सामान ढुवानी सहज बनाऊ

सम्पादकीय

कोलकाता बन्दरगाह व्यवस्थापक, ढुवानीको जिम्मा लिएको कन्कर इन्डिया, वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालक र नेपाल सरकारको उदासीनताका कारण तेस्रो मुलुकबाट सामान ल्याइपुर्‍याउन व्यवसायीहरूले लगातार अनावश्यक झमेला बेहोर्नु परिरहेको छ ।

भारतको कोलकाता बन्दरगाह आइपुगेको सामान नेपाल भित्रिन महिनौं लाग्दा व्यवसायीले अनाहकमा वार्षिक करिब ५ अर्ब रुपैयाँ विलम्ब शुल्क तिर्नुपरिरहेको मात्र छैन, यसबाट सामानको मूल्य महँगिएर उपभोक्तालाई सोझै मर्का परिरहेको छ । सामान ढुवानीको समस्या अचाक्ली बढेको दुई वर्षभन्दा बढी भइसक्दा पनि समाधानका लागि सम्बन्धित निकायबाट अग्रसरता नलिइनु विडम्बनापूर्ण छ । 

भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामान वीरगन्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा नाका तथा वीरगन्जकै सुक्खा बन्दरगाहबाट नेपाल भित्रिन्छन् । नेपालबाट नजिकको बन्दरगाह भएकाले ८० प्रतिशतभन्दा बढ्ता आयात कोलकाताबाटै हुँदै आएको छ । तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले उपलब्ध गराएको अर्को विशाखापटनम बन्दरगाह धेरै टाढा रहेकाले र भर्खरै खुलेकाले आयातकर्ताले उति प्रयोग गरेका छैनन् । धेरै नेपाली व्यवसायी निर्भर कोलकाता बन्दरगाह भने जीर्ण, साँघुरो र अव्यवस्थित हुँदा त्यसको असर नेपाली उपभोक्तासम्मलाई परिरहेको छ । 

Yamaha

कोलकाताबाट सामान ढुवानी ढिलाइ हुनुमा बन्दरगाह साँघुरो हुनु, प्रक्रिया झन्झटिलो हुनु र बन्दरगाह सञ्चालक कोलकाता पोर्ट ट्रस्ट अफ इन्डिया तथा एकाधिकार प्राप्त ढुवानीकर्ता कन्करको प्राथमिकतामा नेपाली सामान नपर्नु मुख्य कारण देखिन्छन् । नेपालसहित भुटान र भारतको उत्तरपूर्वी क्षेत्रका सामानसमेत त्यहीँबाट आउने हुनाले कोलकाता बन्दरगाह साँघुरो बनेको हो । साना पानीजहाज मात्र आउने बन्दरगाहमा ‘अनलोड’ गर्नै समय लाग्छ । त्यसपछि एजेन्टले भन्सार ‘क्लियरेन्स’ गर्दा थप केही दिन बित्छ । त्यसपछि ढुवानी गर्न रेलको र्‍याक पाउन कुर्नुपर्छ । नेपाल–भारत रेलवे सम्झौताअनुसार सामान ढुवानीमा कन्करको एकाधिकार छ, जसले सातामा तीनपटक मात्रै वीरगन्ज सामान ढुवानी गर्छ, जसका कारण रेलमा बढीमा तीन दिन लाग्नेमा कोलकाताबाट कन्टेनर नेपाल सरदर तीन महिनामा मात्रै आइपुग्ने गरेको छ । कोलकाता बन्दरगाहमा कन्टेनर आइसकेपछि वीरगन्जमा ढुवानी गरी १४ देखि २१ दिनभित्र कन्टेनर फिर्ता दिइसक्नुपर्ने सिपिङ कम्पनीहरूको प्रावधान अर्को समस्या बनेको छ । प्राय: कागजी प्रक्रिया मिलाउँदै निर्धारित समय गुज्रिन्छ । तोकिएको समयभित्र ढुवानी हुन नसके विलम्ब शुल्क बुझाउनुपर्छ । यस्तो विलम्ब शुल्क व्यवसायीले प्राय: सधैं तिर्नुपरिरहेको छ । व्यवसायीले झन्झट बेहोर्लान्, ढुवानीमा समय लाग्दा सामान टुटफुट होला तर बजारमा पुग्दा ती सबै हिसाब जोडेरै मूल्य निर्धारण गरिने हुनाले महँगीको मार उपभोक्तालाई पर्छ । त्यसैले सरकारले यो समस्यालाई गम्भीर रूपमा लिन जरुरी छ । 

कोलकाताबाट सामान रक्सौलसम्म रेलमा ल्याएर त्यहाँबाट ट्रकमा वा उतैबाट सिधै ट्रकमा ल्याउन सकिने भए पनि महँगो हुनाले र गह्रुँगा सामान ल्याउन अप्ठ्यारो पर्ने भएकाले व्यवसायीका लागि रेलमा सीधै वीरगन्ज सुक्खा बन्दरगाहसम्म ल्याउनुपर्ने बाध्यता छ । त्यसैले अहिले रेलबाटै सामान ढुवानीलाई सहज बनाउन प्राथमिकता दिनुपर्ने अवस्था छ । दुई देशसँग सम्बन्धित विषय भएको र मर्का पनि आम नेपाली उपभोक्तालाई परिरहेको हुनाले ढुवानी चुस्त बनाउन नेपाल सरकारले पहलकदमी लिन जरुरी छ । कोलकाता बन्दरगाह र भारतीय रेल सेवा व्यवस्थित मात्र हुनसके पनि धेरै समस्या हट्ने भएकाले सम्बन्धित निकायलाई झकझक्याउनुपर्ने खाँचो देखिएको छ । रेलवे सम्झौता पुनरावलोकन गरेर ढुवानीमा कन्करको एकाधिकार तोड्न पनि जरुरी छ । अहिलेको अव्यवस्थापनका कारण कन्टेनर वीरगन्ज आएर फर्कन सिपिङ कम्पनीहरूले निर्धारण गरेको समय थोरै देखिएको छ । ढुवानी सरल नभएसम्म यो समय पुनर्विचारमा पनि पहल गर्नुपर्छ । कोलकाता बन्दरगाह सानो भएकाले नेपालका लागि विकल्पमा नजिकको अर्को बन्दरगाह खुलाउन र विशाखापटनममार्फत ढुवानी सरल तथा भरपर्दो बनाउन सके विद्यमान समस्याले दीर्घकालीन समाधान पाउनेछ । यस्तै, वीरगन्ज सुक्खा बन्दरगाहलाई प्राथमिकताका साथ विस्तार गर्दै विश्वको सिपिङ म्यापमा पार्न अत्यावश्यक छ । त्यसपछि तेस्रो मुलुकबाट सिधै वीरगन्जका लागि सामान आयात गर्न सकियो भने विलम्ब शुल्क तिर्नुपर्ने समस्याबाट मुक्ति मिल्नेछ । 

Esewa Pasal

प्रकाशित : मंसिर ४, २०७४ ०७:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चुनाव, वाचा र पर्चा

समय रेखा
अभि सुवेदी

अमूक घटनामाथि लेख लेख्न बसेको मलाई यसपालि विषयका बाढीले छोपे । चुनाव, पूर्वाञ्चलका अंग्रेजी शिक्षकको १७–१८ कात्तिकमा धरानमा भएको सुनसरी नेल्टा सम्मेलन, लगत्तैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ‘परिक्रमा विद्यार्थी परिवार’का कार्यक्रममा प्राज्ञिक विषय ‘कर्ता, कला र आचारको त्रिकोणात्मक सम्बन्ध’माथि बोल्ने प्रस्तावले एकैचोटी छोपिनु चुनौती थियो ।

सन् १९९३ मा खुलेर अक्टोबर १९९८ देखि स्वायत्त विज्ञान अध्ययनको उच्च केन्द्र भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेरोनिम्ति एक पाठ, स्वास्थ्य शिक्षा, भ्रष्टाचारको हल्ला, हाम्रो पूर्वेली बोलीमा ‘पोलिटिक्स घुसेको’ विवाद तर प्रतिष्ठित भएकाले एक बिर्सन नहुने संस्था हो । मलाई यस केन्द्र र यसले गरेका उपलब्धिहरूबारे खासै थाहा छैन । तर यसमा अध्ययन गर्ने युवाको चाख र चिन्ता देखेर म यो प्रतिष्ठानबारे निकै आशावादी भएको अवस्था भने हो । मैले त्यहाँ प्रस्तुत गर्न तयार गरेका विचारको पत्र छाप्ने यो थलो नभएकाले अहिले यसलाई यत्तिमै राख्न चाहन्छु । 

मैले माथिका कार्यक्रमहरूमा प्रदेश नम्बर १ को भ्रमण गरेको अभिव्यञ्जना ठूलो छ । मैले भेटेँ, गायक कमलिकान्त भेटवालका लोकगीतहरू सबैतिर गुञ्जिँदै थिए । शिक्षक, सर्वदलीय राजनीतिका मानिस (कमलिकान्तको राजनीति मलाई थाहा छैन), पुरुष, महिला फराकिला चौर र कोठाहरूमा तिनको लोकगीतमा नाचेको देखेपछि मलाई नेपालको इतिहासको कहीं अर्को थलोमा पुनरावृत्ति भएको जस्तो लाग्यो । मलाई मनपरेका जर्मन चिन्तक वाल्टर बेन्जामिनले इतिहास बल्झेर नयाँ सन्दर्भमा फर्किन्छ भनेजस्तै मलाई नेपालको धर्मराज थापाको बैंसकालीन नेपाल यो प्रदेशमा फर्केजस्तो लाग्यो । धर्मराज थापाका गीतमा सात सालपछि नेपाल जुर्मुराएर उज्यालोतिर पसेजस्तै कमलिकान्तका लोकगायनमा पहिलो प्रदेश भएर यो पूर्वेली क्षेत्र जुर्मुराउन लागेको अवस्था देख्ता अब नेपाल नयांँ संघीय युगमा प्रवेश गर्‍यो भन्ने काल्पनिकीले काम गर्नलागेको मैले अनुभव गरेंँ । यो क्षेत्रको बोली, लय र भेटवालको सुन्दर गायन र तिनले खोजेर गाएका शब्दहरूको शक्तिले तिनलाई पूर्वको यो राज्यका, पहिले नेपालका धर्मराज थापाजस्तै बनाएको अवस्थाजस्तै लाग्थ्यो । धर्मराज थापाले गाएको बेला नेपालमा राजनीतिक दलहरू सपना बोक्ने पहिला एजेन्सी थिए । थापाले गान्धी, माक्र्स, केआई सिंह, पछि राजा महेन्द्रलाई समेत छुनेगरी गीत गाए । नेपालको ब्युँझिने समय अब प्रत्येक प्रदेश रचनामा पनि दोहोरिएर आउन सक्छ त ? अब प्रदेशका धर्मराज थापाहरूका स्वरमा नेपालका ७ प्रदेशमा इतिहासका समानान्तर उद्बोधन हुनेछन् त ? प्रश्न गर्नु उपयुक्त लागेको छ । 

यो चुनावले मलाई अनौठोसँग हँसायो पनि । अहिलेसम्म कैयौं नरनारीले ‘तपाईंलाई हिजो फेसबुकमा शशांक कोइरालाको चुनावसभामा देख्यौं’ आदि भने । म कुनै दलको मानिस होइन, त्यसैले कसैको प्रचारमा जान्न भनेपछि तिनीहरू चकित भए । मैले थाहा पाइसकेको थिएँं, ती के भन्दै थिए । वरिष्ठ कांग्रेस नेता रामचन्द्र पोखरेलको मसंँग सक्कल मिल्ने कुरा धेरैपटक हंँसाउने चर्चामा आएको छ । निकै पटक बाहिरबाट आएका कांग्रेसजनहरू काम पटाउन पोखरेल भनेर मेरोपछि लागेका छन्, अनि पोखरेललाई म भनेर धेरै युवाले गुरु अभिवादन गर्दारहेछन् । त्यसो त मलाई राजनीतिका नेताहरूसँंग भ्रम हुने बानी परेको छ । कतिसम्म भने १० अप्रिल २०१४ का दिन मेरा विद्यार्थी डा. यमप्रसाद शर्माले लेखेको ललितकला एकेडेमीद्वारा प्रकाशित कला किताबको विमोचन कार्यक्रममा प्रमुख अतिथि माधव नेपाल, म एकमात्र वक्ता अनि कुलपति किरण मानन्धर नाफा हलको मञ्चमा बसेका थियौं । त्यो बेला एकेडेमीले नेपाल र मलाई सम्मान लेखेको चिटिक्क परेको प्लाक दियो । मेरोमा पनि नेपालको जस्तै अंग्रेजीमा लेखिएको थियो, ‘तपाईं नेपालका भूतपूर्व प्रधानमन्त्री प्राध्यापक डा. अभि सुवेदीलाई यो सम्झनाको चिनो दिइन्छ ।’ त्यो पहिला पढ्ने माधव नेपाल नै थिए । मैले ‘हास्यकदम्ब’ नै मानेँ त्यसलाई र लिएँ । यस्ता अनेक रमाइला अनुभव छन् । 

तर दलका घोषणापत्रहरू पढेपछि मलाई विस्मयबोध भएको छ । मलाई सबभन्दा हल्लाउने विषय भनेको नेपालको राजनीतिको विस्मृति ग्रन्थि हो । अर्को, पैसाको फाइदा हुने कुरामा दलहरू कालो भका कुराले हामी पिरोलिएका छौं, पटक–पटक । यो बिर्सिने विषयलाई हिजोआज ‘एम्नेसिया’ भनेर अध्ययन गरिन्छ । यो मानसिक बिमारीसँग जोडिएको विषय हो । तर इतिहासमा शक्तिमा बस्नेहरू बिर्सिन खप्पिस हुन्छन् । ती जानेर बिर्सिन्छन् । डिक्टेटर र भ्रष्ट शासकहरूले बिर्साउने प्रचार गर्छन् । बिर्साउनु भनेको देखेको नदेखिने पार्नु हो । आश्चर्य हुन्छ, यो कुराले । वैशाख १२, २०७२ सालको भूकम्पले पीडित नरनारी राज्यको विस्मृतिका सिकार हुन् । तिनका घरका छाना छैनन्, तिनका बालबालिका मौसम अनुसार बिमारी हुन्छन् । तिनका कलेंँटी परेका ओँठ र निरीह आकारहरू गहिरिंँदै गएका छन् । ती बनावटी हाँसो हाँसेर टिभीहरूलाई अन्तर्वार्ता दिन्छन् । तिनका गलामा गाँठो परेको पीडा तिनका देहको चरित्र भएको छ । तिनले अब सरकार र दल भनेका अधिभौतिक, अलौकिक शक्ति ठानेका छन्, त्यसैले ती केही पनि माग गर्दैनन्, बोल्दैनन्, खालि अलिकता ओँठमा रून्चे कम्पन कुदाएर फिस्स हांँस्छन् । बिजोग सडकहरूका ठेकेदारहरूले धन लिएका छन् । भवनहरू रेट्रोफिटिङ भइसकेकाले ठिक घोषित भएका होलान् । लामा सवारीमा मानिस कोचिएर पहाडै झरेको बाटोमा आउंँदा तिनीहरू चढेका गाडीहरू खस्छन् । हजारौं मानिसले ज्यान गुमाइसके । वर्षको पुछारमा मूल्याङ्कन हुँदा राष्ट्रिय महत्त्वका योजनामा २० प्रतिशतजति मात्र खर्च भएको हुन्छ । पैसाको एउटा भयानक चक्र छ, जो घुमिरहन्छ । एउटा साधारण गान्धी सदृश डाक्टर भोकै बसेर कम्युनिष्ट र कांग्रेसका युटोपिया अथवा तिनका सिद्धान्तले खोजेका परिकल्पनाका कुराकै माग गर्छ । तर विडम्बना, ऊ दलहरूकै शत्रु मानिन्छ । अहिले घोषणापत्रहरू पढिसकेपछि लेखेको यो एउटा साधारण प्रतिक्रिया हो । अखबारका सम्पादकीयले घोषणापत्रहरूलाई निबन्ध भनेको कारण तिनका शैलीलाई लिएर होला । म तिनलाई त्यो दर्जा सिधै दिन्न । निबन्ध सिर्जनात्मक मनका स्वतन्त्र रचना हुन् । तर पत्रिकाले अतिरिक्त सत्य भन्ने अहिले अमेरिकामा चलेको विषयलाई उठाएको होला । अतिरिक्त सत्य र एम्नेसियाको सम्बन्ध छ । बिर्साउनका निम्ति अतिरिक्त सत्य वा ‘अल्टर्नेटिभ ट्रुथ’को प्रचार र प्रयोग हुँदैछ, आजकाल ।

भूकम्पबारे ‘द पोलिटिकल बायोग्राफी अफ एन अर्थक्वेक : आफ्टरमाथ एन्ड एम्नेसिया इन गुजरात, इन्डिया’ (२०१३) भन्ने सोआस, लन्डन विश्वविद्यालयका नृतत्वशास्त्री एडवार्ड सिम्सनले लेखेको किताब पढेर अत्यन्तै तरंगित भएको अवस्थामा यो लेख्ने संजोग भयो । यस्तो महँगो किताब किन्ने बेला सधैंजस्तै मेरा एक साहित्यकार मित्रले १७ वर्षअघि दिएको चेतावनी सम्झिन्छु । उनले भनेका थिए, हाम्रो उमेर ढल्कियो । अब किताब किनेर थन्क्याउने काम नगर । उनको भनाइ थियो, ‘तयारीमा बस, अब मरिन्छ ।’ मैले उनको सल्लाह मानिन, सत्र वर्षमा धेरै किताब किनेर पढेंँ । उनले २०७२ सालको भूकम्पपछि त्यो चेतावनी दोहोर्‍याएर भने, ‘अब त किन्दै नकिन ।’ एक लेखक, प्राज्ञ र प्रियमित्रले दिएको यो कालीन चेतनाको छायामुनि मैले यो भूकम्प विषयकै किताब किनेँ । धन्न किनेर पढेछु । धेरै राम्रा दृष्टिहरू खुलाएको छ, यस किताबले । शीर्षकले नै भन्छ, गुजरातको भूकम्पको राजनीतिक आत्मकथा हुन्छ । फ्रान्सेली चिन्तक एन्री लफेब्रको वर्तमानवादी चिन्ताको दर्शन लिएर सिम्सन भन्छन्, ‘गुजरातको खासगरी भुजको भूकम्पको कथा नित्य भोगिने विषय हो ।’ 

सिम्सनको विचार लिएर नेपालमा हेर्दा नेपालको भूकम्पको राजनीति भनेको दैनिक दु:ख भोग्न पीडितलाई त्यसै छाडिदिएर बिर्सिन लगाउने वातावरण मिलाउने क्रूर तरिका हो । पीडितको आँखामा एम्नेसिया वा बिर्सिने गुण बाध्यता हो, राजनीति गर्ने र सरकारहरूको दृष्टिमा यसरी बिर्साउने काम एउटा भ्रष्टाचारको शैली हो, सपनाका भ्रम छर्ने तरिका हो । चुनाव घोषणापत्रहरूले त्यही छरेको देखेर अरूजस्तै दु:खित भएको हुँ । तर यो लेखको सार हो, जनतामा, खासगरी युवामा, सिर्जनात्मक शक्ति बलियो छ । त्यसैले नै एम्नेसिया चिर्नेछ । 

एडवार्ड सिम्सनको भूकम्पको ‘एन्थ्रोपोलोजी’जनिन वर्णनमात्र होइन, यो किताब । यसबारे कहीं विस्तृत लेखौंला, यहाँ उनको विचारको सार स्वतन्त्र अनुवाद गर्छु । सिम्सन भन्छन्, ‘भूकम्प बिर्सिंदै जाँदा एउटा संस्कृतिजस्तो हुन्छ । साँचो कुरा हराउँदै जान्छ । सामाजिक अध्ययन गर्नेहरूले त्यसबारे लेख्छन् । तर ती दैवका बोली हुँदैनन् । जीवनमा साधारण परिवर्तन आइनै रहन्छन् । तर यी सबै कुराबाट निस्किने कुरा आशा हो, जुन हामी गरिरहन्छौं । अनि हामी त्यही आशालाई उपलब्धि मान्छौं ।’ (२६७)

म विषयका बाढीको धारमा परे पनि बाहिर निस्केर भन्न सक्छु, अहिले यो देशमा भइरहेको आमचुनावले गर्दा हामी सोध्न सक्ने हुनेछौं । हामी बिर्सन चाहँदैनौं भन्न थाल्नेछौं । त्यसैले पर्चाझैं छरिएका सपना भुइँबाट उठाउने छैनौं । सपना छर्नेहरूले बुझुन्, यहाँको यथार्थ काल्पनिक छैन । यो सोझै देखिन्छ । यथार्थ हामी भोगिबस्छौं । पर्चामा उडेका सपनाहरूमा हामी छैनौं । 

प्रकाशित : मंसिर ४, २०७४ ०७:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT