बैंकिङ सुरक्षामा ध्यान देऊ
एनआईसी एसिया बैंकको विदेशमा रहेको खाताबाट रकम चोरी भएको विषयले समग्र वित्तीय क्षेत्रको सुरक्षामा प्रश्न उठाइदिएको छ । उक्त घटनालगत्तै नेपाल राष्ट्र बैंकले थालेको अनुसन्धान, छलफल र अन्य वित्तीय संस्थाले गरेको पहलले सुरक्षामा चासो बढेको देखिन्छ । सँगसँगै धेरै वित्तीय संस्थाहरूमा बढेको त्रासले सूचना–प्रविधिलगायतका क्षेत्रमा सुरक्षा जोखिम पनि रहेको देखाउँछ ।
बैंक–वित्तीय संस्था भनेका सर्वसाधारणको रकमबाट चल्ने निकाय हुन् । सर्वसाधारणले आफूसँग राख्दा रकम असुरक्षित हुने र केही हदसम्म भए पनि ब्याजका रूपमा प्रतिफल पाउने आशामा त्यहाँ रकम जम्मा गरेका हुन्छन् । तर ती संस्थाबाट पनि रकम चोरी हुन थालेकाले त्रासको वातावरण बन्न थालेको छ ।
पहिले सञ्चालक आफैं वा पहुँचवालाले ऋण नतिर्ने जोखिम बढी थियो, जसले गर्दा सर्वसाधारणको बचत हिनामिना भएर केहीले रकम गुमाएका उदाहरण पनि छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडजस्ता सरकारी बैंक उकास्न दातृ निकायको ऋण नै लिनुपरेको थियो । बढ्दो चेतना स्तर, राष्ट्र बैंकको तदारुकता र दातृ निकायहरूको ताकेताले त्यो जोखिम केही कम भएको छ । पछिल्लो समयमा बढेको प्रविधिको प्रयोगसँगै नयाँ जोखिम पनि थपिएको छ । एटीएम कार्ड दुरुपयोग भएर सर्वसाधारणको रकम हिनामिना हुने क्रम रोकिएको छैन । केही वर्षअघि हिमालयन बैंकमा त्यहींका कर्मचारीको संलग्नतामा कार्डमार्फत सर्वसाधारणको रकम चोरी भएको थियो । पछिल्लो समय विदेशी नागरिकको समेत संलग्नतामा कार्डबाट रकम चोरी भइरहेको छ र कतिपय कारबाहीको दायरामा पनि आएका छन् । एनआईसीको विषय भने बढी संवेदनशील छ । भलै उक्त बैंकबाट सर्वसाधारणको रकम चोरी भएको होइन, तर यसको असर बैंकको मुनाफादेखि सञ्चालनसमेतमा पर्नेछ, जसले बचतकर्ता र सेयरधनीको प्रतिफलमा पार्ने जोखिम छँदै छ ।
एनआईसीको विदेशी बैंकहरू विशेष गरी स्ट्यान्डर्ड चार्टर्ड र मसरेक बैंकमा रहेका खाताबाट अनधिकृत रूपमा रकम अवाञ्छित व्यक्ति वा संस्थाको खातामा सारिएको प्रारम्भिक अध्ययनले देखाएको छ । राष्ट्र बैंकका अनुसार रकम स्थानान्तरणकै अवस्थामा रहेकाले सम्बन्धित देशका केन्द्रीय बैंक र फाइनान्सियल इन्फरमेसन युनिट (एफआईयू) सँगको सहकार्यमा धेरै रकम फिर्ता ल्याउन सकिएको छ । ‘स्विफ्ट’ भनिने अन्तर्राष्ट्रिय कारोबारमा सूचना प्रदान गरी रकम भुक्तानी दिने प्रणालीमा यसपटक आक्रमण भएको हो । स्विफ्टबाट ‘हयाक’ भयो वा बैंकको ‘सर्भर’ माथि नै आक्रमण भएको हो, त्यसबारे खुलाइएको छैन । कुनै न कुनै रूपमा बैंकबाट भुक्तानी दिनु भन्ने सूचना विदेशी बैंकमा पुगेर उनीहरूले भुक्तानी दिएको हो । यसले प्रविधिमाथि हयाकरको सहज पहँुच बढ्न थालेको देखाएको छ ।
एनआईसीको विदेशी बैंकमा रहेको रकममध्ये जम्मा ४६ करोड रुपैयाँ सार्न खोजिएको थियो, जसमध्ये धेरै फिर्ता भइसकेकाले बैंकलाई जोखिम कम छ । तर यसैगरी अन्य बैंक र ती बैंकको ठूलो रकम स्थानान्तरण हुन थाल्यो भने वित्तीय क्षेत्र जोखिममा पर्नेछ । केन्द्रीय बैंकको पनि ठूलो रकम विदेशी बैंकहरूमा छ । बंगलादेशको केन्द्रीय बैंकको विदेशमा रहेको यस्तै रकम चोरी भइसकेको छ । यहाँ पनि त्यस्तो घटना नदोहोरिएला भन्न सकिँदैन । हयाकरको पहँुच सर्वसाधारणको खातामा समेत नपुग्ला भन्न सकिँदैन । दु:खजिलो गरेर कमाएको रकम अनधिकृत रूपमा चोरी भए बचतकर्ता मारमा पर्नेछन् । त्यसैले वित्तीय सुशासनसँगै वित्तीय क्षेत्रमा प्रविधिको सुरक्षा नयाँ र ठूलो चुनौतीका रूपमा देखिएको छ । अनौपचारिक छलफलमा केन्द्रीय बैंकका अधिकारी र अन्य बैंकरले धेरै वित्तीय संस्थाले तोकिएबमोजिमको सुरक्षा प्रबन्ध नगरेको बताउने गरेका छन् । खर्च बढी लाग्ने भएकाले त्यसो गरिएको हो । लगानीकर्ता पनि जतिसक्दो बढी प्रतिफल चाहन्छन्, तर खर्च गर्न रुचाउँदैनन् । यस्तो अवस्थामा केन्द्रीय बैंकले सबभन्दा पहिले आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनुपर्छ । सँगसँगै सबै वित्तीय संस्थालाई सूचना प्रविधिको सुरक्षा प्रणालीको अनुगमन गरी तत्काल जोखिम कम गर्ने उपाय अवलम्बन गर्न निर्देशन दिनुपर्छ ।
बैंकहरू आफैंले पनि लगानी बढाउन सकेनन् भने जोखिम कायमै छ । यस्ता घटना बारम्बार दोहोरिन थाले भने सर्वसाधारणले बचत नगर्न सक्छन्, जसले घाटा वित्तीय संस्थालाई नै पुग्ने हो । प्रविधिमा विश्वस्त र अनुभवी कर्मचारीको नियुक्ति र उनीहरूका गतिविधिमाथि निगरानी बढाउन यसकारण जरुरी छ । अत्याधुनिक सुरक्षा प्रबन्ध नगर्ने वित्तीय संस्थालाई कडा कारबाहीको निर्देशन पनि केन्द्रीय बैंकले तत्कालै जारी गर्नुपर्छ ।
प्रकाशित : कार्तिक ९, २०७४ ०७:४३