उच्च रक्तचापबाट जोगिने तरिका

डा. राजेन्द्र कोजु

काठमाडौं — हिजोआज उच्च रक्तचापबारे धेरैजसोलाई केही न केही जानकारी भएकै छ । तथापि उच्च रक्तचापबारे थप केही जानकारी प्रस्ट गर्न कोसिस गरेको छु । उच्च रक्तचाप ठेट नेपाली शब्द भए पनि धेरै जसोले ‘हाइ ब्लड प्रेसर’ वा ‘प्रेसर’ भयो भनेर बुझ्ने पनि छन् ।

उच्च रक्तचापबारे जानकारी राख्नु किन जरुरी छ त ? उच्च रक्तचाप भएको व्यक्तिलाई हृदयाघात वा हार्ट एट्याक हुनसक्ने सम्भावना धेरै हुन्छ । धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मृगौला खराब हुने सम्भावना पनि निकै छ । मृगौला वा किडनी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किडनी फेर्न नै पर्ने हुनसक्छ । त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ ।

साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइँदैन । रक्तचाप नियमित प्रकारले जाँच्ने बेलामा बढेको पाइन सक्छ । वा कसै–कसैलाई एक्कासी हृदयाघात वा मस्तिष्काघात वा मृगौला बिग्रेपछि मात्र उच्च रक्तचाप पनि भएको थाहा हुन्छ । तसर्थ केही पनि नहुँदा पनि ब्लड प्रेसर जचाउनुपर्ने हुन्छ । हाम्रो शरीरको रक्तचाप साधारण व्यक्तिको माथिको (सिस्टोलिक) १२० र तलको (डायस्टोलिक) ८० भयो भने राम्रो मानिन्छ । तर सबैको रक्तचाप एउटै हुँदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ । कसैले आफ्नो प्रेसर जचाउँदा माथिको ११० तलको ७० छ भने ठिक छ भन्ने थाहा हुन्छ वा माथिको १०० तलको ६० छ भने पनि ठिक छ वा माथिको १२० तलको ८० छ भने पनि ठिक छ ।

कति भयो भने उच्च रक्तचाप भन्ने ? यदि कसैको माथिको प्रेसर १४० भन्दा माथि भयो र तलको ९० भन्दा माथि भयो भने उच्च रक्तचाप भएको मानिन्छ । माथिल्लो १२० देखि १४० भित्र वा तलको ८० देखि ९० भयो भनेचाहिँ यो व्यक्तिलाई भविष्यमा उच्च रक्तचाप हुन्छ है भन्ने सम्भावना बढ्छ । उच्च रक्तचाप एक पटकको मापनमै भन्न मिल्दैन । पक्का उच्च रक्तचाप भन्न ३ पटकभन्दा बढी विभिन्न समयमा विभिन्न ठाउँमा रक्तचाप नाप्नुपर्छ । यदि सबै पटक नै १४० । ९० भन्दा बढी भयो भनेमात्र उच्च रक्तचाप भन्न मिल्छ । नियमित रक्तचापको मापनसंँगै रगतको जाँच, ईसीजी, ईको, पिसाबको जाँच गराएर मात्र उच्च रक्तचाप भन्नु राम्रो हुन्छ ।

उच्च रक्तचापको निदान पक्का भयो भने चिकित्सकको सल्लाह अनुसार औषधी खानु वेश हुन्छ । एक वा दुई चक्की औषधीले कतिपय खतरा टार्न सकिन्छ भने औषधी खानु बुद्धिमानी हुन्छ । धेरैले औषधी खायो भने जिन्दगीभर खानुपर्छ भन्छन् । जिन्दगी भए त जिन्दगीभर खाने, यदि जिन्दगी नै गयो भने केको जिन्दगी भर ? जिन्दगी जोगाउन नै जिन्दगीभर खाने हो । एक–दुई चक्की औषधी खाइराखेर राम्रो हुन्छ भने खाइराख्नु पर्छ । हामी धुलो खान्छौं, धुवाँ खान्छौं, अनावश्यक तेल खान्छौं, अखाद्य वस्तु खान्छौं । तर मतलब हुँदैन । एक/दुई चक्की औषधी खान सोचिराख्न पर्दैन । अनि कसैले भन्छ– साइड इफेक्ट हुन्छ कि ? साइड इफेक्टभन्दा यसबाट लाभ धेरै हुने हुनाले लाभकै लागि खाने हो । 

खानै नहुने वस्तु त केही छैन, रक्सी र चुरोट बाहेक । तर धेरै नुनले रक्तचाप बढाउने भएको हुनाले नुन कम खाने । हामीले साधारण खाने खानामा नुन धेरै हुने हुनाले एक–दुई थरी खानाको नुन घटायो भने रक्तचाप पनि नियन्त्रणमा आउन सक्छ । त्यस्तै धेरै गुलियो, चिल्लो खानेकुरा नियन्त्रण गरेकै राम्रो र सागसब्जी, फलफूल, फाइबरयुक्त खाना खान जोड दिनुपर्छ । सकेसम्म फाष्टफुड, सफ्ट ड्रिंक्स कम खाँदा राम्रो हुन्छ । शारीरिक व्यायाम र खानेकुराको नियन्त्रण एकदमै राम्रो हुन्छ । कसैलाई उच्च रक्तचाप छ भने नियमित औषधी र जीवनशैली परिवर्तनसंँगै नियमित चिकित्सकको परामर्श पनि आवश्यक छ । रक्तचाप सुस्त हत्यारा हो, बेलैमा पहिचान गरे नियन्त्रणमा राख्न सकिन्छ ।

डा. कोजु धुलिखेल अस्पतालमा कार्यरत छन् । 

 

Yamaha

प्रकाशित : कार्तिक ३०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘प्लस टु’ पछि चिकित्सा क्षेत्रको पढाइ कसरी ?

डा. राजेन्द्र कोजु

काठमाडौं — प्लस टु पढिसक्नासाथ हरेक युवामा तुरुन्तै प्रश्न उठ्छ– अब मेरो शैक्षिक बाटो के हो ? प्लस टुका विषय हेरी–हेरी विश्वविद्यालयका कार्यक्रम फरक पर्न सक्छन् ।

चिकित्साशास्त्र एवं यससँंग सम्बन्धित क्षेत्रमा थुपै्र विषय पढ्न सकिन्छ। विषयगत कार्यक्रम छान्ने क्रममा त्यसबारे निम्न कुरा पहिल्यै ध्यान पुर्‍यायो भने राम्रो विषय छान्न मद्दत पुग्छ।

(क) कार्यक्रम कति वर्षको छ भनी जान्नु महत्त्वपूर्ण हुन्छ। स्नातक तहको कार्यक्रम ४ वर्ष वा माथिको भयो भने, अन्तर्राष्ट्रिय मान्यता राम्रो हुन्छ। अहिले नेपालमा उपलब्ध विभिन्न विषय पनि त्यही अनुसार नै छ। जस्तै– बीएससी नर्सिङ, बीपीटी (फिजियो थेरापी) बीएमआईटी, बी फार्मेसी आदि। यद्यपि नेपालमा ३ वर्षे कोर्स पनि छन्। जुन लिँदा पछि विदेशमा माष्टर्स गर्दा आइपर्ने कठिनाइको ख्याल गर्नुपर्छ। स्तरीय विश्वविद्यालयले माष्टर्स गर्न ४ वर्षे स्नातक नै खोज्छन्।

(ख) कार्यक्रम कुन विश्वविद्यालय अन्तर्गत छ भन्ने कुरा जान्न आवश्यक पर्छ। स्वदेशमा होस् वा विदेशमा, मान्यता प्राप्त स्तरीय विश्वविद्यालय अन्तर्गतकै कोर्स पढ्नु जरुरी हुन्छ। हालसम्म नेपाल भित्रका ब्याचलर डिग्री कार्यक्रमहरू मान्यता प्राप्त विश्वविद्यालय वा प्रतिष्ठानबाटै सञ्चालित भएको हुनाले भरपर्दो छ। गुणस्तरीय पनि छन्। धेरै राम्रा कलेजहरू यथेष्ट छन्।

देश बाहिरको कार्यक्रममा जाने निधो गर्नुभन्दा पहिला मनग्ये गृहकार्य गर्नु आवश्यक छ। कुनै पनि हालतमा मान्यता प्राप्त विश्वविद्यालयकै कार्यक्रम हो भन्ने जानकारी पाउनुपर्छ। कतिपय शिक्षितहरू कहाँबाट पढेका भन्नासाथ आफ्नो विश्वविद्यालयको नाम गर्वसाथ लिने गरेको सर्वविदितै छ। भविष्यमा राम्रो गर्न चाहने जोकोहीले राम्रो विश्वविद्यालय नै छान्नुपर्छ। कहिलेकाहीं विश्वविद्यालयको नाम झुक्किन पनि सक्छन्। त्यो पनि राम्रो सरसल्लाह गरेर मात्र छान्नु वेश हुन्छ। गुणस्तरीयता, नियमितता, विद्यार्थी–मैत्री वातावरण, समय–सापेक्षिक कोर्स, शिक्षणका हरेक सामग्रीजस्ता महत्त्वपूर्ण पूर्वाधार प्रमुख हुन्।

(ग) कार्यक्रम पूरा गरेपछिको भविष्य के हो? ४ वर्ष वा त्योभन्दा बढीको कोर्स पूरा गरेपछि मैले के गर्ने भनेर पहिल्यै तय गर्न सकियो भने धेरै राम्रो हुन्छ। साधारणतया २ वटा बाटो पहिलिन्छ। एउटा, काम गर्ने वा सेवा गर्ने। अर्को थप अध्ययन। विषयगत सेवा वा काम, पढाइ लगत्तै सुरु गर्न सकिन्छ, जसबाट अनुभव पनि हुन्छ र तलब पनि पाइन्छ।

जस्तै– बीडीएस गर्नेले दाँतको उपचार गर्न अस्पताल वा क्लिनिकमा काम गर्ने, बीएमआईटी गर्नेले रेडियोलोजी डिपार्टमेन्टमा काम गर्न सक्छन्। अर्को भनेको थप मास्टर लेभलको अध्ययन अगाडि बढाउने। दुवै बाटोबारे जानकारी लिने बेला स्वदेशमै के छ र अन्तर्राष्ट्रिय परिवेशमा के छ भन्ने जानकारी हुनुपर्छ। जस्तै– बीएससी नर्सिङ, बीपीएच गर्नेहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा एमपीएच, एमएससी, पीएचडी गर्न पाइराखेका छन्।

काम गर्न वा पढ्न देश/विदेशमा उपलब्ध सिट संख्या वा दरबन्दीहरू उत्पादनको तुलनामा कम छ, जसले गर्दा प्रतिस्पर्धा निश्चित छ। प्रतिस्पर्धा भन्ने कुरा संसारभरि जहाँ पनि छ, जसमा आफू उत्कृष्ट निख्रिनुपर्ने कुरामा कोही पनि अछुतो हँुदैन। तर विषयगत रूपमा कुन विषयको माग धेरै छ वा कम छ, पहिला नै अध्ययन गरियो भने पछि पछुताउनु पर्दैन।

पहिलेको तुलनामा अहिले अध्ययन, अनुसन्धानको दायरा बढ्दै गरेको सन्दर्भमा अनुसन्धानको सम्भावना भएका विषयहरू पनि विचार गर्न सकिन्छ। अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नेपाली मेडिकल डाक्टरहरूले राम्रो गरिराखेका छन्। त्यस्तै नेपालमै अध्ययन गरेका नर्सिङहरूले पनि अष्ट्रेलिया, अमेरिका, युकेमा राम्रो गरिराखेका छन्। अरू विषयमा पढ्नेले पनि माष्टर्सको लागि राम्रै विश्वविद्यालयमा पढ्ने अवसर पाइराखेका छन्। ब्याचलर डिग्री, यहाँबाट मिहेनत गरेर पढेकाहरूको भविष्य, स्वदेश वा विदेश जहाँ पनि राम्रो भइराखेको देखिन्छ। चाहिन्छ लगन, मिहेनत, धैर्यता र परिश्रम।

(घ) कार्यक्रम आफ्नो आर्थिक अवस्थाले धान्ने हो वा होइन? वा अहिलेको खर्चलाई शैक्षिक खर्चको दायित्वमात्र सम्झिने कि लगानी सम्झिने भन्ने अर्को प्रश्न हो। चिकित्सा र यससंँग सम्बन्धित विषयहरू पढ्न तुलनात्मक रूपमा महंँगो खर्च पर्छ। यसको कारण सायद यसका पूर्वाधार, मानव संसाधन र कार्यक्रम अवधि हुनसक्छ। जस्तै– आवश्यकता अनुसार अस्पताल, बिल्डिङ, महंँगा मेसिन, मानव संसाधनले गर्दा धेरै खर्च लाग्न सक्छ।

यसैकारण पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकारको स्वामित्वमा राम्ररी सञ्चालन हुनुपर्ने हो, जहाँ सर्वसाधारणको पहुँच हुनसक्छ। तर विविध कारणले गर्दा सरकारी निकायको तुलनामा निजी कलेजहरू प्रशस्त छन्। सरकारी, सामुदायिक र निजीमा छुट्टाछुट्टै शुल्क हुने भएकाले प्रतिस्पर्धामा राम्रो गर्नेले सरकारी वा सामुदायिकमा पायो भने न्यून शुल्क वा निशुल्कमा अध्ययन गर्न पाउँछन्। निजीमा पनि एमबीबीएस कोर्समा १० देखि २० प्रतिशतसम्म पूर्ण छात्रवृत्ति हुने भएकाले प्रवेश परीक्षामा उत्कृष्ट हुनेहरूले निशुल्कमै पढ्न पाउँछन्, जुन सम्बन्धित विश्वविद्यालयको प्रवेश परीक्षाको नतिजाको आधारमा शिक्षा मन्त्रालयबाट निर्धारण हुन्छ।

यस्ता एमबीबीएस सिट सबै कलेज गर्दा झन्डै २५० को हाराहारीमा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति पाउँछन्। यस्तै अरू विषयमा पनि छन्। विस्तृत जानकारीको लागि सम्बन्धित निकायमा बुझ्नु आवश्यक छ। यस बाहेक पूर्ण शुल्क तिरेर पढ्ने सिट केही बढी हुन्छ। शुल्क कति भन्ने कुरा पहिल्यै प्रस्ट हुनुपर्छ। साढे ५ वर्षको एमबीबीएस कोर्सका लागि नेपालमा जति लाग्छ, विदेशमा पनि त्यत्ति नै लाग्न सक्छ या केही बेसी।

एउटा सत्य कुरा एमबीबीएस आफ्नै खर्चमा पढ्ने विद्यार्थीका अभिभावकले पढाइ सकिएपछि खर्च जत्तिकै कमाइ हुँदैन भन्ने कुराचाहिँ पहिल्यै बुझ्नुपर्ने हुन्छ। आफ्नो सन्तानको भविष्य चिकित्सक बनाउने ठिक हो भन्ने सोच राखेर पढाउने अथवा वा सेवा प्रदान गरी गरिब र दु:खीप्रति समर्पित हुने हो भने चिकित्सकप्रतिको सामाजिक प्रतिष्ठा पनि महत्त्वपूर्ण हुन्छ। तर एमबीबीएसबाटै पैसा कमाउनचाहिँ नसकिने हुनसक्छ। त्यस्तै थप अध्ययनमा पनि सिट संख्या केही कम भएको हुनाले विशेषज्ञता हासिल गर्न पनि केही कठिनाइ आइपर्न सक्छ। यत्ति हुँदाहँुदै पनि अन्तर्राष्ट्रिय स्तरमा दक्ष चिकित्सकको खाँचो यद्यपि छँदैछ। एमबीबीएसबाट अघि बढ्ने बाटो अलि लामो र तुलनात्मक रूपमा खर्चिलो छ, तर नराम्रो छैन।

अहिले नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न विषयमा पढाइ भइराखेका छन् र त्यस सम्बन्धी फर्म खुलिराखेका छन्। विभिन्न विश्वविद्यालय/ प्रतिष्ठानमा निम्न कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। बीएससी नर्सिङ, बीएन, एमबीबीएस, बीडीएस, बीपीटी, बीएमआईटी, बीपीएच, बी फार्म, बीएमएलटी, बीएससी बायोकेमेस्ट्री, बीएससी माक्रोबायोलोजी, बीएएमएस आदि।

जेजस्तो विषय पढौं, राम्रो मिहेनत गर्‍यो भने भविष्य उज्यालो नै छ र धेरैजसो चिकित्सा क्षेत्रका विषय नेपालमै उपलब्ध भइकन तुलनात्मक रूपमा गुणस्तरीय छन्। विभिन्न निकायका परीक्षाको परिणाम, विदेशमा सफलता, स्वदेशमै भूकम्पको बेलामा देखिएको कार्यदक्षता एवं सफलता, विभिन्न विशेषज्ञताको उपलब्धता, अध्ययन अनुसन्धानको विकास आदिलाई मनन गर्दा नेपालको चिकित्सा क्षेत्र स्तरीय र अग्रगामी नै देखिन्छ।

कोजु काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन हुन्।

प्रकाशित : आश्विन २२, २०७४ १५:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT