२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मैदानबाहिर जाग्ने बेला

सम्पादकीय

युवा टोलीको प्रदर्शनले नेपाली क्रिकेट फेरि जागेको छ । मलेसियामा भइरहेको एसीसी यू १९ युथ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको छ । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बिदा हुँदै आएको थियो । यसपटकको प्रदर्शन विगतको भन्दा धेरै फरक रह्यो ।

मैदानबाहिर जाग्ने बेला

बंगलादेशसँग पहिलो खेलमा ठुलो चुनौती तेस्र्याएको नेपालले त्यसपछि भारतको यू १९ टोलीलाई पराजित गरी सनसनी मच्चायो । मलेसियालाई समूह चरणको अन्तिम खेलमा पराजित गरेपछि नेपाल पहिलो पटक नकआउट चरणमा पुग्न सफल भयो । नेपालले यसअघि आईसीसी यू १९ विश्वकपमा पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावेलाई पराजित गरिसकेको थियो । भारतसँगको विजय यस अर्थमा विशेष थियो कि नेपालले पहिलो पटक विश्वको शक्तिशाली छिमेकी राष्ट्रलाई उमेर समूहमा पराजित गरेको थियो । नेपालको सेमिफाइनल यात्राले भारतसँगको विजयमा सुनमा सुगन्ध थपिदियो । सोही कारण नेपाली युवा टोलीले पुन: विश्व क्रिकेटको ध्यान तानेको छ । 
मैदानबाहिर भने ठीक त्यसको विपरीत छ नेपाली क्रिकेट । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । नेपाली क्रिकेटको सर्वोच्च निकायलाई निलम्बन गरेपछि आईसीसीले आफैं नेपाली क्रिकेटको व्यवस्थापन हेरिरहेको छ । क्यान निलम्बनसँगै राष्ट्रिय प्रतियोगिताहरू रोकिएका छन् । राष्ट्रिय प्रतियोगिता रोकिँदा खेलाडी निस्कने बाटा बन्द भएका छन् । प्रशिक्षकहरूले अघिल्लो वर्ष मोफसलमा ‘ट्यालेन्ट हन्ट’ गर्न जानुपरेको थियो । त्यहीँ देखा परेका धेरै खेलाडीले अहिले मलेसियामा इतिहास रचेका हुन् । राष्ट्रिय प्रतियोगिताबिनै यति खेलाडी निस्किन्छन् भने प्रतियोगिता सञ्चालन गर्दा कति खेलाडी निस्कन्थे, सहजै कल्पना गर्न सकिन्छ । नेपाली क्रिकेटको व्यवस्थापनमा देखिएको यो खाडल पुर्नलाई अगाडि आएर काम गर्ने कोही छैनन् । निलम्बनको अवस्थामा पनि नेपाली क्रिकेट विवाद आपसी खिचातानीमा अल्झिएको छ । आफू र आफ्ना व्यक्ति संघभित्र रहे मात्र विवाद मिल्छ भन्ने मानसिकताका कारण नेपाली क्रिकेटको निलम्बन समय लम्बिँदो छ । नेपाली युवा टोलीले युथ एसिया कपमा देखाएको प्रदर्शनले गर्व गर्ने अवसर दिए पनि उनीहरूको ध्यान मैदानबाहिरकै विवादमा ज्यादा छ । 
युवा क्रिकेट राम्रो हुँदा राष्ट्रिय टोली मजबुत हुन्छ । विगतमा युवा टोलीले राम्रो प्रदर्शन देखाउँदा र उनीहरूलाई त्यहीअनुरूप बाटो देखाइँदा राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा गरेको थियो । राष्ट्रिय टोलीलाई विश्वकप अहिले एकादेशको कथा भइसकेको छ । त्यही भएर मलेसियामा जोसिलो प्रदर्शन गरेको युवा टोलीलाई संरक्षण गर्न जरुरी छ । नेपाली यू १९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आशिफ शेखले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । अन्य खेलाडीका हकमा मलेसियाबाट फर्किएपछि के हुने हो, केही टुंगो छैन । हिजोका दिनमा पनि अनिल खरेलजस्ता खेलाडीले युवा क्रिकेटमा असाधारण प्रदर्शन गरेका थिए । तर त्यसपछि उनले अर्को प्रतियोगिता खेल्न पाएका छैनन् । यू २३ हँुदै नेपाल ‘ए’ टोली बनाएर यू १९ का खेलाडीलाई अगाडि बढाउने हो भने राष्ट्रिय टोलीलाई टेवा पुग्न जाने पक्का छ । डिभिजन २ हुँदै विश्वकप छनोट खेल्ने योजना बनाइरहेको राष्ट्रिय टोलीमा स्तरीय खेलाडीको अभाव देखिँदै आएको छ । 
हालै सञ्चालनमा आएको मूलपानी क्रिकेट मैदानले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्न सक्छ । मूलपानीको एउटा मैदान सञ्चालनमा आए पनि दोस्रोको निर्माण अन्तिम चरणमा पुग्दा मुआब्जा विवादका कारण रोकिएको छ । पूर्वाधारका हिसाबले मूलपानीमा पेभेलियन र खेल्नका लागि मैदानबाहेक केही छैन । यहाँको मैदानलाई अन्तर्राष्ट्रिय स्वरूपमा ढाल्ने हो भने कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको विकल्प त तयार हुनेछ नै, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने आधारसमेत बन्नेछ । अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाले पर्यटन क्षेत्रको ठूलो हिस्सा ओगटेको हुन्छ । पूर्वाधार सम्पन्न भएकैले नेपालभन्दा कम ‘क्रिकेट–संस्कार’ भएको मलेसियाले यू १९ एसिया कपसहित लगातार अन्तर्राष्ट्रिय इभेन्ट आयोजना गर्दै आएको छ । यस्ता प्रतियोगिता एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रलाई आयोजना गर्ने मौका दिँदै आएको छ । तर एउटै मैदानका कारण नेपालले ती प्रतियोगिता आयोजना गर्न सकेको छैन । त्यसैले यू १९ को प्रदर्शनलाई आधार मानेर हामीले भौतिक पूर्वाधारमा पनि फड्को मार्नु जरुरी छ । खेलाडीले मैदानभित्र जुन जोस र फुर्ती देखाएका छन्, मैदानबाहिर सरकार र क्रिकेट सरोकारवालाले त्यस्तै जोस देखाउनु नै नेपाली क्रिकेटको तत्कालको आवश्यकता हो । 

 

प्रकाशित : कार्तिक ३०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?