कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ग्रामीण सडक निर्माणमा होसियारी

प्रा. तारानिधि भट्टराई

काठमाडौँ — वर्षाको समाप्तिसंँगै दसैं–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व पनि मनाइसकेपछि अब गाउँघरमा स्वाभाविक रूपमा सडक निर्माणको कुरा चल्छ, काम अघि सुरु हुन्छ । तर कतिपय ठाउँमा गाउँलेहरूले प्राविधिज्ञको सल्लाह नै नलिइकन डोजर चलाएर बाटो खन्न थाल्नेछन् भने कतिपय ठाउँमा सरकारी संयन्त्र नै प्रयोग गरेर बाटो खन्ने काम सुरु हुनेछ ।

ग्रामीण सडक निर्माणमा होसियारी

गाउँघरमा बाटो बनाउनु आवश्यक पनि छ । तर दीर्घकालीन आवश्यकता र औचित्य हेरेर र आवश्यक पूर्वसावधानी अपनाएर मात्र बाटो खन्न थाल्नुपर्छ । नत्र सुविधा भित्र्याउन खनेको बाटोबाट सजिलै विपद् भित्रिन्छ ।

माटो जनजीविकाको प्रमुख आधार हो । हजारौं वर्ष लगाएर चट्टान टुक्रिँदै गएपछि बल्ल माटोका कणहरू बन्छन् । यसको अर्थ खेतबारी, वनपाखा, डाँडाकाँडामा भएको माटो बन्न करोडांै वर्ष लागेको छ । माटो भएकैले रुखबिरुवा अस्तित्वमा छन् भने हाम्रा पितापुर्खाले पनि खेतीपाती एवं पशुपालनको माध्यमले मानव सभ्यतालाई यहाँसम्म ल्याएका हुन् ।

यति महत्त्वपूर्ण माटोलाई बाटो बनाउने क्रममा सम्भव भएसम्म एकदमै थोरै काट्नुपर्छ र काटिएको माटोलाई यात बाटो बनाउने काममै प्रयोग गर्नुपर्छ, या कुनै सुरक्षित ठाउँमा व्यवस्थित तरिकाले राख्नुपर्छ । अव्यवस्थित तरिकाले माटो फालियो भने त्यसले पहिरोको जोखिम बढाउने, खाने पानीका स्रोतमा प्रदूषण गर्ने जस्ता समस्या उब्जिन्छन् । ठूला विपद् पनि निम्तिन सक्छन् । उदाहरणका लागि, फालिएको माटोलाई झरीको बेला भलपानीले बगाउँदै लगेर नजिकैको नदीमा पुर्‍याउँछ, फलस्वरूप नदीको पानीमा माटोका कणहरू सोचेभन्दा धेरै गुणाले बढ्छन् । तल्लो तटीय क्षेत्रमा विद्युत उत्पादनगृह रहेछ भने त्यहाँको टर्बाइन चाँडै खिइन्छ । ग्रामीण भेगमा खनिएका अव्यवस्थित सडकका कारण हाम्रो देशका कैयौं विद्युतगृह यो समस्याबाट ग्रसित छन् ।

वर्षाको बेला भलपानी बाटोमा भेला हुन्छ र खोलो बगेजस्तै बग्न थाल्छ र जति–जति भलपानी बाटोको पुछारतिर बग्दै जान्छ, उति–उति नै पानीको मात्रा पनि बढ्दै जान्छ । यो पानीलाई नसम्हाल्ने हो भने धेरै क्षति पुग्छ । भल पानीलाई व्यवस्थित रूपले बगाउन बाटोको भित्तापट्टि प्राविधिकले सल्लाह दिए मुताविक फराकिलो र गहिरो एउटा कुलेसो बनाई नजिकैको प्राकृतिक खोल्सोमा मिसाउनुपर्छ । बाटो किनारको कुलेसो सदा सफा हुनुपर्छ । ढुंगा–माटो खसेर पुरिनु हँुदैन । कुलेसो र बाटो रेखदेख गर्न एकजना पूर्णकालीन कामदार व्यवस्था गर्नुपर्छ ।

सडकको ट्रयाक खोल्दा भिरालोपन मिलाइएको छैन भने पछि झनै ठूलो समस्या पर्छ । ट्रयाक खोल्दा नै सडकको भिरालोपन (ग्रेडिएन्ट) लाई सकभर १२ प्रतिशतभन्दा बढी बनाउनु हुँदैन । दुईवटा गाडी ओहोर–दोहोर गर्न मिल्नेगरी सडक फराकिलो बनाउनुपर्छ । त्यस्तै घुम्ने ठाउँ, गाडी रोक्ने ठाउँ (बसस्टप), स्कुल, स्वास्थ्य चौकी, सार्वजनिक चासोका कार्यालयहरूको छेउमा बाटो निकै फराकिलो हुनुपर्छ । बाह्रै महिना बेरोकटोक चल्नका लागि बाटोलाई पहिरोबाट बचाउनुपर्छ । माटो भएको ठाउँमा बाटो बनाउँदा भित्ता (मास्तिर) पट्टि ३० डिग्रीभन्दा धेर भिरालो हुनेगरी काट्नु हँुदैन र तुरुन्तै घाँस उमारेर भूस्खलनलाई रोक्नुपर्छ । त्यसैगरी बाटाको बाहिर (तल्तिर) पट्टिको भिरालो जमिनमा काटिएको माटो थुपारिएको छ भने त्यसलाई पनि मिलाएर लगभग २५ डिग्रीभन्दा बढी भिरालो बनाउनु हुँदैन ।

घाँस, रुखबिरुवा रोपेर भलपानी माटोभित्र धेर छिर्न पनि नसक्ने र माटोलाई बगाउन पनि नसक्नेगरी जमिनलाई गह्रा बनाएर व्यवस्थापन गर्नुपर्छ । त्यो बाहेक बाटोको मास्तिर र तल्तिरको केही जमिन बाटोका लागि भनेर छुट्याउनुपर्छ र त्यो भूधरातलको संरक्षण पनि गर्नुपर्छ र त्यहाँ रुख काट्ने, ढुंगामाटोको खानी खन्ने, पोखरी खन्ने, पानी जमाउने, गाईवस्तु चराउने जस्ता काम गर्नु हुँदैन । त्यहाँ घाँस र रुखका बिरुवा हुर्काउनुपर्छ र भलपानीलाई पनि व्यवस्थित गरेर नजिकैको खोलामा पुर्‍याउनुपर्छ ।

चट्टान भएको ठाउँमा बाटो खन्नुपर्‍यो भने त झनै ध्यान पुर्‍याउनुपर्छ । किनभने चट्टानमा थुप्रै चिरा हुन्छन् । बाटो खन्दाखन्दै मास्तिरको चट्टानी भूभाग तिनै चिराबाट सर्लक्कै चिप्लिएर खस्न सक्छ, जसले बाटो भत्काउन र कामदारको जीउ–ज्यान नै पनि लिन सक्छ । चट्टानी पाखोमा बाटो बनाउँदा अनिवार्य रूपमा भूगर्भशास्त्रीसँंग परामर्श लिनुपर्छ । साधारणतया ३५ डिग्रीभन्दा बढी भिरालो जमिन, पानी रसाइरहेको तथा बारम्बार पहिरो गइरहने ठाउँ, पुरानो पहिरोले थुपारेको माटो, वन पँmडानी भैइरहेको ठाउँ, नदी किनार र सिंचाइ सुविधा भएको खेतीयोग्य जमिनमा बाटो बनाउँदा भूगर्भशास्त्रीको रेखदेख आवश्यक मानिन्छ ।

कहिलेकाहीं बाटो खन्ने क्रममा भूमिगत जलको बाटो मिचिन्छ या काटिन्छ । फलस्वरूप पानीका मुहान सुक्छन् या पानीको मात्रा निक्कै घट्छ । यस्तो परिस्थितिले स्थानीय बासिन्दासंँग द्वन्द्व बढाउँछ, यात बसाइँ–सराइको सुरुवात गराउँछ । त्यसैले बाटो खन्न सुरु गर्नु अगाडि बाटो खन्ने निकायलाई स्थानीय जननिर्वाचित प्रतिनिधिहरूले पानीका मुहानहरूको सुरक्षा गर्न के कस्ता उपाय अवलम्बन हुँदैछन् भन्ने कुराको जानकारी माग्नुपर्छ । प्रस्तावित उपायहरू भरपर्दा लागेनन् भने नेपाल सरकारको भूमिगत जल विकास समितिका प्राविधिकसंँग सल्लाह लिनुपर्छ ।

बाटो बनाउने क्रममा ठूला खोलाहरूका साथै सानातिना खोल्सालाई पनि तरेर जानुपर्ने हुन्छ । ठूला खोलामा त पुल हाल्नुपर्छ । साना खोल्सामा पनि निक्कै ध्यान पुर्‍याउनुपर्छ । सानो छ भनेर खोल्सालाई छेकिनेगरी बाँध बाँधेजस्तो गरेर बाटो कुनै हालतमा पनि बनाउनु हुँदैन । खोल्साहरूमा कल्भर्ट या अरू कुनै संरचना पनि ठूलो झरी परेको बेला त्यो ठाउँमा बग्ने पानी र यसले बगाएर ल्याउने झारपात, रुख, ढुंगामाटो सजिलैसंँग बग्न मिल्नेगरी बनाउनुपर्छ । कम्तीमा पनि गाउँका बुढापाकाले विगतमा भोगेको जत्रो ठूलो झरी फेरि पनि आउन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन । कल्भर्टको मुखलाई झारपात या ढुंगामाटोले थुनिनदिनु हुँदैन । सधैं सफा, खुला राख्नुपर्छ । सम्म ठाउँमा बाटो बनाउँदा साधारणतया बाटोलाई वर्षाको बेलामा पनि चालु राख्न अग्लो पारिन्छ र तर यसो गर्दा वर्षाको पानी बग्ने प्राकृतिक बाटो छेकिन्छ र पानीले यात हामीले बनाएको बाटोलाई भत्काइदिन्छ, या गाउँबस्तीलाई नै डुबाइदिन्छ र त्यसैले सम्म ठाउँमा जमिनको सतहमा माटो थुपारेर अग्लो बाटो बनाउँदा वर्षाको भेलपानीलाई बग्ने ठाउँको यथेष्ट प्रबन्ध गर्नुपर्छ । त्यसका लागि १०० वर्षमा एकचोटी आउन सक्ने सबैभन्दा भीषण वर्षाको आंँकलन गर्न सक्नुपर्छ । यस्तो तथ्यांक नेपाल सरकारको जल तथा जलवायु विज्ञान विभागबाट पनि लिन सकिन्छ ।

पृथ्वीको सतह प्राकृतिक शाक्तिहरूको सन्तुलनको नतिजा हो र अर्थात् हामीले जथाभावी मनखुसी बाटो खन्नु भनेको प्राकृतिक शक्ति सन्तुलनलाई बिगार्नु हो, जसले भूक्षय, पहिरो र बाढीजस्ता विपद् निम्त्याउँछ । त्यसैले बाटो खन्न सुरु गर्नु अगाडि स्थानीय मानिस, जनप्रतिनिधि र प्राविधिज्ञ (भूगर्भशास्त्री, भूप्रविधि इन्जिनियर र जलशास्त्री) को बीचमा विस्तृत छलफल गरी सम्भावित विपद्को व्यवस्थापन पनि गर्ने योजना बनाउनुपर्छ । सडक बनाउने तरिका विज्ञान र प्रविधिका सूत्रहरूमा आधारित हुन्छ ।

त्यसैले एउटा सधैंभरि प्रयोग गर्न मिल्ने भरपर्दो ग्रामीण सडक हचुवाको भरमा नभएर सुहाउँदो प्रविधि, गुणस्तरीय निर्माण सामग्री र तालिम प्राप्त कामदार प्रयोग गरेर इन्जिनियरको सल्लाह मुताविक मात्र बनाउनुपर्छ । अहिले भएका ग्रामीण सडकहरूमा जतासुकै पहिरोको प्रकोप बढ्नुको मुख्य कारणहरूमध्ये एउटा जथाभावी डोजर प्रयोग हो । नेपाल सरकारको नियम हेर्ने हो भने ‘वातावरणीय प्रभाव मूल्यांकन’ वातावरण विभागबाट स्वीकृत गरिसकेपछि मात्र ग्रामीण सडक खन्न थाल्नुपर्छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खन्न थालिएका ग्रामीण सडकहरूको स्तर उन्नति गर्न वा बाँकी भाग बनाउन सरकारले बजेट दिन कानुनी कारणले पनि मिल्दैन ।

वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर प्रयोग गरेर ट्रयाक खोल्ने, अर्को साल बजेटले भ्याएसम्म मात्र कतै–कतै कुलेसो र कल्भर्ट बनाउने, अझ आउने सालहरूमा बाँकी काम गर्दै लाने परिपाटी कानुनी र प्राविधिक दुवै दृष्टिकोणले त्रुटिपूर्ण छन् । यस्तो प्रवृत्तिले धेरै ठाउँमा व्यापक पहिरो, भूस्खलन र बाढीको समस्या सिर्जना भएका छन् । धेरै मानिसको उठिबास नै पनि भएको छ । त्यसैले बजेटले जति भ्याउँछ, त्यति नै मात्र बाटोको लम्बाइ पूर्णरूपले बनाउनुपर्छ । कुनै पनि काम अर्को साललाई बाँकी नराखी बनाउनुपर्छ । बाटो बनिसकेपछि पनि रेखदेख, मर्मत–सम्हार निरन्तर रूपमा गरिरहनुपर्छ ।

संविधानले ग्रामीण सडक बनाउने कुरा गाउँपालिका र नगरपालिकाको क्षेत्राधिकारभित्र पारेको छ । स्थानीय तहका पदाधिकारीले माथि उल्लिखित कुरालाई मनन गर्दै कानुनसम्मत र प्राविधिक दृष्टिकोणले खोटरहित हुनेगरी सडक निर्माण अघि बढाउनुपर्छ ।
भट्टराई त्रिचन्द्र क्याम्पसमा कार्यरत भूगर्भशास्त्र विषयका प्राध्यापक हुन् ।

प्रकाशित : कार्तिक १५, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?