१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेवारिसे कृषि र निकम्मा नेतृत्व

कृष्णप्रसाद पौडेल

हाम्रो कृषि क्षेत्र अहिले बेवारिसे भएको छ । संविधानमा खाद्यको अधिकार, सुरक्षा र सम्प्रभुताको हक हुने उद्घोष गरेर मक्ख परेका नेतागण स्थानीय सरकारलाई कृषि विकास नामको ‘भालुको कम्पट’ जिम्मा लगाएर आफ्नै पुरानो खेतीपातीमा फर्किसकेका छन् ।

 बेवारिसे कृषि र निकम्मा नेतृत्व

कृषि क्षेत्रको सरकारी नेतृत्व र नीति निर्माता कुइरोका कागजस्ता भएका छन् । 

हचुवाका भरमा कृषि विकासका योजना र रणनीति बनाउने कृषि मन्त्रालयका जिम्मेवार कर्मचारीहरू चार दशक लामो कृषि विकासको असफलताको अपजश संक्रमणकालीन राजनीति र समाजमा आएको फेरबदललाई मात्र दिएर टक्टकिने गरेका छन् । उनीहरूले प्रधानमन्त्री कृषि आधुनिकीकरण, खाद्य सुरक्षा परियोजना जस्ता सयौं योजना र कार्यान्वयनको कागजी घोडा दौडाएर नागरिकले तिरेको कर र दाताका सहयोग दुरुपयोग गर्ने गरेका छन् । यो दुरुपयोगको छानबिन गर्न किन नपर्ने ? 

कर्मचारीतन्त्र नै अहिले हाम्रो समृद्ध हुने सपनाको सबैभन्दा ठूलो तगारो बनेको छ । यस्तो विषवृक्ष फालेर नयाँ संरचना बनाउनुको सट्टा यसैमा मलजल गरेर आफ्नो फसल थन्क्याउने सपना बोकेको छ, राजनीतिक नेतृत्वले । साथै राजनीतिक तथा सरकारी नेतृत्व दिगो विकासका दीर्घकालीन सोचहरूबाट समेत विमुख छ । हिजोआज कृषि अलपत्र परेकामा मुख्य दुई खाले विचारले घर गरेको देखिन्छ । 

पहिलो, आर्थिक भूमण्डलीकरणको प्रभावले अन्य देशको औद्योगिक कृषिसँग प्रतिस्पर्धी हुनसकेको छैन । यो विकासको एउटा स्वाभाविक प्रक्रिया हो र अन्यत्र पनि इतिहासमा यस्तै भएको थियो । समय क्रमसँगै यसमा सुधार हुँदै जान्छ । दोस्रो, नेपालको समृद्धिको मुख्य आधार नै कृषिको विकास हो । पुन: उत्पादन क्षमतामा वृद्धि गरी यसलाई उन्नत बनाउन नसक्ने हो भने हाम्रो भविष्य सुरक्षित छैन । कृषिलाई हेर्ने दृष्टिकोण अहिलेको भन्दा फराकिलो नबनाई कृषि विकासको सम्भावना छैन । तर यस बारेमा राम्रो बहस अझै हुनसकेको छैन । यो कुराले हाम्रो कृषिलाई हेर्ने सामाजिक तथा राजनीतिक दृष्टिकोणको सीमा अझ प्रस्ट हुन्छ ।

हाम्रो अहिलेको परिवेशमा कृषिलाई हेर्ने दृष्टिकोण बनाउन दुईवटा पक्षलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ । पहिलो, हाम्रो आफ्नै फेरिएको सामाजिक–आर्थिक सन्दर्भ र दोस्रो, समग्रतामा कृषिलाई हेर्ने दृष्टिकोणमा आएको विश्वव्यापी फेरबदल । आन्तरिक तथा बाह्य कारणहरूले नेपाली कृषिको सन्दर्भमा व्यापक फेरबदल आएको छ । कृषिका आन्तरिक सीमाहरू बुझ्न एकपटक हाम्रा फेरिएका सन्दर्भ र भूराजनितिक अवस्था मनन गर्न आवश्यक छ । सहरी बसाइँ–सराइ हुँदै विदेश पलायन तीव्र भएको छ । यो कतिपय अर्थमा तत्कालै फेरिन नसक्ने सामाजिक व्यवहार बनेको छ । यस्तो अवस्थामा हाम्रो संक्रमणकालीन कृषिको व्यवस्थापन कसरी गर्ने भन्नेमा गम्भीर चिन्तन–मनन गर्नु पर्नेछ । तर यसतर्फ कुनै पहल भएको छैन । 

त्यसैगरी भूराजनीतिक सम्बन्धहरूले हाम्रो कृषिक्षेत्र निकै प्रभावित छ । यसले निम्त्याएका कृषि क्षेत्रका समस्याबारे हामी आपसी संवादसम्म पनि गर्न तर्सिन्छौं । हाम्रोभन्दा झन्डै सय गुना ठूलो अर्थतन्त्र भएको छिमेकीसँगको सम्बन्धले हाम्रो खाद्य र कृषिमा आएको संकटको मुद्दालाई अझै जटिल बनाउँदै लगेको छ । त्यसैगरी अहिले चिनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) को अवधारणा ल्याएको छ । यो उसको बजार र बर्चस्व विस्तारको रणनीति हो । उनीहरूको राजनीतिक तथा आर्थिक गतिविधिले हामीलाई सधैं र सोझै प्रभाव पार्ने गरेको छ । समयमै यी विषयमा दोहोरो संवाद गरी हाम्रो कमजोर कृषि अर्थतन्त्र बचाउन पहल नगर्ने हो भने हाम्रो कृषि सधैंका लागि पलायन वा पराधीन हुने निश्चित छ । 

अहिले रसायन, विषादी, हार्मोन र प्लास्टिकले मानिसमा नसर्ने दीर्घरोग बढाउनका साथै माटोको जैविक प्रक्रियालाई तहसनहस बनाएको छ । यसका साथै जलवायु परिवर्तनले मैदानको खेती प्रणालीलाई तहस–नहस बनाउँदै लगेको छ । यसले निम्त्याएका गम्भीर संकटहरू क्रमश: देखा पर्दैछन् । हजारौं वर्षदेखि निरन्तर उत्पादन दिइरहेको माटोको गुणस्तर खस्किँदै गइरहेको छ । 

सन् १९५० को दशकमा विश्वयुद्धको समाप्तिसँग बढ्दो जनसंख्यालाई पर्याप्त र पोषणयुक्त खाना पुर्‍याउन कृषि प्रविधिको खाँचो थियो । यस कुरालाई मध्यनजर गर्दै सघन उत्पादनका लागि बालीनाली तथा वस्तुभाउको बिउ, नश्ल, कृषि प्रविधि सुधार, रोग तथा किरा नियन्त्रणका लागि विषादी प्रयोगजस्ता कुराले प्रश्रय पायो । यसमाथि सिंचाइ, कृषि प्रविधि, रासायनिक मल, किटनाशकको प्रयोगको व्यवस्थाले सन् १९६० को दशकमा कृषि क्रान्ति सम्भव भयो, जसलाई हरित क्रान्ति भनेर चिनिन्छ । तर यस्तो हरित क्रन्ति सुरु भएको ४० वर्ष नबित्दै यसका सीमा सबैतिर देखिन थालेको छ । 

त्यसैगरी ८० को दशकमा सुरु भएको खुला बजार अर्थतन्त्रले कृषि क्षेत्रलाई व्यापारिक र बजारमुखी बनायो । नाफाका लागि गरिने कृषिमा खानेकुराको गुणस्तर भन्दा उत्पादनको परिमाण र यसबाट आउने तत्कालीन फाइदामा बढी जोड दिइयो । सँगै धेरै उत्पादन लिनका लागि प्रकृतिको होइन, खनिज ऊर्जाको प्रयोगका साथै रसायन, विषादी, हार्मोन र प्लास्टिकजस्ता विषालु तत्त्वहरूको अत्यधिक प्रयोग बढ्यो । परिणामस्वरूप प्रकृतिमा भएको अति दोहन र हरित ग्यास उत्सर्जनले जलवायुमा व्यापक फेरबदल आयो । अहिले यी रसायन, विषादी, हार्मोन, प्लास्टिक र जलवायुमा आएको फेरबदल मानव सभ्यताको चुनौतीको रूपमा देखापरेका छन् । 

यस कुरालाई आत्मसात गरी स्वच्छ कृषिबाट स्वस्थ खानेकुरा खानुपर्ने जागरुकता र चेतना निरन्तर बढिरहेको छ । दीर्घकालीन हिसाबले अहिलेको जस्तो खेतीपाती नगरी प्राकृतिक प्रणालीको नजिक रही स्वच्छ खेतीपातीबाट स्वस्थ खानेकुराको विकल्प छैन । माटोको प्राकृतिक जीवन चक्र हेरफेर गर्ने मन्दविषका रूपमा रहेको कृत्रिम (रासायनिक) मलको प्रयोगले खेतीपाती र समस्त मानव जगतलाई नै नकारात्मक प्रभाव पारिरहेको छ । 

अहिलेको जस्तो खनिज स्रोतमा आधारित विकासले निरन्तर फड्को मारिरहन प्रकृतिको अति दोहन अनिवार्य सर्त हो । यस्तो सधैं सम्भव हुँदैन । जलवायुमा आएको फेरबदल यसको दुष्परिणामको प्रारम्भिक संकेतमात्र हो । यो कुरा अब विस्तारै अन्तरदेशीय सभा, सम्मेलन र राष्ट्रिय नीतिहरूमा समेत आत्मसात गरिन थालिएको छ । दिगो विकास लक्ष्यले दिगो खेतीपातीबाट भोकमरी हटाई पोषण वृद्धि गर्दै खाद्य सुरक्षा बढाउने कुरा प्रमुख लक्ष्यमा राखेको छ । यो आफैमा एउटा सकारात्मक पहल हो । 

सन् नब्बेमा खाद्य संकटबाट सुरु भएको क्युबाको जैविक क्रान्तिको सन्देश धेरै उत्साहित छ । क्युबा रसायन, विषादी तथा खनिजजस्ता बाह्य स्रोतसाधनको कटौतीपछि जैविक खेतीपाती अवलम्बन गर्दै आत्मनिर्भर भएको छ । फ्रान्स, जर्मनी लगायत युरोपेली देशहरूले समेत खनिज स्रोत मासिँदै गएको ठहर गर्दै त्यसबाट चल्ने यन्त्रहरू बन्द गर्ने र सौर्य लगायत अन्य जैविक ऊर्जाबाट चल्ने यन्त्र बनाउने उद्घोष गरेका छन् । यी सबै कुराले अहिलेको खनिज स्रोतमा आधारित खेती प्रणालीलाई फेर्नुपर्नेमा दबाब बढिरहेको छ । हामी भने अहिले पनि हाम्रो खेती प्रणालीलाई यही खनिज स्रोतमा आधारित भएर आधुनिक, व्यावसायिक र औद्योगिक बनाउने सपना बाँड्न छाडेका छैनौं । नत विगत ४० वर्षदेखि हाम्रो कृषि ओरालो लागेकामा कुनै ग्लानि महसुस गरेका छौं । हामी अहिले पनि अन्य मुलुकका अनुभवबाट सिकेर गल्ती नदोहोर्‍याउनुको साटो उनीहरूले गरेका गल्ती पछ्याउनमै बुद्धिमानी ठानेका छौं । 

खेतीपातीको मूलमर्म मानिसलाई चाहिने स्वस्थ खानेकुराको जोहो गर्न‘ हो । हाम्रो जीवन पद्धतिका रूपमा रहेको पर्यावरणीय कृषि अहिले पनि जैविक खेती प्रणालीका आधारमा जीवित नै छ । यस्तो खेती प्रणालीलाई उन्नत बनाउँदै लैजाने, खानेकुरामा आत्मनिर्भर हुने र तुलनात्मक लाभका कृषि उपजमा व्यावसायिक प्रबद्र्धन गर्ने कुरालाई जोड दिनुपर्छ । यो नै अहिलेका लागि हाम्रो कृषि दोस्रो पुस्तामा बुझाउने बलियो विकल्प हो । 
कृषिको दिगो विकास नै नेपालको समृद्धिको मुख्य आधार हो । कृषि क्षेत्रको रूपान्तरण बिना दिगो खाद्य तथा कृषि प्रणाली विकास सम्भव छैन । कृषिप्रधान मुलुकमा किसानमा आधारित खाद्यमुखी कृषि प्रबद्र्धन गर्ने सोचबिना अहिलेकै अवस्थामा स्थानीय समुदायको भोक र रोगको समाधान सम्भव पनि छैन । 

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?