बढ्दो हिंसा र मानसिक स्वास्थ्य

डा. अजय रिसाल

शान्ति र अहिंसाको मार्गनिर्देशक भएका कारण बुद्ध, गान्धी, मन्डेला, मार्टिन लुथर किङ, मदर टेरेसा विश्वभरि नै पूजित छन्, वन्दित छन् । तर पनि किन हिंसा बढिरहेछ हाम्रो समाजमा ? किन सर्वस्वीकार्य शान्ति र अहिंसा कायम रहन सकेको छैन यो विश्वमा ?

बढ्दो हिंसा र मानसिक स्वास्थ्य

विश्वका सबै देशका इतिहा रक्तरञ्जित नै छन्, सिमाना छुट्याइएका छन्, घरहरू टुक्रिएका छन्, जाति र धर्मका नाममा लडाइँ जारी नै छन् । जब कि ‘अहिंसा परमो धर्म:’ भनेर विश्वका प्राय: सबै धर्मले लिपिबद्ध गरेका छन् । 

धेरै टाढा जानै पर्दैन, एक–दुई महिनायताका छापामा छाएका समाचार अध्ययन गरे पुग्छ । हाम्रै मुलुकभित्र कहीँ बम पड्क्यो, कहीँ हत्या त कतै अपहरणका घटना भए । एक युवतीले हिरासतमै आत्महत्या गरिन्, अस्पताल तोडफोडका घटना भए । विश्व परिवेशमा पनि, सिरियामा तनाव कायमै छ, मध्यपूर्वको इजरायल—प्यालेस्टाइनको समस्या वर्षांैदेखि हामी सुन्दै आइरहेछौं, युरोपेली तथा अमेरिकी देशहरूमा एउटा युवकको उत्तेजनाले अनेक जनता मृत्युका सिकार हुनपुगेका समाचार आइरहेका छन् । 

डार्बिनको क्रमविकासको सिद्धान्त र त्यसपछि विकसित हुँदै आइरहेका सिद्धान्तअनुसार प्रत्येक प्राणी आफ्नै सीमारक्षाका लागि तत्पर रहन्छन्, चाहे ती जलचर माछा हुन् या उभयचर भ्यागुता वा स्थलचर पशुपन्छी नै किन नहुन् । जंगलमा बस्ने बाघ भनौं या रूखमा गुँड लगाउने पन्छीहरू, त्यस्तै गल्लीका कुकुर हुन् या मन्दिरमा रहेका बाँदर । मानिस पनि क्रमविकासको सिद्धान्तअनुसार प्राणी समुदायकै विकसित रुप भएकाले आफ्नो सीमारक्षाका लागि उद्यत नहुने प्रश्न नै आउँदैन । जंगली अवस्थाबाट विकसित भएर सहरी सभ्यतामा आइपुग्दा समेत सीमारक्षामा दत्तचित्त रहने उसका उत्प्रेरणा अनि आफ्नो किल्ला, टोल, समाज अनि परिवारप्रतिको चेतनाले गर्दा समूहको संरक्षणका लागि हिंसामै जाइलाग्न पनि पछि नपर्ने प्रवृत्ति आएको हो कि ? विश्व इतिहास अनि हाम्रै मुलुकको पनि प्राचीन इतिहासले त्यही देखाएको छैन र ? तर चेतनशील भएको नाताले उमेरको वृद्धि सँगसँगै सायद उसका सीमा–बन्धन भने साँघुरिँदै जान थाल्छन् । विश्वबाट राष्ट्र, राष्ट्रबाट समाज, त्यसपछि परिवारमा पनि संयुक्तबाट एकल, अनि छोराछोरी, लोग्नेस्वास्नी हुँदै आफूमा आएर टुंगिन्छन् उसका सीमा अनि प्राथमिकता । अन्तत: व्यक्तिवादी र स्वार्थी बन्न पुग्छ मान्छे । आफ्नो अस्तित्व रक्षाका लागि छोराछोरी, श्रीमान्/श्रीमती, आमाबुबा, साथी/सहकर्मी बाधक हुन आए भन्ने ठान्छ अनि त्यसप्रति हिंसाको भाव जाग्न पुग्छ ।

मानव शरीरमा रहेका हर्मोनहरू (मुख्यतया: पुरुषहरूमा अत्यधिक मात्रामा पाइने एन्ड्रोजन—टेस्टोस्टेरोन), अन्य न्युरोट्रान्स्मिटर रसायनहरू (सेरेटोनिन, क्याटेकोलामिन आदि) अनि निद्रा, भोक, यौन सन्तुष्टिजस्ता आधारभूत क्रियामा हुने उतारचढावले व्यक्तिको मनस्थिति निर्धारित गरिरहेको हुन्छ । एन्ड्रोजनको वृद्धि, सेरेटोनिनको कमी अनि माथि उल्लिखित आधारभूत क्रियाको नियमिततामा खलल हँुदा मानिस बढी उत्तेजित हुने र हिंस्रक बन्ने हुन जान्छ । दुर्घटनामा परेर मस्तिष्कमा आघात परेका बिरामी र उन्माद या अवसादजस्ता मानसिक रोग लागेकाहरूमा हिंसा—प्रतिहिंसाका (आत्महत्या या अन्य व्यक्तिप्रति हिंसा)े लक्षण बढी देखिनुको कारण पनि यही नै हो ।

मनोवैज्ञानिक कोणबाट विश्लेषण गर्दा आफू शिशु अवस्थामा हुर्केको घरपरिवारको वातावरण, समाजको प्रभाव, साथीसंगत, लागू पदार्थको कुलत, आर्थिक अवस्था आदिले एउटा व्यक्तिको व्यक्तित्व निर्माण–विनिर्माणमा प्रभाव पारेको हुन्छ । एन्टिसोसियल, प्यारान्वाइड, हिस्ट्रियोनिक अनि बोर्डरलाइन–इम्पल्सिभ प्रकारका व्यक्तित्व हुनेहरूमा हिंसामा फस्ने सम्भावना बढी नै देखिन्छ । त्यस्तै फ्रायडको दर्शनअनुसार मानिसको अन्तस्करणमा हरदम चलिरहने ‘जिउने चाहना या जीजिविषा’ एवं ‘मर्ने चाहना’ बीचको द्वन्द्वमा जब विभिन्न कारणबाट ‘मर्ने चाहना’ हावी हुन थाल्छ, तब प्राणी हत्या, हिंसा, विध्वंसप्रति उत्सुक हुन पुग्छ अनि यस्ता घटना घट्न पुग्छन् ।

हिंसाको वृद्धि—विकास अनि संवाहनमा सामाजिक अवयवले तत्कालीन या दीर्घकालीन प्रभाव पार्छ । गरिबी, बेरोजगारी, दण्डहीनता आदि कारक तत्त्वले हिंसाको सुरुवात गर्न मात्र हैन, त्यसलाई भड्काउन पनि उत्ति नै सघाउ पुर्‍याएको हुन्छ । ‘शून्य दिमाग, सैतानको घर’ भनेझैं बेरोजगारीले युवालाई दिशाहीन बनाउने, लागू पदार्थ आदिको कुलतमा फसाउने अनि भीडको पछाडि, राजनीतिक तवरमा फैलने प्रोपोगान्डामा सहभागी गराउने र हिंसातिर डोर्‍याउने सम्भावनामा वृद्धि गराउँछ । सामाजिक कारणमा मिडियाको प्रभावलाई पनि नजरअन्दाज गर्न सकिँदैन । हिंसा–प्रतिहिंसाका समाचार कसरी सनसनीपूर्ण तवरले टीभीमा देखाइन्छन्, पत्रपत्रिकामा कोरिन्छन्, त्यसले सबैभन्दा हानिकारक असर बालमस्तिष्कमा गहिरो रुपले पर्ने कुरा युरोपेली मुलुकमा गरिएका अध्ययनहरूले देखाएका छन् । मिडिया सतर्क भएर यस्ता समाचारको प्रसारण गर्ने हो भने हिंसामा कमी आउँछ र समाजमा हिंसाविरोधी जनमत पनि तयार हुन्छ । 

हिंसालाई एउटा समाचारका रुपमा मात्र खुम्चन नदिई बिहंगम दृष्टिले अध्ययन—अनुसन्धान गरिनुपर्ने देखिन्छ । हिंसाले कहिल्यै पनि हिंसालाई जित्न सकिँदैन । बरु अहिंसाले नै सक्छ । महात्मा गान्धीको सत्याग्रहले बृटिस साम्राज्यको अवसान गराइदिएको इतिहास साक्षी नै छ । बुद्धले अंगुलीमालको गर्जनलाई हाँसी–हाँसी निस्तेज गरिदिएको यथार्थलाई पनि सम्झन आवश्यक छ । 
धुलिखेल अस्पतालमा कार्यरत डा. रिसाल मानसिक रोगविशेषज्ञ हुन् । 

प्रकाशित : कार्तिक २६, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?