फोहोर सफा गर्ने बानी गरौं

डा. अरूणा उप्रेती

‘जता हेर्‍यो उतै नजरमा, राम प्यारा छन्’ भन्ने एउटा भक्ति गजल छ । त्यो गाउँदा म सम्झिन्छु, ‘नेपालमा जता हेर्‍यो, उतै फोहोर सारा छन् ।’ म अचम्ममा पर्छु, किन मैलेमात्रै नेपालको सौन्दर्य देख्न सक्दिन, वर्णन गर्न सक्दिन ? सायद मेरो आँखा नै फोहोरी हो कि ?

केही हप्ताअघि नेसनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने दस ठाउँको फोटो आयो । सबै खुुसी भए, तर त्यो बेला म सम्झिरहेको थिएँ– थापाथलीको पुलमा हिँड्दा गनाउने वागमती, विभिन्न ठूलठूला बसपार्कमा फ्याँकिएका कागज र फोहोरका थुप्रा जो वर्षातसँगै हिलोमा परिणत हुन्छन् । त्यो बेला म सम्झिरहेको थिएँ– भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा थुप्रिएका फोहोर ।

लोन्ली प्लानेटले २०१७ सालमा घुम्नुपर्ने देशहरूमध्ये नेपाललाई पनि राखेको देखेर सबै खुसी नै भयौँ होला, पर्यटकहरूको घुइँचो बढनेछ भनेर । यसै बीचमा रारामा आन्तरिक पर्यटकहरू गएर त्यहाँको सौन्दर्य अवलोकन गरेको समाचार सुनेर पनि खुसी भयौँ । तराईका मन्दिरहरूको दर्शन गरेर त्यहाँको प्रसाद लगाएर फोटो खिच्नेहरूको भिड हेर्दा नेपाल त कति आधुनिक देश रहेछ भनेर गुन्न करै लाग्छ । फेवाताल र राराको अगाडि सेल्फी खिचेर माछापुच्छ्ेरको फोटो खिचेर फेसबुकमा राख्दा हामी आहा नेपाल त स्वीट्जरल्यान्ड जस्तै छ पनि भन्छौं । तर यी सबै ठाउँमा फोहोर फैलिरहेको किन बिर्सने ? हामी सबै भन्छौं, ‘नेपाल राम्रो छ, हिमाल राम्रो छ ।’ तर त्यो सुन्दरताको वरिपरि मानिसले थुपारेको फोहोरलाई चाहिँ वास्तै गर्दैनौं । पशुपतिनाथ परिसरको हालत पनि यस्तै छ । 

Yamaha

डोटीको शैलेश्वरी जाँदा होस् वा मनकामना जाँदा बाटोमा फोहोरका डंगुर फ्याँकेको हुन्छ । तर आध्यात्मिकताको नशाले गर्दा त्यो फोहोरले नेपालीलाई त पटक्कै छुँदैन । तर लोन्ली प्लानेट पढेर कोही पर्यटक यी तीर्थस्थलमा गए भने तिनले के विचार गर्लान् त ? के नेपालीहरूलाई फोहोरी हुने रोग नै लागेको छ त ? यसो हँुदो हो त ५ तारे होटल, निजी स्कुलहरू पनि त फोहोर नै हुनुपर्ने हो । सैनिक र प्रहरीका गुल्म पनि फोहोर नै हुनुपर्ने हो, ठूलठूला व्यापारीका घरहरू पनि फोहोर नै हुनुपर्ने हो । तर यी सबै ठाउँ सफा छन् । तर सरकारी कार्यालय, शौचालय, मैदानचाहिँ किन फोहोर भएका होलान् ? कुनै पनि सरकारी कार्यालयमा जाँदा सचिव, सहसचिवको कोठा कुन हो भनेर सोध्नुपर्छ । तर शौचालय कहाँ छ भनेर त सोध्नै पर्दैन । किनभने शौचालयबाट आएको ‘बास्ना’ले स्वत: देखाउँछ, बाटो शौचालयको । यदि नेसनल जोग्राफीले यस्ता ठाउँहरूलाई फोटो खिचेर देखायो भने ?

कोही व्यक्ति जतिसुकै राम्रो भए पनि, ग्रीक देवताको जस्तो अनुहार भए पनि, यदि उसको जीउभरि मयल छ, नाकबाट सिँगान बग्छ, पसिनाले शरीर गन्हाएको छ, मुख गन्हाएको छ, आँखामा किचर परेका छन् भने उसको नजिक को जान चाहला र ? वा जतिसुकै सुन्दर रेशमी वस्तुको लुगा वा सुनको धागोले बनाएको लुगा लगाए पनि उनको शरीरमा हिलो छ्यापिएको छ भने ऊसंग को पो साथी बनोस्’ भन्ने चाहला र ? नेपाल पनि सुन्दर व्यक्तिजस्तै छ, तर फोहोर, हिलो र गन्धले कुरूप बन्दैछ । 
नेपालको सौन्दर्यको वर्णन पढेर यदि कुनै विदेशी साथीले आफू नेपाल आउन लागेको खबर इमेलबाट पठायो भने तपाई के भन्नुहोला उनलाई ? म त भन्नेछु, ‘नेपालका डाँडाकाँडा, हिमाल त सुन्दर छन् । मानिसहरू पनि आतिथ्यप्रेमी छन्, तर तिमी नेपाल आउँदा फोहोर सहन सक्ने, प्रकृतिलाई हामीले नष्ट गरेको संस्कृति हेर्न र सहन सक्ने शक्ति भएमात्र आऊ । होइन भने टाढा बसेर टिभी र युट्युव, किताब र पत्रिकामा नै नेपालको सौन्दर्य हेरेर आनन्द लेऊ । यहाँ आएपछि तिम्रो मन यहाँको फोहोरी मानिसको विवेकहीनता, जताततै थुक्ने, जताततै रछ्यान बनाउने प्रवृत्तिले दिक्क भएर भाग्न खोज्छौ भने त तिम्रो त्यति धेरै पैसा र समय नष्ट हुनेछ । नेपालीहरू नै जताततै थुक्छन् । नदीनाला फोहोर पारेका छन् । सडक, मन्दिर, पाटीपौवा सबै दुर्गन्धित बनाएका छन्, शौचालय बनाए पनि त्यसको व्यवस्थापन गर्न जानेका छैनन् । प्लाष्टिकको पोकोले देवस्थल ढपक्क लागिसक्यो ।

त्यसैले मानव सिर्जित यस्ता फोहोरबाट नेपाललाई बचाउनसके मात्र विदेशी मित्रहरूले हाम्रो मुलुकको सौन्दर्यको रसास्वादन गर्न सक्छन् । यस्तै गरेर नेपाल फोहोर छ भन्ने सन्देश गयो भने पर्यटकहरू आउन छाड्नेछन् र हाम्रो पर्यटन उद्योग धराशायी बन्नेछ । यसर्थ हामी सबैले आफ्नो वरिपरिका मानव सिर्जित फोहोर व्यवस्थापनमा ध्यान दिऔं । नेपाली सभ्यताको परिचय दिऔं । र संसारभरि नै नेपाली सफा जाति भन्ने चिनारी स्थापित गरौं ।

Esewa Pasal

प्रकाशित : कार्तिक २१, २०७४ ०८:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गर्भपतनको अधिकार र अर्थ

डा. अरूणा उप्रेती

केही दिनअघि पत्रपत्रिकामा एउटा समाचार अनुसार २०१४ मा नेपालमा झन्डै ३ लाख २३ हजार महिलाको गर्भपतन भयो । त्यसमा ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाले भएको थियो । यो समाचार पढेर यस्तो लाग्यो, मानौं नेपाल जथाभावी गर्भपतन गराउने ‘राजधानी’ बन्दैछ ।

मानौं, कतिपय महिलालाई लाग्दो रहेछ कि गर्भपतन मकै–भटमास हो, बाटोमा हिँड्दा–हिँड्दै खाए पनि हुने, घरमा बसेर खाए पनि हुने । हामीले सुरक्षित गर्भपतनलाई कानुनी रूप दिनुपर्छ र असुरक्षित तरिकाले हुने गर्भपतन रोकेर महिलाको ज्यान बचाउनुपर्छ भन्ने मुद्दा उठाएका थियौं । महिलाको आफ्नो शरीरमाथि आफ्नै अधिकार हुनुपर्छ भनेर आवाज उठाएका थियौं र सुरक्षित गर्भपतनले महिलाको जीवन र अधिकार सुरक्षा गर्छ भन्नेमा हामी विश्वस्त थियौं ।

मातृ मृत्युदर कम गर्न पनि सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर बारम्बार बोलेका थियांै । किनभने असुरक्षित गर्भपतनले गरिब महिला बढी मर्थे । मुलुकी ऐनका विभिन्न धाराअनुसार गर्भपतनको मुद्दामा जेलमा पर्ने पनि गरिब महिला नै थिए । डाक्टर र नर्सचाहिँ जति गर्भपतन गराए पनि कहिले पनि जेल पर्दैनथे । राज्यले गरिब, बोल्न र लेख्न नजान्ने महिलामाथि गरेको यो अन्यायको विरुद्ध संघर्ष गरेका थियौं– बोलेर, लेखेर र पैरवी गरेर । लामो समयको संघर्षपछि नेपालमा गर्भपतनले कानुनी रूप पाएपछि एउटा ठूलो लडाइँ जितेको जस्तो लागेको थियो । यस कानुनले महिला मातृ मृत्युदर घटायो पनि । तर अहिले त यसरी जथाभावी गर्भपतन गर्दा त झन् समस्या हुनलागेको हो कि भन्ने हुनलागेको छ । गर्भपतनलाई कानुनी रूपमा सुरक्षित गराउनुको अर्थ सकेसम्म बढी गर्भपतन होस् भन्ने होइन कि सकेसम्म गर्भपतन गराउन नै नपर्ने अवस्था सिर्जना गर्ने र जब एकदमै जरुरी पर्छ, त्यो बेलामा मात्र सुरक्षित तरिकाले गर्भपतन गराउन पाउनुपर्छ भन्ने विचार बारम्बार डाक्टर र महिला अधिकारकर्मीले बोल्दै आएका छन् । 

एक तथ्यांकले सन् २०११ देखि २०१६ सम्म नेपालमा झन्डै ४ लाख सुरक्षित गर्भतन भएको देखाएको छ । तर २०१४ मा गरिएको अनुसन्धानले देखाए अनुसार नेपालमा ३ लाख २३ हजार गर्भपतन भएकामा १ लाख ३७ हजारमात्रै सुरक्षित र कानुनी गर्भपतन भएको र बाँकी अर्थात झन्डै ५८ प्रतिशत असुरक्षित गर्भपतन भएको देखाएको छ । यसरी गर्भपतन भएका/गराएका मध्ये झन्डै ६३ हजार २ सय महिलालाई जटिलता भएर अस्पतालमा उपचार गराइएको छ । यी मध्ये धेरैजसो पक्कै पनि असुरक्षित ठाउँबाट गरिएको गर्भपतनपछिको जटिलता नै होला । यस्तो तथ्यांक देखिनु पक्कै पनि स्वास्थ्य मन्त्रालय, योजना आयोगका लागि पनि सहज नहुनुपर्ने हो । स्वास्थ्य मन्त्रालयलाई सहज नहुने किन होला भन्ने प्रश्न उठन सक्छ । किनभने यस्तो तथ्यांकले स्वास्थ्य मन्त्रालयको परिवार नियोजन कार्यक्रम असफल भएको देखाएको छ । परिवार नियोजन कार्यक्रम सफल हुँदो हो त यति धेरै गर्भपतन हुने थिएन होला ।

गर्भपतनको जटिलता भएर ६३ हजार ३ सय महिला अस्पतालमा सेवा लिन आउँदा त्यसले कति आर्थिक स्रोत, डाक्टरको समय लिएको छ, त्यो हेक्का राख्ने हो भने डरलाग्दो तथ्यांक देखिन्छ । सुरक्षित/असुरक्षित गराउँदा राज्य वा व्यक्तिलाई एउटा गर्भपतनका लागि १ हजार रुपैयाँ नै तिर्नुपर्‍यो भने पनि ३ लाख २३ हजारका लागि ३२ करोडभन्दा बढी खर्च भयो । गर्भपतनको जटिलता भएका ६२ हजार ३ सय महिलालाई उपचार गर्न सरदरमा २ हजार रुपैयाँ नै खर्च भयो भने पनि १२ करोड ४६ लाख खर्च भयो । यस्ता जटिलता भएका कति महिलालाई जीवन भरिका लागि समस्या परिरहन सक्छ । यो पैसा समुदाय र गाउँमा महिलालाई जथाभावी तरिकाले गर्भपतन गर्न हुँदैन भन्ने जानकारी दिन र प्रजनन स्वास्थ्य सुधार गर्नमा लगाइएको भए महिला स्वास्थ्यमा कति सुधार हुन्थ्यो होला ?
स्वास्थ्य मन्त्रालयले सुरक्षित गर्भपतन पनि सकेसम्म गर्न नपरोस् भनेर कुनै कार्यक्रम ल्याएको देखिँदैन, नत असुरक्षित तरिकाले गर्भपतन गरेपछि के हुनसक्छ भनेर जानकारी दिन कुनै कार्यक्रम ल्याएको छ । यसमा सायद हामीजस्ता वकालत गर्ने स्वास्थ्यकर्मीको पनि कमजोरी छ । जसले गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि सरकार र समुदायलाई सुरक्षित कानुनी गर्भपतन पनि सकेसम्म गर्न नपरोस् भनेर कार्यक्रमको वकालत गर्न सकेनौं । सरकारले पनि जथाभावी तरिकाले किशोरी र महिलाले गर्भपतन गराउन हुँदैन भन्ने कार्यक्रम चलाउन र परिवार नियोजनलाई सर्वसुलभ बनाउन सकेन । यौन शिक्षाबारे जानकारी दिनसके यौन सम्बन्ध राखेर बरु किशोरीलाई चकलेटजस्तै ‘इमर्जेन्सी पिल’ खाए पनि हुन्छ भन्नेजस्ता विज्ञापन बजाइरह्यो । यस्ता पिल्सको नकारात्मक असर के हुन्छ भन्ने बारेमा कतै बोलिएन । 

संविधानले दिएको प्रजनन अधिकार र आफ्नो शरीरमाथि आफ्नो अधिकारको पैरवी पनि दुरुपयोग हुनपुग्यो । मैले कैलालीमा गर्भपतन गराएर आएकी एक १७ वर्षीया किशोरीलाई यसरी जथाभावी गर्भपतन गर्न हुँदैन भन्दा उनको जवाफ थियो, ‘मेरो शरीरमा मेरो अधिकार छ । मैले गर्भपतन गराउँ वा राखँु, कसैले केही बोल्न पाउँदैन ।’ ती किशोरीको कुराले लाग्यो, कतै हामीले शरीर माथिको अधिकारबारे बढी वकालत गर्‍यौं र किशोरीले अधिकारचाहिँ बुझे, आफ्नो शरीरप्रतिको जिम्मेवारीचाहिँ बुझेनन् । 

एक वरिष्ठ स्त्रीरोग विशेषज्ञले सुनाएकी थिइन्, ‘कति किशोरी फलफूलको रसको बट्टा चुस्दै साथीहरूसँग कुरा गर्दै मकहाँ गर्भपतनको आग्रह गर्न आउँछन् । के गरुँ, मैले सुरक्षित तरिकाले गर्भपतन नगराइदिए फेरि कुनै ठगको हातमा परेर असुरक्षित तरिकाले गर्भपतन गराउलान् भन्ने डर हुन्छ । यसरी १६ वर्षीया किशोरीको गर्भपतन गर्दा उनको अभिभावकको मञ्जुरी लिनुपर्छ भन्ने त मलाई थाहा छ, तर कसरी लिनु अभिभावकको मञ्जुरी ? सुरक्षित गर्भपतन गराउँछु । किशोरीले रकम पनि सहजै तिर्छिन् र एकछिन पछि साथीसँग हाँस्दै फर्कन्छिन् । यसरी किशोरीले आफ्नो शरीरको वास्ता नगरेको र यति सानै उमेरमा यौन सम्बन्ध राखेको देखेर म त छक्क पर्छु ।’ 

यस्ता घटना भए पनि कुनै हालतमा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिनुहुन्न भन्ने पक्षमा हामी स्वास्थ्यकर्मी छैनौं । हामी त सुरक्षित गर्भपतनको अधिकार हुनैपर्छ भन्छौं । तर देशमा यति धेरै सुरक्षित, असुरक्षित गर्भपतन भइरहनु र गर्भपतनको जटिलता भइरहनुले के देखाउँछ भन्ने स्वास्थ्य मन्त्रालयको प्रजनन सम्बन्धी योजना कार्यक्रममा केही न केही समस्या छ । सुरक्षित गर्भपतनको अधिकारबाट कोही पनि बञ्चित हुनुहुँदैन । महिलाले सुरक्षित गर्भपतन गर्न पनि सकेसम्म गर्नै नपरोस् र लाखौंको संख्यामा भइरहेको असुरक्षित गर्भपतन नहोस् भन्नका लागि के गर्न सकिन्छ भनेर विचार गर्नुपर्ने बेला भएन र ?

प्रकाशित : असार ९, २०७४ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT