कांग्रेसको राजनीति : दाउमा के छ ?

अनिल भट्टराई

काठमाडौं — वामपन्थी गठबन्धनले जिते साम्यवादी शासन आउने डर अघि सारेर नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । कांग्रेसका नेताहरूलाई लाग्दो हो, लोकतन्त्रको रक्षाको लागि कांग्रेसको अस्तित्व आवश्यक छ । तर उनीहरूमा समय घर्किसकेको छ भन्ने चेत देखिँदैन ।

साम्यवादी हौवा देखाएर अब नागरिकको मत जित्ने सम्भावना छैन । लोकतन्त्रको भन्दा पनि वास्तवमा आउने केही वर्ष नेपाली कांग्रेसका लागि जीवन–मरणको समय रहनेछ । आम नेपालीको जीवनमा सकारात्मक परिवर्तनका लागि यसले योगदान दिन्छ या दिँदैन भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।

राजनीति महत्त्वपूर्ण छ । किनकि यसले नै आम नागरिकको जीवनमा सबैभन्दा धेरै प्रभाव पार्ने संस्था राज्यको व्यवस्थापन निर्दिष्ट गर्छ । शासनको बागडोर आफ्नो हातमा लिन शाह तथा राणाशासकहरू आपसमा मारकाट गर्थे, तर जोसुकै शासक आए पनि ती सबै आफ्नो, आफ्ना परिवारजन तथा नजिकका भारदारका निजी स्वार्थका लागि राज्यको नीति–नियम बनाउँथे । राज्यको सम्पत्ति उनीहरूको निजी सम्पत्ति हुन्थ्यो । कर उठाउन गाउँ–ठाउँसम्म मुखिया मालिकहरूको खटनपटन चल्थ्यो । कसले जग्गाको स्वामित्व पायो वा पाएन, महिला–पुरुष बीचको सम्बन्ध कस्तो हुने, जातजाति बीचका सम्बन्धहरू कस्तो हुने जस्ता धेरै कुराको छिनोफानो शासकहरू आफैले गर्थे । २००७ सालअघि उनीहरूले नै आमनेपाली नागरिकको जीवनमा व्यापक प्रभाव पार्ने नीति–नियम बनाए तथा तिनलाई प्रयोग गर्ने संस्थाहरू बनाए । तर यी सबै नीति–नियम तथा संरचनाको निर्माणमा आम मानिसको कुनै सहभागिता थिएन । ती रैती मात्रै थिए । नेपालको भौगोलिक विकटताले राज्यको दैनिक थिचोमिचो कम हुन्थ्यो होला । तर शासकहरूले अचाक्ली सताएपछि नागरिकले गर्नसक्ने भनेको मुग्लानियाँ बन्नु नै थियो ।

समय धेरै अघि बढिसकेको छ । ७० वर्षको राजनीतिक आरोह–अवरोहबाट गुज्रँदै हामी अहिलेको लोकतान्त्रिक व्यवस्थामा आइपुगेका छौँ । आगामी चुनाव यसलाई संस्थागत गर्ने कामको पहिलो औपचारिक खुड्किलो हो । २००७ सालमा राणाशासनको अन्त्य भएपछि हामी लोकतान्त्रिक बाटोमा हिँड्यौँ भन्ने गरे पनि २०६३ सालको दोस्रो जनआन्दोलन र त्यसपछि भएको शान्ति सम्झौतापछि मात्र नेपालमा राज्य सञ्चालनमा लोकतान्त्रिक प्रक्रियाबारे व्यापक सहमति भएको हो । भलै, यो माओवादीको बाध्यताको उपज होस् वा राजतन्त्रको हारको उपज । एकदलीय अधिनायकवादी शासनको वा राजतन्त्रको पुनरागमनको चाहना राख्ने मानिसहरू अझै पनि छन् । तर ती शक्ति तथा संख्याका हिसाबले लोकतान्त्रिक पद्धति भाँड्नका लागि सामथ्र्यवान छैनन् ।

त्यसैले नेपालमा हुने आगामी निर्वाचन यो पद्धतिको परिस्कारको पहिलो कदम हुनेछ । लोकतान्त्रिक चुनाव बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि २०४७ सालमा पनि भएको थियो । तर त्यस समयमा लोकतन्त्र विरुद्धका शक्तिहरू पनि शक्तिशाली थिए । राजसंस्था पहिलो जनआन्दोलनले खुम्चिएको शक्ति फिर्ता गर्ने दाउमा थियो भने माओवादी साम्यवादी क्रान्तिको योजनामा डुबेको थियो । यी बाहिरबाट देख्दा परस्पर विरोधी शक्तिहरू वास्तवमा एकअर्काका पुरक थिए । माओवादी जनयुद्धको वरिपरि हुर्केको एउटा जटिल राजनीतिक चालबाजीको रक्ताम्य दशक पार गरेर हामी अहिले आमसहमति सहितको लोकतान्त्रिक प्रक्रियामा छौँ ।

अब नेपालमा लोकतन्त्रको आधारभूत प्रणाली नै मास्ने शक्ति बन्न गाह्रो छ । हाम्रो बहुतहको शासन व्यवस्था, स्वतन्त्र प्रेस, शासकीय संस्थाहरूबीच शक्ति पृथकीकरण, संगठन बनाउन पाउने आधारभूत स्वतन्त्रता ती अधिकार सुनिश्चित गर्नका लागि आवाज उठाउने राजनीतिक तथा नागरिक संगठनहरू तथा नेपालमा एकदलीय साम्यवादी शासन लागू गर्न चाहिने भूराजनीतिक अवस्थाको अभावका कारणले साम्यवादी एकदलीय शासनको सम्भावना नै छैन । यस परिस्थितिमा लोकतन्त्रमा सहभागी हुने अरू धेरै राजनीतिक दलहरू तथा संस्थाहरू जस्तै नेपाली कांग्रेस पनि लोकतन्त्रको एउटा भाग हो, तर कांग्रेस र लोकतन्त्र पर्यायवाची होइनन् ।

अबको राजनीति भनेको नेपाली राज्यको व्यवस्थापनको राजनीति हो र यसका लागि संस्था तथा व्यक्तिका अनेक भूमिका हुन्छन् । चुनाव तीमध्ये राजनीतिक दलहरूको भूमिकाको निरूपण गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो । यसले नै कुन राजनीतिक दलले सरकार चलाउने र कसले विपक्षीको भूमिका निर्वाह गर्ने भन्ने कुराको निक्र्योल गर्ने हो । नेपालमा अहिले देखिएको गठबन्धन निर्माणको प्रक्रियालाई यसै सन्दर्भमा हेर्नुपर्छ ।

निश्चय पनि चुनावमा जाने भनेको जित्नका लागि हो । तर यो पनि सत्य हो कि कुनै एउटा दल वा गठबन्धनले सबैजसो सिट जित्ने सम्भावना पनि छैन । त्यसको मतलब हो, चुनावपछि कुनै एउटा गठबन्धनले संघीय सरकारको नेतृत्व गर्छ र अरू विपक्षी दलका रूपमा रहन्छन् । त्यसैगरी हामी संघीय लोकतान्त्रिक शासन प्रणालीको जग बसाल्न गइरहेका छौँ । नेपालमा शासन खालि केन्द्रीय सरकारले मात्रै गर्ने होइन । नेपालमा स्थानीय सरकारहरू पनि निक्कै शक्तिशाली छन् । यी बहुतहका शासकीय संरचनामा कुनै एउटामात्रै दलको नियन्त्रण छैन । नेपालका सबैजसो मूल दलहरूले कुनै न कुनै ठाउँमा कुनै न कुनै पदमा जितेका छन् ।

प्रदेशसभामा पनि सबै ठाउँमा एउटै दल वा गठबन्धनले जित्ने सम्भावना छैन र आउने चुनावपछि हामी दलहरूलाई कुनै न कुनै ठाउँमा सरकार वा विपक्षीको भूमिका देख्नेछौँ । त्यसले गर्दा पनि लामो राजनीतिक प्रशिक्षणले साम्यवादी शासनको आकांक्षा बोके नै भने पनि नेपालका कम्युनिष्टहरूले साम्यवादी एकदलीय शासन लाद्न सम्भव नै छैन । त्यसमाथि पनि नेपालका धेरै वामपन्थी नेताहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता पनि धेरै नै छ ।

नेपाली कांग्रेसले साम्यवादको हौवा देखाएर केही अन्तर्राष्ट्रिय शक्तिको भरथेग खोजेको हुनसक्छ । तर त्यो रणनीतिक रूपले ‘ब्याक फायर’ हुने सम्भावना धेरै छ । 

गएको स्थानीय सरकारको चुनावको परिणामले देखाउँछ, सम्भवत: कांग्रेस र यसले नेतृत्व लिने गठबन्धनको भूमिका अब बन्ने संघीय संसद्मा विपक्षीको हो । साथै यो केही प्रदेशमा सरकारको नेतृत्वमा पनि जान सक्छ । दुई सयभन्दा बढी स्थानीय सरकारमा यो नेतृत्वमा पनि छ । आउने पाँच वर्ष यसले संघीय संसद्मा विपक्षीको भूमिका तथा प्रदेश तथा स्थानीय सरकारमा विपक्षी तथा सरकारको रूपमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्नेछ ।

ती भूमिका निर्वाह गर्नका लागि धेरै मिहेनत गर्नुपर्ने हुन्छ । हामी संक्रमणकालको धमिलो राजनीतिबाट सङ्लिँदो राजनीतितर्फ जाँदैछौँ । यस्तो अवस्थामा अँध्यारो कुनामा गरिने राजनीतिक खेल धेरै प्रभावकारी हुँदैनन् । कांग्रेसको लागि आउने केही वर्ष परीक्षणकाल हो । नेपालमा लोकतन्त्र त रहिरहन्छ, तर कांग्रेस असफल भयो भने मानिसहरू यसैलाई समातेर बस्ने छैनन् । राजनीतिका नयाँ कर्ताहरू निस्कँदै गरेका छन् र तिनले लोकतन्त्रलाई परिस्कृत गर्दै लानेछन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

हार्दिकताको प्रभाव

डा. बच्चुकैलाश कैनी

हामीले कतिपय समय र अवस्थामा स्वास्थ्यकर्मीहरूले स्वास्थ्यसेवाग्राहीलाई रुखो वचन बोलेको, आदर नगरेको, राम्रोसँग रोगको परीक्षण, पहिचान, निदान र उपचारबारे नबताएको गुनासा सुन्दै आएका छौं ।

त्यस्तैगरी स्वास्थ्यसेवाग्राहीले स्वास्थ्यकर्मीहरूप्रति अभद्र व्यवहार गरेको, अनादरको साथै अविश्वास गरेको कुरा सुन्दै र भोग्दै आएका छौं ।

स्वास्थ्यसेवा एकदम संवेदनशील क्षेत्र हो । स्वास्थ्य मानिसको भौतिक स्वास्थ्य र मानसिक अवस्थामात्रै हैन, यो अरू धेरै कुरा जस्तै– आर्थिक अवस्था, पारिवारिक सम्बन्ध, रोजगारी, सामाजिक र अन्य कुरासँग प्रत्यक्ष जोडिएको हुन्छ । स्वास्थ्यसेवा बालक, युवा, वृद्ध लगायत सबैले त्यत्तिकै रूपमा उपयोग गरेका हुन्छन् । स्वास्थ्य सबै नागरिकको नैसर्गिक अधिकार हो । हामी सबै स्वास्थ्यसेवा प्रयोगकर्ता भएको नाताले स्वास्थ्यसेवामा स्वास्थ्यकर्मीले सेवा उपभोगकर्तालाई कस्तो व्यवहार गर्छन्, निकै अर्थपूर्ण हुन्छ ।

स्वास्थ्यसेवा उपलब्ध गराउँदा स्वास्थ्यकर्मी र सेवा उपभोगकर्ताको बीचमा अलिखित सम्झौता र सम्बन्ध हुन्छ । जस अनुसार स्वास्थ्यकर्मीले आफ्नो योग्यता र दक्षताको भरमग्दुर प्रयोग गरी सकेसम्म स्तरीय सेवा उपलब्ध गराउनु र स्वास्थ्यसेवा उपभोगकर्ताले स्वास्थ्यकर्मीलाई विश्वास गरी आपसी समझदारीको वातावरण खडा गराउनुपर्ने हुन्छ । यो सम्झौता हरेक सेवामा उत्तिकै रूपमा लागू हुन्छ । तर यो सम्बन्धको परीक्षण भने स्वास्थ्यसेवा उपभोगकर्ता वा स्वास्थ्यकर्मीमध्ये कुनै एक वा दुवै पक्षलाई कुनै अप्ठ्यारो पर्दा हुन्छ । यो पनि धेरैजसो कसको व्यवहार कति नम्र र को कति हार्दिक छ भन्ने कुरामा समेत परीक्षण हुन्छ ।

स्वास्थ्यसेवा उपभोगकर्ताले स्वास्थ्यसेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको बारेमा जानकारी पाउनु उसको अधिकार हो । त्यसैले यो कुराको सुरुवात स्वास्थ्यसेवा उपभोगकर्तालाई स्वास्थ्यकर्मीले भेट्ने बित्तिकै आफ्नो नाम र पदको परिचय दिएर सुरु गर्नु उपयुक्त हुन्छ । हरेक स्वास्थ्यसेवा उपभोगकर्ताको नाम र विवरण मेडिकल वा नर्सिङ कागजमा उल्लेख गरिएको हुन्छ । त्यसैले स्वास्थ्यसेवा उपभोगकर्ताको परिचय स्वास्थ्यकर्मीले पहिले नै पाएको हुन्छ । तर हरेक स्वास्थ्यसेवा उपभोगकर्ताले आफूले भेट्ने स्वास्थ्यकर्मीको परिचय पाएको नहुन सक्छ । आफ्नो परिचय दिने पालो, संवादको सुरुवात गर्ने पालो र हार्दिक वातावरण बनाउने कुराको सुरुवात स्वास्थ्यकर्मीले नै गर्नुपर्छ ।

नम्र व्यवहारको अपेक्षा कसले पो गर्दैन र ? सेवाग्राहीले हरेक सेवा कार्यालयमा नम्र व्यवहार र हार्दिकताको अपेक्षा राख्नु स्वाभाविक हो । स्वास्थ्यसेवा उपयोग गर्ने मानिस कुनै न कुनै शारीरिक वा मानसिक रोग वा पीडाबाट गुज्रेका हुन्छन् । त्यसैले उनीहरूप्रति स्वास्थ्यकर्मीमात्रै हैन, परिवारका सदस्य, आफन्त र अरू सबैले नम्र व्यवहार गर्नुपर्छ ।

भनिन्छ, नम्र र भद्र व्यवहारले कतिपय मानसिक र शारीरिक पीडाबाट मुक्ति दिन्छ । साथै एकआपसमा विश्वास र सद्भावको वातावरण सिर्जना गर्छ । त्यसैले स्वास्थ्यसेवाका सेवाग्राही र स्वास्थ्यकर्मीहरूले दुवै पक्षको हितका लागि मिठो बोल्ने, नम्र हुने र हार्दिकता देखाउनु जरुरी छ ।

नम्र व्यवहार र हार्दिकताको अपेक्षा कदापि एकातर्फी हुनसक्दैन । स्वास्थ्यसेवाका सेवाग्राहीले आफूलाई सेवा दिने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई सम्मान, आदर र विश्वास गर्नु उत्तिकै जरुरत हुन्छ ।

स्वास्थ्यकर्मीले गर्ने कुनै कार्य आफैमा महान कार्य हो । यो जति ठूलो समाजसेवा र मानवसेवा अरू हुनसक्दैन । यो अवसर सबैजसो स्वास्थ्यकर्मीलाई मिल्नु स्वयं उनीहरूका लागि गर्वको कुरा हो । यस्तो महान कार्य गर्ने स्वास्थ्यकर्मीले नमिठो बोलेको, अरू कसैलाई होच्याएर बोलेको वा कसैसँग अभद्र व्यवहार गरेको त्यसै पनि सुहाउने काम हैन । त्यस्तै दिनरात नभनी हरेक समय र हरेक स्वास्थ्यसेवाग्राहीको दु:ख र पीडामा मल्हम लगाउने र मानवसेवामा समर्पित त्यस्ता स्वास्थ्यकर्मीप्रति नमिठो बोल्ने, दुव्र्यवहार गर्ने, अनावश्यक रूपमा शंका एवं उपशंका गर्नु र आक्रोश पोख्नु कदापि नैतिक र व्यावसायिक रूपमा उचित हैन ।

हरेक सेवाको प्रभावकारिता र दक्षता नाप्ने आफ्नै सूचकांक हुन्छन् । सेवा उपलब्ध हुने काममा प्रभावकारिताको कुरा गर्ने हो भने सेवाग्राही कति खुसी भए, सेवाग्राहीले कस्तो सेवा पाए, सेवाग्राहीको समस्या के कसरी समाधान भए आदि कुरा नै मुख्य रूपमा हेर्नुपर्ने हुन्छ । त्यसरी नै स्वास्थ्यसेवाको प्रभावकारिताको कुरा गर्दा सेवाग्राहीहरूको रोगको परीक्षण, पहिचान र उपचारको विभिन्न पक्षका साथसाथै उनीहरूको सन्तुष्टिको मात्रा हेर्नुपर्ने हुन्छ ।

स्वास्थ्यसेवामा सेवाग्राहीले स्वास्थ्यकर्मीको बोलीचाली, व्यवहार र नम्रताको मापन गर्छन् । स्वास्थ्यकर्मीको सम्बन्धित विषयको दक्षताका साथसाथै उनीहरूको बोलीचाली, व्यवहार र नम्रताको मापनको आधारमा सेवाग्राहीले कुन स्वास्थ्यकार्मी कति राम्रो वा नराम्रो भन्ने मूल्यांकन गर्छन् । त्यसैले हरेक स्वास्थ्यकर्मीले आफ्नो विषयमा दक्षता हासिल गरेर मात्रै हुँदैन । उनीहरूले कसरी सञ्चारको प्रयोग गर्ने, जनसम्पर्क कसरी गर्ने, विवादको बेला कसरी प्रस्तुत हुने वा विवाद समाधान गर्ने, कसरी सेवाग्राहीलाई खुसी पार्ने आदिजस्ता ज्ञान हुनु जरुरी हुन्छ ।

हँसिलो हुनु, सकारात्मक सोच्नु र अरूको प्रशंसा गर्नु एउटा कला हो, जुन स्वास्थ्यकर्मी र सेवाग्राहीमात्रै हैन, सबैका लागि नितान्त जरुरी हुन्छ । हाँस्नु र हँसाउनु यस्तो कुरा हो, जुन सित्तैमा पाइन्छ र जुनसुकै बेला प्रयोग गर्न सकिन्छ । सेवा दिने बेला जति यसको प्रयोग गर्न आवश्यक हुन्छ, त्यत्तिकै सेवाग्राही र उनीहरूको परिवारको पीडामा संवेदनशील हुनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीमा सेवाग्राहीको कुरा ध्यान दिएर सुन्ने, पीडामा सहानुभूति दिने र दु:ख परेको बेला वातावरण सम्हाल्न सक्ने कला, सीप, योग्यता र दक्षता हुनुपर्छ । जसले गर्दा सेवाग्राही र उनीहरूका आफन्त स्वास्थ्याकर्मीको भरोसा र विश्वास गर्न सक्छन् ।

स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी र सेवाग्राहीहरूको बीचमा हुने धेरैजसो विवाद बोलीवचन, सञ्चार र सानोतिनो असमझदारीको कारणले नै हुन्छन् । त्यस्ता विवाद र असमझदारी हटाउन स्वास्थ्यकर्मीले आफ्ना र स्वास्थ्यसेवाको समस्या जस्तै– ढिलासुस्ती, चिकित्सकीय जटिलता, स्रोत र साधन आदि इमानदार र पारदर्शी रूपमा सेवाग्राहीलाई भन्नुपर्छ । साथसाथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले त्यस्ता समस्याबाट पाठ सिक्ने र भविष्यमा त्यस्ता कुरा नदोहोर्‍याउने प्रतिबद्धता गर्नुपर्छ । यसो भएमा मात्रै दुवै पक्षबीच समझदारी र विश्वास बढ्छ ।

मानवजाति आफैमा भावनात्मक हुन्छ । हामी बिरामी पर्दामात्रै हैन, अरू बेला पनि अरूले आफूलाई ख्याल राखेको, माया गरेको, आफूसँग मिठो बोलेको र राम्रो सम्बन्ध राखेको अपेक्षा गर्छौं । त्यसैले हामी आफू अरूबाट जस्तो व्यवहार, सम्बन्ध र बोलीचालीको अपेक्षा राख्छौं, अरूप्रति पनि त्यस्तै व्यवहार गर्ने हो भने सबैको भलो हुन्छ । आफू भलो त जगतै भलो ।
कैनी क्विन एलिजाबेथ अस्पताल, लन्डनमा वरिष्ठ व्यवस्थापकका रूपमा कार्यरत छन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्