कांग्रेसमा किन दरबारिया आकृति ?

दुर्भाग्यवश कांग्रेसले आफूमा दरबारिया आकृति मिसाएर आफ्नो लोकतान्त्रिक पहिचानमाथि नै नमेटिने दाग लगाउने काम गरेको छ ।

 कांग्रेसमा किन दरबारिया आकृति ?

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको समाचार पुरानो भइसकेको छ । तालमेलले बहुमत ल्याउँछ कि दुई तिहाइ नै जुटाउँछ, यी जिज्ञासा पनि बासी भइसकेका छन् । किनभने दुई कम्युनिस्ट बीचको एकाम्यताबाट लागेको भन्दा ठूलो झट्का त नेपाली कांग्रेसले दिएको छ । कांग्रेसले आफूसँग पूर्वपञ्चका दुई झुन्डलाई लिएर कम्युनिस्टहरूबाट लोकतन्त्रमाथि हुनसक्ने खतराबाट देशलाई जोगाउने निर्णय गरेको छ । जोबाट लोकतन्त्रमाथि बारम्बार प्रहार भयो, जसका कारण नेपालीहरूको उक्सिनै नसकिनेगरी दुर्गति भयो, तिनै पञ्चसँग अंकमाल गरेर कांग्रेस आफूलाई राजनीतिको केन्द्रीय भावमा कायम राख्ने उद्यम गरिरहेको छ ।

महाभारतको एउटा प्रसंग यस्तै बेलामा धेरैले सम्झन्छन्, म पनि सम्झन्छु । कांग्रेसका ‘स्वतन्त्र चिन्तक’ प्रदीप गिरी सबैभन्दा बढी सम्झन्छन् । कुरुक्षेत्रको युद्धमा कौरव पक्ष एकपछि अर्को पराजयतर्फ उन्मुख भइरहेको हुन्छ । एकसेएक सेनापतिहरू ढल्छन् । कौरव पक्षबाट सेनाको नेतृत्व गरिरहेका महापराक्रमी भीष्म धराशायी भइसकेका हुन्छन् । शस्त्र विद्यामा निपुण गुरु द्रोणाचार्य र अर्जुनकै टक्करका सूर्यपुत्र कर्णले पनि वीरगति प्राप्त गरिसकेका हुन्छन् । तैपनि दुर्योधनले युद्धमा आफूले जित्ने अभिलाशा त्यागेका हुँदैनन् । उनलाई अझै आशा हुन्छ, त्यसैले उनी मद्र नरेश शल्यलाई सेनापति बनाउने निष्कर्षमा पुग्छन् । शल्य कुनै कुशल योद्धा थिएनन्, नत उनको निष्ठा नै दुर्योधनप्रति थियो । पाण्डव पक्षबाट युद्ध गर्न आएका शल्य वासुदेव श्रीकृष्णको विशिष्ट रणनीति अन्तर्गत कौरव पक्षमा पुगेका हुन्छन् ।

शल्यको आफ्नाप्रतिको अनिष्ठा दुर्योधनलाई राम्ररी थाहा थियो । तैपनि तिनै शल्यलाई सेनापति बनाउनुपर्ने अवस्थामा पुगेका दुर्योधनको मन आफैंप्रति व्यंग्य गर्दै भन्छ, ‘धन्य आशा बलवति, शल्यश्च: सेनापति ।’ अर्थात् आशा बडो बलवान हुँदोरहेछ, शल्यलाई सेनापति बनाएर अझै म युद्ध जितुँला, भन्ठान्दैछु ।’ यस दृष्टान्तको तात्पर्य मेरा विज्ञ पाठकहरूलाई भनिरहनु पर्दैन । कुनै पनि होशमा बाँच्ने कांग्रेसलाई, पूर्वपञ्च र दरबारियाले कांग्रेसप्रति सदैव कुभलो नै चिताएका हुन्छन् भन्ने यथार्थ राम्ररी थाहा छ । तर कांग्रेसमा पञ्च, दरबारियाप्रति अनुराग राख्नेहरूको कमी कहिल्यै भएन र त्यही अनुरागका कारण लोकतन्त्रमाथि घात हुने कर्म पनि कहिल्यै रोकिएन ।

नेपाल के, संसारमै लोकतन्त्रलाई तारो बनाउने धेरै छन्, हुन्छन् । कम्युनिस्टले पनि मौका पाए सिद्धयाउँछन् । त्यस्तै देखिनलाई लोकतन्त्र, लोकतन्त्र भनिहिँड्नेले यसलाई भित्रभित्रै खोक्रो पारेका दृष्टान्त खोज्न अन्यत्र हेर्नै पर्दैन, नेपालमै प्रशस्तै छन् र कांग्रेसमै त्यस्ता पात्र नेतृत्वमै पुगेका छन् । त्यस्तै पात्रका लागि पञ्च, दरबारियाहरू प्रिय हुन्छन् र तिनैले आगामी निर्वाचनमा दरबारियासित सहकार्य गर्ने मार्गचित्र तयार पारेका हुन् । यो खेल वास्तवमा कम्युनिस्ट एकजुट भएभन्दा खतरनाक छ, किनभने यसले लोकतन्त्रभित्रै पसेर यसैका जरा काटिदिन्छ । पढौं, २००७ सालपछिका प्रसंगहरू कसका कारण यो देश दीनहीन अवस्थामा पुग्यो ?

कांग्रेसले राष्ट्रपिता बनाएका त्रिभुवनले कांग्रेसमै फाटो हालेर आफैं राज गरेका थिए । त्रिभुवनका छोरा महेन्द्रले नेपालीहरूको स्वतन्त्रता हरण गरे, कांग्रेसका संस्थापकहरूलाई नै जेलमा कोचे । त्यस्तै वीरेन्द्र हुन् अथवा उनको सवंश विनाशको पृष्ठभूमिमा बलात् राजा बनेका ज्ञानेन्द्रका कृत्यहरू पढ्न इतिहास खोज्नै पर्दैन, आज सुनसान हुनपुगेको नारायणहिटीका भित्ताहरू हेरे आफैं थाहा हुन्छ । पञ्च, दरबारियाहरू जनतालाई कज्याएर आफ्ना महत्त्वाकांक्षा पूरा गर्ने तिनै राजाहरूका भारदार हुन् । त्यसैले अंग्रेजीमा राजा र तिनका मतियारलाई ‘ब्लु ब्लड’ (नीलो रगत) भनिन्छ । तिनीहरूका मनमा दया हुँदैन, देशको माया हुँदैन, जनताको सुखदु:ख र आत्मसम्मानको चिन्ता हुँदैन । जहाँ मायाजस्तो देखिन्छ, त्यो देखावटी हुन्छ । जहाँ दया गरेजस्तो गर्छन्, तिनीहरूको त्यहाँ कपट हुन्छ । तिनीहरूले दिएको, दिएको हुँदैन छल हुन्छ । कांग्रेसले आफ्ना विगतका पाना पल्टाएर हेरोस्, पाइला–पाइलामा यसले दरबार र दरबारियाबाट धोखा खाएको इतिहास छ । कांग्रेसको जे होस् भन्ने हो भने पनि मन राख्ने ठाउँ छैन, किनभने पञ्च, दरबारियाले जनतालाई आफ्ना नैसर्गिक अधिकारबाट बञ्चित राख्न वर्षौंवर्ष कुकृत्य गरेका हुन् ।

कांग्रेस भन्छ, कम्युनिस्ट गठबन्धनले चुनाव जिते देशमा एकदलीय तानाशाही लादिन्छ । तर त्यस्तो हुँदैन, किनभने जो साँच्चै कम्युनिस्ट हुन्, ती गुफा पसिसकेका छन् कि अब यो संसारमै छैनन् । त्यसै पनि कम्युनिस्ट कहिल्यै सुल्टो हिँडेनन्, किनभने कार्लमाक्र्सले हेगेलको सुल्टो विचारलाई सुरुमै उल्टाएका थिए । कांग्रेसले जजसलाई कम्युनिस्ट भनेर देखाइरहेको छ, ती अर्बौंको लेनदेन गर्ने साहु महाजन हुन् । तथापि नाम कम्युनिस्ट छ, मानिलिउँ कम्युनिस्ट नै हुन् । बहुमत नै ल्याए पनि केही लछारपाटो लागाउनेवाला छैनन् । यी पहिला २०२७–२८ साल र पछि २०५२ सालमै जनवादी क्रान्ति गर्न हिँडेका थिए, तर तिनीहरू मध्येकै पाका जनवादी क्रान्तिको भ्रान्तिबाट मुक्त भएर अचेल ‘प्रपर्टी डिलर’ बनिसकेका छन् । त्यसैले यिनले बहुमत ल्याए ल्याउन् । आफैं उदांगिन्छन्, एक्लिन्छन् । यिनले बहुमत ल्याउलान् भन्ने त्रासले कांग्रेस पञ्चका पोल्टामा जानु कति घातक छ, धेरै पर्खनु पर्दैन, त्यो चुनावमै थाहा भइहाल्नेछ ।

अब कम्युनिस्टमाथि धेरै शब्द खर्च नगरौं, किनभने यो विचार नै सान्दर्भिक रहेको छैन । करिब तीन दशकपूर्व नै पूर्वी युरोपमा यिनको मेनिफेस्टोको मृत्यु र सोभियत संघको विघटनसँगै दाहसंस्कार भइसकेको हो । यहाँ अझै त्यसैको अवशिष्ट स्मृति बाँकी छ, किनभने २०६३ सालसम्म नेपाली जनता दरबारका फन्दामा परेका थिए । नेपाली जनता त्यो फन्दाबाट मुक्त भइसकेका छन्, त्यसैले कम्युनिस्ट ढोलको आवाजले अब खासै असर गर्दैन, गरे पनि टिक्दैन ।

झन् कम्युनिस्ट देखिने तर मनमनै निजी सम्पत्तिको शौख राख्नेको त कुरै नगरौं, ती पाखण्डी हुन् । तर कम्युनिस्ट, कम्युनिस्ट हुन्, नहुन् जे हुन्, ती जे भए पनि दरबारियाजस्ता नीलो रगत होइनन्, रातो रगत नै हुन् । ती जनतामाझकै तर विचरा विचलित प्राणी हुन् । पञ्चहरू, दरबारियाहरू जनता माझका होइनन् । तिनको रगत फरक छ, सोचमै शोषण र तिनमा आफू विशिष्ट भएको अहं छ । आफूलाई जन्मजातै महान ठान्ने रोग छ । यो रोग लोकतन्त्रका लागि सबैभन्दा घातक हुन्छ । किनभने लोकतन्त्रप्रेमीले सबथोक सहन्छ, तर निजी प्रतिष्ठामा असमानता सहँदैन । धन कमबेसी हुन्छ नै, तर लोकतन्त्रमा व्यक्ति–व्यक्तिको प्रतिष्ठा कमबेसी मानिएको स्वीकारिँदैन ।

अब चुनाव हेरौं । निश्चय नै बाहिरी रूपमा ‘कम्युनिस्ट’ गठबन्धनले केन्द्रीय प्रतिनिधिसभा र अधिकांश प्रदेशसभामा अग्रता हासिल गर्ने अनुमान गरिँदैछ । यो वास्तवमा स्थानीय तहको परिणामका आधारमा गरिएको अनुमान हो । तर, त्यतिखेरका मुद्दा र यतिखेर निकै तलमाथि भइसकेको छ । त्यतिखेर एमालेलाई लोकतान्त्रीकरणको मार्गमा गतिशील र राष्ट्रियताको प्रवक्ताका रूपमा चिनिएको थियो भने यतिखेर माओवादी केन्द्रसँगको तालमेलका कारण उसको त्यो छवि यथावत् छैन र चुनावी मैदानमा यसको लाभ यदि दरबारियासँग आफ्नो गठबन्धन तोड्यो भने कांग्रेसलाई मिल्ने देखिन्छ । फेरि पहिलो हुने प्रथा बहुकोणीय प्रतिस्पर्धामा आधारित हुन्छ, यस्तोमा अंकको जोड–घटाउ मात्र काम लाग्दैन, ज्यामितीय गणनाको अहम् भूमिका हुन्छ । एमाले–माओवादीले स्थानीय तहमा पाएको मत जोडिन्छ र कम्युनिस्टले राज्यसत्ता कब्जा गर्छन् भन्ने कांग्रेसको त्रास त्यसै पनि व्यावहारिक होइन । किनभने एमालेले उतिखेर पाएको भोट एमालेकै पोल्टाको थिएन, त्यसमा कांग्रेसका असन्तुष्ट भोट पनि थिए । यसका साथै यहाँ के पनि बिर्सन मिल्दैन भने एमालेलाई भोट बटुल्न ठूलो सघाउ त वास्तवमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण पुगेको थियो ।

साथै के पनि मननीय छ भने माओवादीलाई सबै एमाले मतदाताले भोट दिन्छन् भन्नु आफैंमा अतिशयोक्तिपूर्ण हुन्छ । किनभने सगोत्री हुँदाहुँदै पनि माओवादी विद्रोहका बेला एमाले कार्यकर्ताले पनि माओवादीको यातना सहेका थिए । त्यसैले आगामी चुनावमै एकका सबै मतदाताले अर्कोलाई मत दिन्छन् भनेर पत्याइहाल्ने अवस्था छैन । यसर्थ अहिले कम्युनिस्ट गठबन्धनले सबै एकोहोर्‍याउन सक्छ भन्ने जुन अनुमान गरिँदैछ, त्यो ठ्याक्कै उल्टो पनि हुनसक्थ्यो, यदि कांग्रेस पञ्चहरूसँग गठबन्धनमा नगएको भए ।

समग्र परिदृश्य हेर्दा, माओवादीसँग जोडिएका कारण एमालेले तथा पूर्वपञ्चहरूसँग जोडिन लोभिएकाले कांग्रेस दुबैले चुनावी क्षति बेहोर्नुपर्ने त देखिएको छ नै, निर्वाचनको परिणाम जे होस्, दुर्भाग्यवश कांग्रेसले भने आफूमा दरबारिया आकृति मिसाएर आफ्नो लोकतान्त्रिक पहिचानमाथि नै नमेटिने दाग लगाउने काम गरेको छ ।

प्रकाशित : कार्तिक १७, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?