कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

छठसम्म कौडा

सिउँडी
विमल निभा

नमस्ते मेयरसाव ।’
‘नमस्ते ।’ एकछिनपछि भने उनले, ‘म त उपमेयर हँँु दाइ ।’
‘ठिक छ ।’ म मुस्कुराएँ, ‘तर मेरो लागि त तपाईं नै मेयरसाव ।’

 छठसम्म कौडा

नमस्ते मेयरसाव ।’

‘नमस्ते ।’ एकछिनपछि भने उनले, ‘म त उपमेयर हँँु दाइ ।’
‘ठिक छ ।’ म मुस्कुराएँ, ‘तर मेरो लागि त तपाईं नै मेयरसाव ।’
‘के हालखबर छ ?’ उनी सहस्र खुसी भए, ‘सबै कुशल–मंगल त छ दाइ ?’
‘तपाईंहरूका कृपाले राम्रै छ ।’ मैले भनेँ, ‘अनि तपाईको के हालखबर छ, मेयरसाव ?’
‘मेरो पनि राम्रो छ ।’ उनको प्रसन्नता जारी थियो, ‘नगरपालिकाको काम राम्ररी चल्दैछ, दाइ ।’
‘म नगरपालिकाको होइन ।’ जुवाखालमा कौडा हान्ने पाराले हात गरेर भनेंँ मैले, ‘म त यसको कुरा गरिरहेको छु, मेयरसाव ।’
‘ए, यसबारे अहिले नै के भन्न सकिन्छ ? भर्खर दसहरा सकियो ।’ उनी एकछिनमा नै भए, ‘दिपावली र छठ आउन बाँकी नै छ, दाइ ।’
उनी यस नगरका उपमेयर हुन् । नयाँ उपमेयर । सायद यतिले उनको पुरा परिचय दिँदैन । वास्तवमा उनी नगरका नामुद खालवाज हुन् । अर्थात एक नम्बरका जुवाडे । कति पटक यही केसमा पुलिसद्वारा समातिएर ठानामा पुगेका । (एकाध पटक जेलमा पनि) । तैपनि आफ्नो खास कर्म गर्न छाडेनन् । याने दिनरात जुवा खेल्न । यस पटकको स्थानीय चुनावमा भने उनको विलकुलै नयाँ चेहरा देखापर्‍यो । उनले चुनावी उम्मेवार भएर खुला रूपमा ऐलान गरे– ‘अब म जुवा खेल्ने छैन ।’ र यही एकमात्र मौखिक घोषणापत्र सहित घर–घरमा गएर भोट माग्न थाले ।
एक पार्टीले उनलाई सहजै टिकट दियो । उपमेयर पदको टिकट । र यसको असल कारण के हो भने उनको ससुरा पार्टीको अध्यक्ष हुन् । स्थानीय पार्टीका ठूलै लिडर । नेताजीले जुवाको लत छुटाउन ज्वाइँसावलाई उपमेयरको टिकट दिएको हो भन्ने व्यापक हल्ला थियो । अन्यथा यसमा उनको सालो अर्थात नेताजीको छोरोको ठूलो दाबी थियो । जे होस्, एक फुलटाइम जुवाडेको ‘आइन्दा जुवा नखेल्ने’ कसमले नगरवासी दंग थिए । कतिपय त स्तब्ध पनि । यसमध्ये एकजना म पनि हुँ । (असलमा म प्रभावित भएको हुँ) । उनको यो जुवा नखेल्ने चुनावी नारा पुरै सफल पनि भयो । र उनी अत्यधिक मत पाएर नगरको उपमेयरमा चुनिए ।
उपमेयर भइसकेपछिको पहिलो सार्वजनिक सभामा उनले जनतासामु आफ्नो वाचामा पक्का मोहर लगाएर विजयी भाषणको घतलाग्दो बान्की प्रस्तुत गरे– ‘मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मलाई यति धेरै भोटले उपमेयरमा जिताउनुभएकोमा धन्यवाद † मैले चुनावको बेला खाएको कसम बिर्सेको छैन । मैले तपाईहरूलाई भनेको थिएँ, मैले चुनाव जितेमा जुवा खेल्ने छैन । म त्यसमा पुरै कायम छु । अबदेखि म जुवा खेल्दिन । मेरो पुज्य ससुराबाको पनि यही इच्छा हो ।’ यो सुनेर तालीको गडगडाइले सभा गुञ्जायमान भयो ।
‘के साँच्चिकै तपाईं जुवा खेल्नुहुने छैन उपमेयरसाव ?’ एक लोकल दैनिकपत्रको संवाददाताको प्रश्न थियो यो ।
‘म साँच्चिकै जुवा खेल्ने छैन ।’ उपमेयरले तुरुन्तै जवाफ फर्काए ।
‘यो कुरा हामी कसरी पत्याउँ, उपमेयरसाव ?’
‘हो, हामीले कसरी विश्वास गर्ने ?’ यो प्रश्नमा अरूहरूले पनि साथ दिए ।
एक्कासी उपमेयर गम्भीर भए । त्यसपछि उनले चौतर्फी नजर घुमाए । अनि आफ्नो एक हात उचालेर सबैसामु कडा कसम खाए, ‘म गढीमाईको कसम खाएर भन्छु, म आजदेखि कौडालाई छुने छैन ।’
‘अनि तीन पत्ती नि ?’ हुलबाट आवाज आयो कसैको ।
‘म तास पनि खेल्ने छैन भन्ने कसम खान्छु ।’
‘यस्तो कसम तपाईंले कतिपटक खाइसक्नुभएको छ, उपमेयरसाव ।’ कसैले फेरि हुलबाट तिखो स्वरमा भन्यो । (यसो भन्नेचाहिँं देखापरेन) ।
‘यो पहिलेको जस्तो कसम होइन दाजुभाइ तथा दिदीबहिनीहरू ।’ उपमेयर अलिकति जोशमा आए, ‘म साँच्चिकै जुवा खेल्ने छैन ।’
‘सो साँच्चिकै के साँच्चिकै हो त उपमेयरसाव ?’ यस पटक सामूहिक प्रकारले सोधिएको थियो, उपमेयरसँग ।
‘म एकदमै साँच्चिकै भनिरहेको छु ।’ उपमेयर पुरै जोशमा आएका थिए, ‘म आज तपाईंहरू सामु आफ्नो पुज्य ससुराबाको कसम खाएर भन्छु, म कुनै हालतमा पनि कौडाको नजिक जाने छैन ।’
एक पटक फेरि तालीको गडगडाइले सभाकक्ष हल्लियो ।
‘नमस्ते मेयरसाव ।’
‘म कहाँ मेयर हुँ र दाइ ?’ उनले मेरो नमस्ते नफर्काएर भने । (मुख बङ्ग्याए) ।
‘मैले भने नि, तपाई नै मेरो मेयरसाव हो, मेयरसाव ।’ मैले मेयरसावमा जोड दिएँ ।
‘ठिक छ, ठिक छ ।’ उनले विस्तारै भने, ‘तर म त उपमेयर नै हुँ ।’
‘मेयरसाव, के हालखबर छ ?’ उनको अनुहारमा हेरेर मुस्कुराएँ म ।
‘के हुनु, राष्ट्रिय चुनाव आउँदैछ ।’ उनले भने, ‘हाम्रो पार्टीले पनि चुनावका लागि लोकतान्त्रिक गठजोड गर्ने भएको छ, दाइ ।’
‘म चुनावको कुरा गरिरहेको छैन, मेयरसाव ।’ मैले एक हातलाई कौडा हानेको जस्तो गरी भनेंँ, ‘यसको के हालखबर छ ?’
‘कौडाको कुरा गर्नुभएको हो, दाइ ?’ उनी मुस्कुराए ।
‘यही कुरो हो, मेयरसाव ।’ म पनि मुस्कुराएँ, ‘तपाईको हारजित के भयो ?’
‘अब छठ नसकिएसम्म यसबारे के भन्ने दाइ ?’
‘सबथोक राम्ररी चलिरहेको छ नि मेयरसाव ?’
उनी केही नभनेर एउटा लामो मुस्कानका साथ उभिइरहे ।
दसैंअघि नगरपालिकाको हलमा आयोजित ‘जनतासित भेटघाट’ कार्यक्रममा उपमेयरसावले आफ्नो बोल्ने पालोमा गजबसँग बोले– ‘मेरा प्यारा साथीहरू, मैले चुनावको बेला कसम खाएको थिएँ, अबदेखि जुवा खेल्ने छैन । यसमा म अडिग छु । मैले आफ्नो कसम तोडेको छैन । (एकछिनपछि) मेरा साथीहरू, दसहरामा जुवा खेल्नु हाम्रो परम्परा हो । यसबेला सबै तास अथवा कौडा खेल्ने गर्छन् । चाहे जवान होस् या बूढा । र छौंडाहरू चाहिंँ पायाँ खेल्छन् । मैले पनि केटाकेटी बेलामा यो खेल खेलेको छु । बडो मजेदार हुन्छ । यहींबाट मैले जुवाको सुरुवात गरेको हुँ । मतलव पायाँदेखि तास भएर कौडासम्म मेरो असली दाउ चौका हो । यसैमा म धेरै जित्ने गर्छु । कहिलेकाहीं हार्छु पनि । जे भए पनि मलाई चौका मन पर्छ । मेरो भन्नुको मतलब के भने जुवा नै हाम्रो संस्कृति हो । हामीले आफ्नो संस्कृतिलाई छाड्नुहुन्न । त्यसैले यही संस्कृतिलाई ध्यानमा राखेर मलाई दसहरामा जुवा खेल्ने अनुमति दिनोस् । म केवल छठसम्म जुवा खेल्नेछु । यो दसहरा, दिपावली र छठसम्म नै । म कसम खाएर भन्छु साथीहरू, छठपछि म जुवा खेल्ने छैन । तपाईहरू मेरो विश्वास गर्नोस् ।’ यो सुनेर ‘जनतासित भेटघाट’ कार्यक्रममा उपस्थित जनता पहिले त खासखुस–खासखुस गर्न थाले । अनि केही समयको मौनता । (झन्डै एक मिनेट) । त्यसपछि एकाएक समर्थनमा थपडी बज्न थाल्यो बेसरी । अर्थात नगरका उपमेयरको दसहरा, दिपावली र छठसम्म जुवा खेल्ने जोडदार मागको सामूहिक स्वीकृति भएको थियो ।
‘नमस्ते मेयरसाव ।’
‘नमस्ते ।’ यस पटक बिना कुनै प्रतिवाद भने उनले, ‘के हालखबर छ, दाइ ?’
‘राम्रो छ ।’ मैले भनेंँ, ‘अनि तपाईको नि मेयरसाव ?’
‘मेरो पनि राम्रो छ ।’ उनले भने, ‘हाम्रो पार्टीको लोकतान्त्रिक उम्मेदवारलाई चुनावमा जसरी भए पनि जिताउनुपर्‍यो दाइ ।’
‘राजनीतिको कुरा छाड्नोस्, मेयरसाव ।’ मैले हातलाई एउटा लयमा कौडा हानेझंै झटकारेर भनेंँ, ‘यसको के हाल छ दाइ ?’
‘अहिले केही भन्न सकिन्न दाइ ?’
‘किन मेयरसाव ?’
‘अहिले त खेल चलिरहेको छ ।’ उनले भने, ‘छठपछि हिसाब गर्नेछु ।’
‘कस्तो हिसाब मेयरसाव ?’
‘अब हार भयो कि जित, यो त छठ सकिएपछि नै थाहा हुनेछ, दाइ ।’ उनले लामो सास लिएर भने, ‘आखिरी हिसाब–किताब त बाँकी नै छ ।’

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?