१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘डिजिटल डिमोक्रेसी’को युग

ध्रुव सिंखडा

यतिखेर मुलुक निर्वाचनमय भएको छ । प्रचार–प्रसारले तीव्रता पाएको छ । प्रचार शैली र विधि पहिले–पहिलेका निर्वाचनको भन्दा भिन्न छ । सहर–बजारका भित्ता, वाल र मन्दिर/पाटी–पौवा परिसर रंगिएका छैनन् । दलीय झण्डा र उम्मेदवारका पोस्टरले सहर कुरूप बनेको छैन ।

‘डिजिटल डिमोक्रेसी’को युग

उम्मेदवारहरू प्रचार–प्रसारका लागि मतदाताका घरदैलोमा पुगेका छन् । कफी सप, रेस्टुरेन्ट र पार्टी प्यालेसहरूमा 
आफ्ना एजेन्डा प्रस्तुत गरिरहेछन् । गाना–बजाना र माइकिङका कर्कश स्वरले हुने ध्वनि प्रदूषण छैन । दुर्गमका गाउँ, देहाततिर पनि चुनाव प्रचारका भंगिमा र शैली फेरिंँदैछन् । लाग्छ, हिजोका प्रचार–प्रसारका दिग्दारिला तौरतरिका बदलिएका छन् । अधिकांश मतदाता ‘डिजिटल’ दुनियाँमा प्रवेश गरिसकेका छन् । सामाजिक सञ्जालको सहाराले निर्वाचन प्रचार–प्रसारको आमशैली बदलिएको छ । अनलाइन, फेसबुक, युट्युब र ट्विटरमा गज्जबकै चुनावी घम्साघम्सी भइरहेको छ । यद्यपि सामाजिक सञ्जालमा भइरहेका प्रचार–प्रसारले पनि कहिलेकाहीँ उत्तेजना फैलाउने र झुटमुटलाई बढाउने काम भने गरिरहेको छ ।
उम्मेदवार र तिनका समर्थकहरूले प्रायोजित फेसबुक पेजमार्फत आफ्ना विपक्षीभन्दा बलियो रहेको दाबा गरिरहेका छन् । आफ्ना विपक्षीले केही गर्न नसक्ने वा नसकेको र आफूले ‘आकाशको तारा’ नै झारिदिनेसम्मका सन्देश सम्प्रेषण गरिरहेका छन् । यु–ट्युबमा उम्मेदवारका टेलिजेनिक प्रस्तुति आइरहेका छन् । भलै फेसबुक, यु–ट्युब र ट्विटर ह्यान्डल कतिजना मतदाताले गर्न सक्छन्, गर्दैछन्, तिनको भने कुनै वैज्ञानिक सर्वेक्षण भएको छैन । जे होस्, चुनाव प्रचार–प्रसार शैली फेरिएको छ । फेसबुक, यु–ट्युब र ट्विटरले त्यसमा क्रान्ति नै ल्याइदिएको छ ।
उम्मेदवार र तिनका समर्थकका चित्ताकर्षक भाषण, सन्देश र मास र्‍यालीका तस्बिरहरू सामाजिक सञ्जालमा ‘भाइरल’ बन्नाले प्रचारलाई ह्वात्तै बढाइदिएको छ । प्रविधिसित नजिकिनेका लागि प्रचार–प्रसारले सुगमता थपेको छ ।
सोसल मिडिया भए पनि यसमा केही समूहले वर्चस्व नजमाउलान् भन्न सकिन्न । किनकि यसको प्राप्यता र प्रयोग महत्त्वपूर्ण हुन्छ । यसको पहुँचमा भएका र प्रयोगमा माहिरहरूको ‘नेट वर्किङ’ गज्जबकै छ । यसमा उमेर समूहले पनि भूमिका खेल्छ । सरसर्ती हेर्दा १२ देखि ६२ वर्ष आसपासकाहरू कुनै न कुनै रूपमा बढी सामाजिक सञ्जालसँग आबद्ध देखिन्छन् । त्यसभित्र पनि १२ देखि ३०, ३० देखि ४५ वर्ष र त्यस माथिकाहरूको नेट वर्किङले विभिन्न मुद्दामा एकापसलाई नजिक्याइरहेको छ । सामाजिक सञ्जालको यो ‘नेटवर्क’ आफ्नो पक्षको उम्मेदवारलाई जिताउन टुपी कसेर लागेका छन् । संसारका जुनकुनै कुनाबाट आफ्नालाई मत मागिरहेका छन् । तर जतिले सामाजिक सञ्जालमा आफूलाई मनपरेका उम्मेदवारलाई मत माग्छन्, ती सबैले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न भने नपाउन सक्छन् । किनकि तिनीहरू मतदाता सूचीभन्दा बाहिरका प्रचारकमात्र पनि हुन सक्छन् । 
गाउँ र सहर अनि युवा र वृद्ध बीचको ‘डिजिटल ग्याप’ हटाउने हो भने सामाजिक सञ्जालको प्रयोगले बढ्दो चुनावी खर्च कम गर्न सहयोग पुग्न सक्छ । मतदाताको घर–आँगनमा पुगेर हात जोडी मत माग्दा लाग्ने समय बचत हुने देखिन्छ । सामाजिक सञ्जालमार्फत कोठाभित्रै बसेर उम्मेदवारले टाढा–टाढा रहेका आफ्ना मतदातासँग मत माग्न सक्छन् । 
आफ्ना भाषणलाई यु–ट्युबमा कैद गरेर आम मतदाता समक्ष पुर्‍याउन सक्छन् । चुनावी कार्यक्रमबारे जानकारी गराउन सक्छन् । यो प्रविधिले दिएको सुविधा हो । र अबको पुस्ताले अपनाउने बाटो हो ।
तर के प्रविधिले लोकतान्त्रिक निर्वाचन प्रचार–प्रसारलाई सहजमात्रै बनाउँछ त ? यसका चुनौती नै छैनन् त ? अवश्य यसका सफल पक्षमात्र छैनन्, कमजोर पक्ष पनि छन् । सामाजिक सञ्जाल दुरूपयोगको खतरा पनि त्यत्तिकै छ । यसमा पनि आआफ्नो समूहको सिन्डिकेट चल्छ, चलेकै छ । आफूलाई मन नपरेका उम्मेदवारबारे भ्रमपूर्ण टिप्पणी गर्ने अनि ‘लाइक’, ‘सेयर’ र ‘ट्याग’ गर्ने अस्वस्थ होडबाजीले सामाजिक सञ्जालको व्यापकतामाथि चुनौती थपेको छ । मन नपरेका राजनीतिक दल र उम्मेदवारको चरित्रहत्या गर्ने काममा सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ । सामाजिक सञ्जाल दुरुपयोगका यस्ता गतिविधिको अनुगमन, नियमन र नियन्त्रण निकै कठिन भए पनि समयले यसको पनि खोजी नगर्ला भन्न सकिन्न । सामााजिक सञ्जालमा हुने सन्देशहरू अनुगमनका उपाय पनि निस्केलान् । खोजी भइरहेको होला । किनकि ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ 
सामाजिक सञ्जाल दुरुपयोगको चुनौती हुँदाहुँदै पनि यसको व्यापकताबाट पछि हट्न सक्ने अवस्था छैन । यस हिसाबले अब संसारका अधिकांश मानिस आफै मिडियाकर्मीमा परिणत भइसकेका छन् । सोसल मिडियाका कारण आजका आम मानिस पत्रकार हुन् । तिनले आफूलाई कति ‘सेन्सर’ गर्छन्, कति ‘अपडेट’ गर्छन्, कति संयमपूर्वक आफ्ना सन्देश प्रवाह गर्छन्, अबको पत्रकारिता त्यसैमा भर पर्छ । किनकि सोसल मिडियाले सबै मानिसलाई पत्रकारका रूपमा परिणत गरिदिएको छ । त्यसकारण यो खाले मास मिडियाको भविष्य व्यक्ति–व्यक्तिको संयम र होशियारीमा निर्भर रहन्छ । मान्नुस् नमान्नुस्, जान्नुस् नजान्नुस्, त्यो तपार्इँको कुरा हो । अबको युग सूचना र सञ्चारको युग हो । सोसल मिडियाको युग हो । आफूलाई प्रतिस्पर्धी बजारमा देखाउने जमाना हो । अब यो विश्व लोकतन्त्रको एउटा अभिन्न अंग बनिसक्यो । यो यथार्थबाट हामी अछुतो छैनौं, अलग रहन सक्दैनौं । यसमा हामी हेलिइसकेका छौं । त्यसैले हाम्रा हरेक गतिविधिमा अब सामाजिक सञ्जालको प्रभाव पर्छ ।
अहिले हामी निर्वाचन महाअभियानमा होमिएका छौं । लोकतन्त्रका कुरा गरिरहेका छांै । स्वतन्त्रता र समानताको कुरा गरिरहेका छौं । व्यक्तिगत स्वतन्त्रताको वकालत गरिरहेका छौं । र लोकतन्त्रलाई परिष्कृत गर्ने औजारको रूपमा सोसल मिडियालाई प्रयोग गर्दैछौँ । पत्रपत्रिकामा काम गर्नेदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्नेसम्म, गाउँघरमा मेलापात जानेदेखि चियापसल र चौतारीमा भेटिनेहरू सबैको हातमा मोबाइल छ । सबैका आँखा सोसल मिडियामा ठोक्किएका छन् । चुनावी ताजा ‘अपडेट’ निम्ति आकर्षित भएका छन् । निमेषभरमा निर्वाचन समाचारहरू ‘फ्लो’ भइरहेका छन्, सामाजिक सञ्जालमार्फत । 
केही क्षण अघिको कुरा हो, राजधानीबाट उत्तरतिर रहेको गणेश हिमाल फेदको तिप्लिङ गाउँमा सम्पन्न एउटा चुनावी प्रचार–प्रसार कार्यक्रम फेसबुक र ट्विटरमार्फत एकैछिनमा देश/विदेशका कुना–कुनासम्म पुग्यो । सोलुमा भएको चुनावी झडपको समाचार एकैछिनमा सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो । 
यता राजधानी सहरको चुनावी प्रतिस्पर्धाका ठूला आमसभा र भाषणभन्दा पनि उम्मेदवार र तिनका समर्थकहरूले पोष्ट गरेका, सेयर गरेका प्रचार–प्रसारका विभिन्न झलक र झाँकी एकैछिनमा दूरदराजका गाउँ–देहाततिर सम्प्रेषण भइरहेका छन् । यसले डिजिटल ‘ग्याप’को समस्या पनि त्यति ठूलो नरहेको प्रस्टिन्छ । 
तैपनि अधिकांश राजनीतिक दलका उम्मेदवार सकेसम्म मतदाताका घरदैलोमा पुगेर सडक बनाइदिने, पानीको धारा ल्याइदिने, जागिर लगाइदिने, विदेश पठाइदिने, बिजुली बालिदिने, रेल कुदाउने आदि आश्वासनका पोका फुकाउन पछि परेका छैनन् । अब चुनाव प्रचार–प्रसारको यो शास्त्रीय शैली बदल्न युगले माग गरिसकेको छ । यसमा उम्मेदवारहरूले हेक्का राख्ने कि ? किन समयको बर्बादी ? किन शुभेच्छुक, शुभचिन्तक र सहयोगीहरूलाई अघिपछि लाग्न कहर दिने ? 
अब सिद्धान्तका ठूलठूला कुरा, कार्लमाक्र्सका मिठा–मिठा ‘रिसिपी’लाई सूत्रबद्ध गर्ने बेला भइसक्यो । लोकतन्त्र प्रविधिसित जोडिइसक्यो । ‘मानिस रोटीले भन्दा दिमागले बढी परिचालित हुन्छ’ भन्ने बिल्ली ब्रान्टको युगमा प्रवेश गरिसक्यो । अर्थात् बच्चादेखि वृद्धसम्मलाई सोसल मिडियाले 
लठ्याउँदैछ । एक प्रकारले भन्ने हो भने हामी यसको लतमा पँmसिसकेका छौँ । त्यसैले यो लतलाई कुलतमा नबदलौँ, बरु लोकतन्त्रको दीर्घ जीवनको निम्ति प्रयोग गरौँ ।

 

प्रकाशित : कार्तिक ३०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?