई उनले ‘पश्चिमा तातो हावा’ भन्ने गरेका छन् । पश्चिमा हावा आफ्नो देशमा छिर्न नदिने, त्यसको ध्वंसबाट देशलाई जोगाइछाड्ने उनको दृढ संकल्प छ । यहाँनेर अझ रोचक कुरा के छ भने आफ्नो भाषणमा सीले चिनियाँ शासन प्रणालीलाई एक आदर्श प्रणालीका रूपमा चित्रण गर्दै चीनबाट विश्वले प्रेरणा लिएर शासन प्रणालीमा सुधार गर्नसक्ने बताएका छन् । त्यसो भए ‘सी चिनफिङ विचारधारा’का रूपमा उनले कस्ता विचार पद्धतिलाई अगाडि बढाउलान् त ? कि यो एक शक्तिशाली नेताको ‘अमरत्वको रहर’बाट सिर्जित प्रोपोगन्डा मात्र हो ? अहिले नै यसै भन्न सकिन्न ।

कतिपय विश्लेषकहरूका अनुसार चीनको आर्थिक विकास र भूमण्डलीय संसर्घसँगै चिनियाँ जनताको जीवनशैलीमा आउने परिवर्तनबाट सी चिन्तित छन् । उनको अर्को चिन्ता एउटा उदीयमान शक्तिराष्ट्र सोभियत संघझैं हेर्दाहेर्दै ध्वस्त हुने अवस्थामा नपुगोस् भन्ने पनि हो । अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभका ‘ग्लास्तनोस्त’ र ‘पेरेस्त्रोइका’ जस्ता नीतिहरू सीका लागि ग्राह्य छैनन् । उनी चिनियाँ समाजमा कम्युनिष्ट पार्टीको पकड अझ मजबुत बनाउन चाहन्छन् । अनुशासन र नैतिक जीवन उनले जोड दिन चाहेको एउटा पक्ष हो । शास्त्रीय माक्र्सवादी दर्शनमा गहिरो दख्खल राख्ने सी कम्युनिष्ट भौतिकवादको परम्परासँग सहमत छैनन् । नैतिक जीवन पद्धतिका लागि आध्यात्मिक शिक्षा अनिवार्य छ भन्ने उनको ठहर छ । तसर्थ कन्फुसियस, ताओ, बुद्धिजम लगायत पुराना चिनियाँ दार्शनिक परम्पराहरूको पुनर्उन्नयनमा उनले जोड दिने गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा उनले गरेको लामो भाषणमा मुख्यत: सातवटा कुरामा जोड दिइएको छ ।

पहिलो– कम्युनिष्ट पार्टी, चीन राष्ट्र र समाजवादी सिद्धान्तको सम्बन्धलाई अन्योन्याश्रित कडीका रूपमा व्याख्या गर्नु । ‘पार्टी रहेन भने चीन राष्ट्र नै रहने छैन, समाजवाद पनि रहने छैन’ भन्ने उनको विचार छ । पार्टीको रक्षा पार्टीका लागि नभएर ‘महान चीन राष्ट्र’ र ‘समाजवादको जीवित दृष्टान्त’का लागि हुनुपर्ने उनको तर्क छ ।

दोस्रो– चीनको अन्तर्राष्ट्रिय पहुँचलाई सहज गर्न हङकङ र मकाओमाथिको राजनीतिक प्रभाव बढाउने, ताइवानलाई चीनको मूलभूमिमा फर्किन बाध्य पार्ने उनको नीति देखिन्छ । चीनले अपनाउँदै आएको ‘एक देश, दुई प्रणाली’ अन्त्य गर्दै ‘एक देश, एक प्रणाली’ नीति लागू गर्ने आकांक्षा सी विचारमा देखिन्छ ।

तेस्रो– भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तीव्र पार्ने योजना छ ।

चौथो– चिनियाँ सेना चीनको सार्वभौमसत्ताको प्रतीक हो, सेनाको क्षमता राष्ट्रको अखण्डतासँग जोडिएको हुँदा सेनाको क्षमता विकासमा कुनै कसर बाँकी नराख्ने उनको मनसाय छ ।

पाँचौं– आउँदो ३० वर्षभित्र चीनलाई संसारको सबभन्दा शक्तिशाली र धनी राष्ट्र बनाउने लक्ष्य छ । यसका लागि आर्थिक लक्ष्य र रणनीतिहरू निर्धारण गरिएका छन् । चीनलाई भूमण्डलीय लगानीको प्रमुख केन्द्र बनाउने र विदेशी कम्पनीहरूलाई पक्षपात नगर्ने उनले बताएका छन् ।

छैठौं– गरिबी निवारण र सुविधा सुपुर्दगीको प्रभावकारिता हो । सीले ‘असन्तुलित आर्थिक विकास’लाई चिनियाँ समाजको मुख्य अन्तरविरोधका रूपमा चित्रण गरेका छन् । आर्थिक तथ्यांकले चीनमा खर्बपतिहरूको संख्या ३०० पुग्न लागेको देखाउँछ । धनी र गरिब बीचको दूरी देखाउने गिन्नी कोफिसियन्ट ०.५ भन्दा माथि छ । निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशतभन्दा बढी जनसंख्या छ । यी सबै तथ्यांक पुँजीवादी भनिएको अमेरिकाका भन्दा खराब हुन् । सीले यस्ता पक्षलाई चिनियाँ समाजवादको चुनौतीका रूपमा लिएका छन् ।

सातौं– माक्र्सवादी परम्परामा भएको समाजवादको अवधारणालाई चिनियाँकरण गर्नु र समाजवादलाई चिनियाँ विशेषता भएको समाजवादका रूपमा उभ्याउने उनको दार्शनिक आकांक्षा हो । अहिलेसम्म सतहमा आएका कुरा यिनै हुन् । यी पक्षहरू चिनियाँ सन्दर्भमा कम महत्त्वपूर्ण अवश्य छैनन् । तर सीको आकांक्षा अनुरुप उनको विचारले चीनमा नयाँ युगको निर्माण गर्छ/गर्दैन, त्यो त पर्खिएर नै हेर्नुपर्छ ।

प्रकाशित : कार्तिक ८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?