३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘समानान्तर’ निकाय हुनुको भ्रम

देश–विदेश
देवेन्द्र भट्टराई

गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफ्नो नयाँ कार्यसमिति चयन हुनासाथै देखिनेगरी एउटा निर्णय बाहिर ल्याएको छ— नेपाली चेली डोल्मा शेर्पाका नाममा उठेको रकमबारे । नोभेम्बर ५ मा एनआरएन प्रवक्ताका नाममा आएको स्पष्टोक्तिले के स्पष्ट पारेको छ भने यो संस्था वर्षौंवर्षदेखि पारदर्शिता र जवाफदेहिताको संकुचनमाझ गुज्रिएको रहेछ ।

‘समानान्तर’ निकाय हुनुको भ्रम

यसो भन्दैमा प्रवक्ताको भनाइले संसारभरका नेपालीले आनासुकी गर्दै डोल्मा बचाउ अभियानका नाममा दिएको लाखौं रुपैयाँको हिसाब–किताब शुद्धीकरण भएको छ भन्ने अवस्था उब्जिएको पनि देखिन्न । बरु एनआरएनजस्तो ‘नेपालीका लागि नेपाली’ नारा बोकेको संस्था कसरी दाताहरूको अभिष्ट र इच्छा नबुझिकनै हौवामा चलिरहेको रहेछ भन्ने थप स्पष्ट पारेको छ ।

सहकर्मी हत्याको अभियोगमा १० वर्ष जेल सजाय बेहोर्दै कुवेतबाट घर फिरेकी डोल्मा शेर्पा जानी–नजानी नेपालबाट विदेशिने हाउसमेडहरूका निम्ति जानपहिचानको नाम बनिसकेकी छिन् । डोल्माको जीवनरक्षामा नेपाल सरकार स्वयम्ले संसारभरका नेपालीलाई गरेको आग्रहमा चाहिँंदो रकम संकलनसँगै आवाज र जनमत तयार भएको स्थितिबारे सबै जानकार छन् । यो जीवनरक्षा अभियानको सुरुवात स्वयम् प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद र परराष्ट्र मन्त्रालयको अग्रसरतामा सम्भव भएको थियो, सुरुवातमा सरकारले राखेको ४ हजार डलरको ‘बिउ पैसा’ बढेर डोल्माका नाममा ५० लाख रुपैयाँभन्दा बढीको कोष खडा भएको हो ।

डोल्मा बचाउ अभियानमा एनआरएनका पूर्व महासचिव एवं अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य कोरियास्थित तेन्जी शेर्पा दिलोज्यानले लागिपरेका थिए । कतिपय अर्थमा जातीय, मानवीय र सामाजिक कारणले पनि डोल्माको नाममा ‘क्रेज’ थपियो, यही कारण सहयोग राशि पनि ‘फ्रिज’ हुनेगरी संकलन भयो । डोल्माका नाममा सञ्चित रहेको (भनिएको) ३२ लाख रुपैयाँ र त्यसबाट आएको झन्डै १२ लाख रुपैयाँको ब्याज रकमलाई एनआरएन स्वयंले आफ्नो सञ्चिती कोषमा राखेको खबर जति ‘लज्जास्पद’ छ, उति नै तेन्जी शेर्पाजस्ता अभियन्ताहरूले अघि बढाएको सहयोग–सद्भावको ‘मानमर्दन’ गर्ने तहको छ । तेन्जी स्वयम् पनि आज डोल्माका नाममा उठेको रकम उनैको जीवनयापनमा दिइनुपर्छ भनेर एनआरएनभित्र आवाज उठाइरहेका छन् । तर पारदर्शिता र जवाफदेहिताको ख्याल नगरी सञ्चित रकम एनआरएन आफैंले राख्ने स्वघोषणा गरिसकेको छ ।

एनआरएन प्रवक्ताले अघिल्लो साता जारी गरेको विज्ञप्तिमा डोल्माका नाममा उठेको सञ्चित रकम ‘एनआरएन आपत्कालीन वैदेशिक रोजगार कोषमा जम्मा गर्ने र सोही खालका अन्य राहत कार्यमा खर्च गर्ने’ भनेर घोषणा गरिएको छ । अब प्रश्न उठेको छ— यो ‘अमूर्त’ कोषमा डोल्माका नाममा उठाइए जस्तै अरू कति रकम सञ्चित छ ? आजसम्म यो कोषबाट कति बिचल्लीमा परेका कामदारको उद्धार अथवा राहतमा खर्च भएको छ ? एनआरएनले विगतमा केन्या, मलेसिया, युएई लगायतका मुलुकमा खडा गरेको कामदार उद्धार राहत कोषको लेखाजोखा कहाँ, कसले गरेको छ ? 

पक्कै पनि जीवनरक्षाको अवस्थामा रहेकी डोल्मा आज सुरक्षित रूपमा घर फर्किसकेकी छिन् । उनका नाममा उठेको रकम उनको जीवनरक्षामा खर्च गरिने प्रयोजन पनि सही थियो । अब सञ्चित रकम डोल्माको घरव्यवहार चलाउन दिइनुपर्छ भनेर कसैले दबाब दिन सक्दैन र मिल्दैन पनि । तर एउटी बिचल्लीमा परेकी नेपाली चेलीको नाममा दाताहरूले के प्रयोजनमा यत्रो रकम स्वेच्छाले दिएका थिए ? एनआरएन जस्तो सामान्य अर्थको सामाजिक संस्थाले एउटा प्रयोजनमा पैसा उठाएर अर्कै प्रयोजनमा यसरी ‘होल्ड’ गर्न मिल्छ कि मिल्दैन ? एनआरएन जस्तो समृद्ध (धनीमानी) निकायको सार्वजनिक जिम्मेवारी र इज्जत (पब्लिक प्रेस्टिज) हुन्छ कि हुँदैन ? हो, यो आफैंमा एउटा व्यक्ति (डोल्मा) भन्दा पनि संस्था (एनआरएन) को साख र पद्धतिको कुरा हो । ‘जवाफदेहिता’ बिनाको यो सञ्चित रकम आसमा डोल्मा शेर्पाभन्दा पनि एनआरएनका लागि भारी रकम हो, यसमा एनआरएन स्पष्ट नबन्ने हो भने यसको आत्माले सिंगो संस्थालाई सधैं–सधैं तर्साइरहने स्थिति छ । 

अब उप्रान्त एनआरएनजस्तो अन्तर्राष्ट्रिय छाता निकायलाई ‘अभिभावक’ संगठन मानेर कुनै विपत् अथवा मानवीय सहयोगका कामकुरामा साथ दिन आग्रह गर्ने कि नगर्ने ? अहिले साउदी अरेबियामा जीवनरक्षामा गुहार मागिरहेका थानेश्वर भुसालका नाममा पनि एनआरएनसहित बिभिन्न तहबाट पैसा संकलन भैरहेको छ । अब यो रकम पनि एनआरएन आपत्कालीन वैदेशिक रोजगार कोषमै सञ्चित हुने हो त ? यसकारण पनि डोल्मा बचाउ अभियानमा सञ्चित रकम अहिले डोल्मालाई दिने कि नदिने (?) भन्ने प्रमुख प्रश्न हुँदै होइन । बरु एनआरएनजस्तो संस्थाको जवाफदेहिता र लहडी कार्यशैली पनि अहम् प्रश्नको मुद्दा बनेको छ ।

यो जवाफदेहिता नरहँदाको अवस्था थप जटिल बन्दै गएर कुनै दिन सरकारले डोल्माका नाममा उठेको रकम दुरुपयोग अथवा ‘प्रयोजनभन्दा बाहिर गएको’ निधोमा पुगेर आफैंले फिर्ता (एयरमार्क) लिन पनि सक्छ । एनआरएनले पनि आफूलाई सरकारको समानान्तर निकायझैं ठान्नुभएन, यो भ्रम राखेर सार्वजनिक प्रयोजनका कुराहरूमा आफूखुसी निर्णय गर्न थालेमा अर्थभन्दा ‘अनर्थ’ बढ्दै जाने स्थिति देखिएको छ । बरु यो रकम सरकारको वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड अथवा प्रधानमन्त्री राहत कोषमा राखिदिंदा बढी बुद्धिमानी हुनेछ । अहिले एनआरएनमाथि चौतर्फी प्रश्न उठिरहेको छ— कुन विधान र कुन नियमावली अनुसार डोल्मा शेर्पाका नाममा संसारभरका सह्दयी नेपालीले दिएको चन्दा रकम आफ्नो खातामा राख्न सकेको हो ? यति भनेर गलत बाटो र उपायमा कुवेत पुगेकी डोल्मा शेर्पा सबैका निम्ति ‘रोलमोडल’ हुन् भनेर साविती बयान दिन खोजिएको होइन । तर थिति बसाल्ने कुरामा अग्रणी संस्था एनआरएनले पनि आफ्नो दायरा भुल्न मिल्दैन, सिंगो सरकार र पद्धतिको ‘समानान्तर’ बन्न खोजेर कहीं पुगिँदैन भन्ने बोध एनआरएनमा हुनु जरुरी छ ।

यतिखेर डोल्मा शेर्पा प्रकरणमा सीमित अधिकारवादीहरूले आवाज उठाउन थालेका छन्, सार्वजनिक सञ्जालमार्फत । अधिकारवादी मीना शर्मा, चन्दा थापाहरूले उठाएको सार्वजनिक जिज्ञासा पनि उत्तिकै जायज छ— नेपथ्यमा सुनिए पनि । उनीहरूले ‘एनआरएनसँग अनुत्तरितै रहेका केही सवाल’ भनेर सोधेका छन्— ‘डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाउने उद्देश्यले एनआरएनले अभियान सञ्चालन गरेको थियो । उनी मृत्युदण्डबाट बचेर अहिले नेपाल फर्किसकेकी पनि छिन् । उनलाई बचाउने उद्देश्य पूरा भएको छ । तर उनलाई बचाउन उठाइएको रकम र हालै एआरएन आईसीसीले गरेको निर्णयबारे टिकाटिप्पणी आएका छन् । डोल्माको नाममा उठेको रकममा उनकै हक लाग्छ भन्ने होइन, उद्देश्य पूरा भयो भने त्यस्तै कामका लागि अरूलाई पनि प्रयोग गर्न सकिन्छ । तर १० वर्षसम्म सो रकमको हिसाब किन सार्वजनिक गरिएन ? त्यसको ब्याज कहाँ गयो भन्ने प्रश्नको उत्तर भने संघले आगामी दिनमा भए पनि दिनैपर्छ ।’
[email protected]

प्रकाशित : कार्तिक २९, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?