कांग्रेसको निरर्थक डर

के साँच्चै कम्युनिस्ट गठबन्धनबाट लोकतन्त्रलाई खतरा छ ? विश्व परिवेश र स्वयं नेपालकै अभ्यास र अनुभव हेर्दा यस्तो प्रश्न असान्दर्भिक भइसक्यो भन्ने धेरैको मत रहन्छ । रहे सहेकै साम्यवादी मुलुकहरूसमेत लोकतन्त्रतर्फ नै विस्तारै अवतरण गर्नुपर्ने अवस्था आइरहेको सन्दर्भमा नेपालमा एमाले र माओवादी मिलेर साम्यवादी अधिनायकवाद स्थापित गर्छन् भन्ने कुरा सुन्दै हास्यास्पद लाग्छ ।

कांग्रेसको निरर्थक डर

फेरि मोहन वैद्यले भनेकै कुरा पत्याउने हो भने यी एमाले, माओवादी कम्युनिस्ट नै होइनन्, कम्युनिस्ट त यिनका देखाउने दाँतमात्रै हुन् । तर एमाले, माओवादी नेताले भने ०१७ सालमा एकअर्काबाट बिछडिएका सहोदर भाइहरू भेटिए वा सो सरहको उद्घोष गरेका छन् । 

अब प्रश्न उठ्छ, कम्युनिस्ट मिल्ने, दुई तिहाइ ल्याउने र राजनीतिक स्थिरता सुनिश्चित गर्ने भनिरहेका एमाले, माओवादी कम्युनिस्ट नै होइनन् भने यिनले साम्यवादी अधिनायकवाद स्थापित गर्ने डर नै कसरी र कहाँबाट उत्पन्न भयो ? एमाले, माओवादीको चुनावी तालमेल र चुनावपछि एकता गर्ने घोषणासँगै देशमा लोकतन्त्र मासिने, साम्यवादी अधिनायकवाद स्थापित हुने कथ्य रचिनु र भाइरल हुनुको कारणचाहिँ के हो ? यो के केवल नेपाली कांग्रेसका नेताहरू आफू राजनीतिको केन्द्रबाट विस्थापित हुने डरका कारण फैलाइएको अफवाह मात्र हो या यसमा सत्यता पनि छ ? यी प्रश्नहरूको उत्तर खोज्नु अब अनिवार्य भएको छ । किनभने यसको उत्तर खोजिएन भने भोलि कथं कम्युनिस्ट गठबन्धनले दुई तिहाइ स्थानमा विजय हासिल गरेका खण्डमा साम्यवादी व्यवस्थाकै ढाँचा सुहाउँदो हुनेगरी संविधान संशोधन गर्ला कि भन्ने डर त पस्ने नै भयो । यस डरको निवारण हुनु आवश्यक छ । 

पहिलो कुरा त म आफू भने एमाले र माओवादी मिल्दैमा दुई तिहाइ आइहाल्छ भन्ने ‘न्यारेटिभ’सँग पटक्कै सहमत हुन सकिरहेको छैन । त्यस्तै यी दुई एक भएर साम्यवादी अधिनायकवाद स्थापित गर्छन् भन्ने कुरा पत्यारलाग्दो नै लाग्दैन । यसको कारण छ, त्यो कारण हो, यसका नेताहरूको उच्च आर्थिक हैसियत, व्यक्तिगत सम्पत्तिप्रतिको असीम लगाव र अतिशय परिवारप्रेम । यी तीनवटै विषय साम्यवादका खिलाफ हुन् । एउटा साँचो साम्यवादी नेता सर्वहारा हुन्छ अर्थात् ऊसित केही हुँदैन । उसको न कुनै आर्थिक हैसियत हुन्छ, नत व्यक्तिगत सम्पत्ति, न उसमा परिवारमोह । यहाँ मैले यी आलिशान भवनमा बस्ने, करोडौं पर्ने गाडी चढ्ने, छोराछोरी, भाइभतिजा, बुहारी, साली आदि नाताकुटुम्बलाई पहिलो हुने प्रथा र समानुपातिकमा स्थान सुरक्षित गरिदिने नेताको बारेमा होइन, महान साम्यवादी चिन्तक कार्लमाक्र्सका परिकल्पनाको कम्युनिस्ट नेताको कुरा गरेको हुँ । 

सच्चा कम्युनिस्ट नेता आदरणीय हुन्छ, चटके होइन । साधु हुन्छ, डाँका होइन । सज्जन हुन्छ, कपटी होइन । त्यस्तो कम्युनिस्ट नेता माक्र्सको परिकल्पनामा बाहेक यो सृष्टिमा साक्षात् कहिल्यै उपस्थित भएको छैन । जब–जब उपस्थितिको सम्भावना देखियो, तिनलाई स्टालिनजस्ता पाखण्डीहरूले सिध्याइदिए । त्यसैले हुनुपर्छ, भारतीय स्वतन्त्रताका अग्रणी नेता महात्मा गान्धीले आफ्नो आत्मकथामा भनेका थिए, ‘साम्यवाद एउटा सुन्दर सपना हो, तर त्यो कहिल्यै पूरा हुँदैन ।’ पूरा हुँदैन, किनभने मान्छे लोभी हुन्छ । धन देख्यो कि उसको मनमा पाप पलाउँछ । सर्वहाराको नेता हुँ भन्नेले सर्वहाराकै गाँस खोस्छ । रूसमा सन् १९१७ मा भएको बोल्सेविक अर्थात् अक्टोबर क्रान्तिपछि करिब ७० वर्षको अवधिमा साम्यवादका नाममा कथित साम्यवादी नेताले नै देशको श्रीसम्पत्तिमाथि चैन गरे । जनता कमाराका कमारा नै रहे । देशै टुक्रियो, साम्यवादी भनिएको व्यवस्थै उल्टियो । 

रूसमा भ्लादिमिर लेनिनले सुरु गरेको संघर्ष र उनले स्थापित गरेको सत्ताको त त्यो दुर्गति भयो भने नेपालको कम्युनिस्ट आन्दोलनको व्यथाकथा आफ्नै छ । २०१७ सालपछि टुत्रिँmदै गएका कम्युनिस्टहरू टुक्रा–टुक्रा नै छन् र भित्री कुरा भन्नुपर्दा अहिले जोडिएका भनिएका एमाले र माओवादी चुनावी गणितका कारण साथै देखिएका हुन् । यहाँनेर साँच्चै भन्ने हो भने उत्पातै बाठा भनेर मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली नराम्ररी झुक्किएका हुन् । माओवादीसँग एकता गरेर यदि उनले साँच्चै नै नेपालमा स्थायी सरकार दिने मनसुवा राखेका हुन् भने त्यो मनसुवाप्रति दया प्रकट गर्नुको विकल्प छैन । किनभने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कति र को–कोसँग वाचा गरे र तोडे त्यसको लिखत स्वयं चित्रगुप्तले राख्न सक्लान्, मनुष्यले किमार्थ सक्दैन ।

म यहाँ एमाले, माओवादीले बहुमत ल्याउँदैनन् अथवा ल्याउनु हुँदैन जस्ता तर्क–वितर्कमा छैन । हुनुको औचित्य पनि छैन । किनभने एमाले र माओवादी सिद्धान्तत: एकै पाठशालाका भए पनि अथवा मानिलिउँ सहोदर दाजुभाइ अथवा दिदीबहिनी नै रहेछन्, तैपनि यिनीहरू फेरि घर जोडेर बस्नु अचम्मै हुन्छ । एमाले सबैभन्दा बलियो सञ्जाल भएको पार्टीमात्र होइन, यसका धेरैजसो नेता/कार्यकर्ता ‘बिजनेस क्लास’मा पुगिसकेका छन् । ठूलठूला ठेक्कापट्टा, व्यापारिक मलहरू, अस्पतालहरू उसका ध्येय हुन्, लक्ष्य हुन् । नेता/कार्यकर्ता धनी भए देश समृद्ध हुन्छ भन्ने एमालेको सूत्र हो । जबकि माओवादीका धेरैजसो कार्यकर्ताले हिजो बन्दुक बोके, आज हलोकोदालो बोक्न पुगेका छन्, कि भने अरब मुलुकको तातो घाम पिउँदैछन् । लडाकुका नाममा आएको ठूलो रकम हिनामिना भएको चर्चा चलिरहेको र तिनका नेताको अकस्मात फेरिएको जीवनशैलीले त्यसैलाई पुष्टि गरेको छ । 

फेरि प्रचण्डका बोलीमा विश्वास गर्न, उनका लिखत पत्याउन त स्वयं ब्रह्माले पनि सक्दैनन् । तर मान्नैपर्छ, ओलीमा पत्याउन सक्ने सामथ्र्य र क्षमता दुबै रहेछ । उनीसँगै सरकारमा बसेका बेला प्रचण्डको कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘लभ’ परेको होइन र ? अनि देउवासँगै बस्दाबस्दै प्रचण्ड ओलीको मोहपासमा परेर फर्केका हुन् । कि होइनन् ? त्यसैले कहिले कोसित ‘लभ’ पर्ने कहिले कसको मोहपासमा पर्ने मानिसको कतिसम्म भर गर्न सकिन्छ, यो भने एमालेका नेता/कार्यकर्ताले आफैं विचार गर्ने विषय हो । यहाँ मेरो विषय र तात्पर्य भने त्यस्तो कांग्रेसले डराएर भनेजस्तो साम्यवादी अधिनायकवाद आउँछ भन्ने होइन । किनभने साम्यवाद आउनलाई पनि पूर्वाधार चाहिन्छ र त्यसको प्रथम पूर्वाधार भनेको नेतृत्व नै हो । 

माथि नै भनियो, साम्यवादी नेताका गुणहरू । ती फेरि यहाँ दोहोर्‍याउँ । साम्यवादी नेताको कुनै आर्थिक हैसियत हँुदैन, निजी नामको कुनै सम्पत्ति हुँदैन र ऊ परिवार मोहबाट पूर्णत: मुक्त हुन्छ । यहाँ भने भन्ने गरेको सुनिन्छ, प्रचण्डको आर्थिक हैसियतका सामु नेपालका सबैभन्दा धनी भनिएका विनोद चौधरीको फोब्र्सको र्‍याङकिङले जिल खान्छ । ओलीकै दृश्य–अदृश्य आर्थिक हैसियत पनि निम्न मध्यम वर्ग छोडौं, नेपाली उच्च मध्यम वर्गभन्दा कम छैन । अब आउँ निजी सम्पत्तितिर, आफ्ना नाममा घरजग्गा, जमिन, जायदाद नराख्नेले पत्नीको दाइजोका नाममा सम्पत्ति विवरण दिने गरेका छन् । नाता सम्बन्ध, कुलकुटुम्ब र घोषित/अघोषित व्यापारीका खाता र व्यवसायमा राखिएका रकमको कुरै नगरौं । त्यस्तै यी जनवादी क्रान्तिका अग्रनायकहरू पारिवारिक मोहजालमा कसरी पँmसेका छन्, त्यो हेर्न पहिलो हुने प्रथाका नामहरू र समानुपातिकको सूची हेरे लाजै लाग्नेगरी त्यहाँ विवरण देख्न पाइन्छ । 

साम्यवाद माक्र्सको सपना थियो, आदर्श थियो, मानवतालाई शोषणबाट त्राण दिने एउटा वैकल्पिक योजना थियो । तर त्यो योजना नेपालका अधिकांश आयोजनाहरू कमिसनखोरहरूको जालमा परेजस्तै दुर्दशाग्रस्त हुनपुग्यो । निश्चय नै नेपालका आयोजनाहरू त फेरि बौरिएलान्, तर साम्यवाद बौरिँदैन । किनभने त्यसै पनि विश्व विकासक्रममा त्यो विचार नै अब असान्दर्भिक हुनपुगेको छ । यसर्थ एमाले–माओवादी मिल्दैमा नेपालको लोकतन्त्र उल्टिने–पल्टिनेवाला छैन । त्यसैले कांग्रेसको भय निरर्थक छ । निरर्थक किन पनि छ भने नेपाल अब त्यो छैन, जो थियो । एउटा नयाँ जागरण प्रारम्भ भएको, समाजमा एउटा नयाँ संवाद सुरु भएको छ । निश्चिन्त भए हुन्छ, कांग्रेस हारोस्, जितोस्, लोकतन्त्र कतै जाँदैन । कुनै साम्यवादी अधिनायकवादको गुञ्जायस नै छैन, कुनै दक्षिणपन्थी कुचक्रले अब मौका पाउने छैन । किनभने लोकतन्त्र अब क्रमश: जनस्तरमा पुग्दैछ, त्यसैले सुरक्षित छ । 

अझ किनभने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर गठन पनि भइसकेका छन् । अब प्रदेशसभाहरू र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि देशमा सकारात्मक तरंग उत्पन्न हुनेछ र त्यस तरंगले मुलुकलाई सही दिशा दिनेछ । त्यसपछि यी नेताहरू सम्मुख देशका युवाहरूले प्रश्न गर्नेछन् र ती प्रश्नहरूको उत्तर दिनलाई प्रतिनिधिहरू बाध्य हुनेछन् । उत्तर नदिए, फालिनेछन् । 

प्रकाशित : मंसिर १, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?