कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हनुमानायन

सिउँडी
विमल निभा

‘न मस्कार हनुमानजी ।’
‘जय श्रीराम ।’ मेरो अभिवादन यसरी उत्तरित भयो । त्यसपछि मैले पनि सहज औपचारिकतावश भन्नुपर्ने भयो, ‘जय श्रीराम ।’

हनुमानायन

‘न मस्कार हनुमानजी ।’
‘जय श्रीराम ।’ मेरो अभिवादन यसरी उत्तरित भयो । त्यसपछि मैले पनि सहज औपचारिकतावश भन्नुपर्ने भयो, ‘जय श्रीराम ।’
‘यति हतारमा कतातिर हनुमानजी ?’ एकछिनपछि मैले संवादलाई अघि बढाएँ ।
‘तपाईलाई थाहा छैन ?’ हनुमानको स्वर भक्तिभावले भरिएको थियो’ प्रभु राम चुनावमा उठ्नुभएको छ ।’
‘यो समाचार अखबारमा पढेको थिएँ ।’ मैले भनेंँ, ‘तर हनुमानजी....।’ मेरो भनाइले पूर्णता प्राप्त नगर्दै अतिशय हडबढीमा रहेका रामभक्त हनुमान फटाफट अघि बढे ।
यो चुनावमा राम उम्मेदवार भएर उठेका छन् । यो कुन नयाँ कुरो हो ? प्रत्येक पटक राम नै चुनावमा उठ्ने गर्छन् । राजा दसरथपुत्र श्रीरामचन्द्र । नेता राम । त्यसैले यत्र, तत्र र सर्वत्र रामकै चर्चाको भरमार रहेको छ । चाहे त्यो अखबारी पाना होस् अथवा टेलिभिजनको स्क्रीन नै । र सम्पूर्णत: राममय भइसकेको सामाजिक मिडियाको के कुरा गर्नु ? विचरा हनुमानको नाम भने कतै छैन । के
यो रामभक्त हनुमानप्रति ठूलो अन्याय भएन र ?
‘जय श्रीराम ।’ एक अर्काे हनुमानसँग मेरो साक्षात्कार भयो ।
‘जय श्रीराम ।’
‘यो तपाईले के बोक्नुभएको हो, हनुमानजी ?’
‘कपडाको झोला हो ।’ हनुमानले सहज उक्त दिए ।
‘झोलामा के छ, हनुमानजी ?’ मेरो उत्सुक्ता प्रकट भयो ।
‘चुनावको बेला अरू के हुन्छ ?’ हनुमान उवाच्, ‘सम्पूर्ण सौर्यगाथाले भरिएको पर्चा र पोस्टरहरू ।’
‘कसको सौर्यगाथा हनुमानजी ?’
‘प्रभु रामको नि ।’ हनुमानको भक्तिभाव फेरि सतहमा आयो, ‘अरू कसको हुन्छ ?’
‘ए, चुनाव सामग्री ?’ मैले भनँें, ‘अरू चुनावी हालखबर के छ नि हनुमानजी ?’
मेरो प्रश्नको कुनै जवाफ नदिएर हनुमान लामो–लामो पाइला चाल्दै दक्षिण दिशातर्फ लम्किए ।
कुनै पनि चुनावमा चर्चा केवल रामको हुन्छ । व्यापक चर्चा/परिचर्चा । अतएव अहिले पनि रामको नाम बहुतै चर्चित रहेको छ । यसरी जहिले पनि हुने गर्छ । यसको फलस्वरूप हनुमानहरू (यति भारी, बलशाली र ठूलो शरीरको भएर पनि) विलकुलै छायामा पर्ने गर्छन् । यो सरासरी गलत हो । वास्तवमा चर्चाको सही हकदार त हनुमान हुन् । धरधरी पसिना चुहाउँदै यताउता दगुरिरहेका मिहिनेती हनुमानहरू । किनभने चुनावमा राम उठेका भए पनि यसका निम्ति (रामलाई जिताउन) अथवा दौडधुप त कपडाका झोला बोकेका हनुमानहरूले नै गरिरहेका हुन्छन् ।
‘जय श्रीराम ।’
‘जय श्रीराम ।’
‘यो तपाईको पिठ्युँमा पहाडजस्तो के हो, हनुमानजी ?’ मैले त्यतातिर इंगित गरेर भनेँ ।
‘पहाडै हो नि ।’ हनुमान पहाडसहित थोरै चलमलाए, ‘म पहाड बोकेर आउँदैछु ।’
‘संजीवनीबुटी भएको पहाड ।’ मलाई हठात् रामकथाको सम्झना भयो, ‘के रामका भाइ लक्ष्मण रावणसँगको युद्धमा फेरि बेहोश भए हनुमानजी ?’
‘के पुरानो कथा कोट्याइरहनुभएको छ, तपाई ?’ हनुमानले निधार खुम्च्याए, ‘प्रभु रामका भाइ लक्ष्मण त अहिले विरोधी खेमामा पुगिसकेका छन् ।’
‘मैले तपाईसँग किन झुठो बोल्ने ?’
‘त्यसो भए, रावणका भाइ विभीषणचाहिंँ यतै होला ।’ मैले भनँें, ‘होइन त हनुमानजी ?’
‘हेर्नाेस्, विभीषण यता जरुर आएका थिए, तर लगत्तै प्रभु रामलाई छाडेर उतै लागे ।’ हनुमान किञ्चित
दु:खी देखापरे, ‘अचेल कसैको पनि भरोसा रहेन ।’
‘माता सीता र अरू भाइ भरत–शत्रुघ्नहरूका के छ नि हनुमानजी ?’ मैले भनँें, ‘सबै दुरुस्तै त छन् ?’
‘माता सीता र भाइहरू पनि प्रभु रामका साथमा छैनन् ।’ हनुमानको दु:खमा चिन्ता पनि थपियो, ‘त्यसैले चुनावी सन्तुलन मिलाउन प्रभु राम विभीषण र लक्ष्मणलाई फेरि यतै ल्याउने पूरा प्रयास गरिरहनुभएको छ ।’
‘तपाईका सुग्रिव, जाम्बवन्त र अंगदहरूका के समाचार छ नि हनुमानजी ?’
‘कहिले यता र कहिले उता गरिरहनेहरूका के कुरा गर्नु ?’ हनुमानले मुख बिगारेर भने ।
‘किन, के भयो हनुमानजी ?’ म सहसा जिज्ञासित भएँ ।
‘मलाई अबेर भइसक्यो ।’ हनुमानले उड्नलाई दुवै (अर्थात् चारवटै) हातखुट्टा फैलाए, ‘अरू पछि कुरा गरौं ।’
‘यो केको पहाड हो, हनुमानजी ?’ मैले जानलागेका हनुमानसँग हत्तपत्त आखिरी प्रश्न गरँें ।
‘आज रामदरबारमा भव्य रात्रिभोज हुने भएको छ । त्यसैले खानपिनका लागि थरी–थरीका बोतल र विशेष खानेकुरा लिएर आएको हुँ । प्रभु रामको चुनावी क्षेत्रका सबैलाई भोजमा डाकिएकोले प्रशस्त भोजनको खास प्रबन्ध त गर्नैपर्‍यो नि ।’ हनुमानको पुच्छर पनि चलमलाउन थाल्यो, ‘त्यही महाभोजका लागि चाहिने भोजनको भारी हो यो ।’
‘भोजनको पहाड ?’ मेरो स्वरमा आश्चर्य थियो ।
‘अब तपाई जे भन्नोस् ।’
‘तपाई साँच्चिकै रामभक्त हुनुहुन्छ, हनुमानजी ?’
‘जय श्रीराम ।’ एकछिन अघि नै उठ्न तयार भइसकेका हनुमान एउटा गगनभेदी हुंकारका साथ हावामा उड्न थाले (रामायणी भाषामा) ।
इति हनुमानायण ।

प्रकाशित : मंसिर ९, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?