१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोहोर सफा गर्ने बानी गरौं

डा. अरूणा उप्रेती

‘जता हेर्‍यो उतै नजरमा, राम प्यारा छन्’ भन्ने एउटा भक्ति गजल छ । त्यो गाउँदा म सम्झिन्छु, ‘नेपालमा जता हेर्‍यो, उतै फोहोर सारा छन् ।’ म अचम्ममा पर्छु, किन मैलेमात्रै नेपालको सौन्दर्य देख्न सक्दिन, वर्णन गर्न सक्दिन ? सायद मेरो आँखा नै फोहोरी हो कि ?

फोहोर सफा गर्ने बानी गरौं

केही हप्ताअघि नेसनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने दस ठाउँको फोटो आयो । सबै खुुसी भए, तर त्यो बेला म सम्झिरहेको थिएँ– थापाथलीको पुलमा हिँड्दा गनाउने वागमती, विभिन्न ठूलठूला बसपार्कमा फ्याँकिएका कागज र फोहोरका थुप्रा जो वर्षातसँगै हिलोमा परिणत हुन्छन् । त्यो बेला म सम्झिरहेको थिएँ– भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा थुप्रिएका फोहोर ।

लोन्ली प्लानेटले २०१७ सालमा घुम्नुपर्ने देशहरूमध्ये नेपाललाई पनि राखेको देखेर सबै खुसी नै भयौँ होला, पर्यटकहरूको घुइँचो बढनेछ भनेर । यसै बीचमा रारामा आन्तरिक पर्यटकहरू गएर त्यहाँको सौन्दर्य अवलोकन गरेको समाचार सुनेर पनि खुसी भयौँ । तराईका मन्दिरहरूको दर्शन गरेर त्यहाँको प्रसाद लगाएर फोटो खिच्नेहरूको भिड हेर्दा नेपाल त कति आधुनिक देश रहेछ भनेर गुन्न करै लाग्छ । फेवाताल र राराको अगाडि सेल्फी खिचेर माछापुच्छ्ेरको फोटो खिचेर फेसबुकमा राख्दा हामी आहा नेपाल त स्वीट्जरल्यान्ड जस्तै छ पनि भन्छौं । तर यी सबै ठाउँमा फोहोर फैलिरहेको किन बिर्सने ? हामी सबै भन्छौं, ‘नेपाल राम्रो छ, हिमाल राम्रो छ ।’ तर त्यो सुन्दरताको वरिपरि मानिसले थुपारेको फोहोरलाई चाहिँ वास्तै गर्दैनौं । पशुपतिनाथ परिसरको हालत पनि यस्तै छ । 

डोटीको शैलेश्वरी जाँदा होस् वा मनकामना जाँदा बाटोमा फोहोरका डंगुर फ्याँकेको हुन्छ । तर आध्यात्मिकताको नशाले गर्दा त्यो फोहोरले नेपालीलाई त पटक्कै छुँदैन । तर लोन्ली प्लानेट पढेर कोही पर्यटक यी तीर्थस्थलमा गए भने तिनले के विचार गर्लान् त ? के नेपालीहरूलाई फोहोरी हुने रोग नै लागेको छ त ? यसो हँुदो हो त ५ तारे होटल, निजी स्कुलहरू पनि त फोहोर नै हुनुपर्ने हो । सैनिक र प्रहरीका गुल्म पनि फोहोर नै हुनुपर्ने हो, ठूलठूला व्यापारीका घरहरू पनि फोहोर नै हुनुपर्ने हो । तर यी सबै ठाउँ सफा छन् । तर सरकारी कार्यालय, शौचालय, मैदानचाहिँ किन फोहोर भएका होलान् ? कुनै पनि सरकारी कार्यालयमा जाँदा सचिव, सहसचिवको कोठा कुन हो भनेर सोध्नुपर्छ । तर शौचालय कहाँ छ भनेर त सोध्नै पर्दैन । किनभने शौचालयबाट आएको ‘बास्ना’ले स्वत: देखाउँछ, बाटो शौचालयको । यदि नेसनल जोग्राफीले यस्ता ठाउँहरूलाई फोटो खिचेर देखायो भने ?

कोही व्यक्ति जतिसुकै राम्रो भए पनि, ग्रीक देवताको जस्तो अनुहार भए पनि, यदि उसको जीउभरि मयल छ, नाकबाट सिँगान बग्छ, पसिनाले शरीर गन्हाएको छ, मुख गन्हाएको छ, आँखामा किचर परेका छन् भने उसको नजिक को जान चाहला र ? वा जतिसुकै सुन्दर रेशमी वस्तुको लुगा वा सुनको धागोले बनाएको लुगा लगाए पनि उनको शरीरमा हिलो छ्यापिएको छ भने ऊसंग को पो साथी बनोस्’ भन्ने चाहला र ? नेपाल पनि सुन्दर व्यक्तिजस्तै छ, तर फोहोर, हिलो र गन्धले कुरूप बन्दैछ । 
नेपालको सौन्दर्यको वर्णन पढेर यदि कुनै विदेशी साथीले आफू नेपाल आउन लागेको खबर इमेलबाट पठायो भने तपाई के भन्नुहोला उनलाई ? म त भन्नेछु, ‘नेपालका डाँडाकाँडा, हिमाल त सुन्दर छन् । मानिसहरू पनि आतिथ्यप्रेमी छन्, तर तिमी नेपाल आउँदा फोहोर सहन सक्ने, प्रकृतिलाई हामीले नष्ट गरेको संस्कृति हेर्न र सहन सक्ने शक्ति भएमात्र आऊ । होइन भने टाढा बसेर टिभी र युट्युव, किताब र पत्रिकामा नै नेपालको सौन्दर्य हेरेर आनन्द लेऊ । यहाँ आएपछि तिम्रो मन यहाँको फोहोरी मानिसको विवेकहीनता, जताततै थुक्ने, जताततै रछ्यान बनाउने प्रवृत्तिले दिक्क भएर भाग्न खोज्छौ भने त तिम्रो त्यति धेरै पैसा र समय नष्ट हुनेछ । नेपालीहरू नै जताततै थुक्छन् । नदीनाला फोहोर पारेका छन् । सडक, मन्दिर, पाटीपौवा सबै दुर्गन्धित बनाएका छन्, शौचालय बनाए पनि त्यसको व्यवस्थापन गर्न जानेका छैनन् । प्लाष्टिकको पोकोले देवस्थल ढपक्क लागिसक्यो ।

त्यसैले मानव सिर्जित यस्ता फोहोरबाट नेपाललाई बचाउनसके मात्र विदेशी मित्रहरूले हाम्रो मुलुकको सौन्दर्यको रसास्वादन गर्न सक्छन् । यस्तै गरेर नेपाल फोहोर छ भन्ने सन्देश गयो भने पर्यटकहरू आउन छाड्नेछन् र हाम्रो पर्यटन उद्योग धराशायी बन्नेछ । यसर्थ हामी सबैले आफ्नो वरिपरिका मानव सिर्जित फोहोर व्यवस्थापनमा ध्यान दिऔं । नेपाली सभ्यताको परिचय दिऔं । र संसारभरि नै नेपाली सफा जाति भन्ने चिनारी स्थापित गरौं ।

प्रकाशित : कार्तिक २१, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?