१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अबको यक्ष प्रश्न– हामी आफैंलाई

मल्ल के. सुन्दर

काठमाडौँ — बलिदान, त्याग, समर्पण, सेवा भावको शब्दार्थ शब्दकोशमा त हामी पाउँछौं । तर राजनीतिक वृत्तमा अहिले यिनका कुनै अर्थ छैनन् । २००७ सालको जनक्रान्तिको कुरा अलि पुरानो भयो होला अहिले ।

अबको यक्ष प्रश्न– हामी आफैंलाई

तर क्याप्टेन यज्ञबहादुर, राम, लक्ष्मण तथा दुर्गानन्द झा आदिका सम्बन्धमा कांग्रेसजनलाई सम्झाइरहनुपर्ने चरित्र होइन । रत्नकुमार वान्तवा, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइँकेल झापाली आन्दोलन पृष्ठभूमि भएकाहरूका लागि चीरस्मरणीय व्यक्तित्व हुनुपर्ने हुन् । रोल्पाबाट बम र बन्दुक पड्काएका माओवादीका लागि यसरी सम्झिनुपर्ने सहादत हुनेका पंक्ति त झन् लामो छ । अनगिन्ती सहिद तथा नेता/कार्यकर्ताको कुर्वानीबाट जुन जस्केलो खोले, त्यसैको धरातलमा उभिएको हो, अहिलेको राजनीतिक विरासत । आजको संघीयता, लोकतान्त्रिक गणतन्त्र रातारात कुनै एकाध नेतृत्वको करामतले प्रकट भएको अवस्था होइन । यो सबैमा चेतना भएको हो ।

नयाँ संविधान अभ्यासको क्रममा छ, मुलुक । परिवर्तित प्रणाली अन्तर्गत स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । अब प्रदेश र केन्द्रका लागि चरणबद्ध निर्वाचन हुन गइरहेको छ । यसपछि नयाँ संविधानको स्थायित्व, दिगोपना सुनिश्चित हुनेछन्– मूल प्रवाहका राजनीतिक शक्तिहरूले यसै भनिरहेका छन् । एउटा राजनीतिक प्रणालीबाट अर्को नयाँ प्रणालीतिर उन्मुख भइरहेको अहिलेको जस्तो संक्रमणकालीन अवस्थामा सर्वसाधारणको मनोबल उकास्न र विश्वस्तता दिलाउन यस प्रकारको आश्वासन आवश्यक हुंँदो हो, हाम्रा राजनेताहरूले त्यसै गरिरहेका छन् ।

लामो समयदेखिको जनचाहना, पटक–पटकको जनआन्दोलन, सशस्त्र संघर्षपश्चात स्थापित लोकतान्त्रिक अधिकार, परिवर्तित राजनीतिक व्यवस्था, न्याय तथा स्वतन्त्रता अबबाट संस्थागत होस् भन्ने चाहनाका कारण निर्वाचनमा नागरिकले पनि आफ्नो सहभागितामा त्यतिकै उत्साह देखाइरहेका छन् । यो सकारात्मक पक्ष नै हुन् । तर चुनाव सहभागिताको अवसरमात्र होइन, प्रतिनिधि चयन गर्ने एउटा लोकतान्त्रिक पद्धति पनि हो । सही प्रतिनिधित्वको छनोट मतदानको एकमात्र अभिष्ट हो । त्यसैले लोकतन्त्रमा मतदातालाई सार्वभौम, सर्वशक्तिमान शक्तिका रूपमा बुझिन्छ । यति हुंँदाहँुंदै पनि प्रतिनिधि छनोटका मैदानमा दलीय मोहमा मतदाताहरू विकल्परहित माखेसाङलोमा पँmस्दो रहेछ । यसका भुक्तभोगी हामी हौं ।

पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेका भ्रष्ट, फौजदारी अपराधका अभियुक्त, आपराधिक पृष्ठभूमिबाट माथि आएका, राजस्व हिनामिना गर्ने व्यापारी, कालाबजारिया आदि पनि संसद, संविधानसभाका सदस्य बन्न सफल भए । आफ्नो क्षेत्रको प्रतिनिधिका रूपमा त्यस स्थानसम्म पुर्‍याउने काम हामै्र मताधिकारले गरेका हुन् । केवल, दलप्रतिको मोह अनि आफ्नो दलको उम्मेदवार भएको भावुकतामा आँखा चिम्लियौं र दिल खोलेर त्यस्ता कलंकितहरूलाई छान्न आफ्नो दलको चिन्हमा स्वस्तिक छाप लगायौं ।

लुकेको छैन, त्यसको परिणाम । क्षण–क्षणमा दलीय अनुशासनको आग्लो तोडेर एक दलबाट अर्को दलको पर्खाल नाघ्ने भँडुवा अनि मुसा प्रवृत्तिको विगविगी । सदैव अस्थिर सरकार, अनिश्चित राजनीति । सत्ता, शक्ति प्राप्तिका लागि शीर्षासन गर्न पनि तयार राजनेताहरू नेपालजस्तो दरिद्रतम आर्थिक हैसियतको मुलुकमा कहिले ६ जनासम्म उप–प्रधानमन्त्री पदको सिर्जना गर्छन्, कहिले ६४ जना मन्त्रीहरूको लाम कस्छन् । सत्ताको लागि कार्यगत एकता र राजनीतिक तालमेलको नाममा उग्र दक्षिणपन्थी र उग्र वामहरूको हातेमालो बन्छ । प्रजातान्त्रिक समाजवाद र कट्टर हिन्दु तथा राजतन्त्रका पृष्ठपोषक शक्तिहरू चोचोमोचो गर्छन् । राजनीतिमा निष्ठाको कुरा छैन । सिद्धान्त र आदर्शको अवसान भए । तर पनि पार्टीको केन्द्रीय कार्यालयमा फहराइएको हँसिया–हथौडा अंकित झण्डाको आकृतिमा मोहित हँुंदै अझै वामको बिल्ला लगाउन रहर गरिरहेका छन् । बीपीको समाजवादलाई कमल थापाको राजतन्त्र र हिन्दुत्वसँग सौदाबाजी गरिसकेकाहरू अझै पनि आफ्नो कारोबारमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका चित्र राजनीतिक विज्ञापनका लागि उपयुक्त सामग्री ठान्छन् ।

अहिले चुनावको चटारो छ । सबै दल उम्मेदवार चयनमा ब्यस्त छन् । समानुपातिक र प्रत्यक्ष निर्वाचन । केन्द्र र प्रदेशको निर्वाचन । सयौं व्यक्ति प्रत्येक दलबाट उम्मेदवार बन्नेछन् । हिजोका दिनमा भए दलको राजनीतिलाई बोकेर संघर्षरत व्यक्तिको खोजी यस्तै ऐनमौकामा हुन्थे । विगतका त्याग, तपस्या, बलिदानको मूल्याङ्कन गरिन्थ्यो । मतदाताको अपेक्षा पनि यस्तै व्यक्तिहरू आफ्नो उम्मेदवारका रूपमा पाओस् । तर सञ्चार माध्यमहरूबाट सूचना सम्प्रेषण भइरहेका छन्, विभिन्न सञ्चार माध्यममा समाचार पढ्न पाइरहेका छन् । दलहरूले आफ्ना उम्मेदवारका रूपमा सिफारिस गर्न लागेकाहरूको नामावली सार्वजनिक भइरहेका छन् । त्यस्तै निर्वाचनका लागि दलको टिकट पाउने प्रलोभनमा पनि एक दलबाट अर्को दलमा मेलापात गर्नेहरूको लर्को छ, अब सिद्धान्त र आस्थाको कुरा एका देशको कथा भइसके ।

सार्वजनिक भइरहेका उम्मेदवारका जेजति नामावली छन्, एकातिर केही कुख्यात डनहरूसमेत अग्रपंक्तिमा छन् । अनि कालोधनका मालिक, कालोबजारिया, भूमाफिया, मानवतस्कर, आपराधिक प्रवृत्तिका राजनीतिज्ञ, भ्रष्ट, घुसिया आदिका नाम विशेषत: समानुपातिक सूचीमा अंकित छन् । हिजोका त्यागी, योद्धा, नि:स्वार्थ कार्यकर्ता तथा नेताहरू यस्तै चरित्रको पेलमपेलमा छन् । दलका नेताहरूको अविवेकीपन र अनैतिकताको यो पराकाष्ठा हो ।

दलको अर्थ नेता पंक्तिमात्र अवश्य होइन । अधिनायकत्ववादी, तानाशाही नेतृत्व भए अर्कै कुरा हो । प्रश्न हो, दलका अन्य इमानदार, कर्मठ, सिद्धान्तनिष्ठ कार्यकर्ता पनि यस्तोमा किन विद्रोहका आवाज उठाउँदैनन् ? किन सार्वजनिक रूपमा आफ्ना निष्ठाका कुरा अभिव्यक्त गर्दैनन् ? किन यो मौनता ? हुन न हो, कतै यो दलीय दासता हो ?

मुखमा छ, निर्वाचन । मताधिकार हामी आफैमा सुरक्षित छ । विगतमा जस्तो बुथ कब्जा गर्ने अवस्था आज छैन । सर्वत्र त्रास र मुढेबलको स्थिति पनि छैन । विवेक प्रयोग गर्न मतदाता स्वतन्त्र छन् । एकातिर पैसा, प्रलोभन, सुविधा र झुठ्ठा आश्वासनका ठेली । क्षणिक लाभ । अर्कोतिर सार्वमौम मतदाताको दायित्व भूमिका र निर्णय शक्ति । अहिले त्यसकै परीक्षणको बेला छ । दलले टीका लगाइदिएको भरमा आफनो मान्छेको साइनो गाँस्ने वा वर्तमान कालखण्डमा मुलुकले खोजेको पौरखको पहिचान गर्ने ?

तसर्थ अबको यक्षप्रश्न हामी आम मतदाताप्रति नै हो । दलको उम्मेदवारको नाताले आँखा चिम्लिएर पार्टीको चुनाव चिन्हमा छाप ठोकेर दलीय दासता देखाउँछौं कि व्यक्तिको हैसियत, चरित्र, नैतिकता र योग्यता विचार गरेर सही प्रतिनिधिको छनोट गर्ने सार्वभौमिक अधिकारको परिचय दिन्छौं ।

‘एउटा मत राइफलजस्तै हो, यसको उपादेयता यसको प्रयोगकर्तामा निर्भर गर्छ’– अमेरिकी पूर्व राष्ट्रपति रुजवेल्टको भनाइ जतिकै सही हो, हाम्रो आजको प्रसङ्गमा । हिजोसम्म हामीले हामीसँंग भएको राइफलरूपी मताधिकारलाई सही प्रयोग गर्न जानेनांै, त्यसको परिणाम हामीले नै हस्तान्तरण गरेको राइफल हाम्रैविरुद्ध प्रयोग हुने अवस्था बने ।

नेपाली समाजमा एउटा प्रचलन नै बनिसकेको छ, मुलुकमा कहीं कतै खराब काम भएमा, कुरा बिग्रिएमा, समस्या भएमा वा देशको विकास अवरुद्ध बनेकोमा आँखा चिम्लिएर धारेहात लगाउँदै नेताहरूलाई सराप्न थाल्छौं । नेताहरूको भ्रष्ट आचरणका सम्बन्धमा हजार कुरा गर्छाैं । फुर्सतका बेला सामाजिक सञ्जालमा तथानाम गालीगलौजका भाषा पनि प्रयोग गर्छौं ।

इमानदार बनौं । हामी आफैले आफूतिर नियालौं । मताधिकारलाई प्रयोग गरेर ती व्यक्तिहरूलाई दलीय आग्रहमा हाम्रा प्रतिनिधिका रूपमा त्यो स्थानमा पठाउने हामी नै थिएनौं र ? फेरि पनि यक्षप्रश्न हामी आफैसंँग– अब पनि हामी दलीय दासता स्वीकार्छाैं वा आफ्नो स्वतन्त्र अस्मिता जाहेर गर्छौं ? आगामी निर्वाचन हाम्रालागि त्यसैको एक परीक्षण हो ।
स्वाभाविक हो, हामीले हाम्रालागि बेलैमा राम्रा प्रतिनिधि चयन गर्न नसक्दा छचल्किएको धमिलो पानीमा माछा मार्ने दाउमा पूर्वराजा ज्ञानेन्द्र जस्ताको अतृप्त सत्तामोह फेरि जाग्छ नै ।

प्रकाशित : कार्तिक ८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?