कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

उच्च रक्तचापबाट जोगिने तरिका

डा. राजेन्द्र कोजु

काठमाडौं — हिजोआज उच्च रक्तचापबारे धेरैजसोलाई केही न केही जानकारी भएकै छ । तथापि उच्च रक्तचापबारे थप केही जानकारी प्रस्ट गर्न कोसिस गरेको छु । उच्च रक्तचाप ठेट नेपाली शब्द भए पनि धेरै जसोले ‘हाइ ब्लड प्रेसर’ वा ‘प्रेसर’ भयो भनेर बुझ्ने पनि छन् ।

उच्च रक्तचापबाट जोगिने तरिका

उच्च रक्तचापबारे जानकारी राख्नु किन जरुरी छ त ? उच्च रक्तचाप भएको व्यक्तिलाई हृदयाघात वा हार्ट एट्याक हुनसक्ने सम्भावना धेरै हुन्छ । धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मृगौला खराब हुने सम्भावना पनि निकै छ । मृगौला वा किडनी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किडनी फेर्न नै पर्ने हुनसक्छ । त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ ।

साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइँदैन । रक्तचाप नियमित प्रकारले जाँच्ने बेलामा बढेको पाइन सक्छ । वा कसै–कसैलाई एक्कासी हृदयाघात वा मस्तिष्काघात वा मृगौला बिग्रेपछि मात्र उच्च रक्तचाप पनि भएको थाहा हुन्छ । तसर्थ केही पनि नहुँदा पनि ब्लड प्रेसर जचाउनुपर्ने हुन्छ । हाम्रो शरीरको रक्तचाप साधारण व्यक्तिको माथिको (सिस्टोलिक) १२० र तलको (डायस्टोलिक) ८० भयो भने राम्रो मानिन्छ । तर सबैको रक्तचाप एउटै हुँदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ । कसैले आफ्नो प्रेसर जचाउँदा माथिको ११० तलको ७० छ भने ठिक छ भन्ने थाहा हुन्छ वा माथिको १०० तलको ६० छ भने पनि ठिक छ वा माथिको १२० तलको ८० छ भने पनि ठिक छ ।

कति भयो भने उच्च रक्तचाप भन्ने ? यदि कसैको माथिको प्रेसर १४० भन्दा माथि भयो र तलको ९० भन्दा माथि भयो भने उच्च रक्तचाप भएको मानिन्छ । माथिल्लो १२० देखि १४० भित्र वा तलको ८० देखि ९० भयो भनेचाहिँ यो व्यक्तिलाई भविष्यमा उच्च रक्तचाप हुन्छ है भन्ने सम्भावना बढ्छ । उच्च रक्तचाप एक पटकको मापनमै भन्न मिल्दैन । पक्का उच्च रक्तचाप भन्न ३ पटकभन्दा बढी विभिन्न समयमा विभिन्न ठाउँमा रक्तचाप नाप्नुपर्छ । यदि सबै पटक नै १४० । ९० भन्दा बढी भयो भनेमात्र उच्च रक्तचाप भन्न मिल्छ । नियमित रक्तचापको मापनसंँगै रगतको जाँच, ईसीजी, ईको, पिसाबको जाँच गराएर मात्र उच्च रक्तचाप भन्नु राम्रो हुन्छ ।

उच्च रक्तचापको निदान पक्का भयो भने चिकित्सकको सल्लाह अनुसार औषधी खानु वेश हुन्छ । एक वा दुई चक्की औषधीले कतिपय खतरा टार्न सकिन्छ भने औषधी खानु बुद्धिमानी हुन्छ । धेरैले औषधी खायो भने जिन्दगीभर खानुपर्छ भन्छन् । जिन्दगी भए त जिन्दगीभर खाने, यदि जिन्दगी नै गयो भने केको जिन्दगी भर ? जिन्दगी जोगाउन नै जिन्दगीभर खाने हो । एक–दुई चक्की औषधी खाइराखेर राम्रो हुन्छ भने खाइराख्नु पर्छ । हामी धुलो खान्छौं, धुवाँ खान्छौं, अनावश्यक तेल खान्छौं, अखाद्य वस्तु खान्छौं । तर मतलब हुँदैन । एक/दुई चक्की औषधी खान सोचिराख्न पर्दैन । अनि कसैले भन्छ– साइड इफेक्ट हुन्छ कि ? साइड इफेक्टभन्दा यसबाट लाभ धेरै हुने हुनाले लाभकै लागि खाने हो । 

खानै नहुने वस्तु त केही छैन, रक्सी र चुरोट बाहेक । तर धेरै नुनले रक्तचाप बढाउने भएको हुनाले नुन कम खाने । हामीले साधारण खाने खानामा नुन धेरै हुने हुनाले एक–दुई थरी खानाको नुन घटायो भने रक्तचाप पनि नियन्त्रणमा आउन सक्छ । त्यस्तै धेरै गुलियो, चिल्लो खानेकुरा नियन्त्रण गरेकै राम्रो र सागसब्जी, फलफूल, फाइबरयुक्त खाना खान जोड दिनुपर्छ । सकेसम्म फाष्टफुड, सफ्ट ड्रिंक्स कम खाँदा राम्रो हुन्छ । शारीरिक व्यायाम र खानेकुराको नियन्त्रण एकदमै राम्रो हुन्छ । कसैलाई उच्च रक्तचाप छ भने नियमित औषधी र जीवनशैली परिवर्तनसंँगै नियमित चिकित्सकको परामर्श पनि आवश्यक छ । रक्तचाप सुस्त हत्यारा हो, बेलैमा पहिचान गरे नियन्त्रणमा राख्न सकिन्छ ।

डा. कोजु धुलिखेल अस्पतालमा कार्यरत छन् । 

 

प्रकाशित : कार्तिक ३०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?