कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सत्य धर्म मुचुल्काको सान्दर्भिकता

सन्दर्भ : फाल्गुनन्द जयन्ती
लक्ष्मी गौतम

काठमाडौं — राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बामा भएको हो । जगनबाज र हंसमती लिङदेनका साहिँला छोरा नरध्वज हातमा फलामे चुरा लगाएका कारण फलामसिंह नामले चिनिए र कालान्तरमा फाल्गुनन्द नाममा प्रसिद्धि कमाए । पाँचथरलाई कर्मभूमि बनाएका उनी जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञानपुञ्ज छर्न उद्यत रहे ।

सत्य धर्म मुचुल्काको सान्दर्भिकता

बाल्यकालको अधिक समय आफ्ना पितासँगै गाईगोठमा बिताएका उनी साकाहारी थिए । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएर १३ वर्ष जागिर खाए । भारतीय सेनाबाट फर्केपछि उनले पाँचथर, इलाम, ताप्लेजुङ, भुटान र तेह्रथुमका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान चलाएका थिए । उनी बाल्यकालबाटै सत्य आहार, सत्य विहार, सत्य व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्थे । खानपान र संस्कारले किरात समुदाय पछाडि पर्दै गएको महसुस गर्दै उनले समाज सुधार अभियान चलाए । 

उनले १९८८ बैसाख २४ गते पाँचथरको सिलौटीमा तत्कालीन दस लिम्बुवानका प्रतिनिधि बोलाएर विकृति, विसंगति हटाउँदै समाज सुधार गर्न दसबुँदे सत्य धर्म मुचुल्का गराएका थिए । जसलाई किरात समाज सुधारको पहिलो खुड्किलोका रूपमा लिइन्छ र बैसाख २४ गते समाज सुधार दिवसका रूपमा मनाउने गरिन्छ ।

सत्य धर्म मुचुल्कामा थेवासाम, युमासाम, तागेरा निङवाभुमाङ अर्थात इष्टदेवको नित्य सेवा र पूजापाठ गर्ने, किरातेश्वर गुरुकुल माङहिमहरूमा मातृभाषा लिपिमा अध्ययन–अध्यापन गर्ने–गराउने, देव पितृकार्यमा मासु–मदिराको साटो धुप, नैवेद्य, दूध प्रयोग गर्ने उल्लेख छ । छोरीचेलीको विवाह कर्ममा सुनौली–रूपौली नलिने साथै जारी उठाउने जस्ता कार्य नगर्ने, छोराछोरीलाई बराबर लेखपढ र समान अंशबन्डा दिने–लिने हक कायम गर्ने–गराउने, मासुमंस, मदिरा सेवन नगर्ने पनि लेखिएको छ । यस्तै धाननाच र च्याब्रुङ नाचजस्ता सांस्कृतिक नृत्यहरू जहाँ पायो, त्यहीं ननाच्ने तथा समय अनुकूल परिमार्जन गर्दै लैजाने र घरेलु उद्योगलाई प्राथमिकता दिँदै कपास र खाडी कपडा बुनेर प्रयोग गर्ने मुचुल्कामा उल्लेख छ । 

फाल्गुनन्दले प्रतिपादन गरेको दर्शन बोक्ने मूल संस्था किरात धर्म तथा साहित्य उत्थान संघ हो, जुन जिल्ला प्रशासन कार्यालय पाँचथरमा २०३६ सालमा दर्ता भए पनि धर्म निरपेक्ष स्वतन्त्रताको पक्षधर संस्था भएको भन्दै २०४० सालमा तत्कालीन राजा वीरेन्द्र शाहको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा बोर्ड बैठकले खारेज गरिदियो । प्रजातन्त्र पुन:स्थापना पश्चात २०५४ सालमा पुन: यो संस्था जिल्ला प्रशासन कार्यालय पाँचथरमै दर्ता भएर समाज कल्याण परिषदमा पनि आबद्व भई संस्कृति उत्थान र समाज सुधारका विभिन्न क्रियाकलापमा सक्रिय छ । हाल फाल्गुनन्द पन्थमा हजारौं नागरिक समाहित भएर समाज सुधार अभियानमा होमिएका छन् ।

आत्मावाद, परमात्मावाद, अनात्मावाद, त्रिसंगमवाद फाल्गुनन्दले प्रतिपादन गरेको सिद्धान्त हो, जसलाई किरातीहरूले स्वागतमवाद र मुन्धुमवादका रूपमा मान्ने गर्छन् । उनलाई किरात धर्म दर्शनदाताले बिसौं शताब्दीका महान समाज सुधारक, महागुरु महिगुम अङसिमाङ भनेर पुकार्छन् । फाल्गुनन्दले प्रतिपादन गरेको सिद्धान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको माङसेबुङ र पाँचथरको सिलौटी लगायतका स्थानलाई किरात धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रमार्फत प्रचार–प्रसार गरिँदैछ ।

फाल्गुनन्दको निधन २००५ चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गर्‍यो । उनी नेपालका १६ औं राष्ट्रिय विभूति हुन् । उनको समाधिस्थल पाँचथरकै फाल्गुनन्द गाउँपालिका २, सिलौटीमा छ । सामाजिक अभियन्ता फाल्गुनन्दले प्रतिपादन गरेको सिद्धान्त अनुशरण गर्ने नागरिक नेपाल, भारत, हङकङ र भुटान सहितका मुलुकमा छन् । तर उनकै कर्मभूमि पाँचथर र आसपासका जिल्लामा दसबुँदे सत्य धर्म मुचुल्का नमान्ने किरात समुदाय पनि उल्लेख्य छन् । उनीहरूले मासु र मदिरा सेवनलाई निरन्तरता दिइरहेका छन् । सुनौली–रूपौली प्रथा अझैसम्म उन्मूलन भएको छैन । सिलौटीबाट जारी सत्य धर्म मुचुल्का कार्यान्वयन नभएको खबर पाएपछि चिन्तित भएर फाल्गुनन्दले जीवनको अन्तिम घडीमा भनेका छन्, ‘लिम्बुवानका थुम–थुमका घर–गाउँमा बस्ने चेलाभुलालाई मेरो आशिर्वाद, तिमीहरूले ठूलो परिश्रम गरी माङहिम र पाठशाला निर्माण गरेको खबर सुनेर खुसी लागेको छ, यसरी नै धर्म कार्यमा चित्त धरे सर्वत्र सप्रन्छ । तर छोरीचेलीको रित लिने र छोरीलाई अंश नदिने चलन अझै कायम छ भन्दा मनमा अशान्ति छाइरहेछ । छोरी पनि छोराझैं मान्नुपर्नेमा त भेडाबाख्रा जस्तो बिक्री गर्ने किन यस्तो चलन नछाडेको हो ? छोरी झन् देवीमाता हुन्, यसकारण राम्रो विचार गर्नु, समाजमा सम्झाउनु, कुम्भिपाक (अघोर नर्क) मा जाने चेष्टा नगर्नु, परम पदमा जाने कोसिस गर्नुपर्छ ।’

फाल्गुनन्दले गराएको सत्य धर्म मुचुल्का किरात समाज सुधारका लागि नि:सन्देह कोसेढुंगा हो ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?