१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कम्युनिस्ट पार्टी : भ्रम र भविष्य

मेखराज परियार

२००६ सालमा पुष्पलाललगायत नेताले नेपाल कम्युनिस्ट पार्टीको विधिवत घोषणा गरेका थिए । त्यसयता राष्ट्रको अग्रगमन, लोकतन्त्र, समानता, स्वतन्त्रता, सामाजिक न्याय र संघीय गणतन्त्रसम्म आइपुदा विभिन्न वाम घटकले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

कम्युनिस्ट पार्टी : भ्रम र भविष्य

टुुटफुट, उग्र क्रान्तिकारी जार्गन, भ्रम, ढाेंँग, पथभ्रष्टता, दरबारगमन, जडसूत्रवाद जस्ता विडम्बनालाई झेल्दै आजको युगसम्म आउन सफल देशकै प्रमुख दुई ठूला कम्युनिस्ट पार्टीले गठबन्धन बनाएका छन् । सुखद कुरा त यो हो कि आगामी चुनावलगत्तै एमाले र माओवादी केन्द्रले एकता गरी एउटै पार्टी निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । यसले राजनीतिमा मूलत: दुई प्रकारको असर पर्ने देखिन्छ ।

पहिलो, यसले शक्तिशाली पार्टी निर्माण गर्नेछ । अन्य लोकतन्त्रवादी पार्टीलाई पनि धु्रवीकरणमा लाग्न उत्प्रेरित गर्नेछ । यसकारण धेरै पार्टीको अस्तित्व समाप्त हुनगई दुई पार्टीको मात्रै उपस्थिति बन्न जाने देखिन्छ । दोस्रो, ठूला शक्तिशाली पार्टी निर्माण भई बहमुत ल्याउने सम्भावना रहन्छ । यसले ५ वर्षका निम्ति एकमना स्थायी सरकारको निर्माण गर्न टेवा पुग्छ । स्थायित्व विना समृद्धि प्राप्त हुन सक्दैन । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक धारको पार्टी रहने र कम्युनिस्ट नेतृत्वमा अर्को प्रगतिशील पार्टी निर्माण हुने दिशातर्फ राजनीति अघि बढ्दैछ ।

यद्यपि स्वार्थ, दबाब, प्रभाव र सत्ताको खेलमा डुब्नपुगेका पार्टीको नेतृत्वबीच यति सरल ढंगको समाधान निस्केला भनी ठोकुवा गर्न भने असम्भव छ । सैद्धान्तिक रूपमा नै पनि माअ‍ोवादीको १० वर्षे सशस्त्र जनयुद्ध र त्यसको कारणले १७ हजार जनताको सहादतलाई एमाले र केपी ओलीले जायज ठानी मान्यता दिन तयार छन् ? आजसम्म त कहीं कतै स्वीकारेको छैन । एमालेले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई माओवादीले सहर्ष स्वीकार गर्न सक्छ ? जनयुद्धको महानायक आफूलाई ठान्ने प्रचण्ड के अब मदन भण्डारीलाई देउता मान्न तयार भएका हुन् ? यी सवालमा विशेषत: एमाले र माआवादी केन्द्र प्रस्ट नहुँदासम्म एउटै पार्टी बनिहाल्ने या बनिहाले पनि दीर्घकालीन होला भन्ने विश्वास गर्ने आधार भेटिंँदैन । 

अब वाम एकता, कम्युनिस्ट पार्टीको एकता, कम्युनिस्ट केन्द्र जेसुकै निर्माण गर्ने भनिए तापनि त्यो लोकतान्त्रिक मूल्य–मान्यतालाई मान्ने पार्टी नै बन्ने हो । हामी अब लोकतान्त्रिक शासन प्रणाली र समाजवादी आर्थिक नीतिभन्दा टाढा जान सक्तैनौं । त्यसकारण एमाले, माओवादी केन्द्रमात्रै होइन, अन्य कम्युनिस्ट पार्टीहरूसमेत शास्त्रीय र जडसूत्रवादी भ्रमहरू त्याग्दै अघि बढ्न जरुरी छ ।

नीति र व्यवहार बीचको भ्रम
कम्युनिस्ट पार्टीको स्थापनादेखि नै सशस्त्र क्रान्तिमार्फत नयाँ शासनको परिकल्पना गरिएको थियो । क्रान्तिकारी एउटै कम्युनिस्ट पार्टी बनाउने, विद्रोहमार्फत सामन्तवादको अन्त्य गर्ने, पुरानो राज्यसत्ता व्रिदोहमार्फत समाप्त गरी जनवादी राज्यसत्ता निर्मण गर्ने, संसदीय व्यवस्था र साम्राज्यवादी सत्ताको बलपूर्वक अन्त्य गर्ने घोषणा धेरैपटक गरिएकै हो । नेकपा (माले) नेतृत्वमा झापा विद्रोहदेखि नेकपा माओवादी नेतृत्वमा सशस्त्र जनयुद्ध पनि भयो । नेताहरुले माक्र्स, लेनिन, माओ आदिका कठोर दस्तावेज पढ्न लगाउने र उग्र कुरा गर्न प्रशिक्षित गर्ने कार्य स्थापनादेखि नै गरिएका हुन् । क्रान्तिमार्फत राज्यसत्ता स्थापना गर्ने प्रशिक्षण प्राप्त गरेका नेता, कार्यकर्तालाई वास्तविकता स्वीकार गर्न सहज भएन । शिक्षादीक्षा एकातिर, व्यवहार बेग्लै हुनपुग्दा कम्युनिस्ट पार्टीमा क्रमिक फुट देखापरे । अहिलेसम्म पनि नेतृत्वले विश्व परिवेशमा आएको बद्लाव, कम्युनिस्ट पार्टीको परिवर्तित भूमिकाका सम्बन्धमा स्पष्ट पार्नसकेको छैन । पार्टीको नेतृत्वमा दुई प्रकारको संकट परेको बुझ्न कठिन छैन ।

एक, क्रान्तिकारी, जुझारु, प्रशिक्षित, जोशिला युवा कार्यकर्ताको मनोबल मर्न नदिन आन्तरिक प्रशिक्षण र भनाइमा क्रान्तिकारी कुरा बोल्नैपर्ने बाध्यता छ । अब बन्दुक होइन, भोट, जनताको मन जितेर शासन गर्ने हो । क्रान्ति, विद्रोहको अब जरुरी छैन भनी स्पष्ट पार्न नेतृत्व डराउँछ । यदि यस्तो भनियो भने अन्य पार्टीमा कार्यकर्ता जालान् भन्ने डर र भ्रम छ । दुई, अन्तर्राष्ट्रिय शक्ति, अन्य लोकतन्त्रवादी पार्टी, व्यक्ति र दक्षिणको छिमेकीलाई भने ‘हामी पूण लोकतन्त्रवादी’ भैसक्यौं भनी स्पष्टीकरण दिनुपर्ने बाध्यता छ । प्रगतिशील लोकतन्त्रवादी एमालेलाई समेत यस्तो समस्या छ भने माओवादीको त अझै कति अप्ठ्यारो होला । माओवादी पार्टी शान्ति प्रक्रियामा आउँदैदेखि क्रमिक फुटको सिकार हुनपुग्नाको विभिन्न कारणमध्ये यो क्रान्ति कि शान्ति भन्ने वैचारिक भ्रम प्रमुख कारण हो । शान्तिको कुरा गर्दा त्यो संशोधनवाद र संसदीय भासमा फँस्यो भनी आलोचना गर्ने र आफू सच्चा क्रान्तिकारी पार्टी दरिन पार्टी फुटाउने र अर्को पार्टी निर्माण गर्ने व्यवसाय फस्टायो । 

जति नै माओ, कार्लमाक्र्स, लेनिनका क्रान्तिगाथा रटे पनि देतल्लो वर्गको निम्ति कुनै सुधार देखिएको छैन । थुप्रै पटक कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भए । तर भूमिहीन सुकुम्बासीको समस्या हल भएन । कम्युनिस्टका शिक्षा, स्वास्थ्य मन्त्री हुँदा गरिबको छोरा/छोरीले नि:शुल्क शिक्षा प्राप्त गर्नसकेको उदाहरण छैन । सरकारी अस्पतालमा दिसा–पिसाब गरेबापत ५/१० रुपैयाँ तिर्नुपर्छ । १०० देखि ३०० रुपैयाँको टिकट नकाटी सरकारी अस्पतालमा डाक्टरले बिरामी जाँच्दैनन् । शिक्षा, स्वास्थ्य, खाद्यान्न, बसोबास, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक, भाषिक, वर्गीय विभेदको अन्त्यनिम्ति क्रान्तिकारी पार्टी नेतृत्वको सरकारले कुनै असर पार्न नसक्नु विडम्बना हो । एउटा भनाइ छ, ‘जो बोलीमा नै मख्ख छ, उसलाई अधिकार दिनै पर्दैन ।’ विचार र सिद्धान्त शास्त्रीय जडता, जनवाद र साम्यवादको सपना बेच्ने व्यवसाय अब बन्द गर्न जरुरी छ ।

अबको बाटो
फुटेका कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्ने, स्थायी शक्ति निर्माण गर्ने कार्य सही छ । धेरै दल बनाउँदा जनमत खेर जाने, सरकार अस्थिर हुने समस्या आउँछ । प्रगतिशील लोकतन्त्रवादी पार्टीले विगतका कमी–कमजोरी, सम्पत्ति, सत्तास्वार्थ, नातावाद, जातिवाद, त्याग्न सक्नुपर्छ । एकल जातीयवादी पार्टी एमाले नेतृत्वले अहम्, घमन्ड त्याग्न र जिम्मेवार बन्न जरुरी छ । 

माओवादी केन्द्र क्रान्ति र परिवर्तनको मूलधार हो । मूलधार नै सुक्नेगरी एमालेसँग पार्टी एकता गर्नु, राजनीतिक ‘बेधर्मी’ बन्ने खतरा रहन्छ । पार्टीको नाममा माओवादी झुन्डाउनुपर्छ भन्ने होइन । तर लोकतान्त्रिक संघीय गणन्त्र, समानता र समावेशीकरण माओवादी विद्रोहले स्थापित गरेका विशिष्ट मुद्दा हुन् । त्यसको हत्या गरी सत्तास्वार्थ या एकतामा लाग्नु हुँदैन ।

अझै सामन्तवादका अवशेष असरल्लै छन् । तिनको विरुद्ध जुझारु ढंगले लड्नु कम्युनिस्ट पार्टीको प्रमुख दायित्व हो । विद्यमान जातीय भेदभाव, छुवाछूत, असमानता, अन्याय, महिला हिंसा, विभेद, गरिबी, अशिक्षा, भूमिहीनका समस्या, कुरीति, कुसंस्कारको अन्त्य प्रमुख कार्यभार हुन् । यी सामन्ती व्यवहार र परम्परा नै प्रगतिशील शक्तिका प्रधान शत्रु हुन् । 
[email protected]

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?