२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कम्युनिस्ट एकताका बाधा

अशेष घिमिरे

एक–आपसलाई अस्वीकारको तहमा पुगेका शीर्ष नेतृत्वको तहबाटै चुनावी तालमेलमात्र हैन, कम्युनिस्ट एकता अभियानकै घोषणा भयो । प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने वा ठूलो पार्टीको ठूलो नेता बन्ने चाहनाले मात्र यो एकता प्रक्रियालाई निर्देशित गरेको हो भने पनि यो इतिहासमा महत्त्वपूर्ण काम भएको छ ।

कम्युनिस्ट एकताका बाधा

झट्ट हेर्दा यो एमालेलाई प्रदेश नं. २ मा घेराबन्दी गरी पाँचौँ बनाएपछि त्यसबाट जोगिन सरकारी गठबन्धन तोड्न र माओवादीले समेत कांग्रेस गठबन्धनमा रही अपेक्षित नतिजा ल्याउन नसेकेको परिणामस्वरूप बनेजस्तो लाग्छ । तर शीर्ष तहबाट भएको यो एकता प्रक्रियाको थालनी सत्ता स्वार्थले प्रेरित गरेको होस् या समाजवाद निर्माणको नियतले प्रेरित गरेको किन नहोस्, जे भए पनि यो पाली समाजको माग थियो र हो । 

एउटा कम्युनिस्ट पार्टीविरुद्ध अर्को कम्युनिस्टलाई कहिले देशका त कहिले बाहिरका शक्तिले आफ्नो स्वार्थमा प्रयोग गरेबाट भोगिरहेको हैरानीले जनता आजित थिए । यति धेरै वामपन्थी रुझानको लोकप्रिय मत हुँदाहुँदै नेपाल भने सधैं राजनीतिक अस्थिरता र टकरावमा परेको कुराले पिरोलिइरहेको थियो । भर्खरै बनेको संविधानले परिकल्पना गरेको समाजवाद कस्तो र कसले भनेजस्तो हो त ? यस्तै अप्ठेरोले उनीहरूलाई अचेटिरहेको थियो । यी सबै सन्दर्भमा यो एकता घोषणाले जनतामा आशा छरेको छ । कम्युनिस्ट एक हुनुपर्छ भन्ने मनोविज्ञानलाई पछिल्लोपटक राजनीतिक सतहमा निकै बलियो गरी प्रकट गर्दै प्रक्रिया आरम्भ गरेको छ । अब यो प्रक्रिया केवल सत्ता स्वार्थको क्षणिक लाभहानिमा सीमित रहनु हुन्न । यसले नेपाली समाज, एमाले–माओवादी भित्रको संगठन र नेता–कार्यकर्तालाई आफूतिर सिंहावलोकन गर्नसमेत उत्प्रेरित गरेको छ । यो घटनाले यात यी पार्टीहरू साँच्चिकै परिवर्तन हुन्छन्, एकीकृत हुन्छन् या यिनैहरूकै बीचबाट नयाँ दलहरू जन्मिन्छन् । यो घटनासँगै दलहरूको गठन, पुनर्गठन सुरु भएको छ । उम्मेदवारी दर्तासम्म आइपुग्दा आपसका असमञ्जस्यता सहज बन्दै गएको छ । तर यो एकतालाई सार्थक बन्न नदिने बाधाहरू पनि बलशाली रूपमा उपस्थित छन् । 

प्रक्रियाको आरम्भ ठिक हुँदैमा परिणाम ठीक नआउन सक्छ । के भुल्नु हँदैन भने जतिसुकै राम्रो काम पनि खराब नियतसाथ गरियो भने अपेक्षित नतिजा नमिल्ने खतरा हुन्छ । अहिलेको कम्युनिस्ट एकतामा यो ‘खराब नियत’ एक चुनौती हो । यो खराब नियतको दायरा गुट, पार्टी वा राष्ट्रको घेरोमा मात्र सीमित छैन । यसका प्रारम्भिक संकेतकै रूपमा बाबुराम भट्टराई एक सातामै एकता प्रक्रियाबाट अलग हुने परिस्थिति आयो । भोलि अरू अलग हुने चुनौती पनि जीवितै छ । यसमा पार्टीका नेतृत्वकर्ताहरूको आपसी सम्मान, विश्वास र उदारपना तथा कार्यकर्ता पंक्तिको अन्तरघुलनको मात्रा र सैद्धान्तिक स्पष्टताले धेरै अर्थ राख्छ । साथै कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताले आफ्नै दलप्रति आलोचनात्मक दृष्टिचेत राखे एकता सार्थक बन्छ ।

‘म माक्र्सवादलाई आजको ज्ञान–विज्ञानको आधारमा अध्ययन तथा विश्लेषण गर्न र समाजवादी विचारधारा, सिद्धान्त र आन्दोलनमा योगदान गर्न प्रयत्न गरिरहनेछु । म नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आफ्नो ज्ञान, विवेक र क्षमताले भ्याएसम्म प्रयत्न गरिरहनेछु,’ गत भदौमा कार्लमाक्र्स जन्म द्विशतवार्षिक समारोहले धुलिखेलमा आयोजना गरेको ‘राष्ट्रिय स्कुल’ समारोहका संयोजक घनश्याम भुसालले यो शपथ गराएका थिए । एमाले, माओवादी, संयुक्त, मशाल लगायतका कम्युनिस्ट घटकका ३ सय ५० सहभागीले सपथ लिइरहेका बेला यति छिटै एकता प्रक्रिया अगाडि बढ्छ भन्ने कसैको मनमा थिएन । 

त्यसैले एकता प्रक्रियाको घोषणाले कार्यकर्तामा यसलाई स्वागत गर्ने कि विरोध गर्ने भन्ने बेचैनी छायो । एमालेको लोकप्रियता देखेर एमाले सिध्याउन प्रचण्डको डिजाइन चल्योदेखि प्रचण्डले क्रान्तिकारिता छाडेर पार्टी विसर्जन गरेको आरोप खुब चल्यो । विचारधारात्मक तहबाट अझ त्यो पनि परेन, एमाले माओवादीको दस्तावेजका नीति तथा कार्यक्रम मात्रलाई पनि आधारमा कम टिप्पणी भेटिए । दुवै पार्टीहरूको दस्ताबेजमा समाजवाद निर्माणका लागि बृहत् कम्युनिस्ट एकताका लागि पहल गर्ने कुरा उल्लेख छ । तर त्यसको आधारमा प्रतिक्रिया आएनन्, अधिकांशले यसमा षड्यन्त्र देखे । एउटा गुटले अर्को गुट सिध्याउन गरिएको षड्यन्त्र । फरक गुटका प्रतिस्पर्धी नेतृत्वलाई ‘देखाइदिन’ गरिएको षडयन्त्र । एमाले सक्न गरिएको षड्यन्त्र, माओवादी सक्न गरिएको षड्यन्त्र । षड्यन्त्रको सिद्धान्तका आधारमा भूराजनीतिक पाटो पनि चर्चामा आयो । कतिपयले त भारत विरुद्धको चिनियाँ षड्यन्त्र देखे, कतिपयले भारतकै षड्यन्त्र देखे । अनि त्यस्तै–त्यस्तै लेखे । 

एकताकै पक्षमा लाग्नेहरूलाई पनि यो एकताको झ्वाट्ट विश्वास लागेन । किनकि एक, कम्युनिस्ट पार्टीहरूलाई नेतृत्व गरिरहेका अहिलेका प्रमुख नेताहरू कोही त्यागी देखिँदैन थिए । दुई, उनीहरू एक–आपसलाई आफूभन्दा नीचा, अयोग्य, असक्षम, कम बुझेको, गलत ढंगले लागेको, दृष्टिकोणको कमी भएको, परम्परावादी भएको, दक्षिणपन्थी भएको, उग्रवादी भएको र यस्तै–यस्तै अनेक देख्थे । तीन, पार्टीहरूभित्र विचारधारात्मक कामचाहिँ न्यून तर चुनाव जित्ने सत्तामा पुग्ने चाहना भने व्यापक थियो । यसले कम्युनिस्टहरूले चुनाव पनि जित्ने, सत्तामा पनि पुग्ने, तर उनीहरूभित्र ‘कम्युनिस्ट तत्त्व’ भने अलप हुने खतरा थियो । र अहिले पनि त्यो खतरा टरेको छैन । चार, जसले कम्युनिस्ट एकताका लागि केही फोरम बनाउँदै थिए, उनीहरू पार्टीका दोस्रो पंक्तिका नेताहरू थिए । दोस्रो पंक्तिकै पनि सबै त्यहाँ थिएनन् । पार्टीहरू भित्रको भयानक गुटबन्दीले उनीहरूलाई एक ठाउँमा ल्याउन दिँदैनथ्यो । यस्तो अवस्थामा कम्युनिस्ट एकता सुदूरकै कुरा थियो । यी परिदृश्य अहिले चुनावी अभियानका लागि अव्यक्त होलान्, तर अन्तर्यमा ज्युँकात्युँ छन् । 

षड्यन्त्रका कतिपय सम्भावनालाई समेत यथार्थ बनाउन सकिन्छ कि भन्ने प्रयत्नहरू पनि जारी नै छन् । तसर्थ आगामी दिनमा यिनै चुनौती सामना गर्ने ल्याकतले कम्युनिस्ट आन्दोलनको सार्थक एकता र सफलतालाई ढिलो–चाँडो निष्कर्षमा पुर्‍याउनेछन् । 

प्रकाशित : कार्तिक १४, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?