श्रवण–दृष्टिविहीनका समस्या

बालिका थपलिया

अपांगतामा विविधता हुन्छ । कुनै अपांगता भएका व्यक्ति आत्मनिर्भर भएर जिउन सक्छन् भने कुनै अपांगता भएका व्यक्तिलाई हरपल अरूको सहारा चाहिन्छ । हाम्रा ज्ञानेन्द्रियहरूमध्ये कुनै एउटाले काम गर्न छाड्ने बित्तिकै समस्या सुरु भइहाल्छ ।

कुनै समस्या केही मात्रामा व्यवस्थापन हुनसक्छन् भने कुनैलाई व्यवस्थापन गर्ने कार्य एकदम चुनौतीपूर्ण हुन्छ । जुनसुकै अपांगतामा जोखिम त हुन्छ, तर त्यसको मात्राचाहिँ थपघट हुनसक्छ । यस्तो खालको जोखिमलाई सामना गरेर अघि बढ्न हामीमा विषय–वस्तुप्रतिको गम्भीरता अत्यन्त जरुरी छ । 
श्रवण दृष्टिविहीन अपांगता व्यवस्थापन गर्न चुनौतीयुक्त अपांगतामध्ये पर्छ । श्रवण दृष्टिविहीन व्यक्तिहरू पूर्ण अशक्त अपांगतामा पर्छन् । उनीहरूले सरकारबाट रातो परिचयपत्र पाउने सुविधा छ । बढीजसो यो अपांगता जन्मजात हुने गर्छ । तर दुर्घटना अथवा रोगको कारण जन्मिएपछि पनि हुने गर्छ । जन्मपश्चात भएको श्रवण दृष्टिविहीन अपांगताभन्दा जन्मजात अपांगता बढी जटिल हुने गर्छ । पहिला देखेका, सुनेका र बोलेका व्यक्तिहरू पुरानो सम्झनाको आधारमा केही मात्रामा भए पनि दैनिक क्रियाकलापमा जन्मजात अपांगता भएका व्यक्तिभन्दा बढी प्रतिक्रिया देखाउन सक्छन् । 
यस्ता व्यक्तिहरू कान सुन्न, आँखा देख्न अनि बोल्न सक्दैनन् । सुनाइ, देखाइ र बोलाइको हिसाबले यसलाई बहुअपांगतामा राख्न मिल्दैन । यसको प्रवृत्तिलाई बुझेर एउटै अपांगतामा वर्गीकरण गरिएको हो । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार प्रत्येक एक हजार मानिसमध्ये एक जनालाई यो अपांगता हुने सम्भावना रहन्छ । यो तथ्याङ्कलाई आधार मान्दा नेपालमा श्रवण दृष्टिविहीन अपांगता भएका मानिस तीस हजार हाराहारी छन् । उनीहरूलाई सिकाउन सकिने एकमात्र भाषा स्पर्श भाषा हो । तातो, चिसो, नरम, कडा, ठोस, तरल आदि हातले छुवाएर अनुभव गराउन सकिन्छ । उनीहरूले दैनिक जीवनमा सम्पन्न गर्ने कार्यहरू जस्तै– खाना खाने, मुख धुने, लुगा लगाउने र खोल्ने, चप्पल लगाउने, दिसा–पिसाब आउँदा, भोक लाग्दा अनि सञ्च नहुँदा सङ्केत गर्ने क्रियाकलापलाई यही माध्यममार्फत तालिम दिन सकिन्छ । यो अपांगता जटिल खालको भएकाले दैनिक कार्यहरू सम्पादन गर्न हरदम एउटा सहयोगी चाहिन्छ । 
श्रवण दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक, आयमूलक कार्यमा लगाउन पनि छुवाइ नै एकमात्र उपाय हो । जस्तो– उनीहरूलाई बारीमा सब्जी खेती गर्न सिकाउँदा बिरुवा उम्रिएको, बढेको अनि फलेको अवस्थालाई छाम्न दिएर महसुस गराउन सक्छौं । यो कार्यका लागि धेरै मिहेनत र ज्ञान चाहिन्छ । समाजमा भइरहेका क्रियाकलापबारे जानकारी गराउन सम्बन्धित विषयको विज्ञ आवश्यक हुन्छ । नेपालमा श्रवण दृष्टिविहीन अपांगताको लागि दिवासेवा केन्द्र पनि खासै प्रचलनमा छैन । यस किसिमको अवस्था भएका मानिसका अभिभावक यस्ता केन्द्रमा राखेर उनीहरूले पनि केही सिकुन् भन्ने चाहन्छन् । उनीहरू पनि केही हदसम्म आत्मनिर्भर बनुन् भन्ने बारेमा सोचिरहन्छन् । चौबिसै घन्टा निगरानीमा राख्नुभन्दा केही समयका लागि अभिभावकहरू पनि हातमुख जोड्ने चाँजोपाँजो मिलाउन चाहन्छन् ।
संयुक्त राष्ट्र महासंघले अपांगता भएका व्यक्तिहरूप्रति पनि विशेष ध्यान दिएको थियो । अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको धारा ९ मा पहँुचयुक्तता, धारा २० मा व्यक्तिगत गमनशीलता, धारा २१ मा विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनामा पहँुच भनेर अपांगतालाई मान्यता दिइएको छ । हाम्रो देशमा अपांगता सीमान्तिकृत विषय–वस्तुको रूपमा रहेकाले विगतका दिनमा कुन किसिमको अपांगता भएका व्यक्ति कति छन् भन्ने खासै चासो देखाएको पाइँदैन । अबचाहिँ यसप्रति क्रमश: जनचेतना फैलिँदै जाँदैछ । संयुक्त राष्ट्र संघको अपांगता सम्बन्धी घोषणापत्रका धाराहरूमा आधारित भएर सीबीआर (समुदायमा आधारित पुन:स्थापना) ले अपांगता भएका व्यक्तिलाई उनीहरूको आफ्नो समाजमै स्थापित गर्नलाई प्रभावकारी भूमिका खेल्छ । 
माथि उल्लेखित विषयलाई हामीले ध्यान दिनु अपांगताको परिप्रेक्ष्यमा एकदम अपरिहार्य र सान्दर्भिक छ । श्रवण दृष्टिविहीन गम्भीर खालको अपांगता भएकाले उनीहरूको जीवनस्तर उकास्न र अभिभावकलाई केही हदसम्म भए पनि राहत दिन प्रभावकारी पहलको खाँचो छ । श्रवण दृष्टिविहीन व्यक्तिहरूलाई समाजमा सम्मानित स्थान दिनु हाम्रो मुख्य कर्तव्य हो । मानव अधिकारले भरिपूर्ण जीवन जिउनका लागि तन, मन र वचनले जतिसम्म उनीहरूलाई सहयोग पुर्‍याउन सक्छौं, त्यतिसम्म कन्जुस्याइँ नगरिकन साथ दियौं भने केही न केही परिवर्तन त अवश्य आउनेछ । सबै किसिमका अपांगताको गम्भीरतालाई बुझेर संवेदनशील आत्मिय भावनासहित सहयोगका हातहरू अघि बढाउन सक्दामात्र हामी अपांगता–मैत्री र विशेषगरी श्रवण दृष्टिविहीन–मैत्री संसार निर्माण गर्न सक्छौं । 

 

Yamaha

प्रकाशित : मंसिर १५, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

मानसिक स्वास्थ्यको ख्याल

बालिका थपलिया

काठमाडौं — शरीरलाई सञ्चालन गर्ने रिमोट कन्ट्रोल मस्तिष्क हो । आफ्नो दिमागले जे अह्राउँछ, हामी त्यही कार्य गर्छौं । मस्तिष्कमा कुनै समस्या आएन भने हाम्रो दैनिक क्रियाकलापमा सन्तुलन आउँछ । तर गडबडी आए हाम्रो सिङ्गो जीवनमा प्रभाव पर्छ ।

मानसिक स्थिति नै हाम्रोलागि मार्गदर्शक भएको हुनाले यसको महत्त्वबारे जान्नुपर्छ । मानसिक स्वास्थ्यमा के कस्ता तत्त्वले असर पार्छन् भन्ने बारेमा बुझ्यौं भने मानसिक रूपमा स्वस्थ रहने उपाय पनि जान्न सक्छांै । मस्तिष्कमा समस्या आउनुको पछाडि जन्मजात अर्थात आमाको गर्भावस्थादेखि लिएर जन्मपश्चात जुनसुकै उमेर पनि जोडिएको हुनसक्छ । वंशाणुगत रूपमा पनि यो हुनसक्छ । आमाबाबु अथवा अन्य कुनै नातेदारमा यस समस्याको लक्षण देखिए अन्य पुस्तामा सर्न पनि सक्छ । मानसिक अस्वस्थता मानसिक अपांगता निम्त्याउन सक्ने भर्‍याङ हो । त्यसैले हामी यसको गहिराइसम्म पुग्नुपर्छ । 

मानसिक अपांगतालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । मानसिक अस्वस्थता, बौद्धिक अपांगता र अटिजम । मानसिक अस्वस्थताले जीवनको जुनसुकै मोडमा सताउन सक्छ । बौद्धिक अपांगता र अटिजमचाहिँ धेरैजसो जन्मजात हुनसक्छ । कुनै किसिमको दुर्घटनामा परेर दिमागमा चोटपटक लागे अन्य उमेरमा पनि बौद्धिक अपांगता हुनसक्छ । मानसिक विराम राम्रो औषधी–उपचार पाए वा परिवार, आफन्तजन र साथीभाइको दर्बिलो साथ पाए रोकथाम हुनसक्छ । तर बौद्धिक अपांगता र अटिजमको औषधीद्वारा प्रभावकारी उपचार गर्न सकिँदैन । यस्तो समस्या भएका व्यक्तिहरूलाई जीवनोपयोगी व्यावहारिक सीप र ज्ञान प्रदान गर्न सकिन्छ । 

मानसिक अस्वस्थताका हाँगाबिँगा पनि छन् । चिन्ता, निराशा, गम्भीर मानसिक समस्या, छारेरोग, मस्तिष्क पक्षाघात, समूहमा भएको बेला लड्नु आदि समस्यालाई यस वर्गमा राख्न सकिन्छ । त्यस्तै बढी रक्सी तथा लागूपदार्थको सेवन, अत्यधिक परिश्रम गर्नु, निद्रा नआउनु जस्ता कारणले पनि जीवनको मोडलाई मानसिक अपांगताको कुइनेटोसम्म धकेलिदिन सक्छन् । मानसिक विरामले चरम रूप लिँदै जाँदा मानिसले आत्महत्या गर्न सक्छन् । मानिसमा चिन्ताको तह बढ्दै गएपछि जीवनलाई सकारात्मकभन्दा बढी नकारात्मक तरिकाले हेर्न थाल्छ । कतै खुसी छाएको देख्दैन । नदेखेको कुरा देखेको र नसुनेको कुरा पनि सुनेको भ्रममा पर्छ । एउटा भनाइ नै छ, ‘चिन्ताले चितामा पुर्‍याउँछ ।’ त्यसैले कडा खालको मानसिक विरामीलाई औषधी–उपचार गर्नुका साथसाथै उनीहरूसँगै उनीहरूका अभिभावकलाई मनोसामाजिक शिक्षा दिँदा लाभदायक हुनसक्छ ।

मस्तिष्कमा आएको गडबडीबाट छारेरोग लाग्न सक्छ । जब दिमागमा असाधारण विद्युतीय तरंगले असर गर्छ, तब छारेरोगको लक्षण देखिन सक्छ । बेहोश भएर लड्नु, थरथर काम्नु, मुखबाट फिँज काढ्नु, जिभ्रो टोक्नु, हातखुट्टा अररो हुनु आदि यस्तो बिरामीमा देखिने लक्षण हुन् । नियमित औषधी सेवन गरे यो रोग निको हुनसक्छ । कम्तीमा दुई वर्षसम्म यसको औषधी खानैपर्छ । 

मस्तिष्कमा कुनै किसिमको चोट लागे वा बच्चा जन्मिनुभन्दा अगाडि, जन्मिने क्रममा अथवा जन्मिने बित्तिकै दिमागमा अक्सिजनको कमीले गर्दा गम्भीर खालको असर पुगेको छ भने मस्तिष्क पक्षाघात हुने सम्भावना अधिक हुन्छ । यसले मांसपेशीमा संकुचन पैदा गरेर शारीरिक सन्तुलनलाई अव्यवस्थित तुल्याइदिन्छ । जसले गर्दा दैनिक जीवनका कार्यहरू गर्न अप्ठ्यारो हुन्छ । समग्र जीवनयापन शैलीलाई नै प्रभावित गर्न सक्छ । 

त्यसैले यस्तो हुन नदिन आमाबाबुले सचेतना अपनाउनुपर्छ । 

कुनै–कुनै व्यक्ति मान्छेको भिडभाड भइरहेको बेलामा अर्धबेहोश हुन्छन् । बिरामले छोपेको बेला काम्ने, एक्लै बोल्ने, आफूले लगाएको लुगा च्यात्ने, कपाल तान्ने, दाह्रा किट्ने, घाँटी थिच्ने, बोली बन्द भएर इसाराले मात्रै बोल्ने, हातखुट्टा दह्रो बनाइराख्ने गर्छन् । यस्तो समस्याले एकदेखि अर्को गर्दै अरूलाई पनि सताउन सक्छ । यस्तो लक्षण देखिएको बेला बिरामीलाई बढी चलाउनु–बोलाउनु हुँदैन । विस्तारै शान्त रहन दिनुपर्छ । 

अत्यधिक रक्सी पिउँदा पनि मानसिक अस्वस्थताको जटिल परिस्थिति सिर्जना हुनसक्छ । ड्रग्स र अन्य खालका लागूपदार्थले पनि मानिसको दिमागलाई विकृतिले भरिपूर्ण बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । नसामा फँसेको मान्छेले जसरी पनि आफ्नो आवश्यकता पूर्ति गर्न खोज्छ । यसले उसको मानप्रतिष्ठा, सम्पत्ति, स्वास्थ्यदेखि लिएर जीवनका हरेक पक्षमा अवरोध सिर्जना गरिदिन्छ र अन्त्यमा घर न घाटको बनाएर ज्यानसम्म लिन सक्छ । त्यसैले यस किसिमका रोगहरूको समयमै सही पहिचान गरेर उपचार गर्नसके रोकथाम गर्न सकिन्छ । 

बौद्धिक अपांगता मानसिक अपांगताको अर्को भाग हो । उमेर अनुसारको मानसिक वृद्धि नहुनुलाई यो वर्गमा राख्न सकिन्छ । यो समस्या भएका मानिसहरू जहिल्यै पनि बच्चाको जस्तो व्यवहार गर्छन् । दैनिक क्रियाकलाप सञ्चालन गर्न अरूको सहारा लिनुपर्छ । पढाइ, लेखाइमा पनि अरू बच्चाहरूको भन्दा ढिलो सुधार हुन्छ । हामी बौद्धिक अपांगताको पूर्णतया उन्मूलन त गर्न सक्दैनौं, तर रोकथामचाहिँ गर्न सक्छौं । जन्मिने बित्तिकै बच्चा रोएन भने दिमागमा अक्सिजन पुग्न सक्दैन र समस्या उत्पन्न हुन्छ । त्यसैले स्वास्थ्य संस्थामै बच्चाको जन्म दिनुपर्छ भनेर जनमानसलाई अभिप्रेरित गर्नु अनिवार्य छ । 

मस्तिष्कको नसासम्बन्धी विकासमा समस्या आएर अटिजम हुनसक्छ । आफ्नो बच्चामा अटिजम छ भनेर आमाबाबुले ३ वर्षको उमेरभित्रैमा छुट्याउन सक्छन् । यस्तो समस्या भएका बच्चाहरूले आँखा जुँधाएर कुरा गर्न सक्दैनन् । साथीभाइ बनाएर खेल्न सक्दैनन् । बोलाउँदा प्रतिक्रिया दिन सक्दैनन् । कहिले एकोहोरो रोइरहन्छन् र कहिले हाँसिरहन्छन् । उनीहरूमा राम्रोसँग भाषा विकास हुन सक्दैनन् । कोही–कोही पहिला अलिअलि बोले पनि पछि बोली हराएर जान सक्ने अवस्था आउँछ । त्यसैले आफू कुन अवस्थामा छु भनेर उनीहरूले व्यक्त गर्न सक्दैनन् । अरू सामान्य बच्चाले खेलौनाहरू भताभुङ्ग पारेर राख्छन् भने अटिजम भएका बच्चाले मिलाएर राख्छन् । उनीहरूसँग बोलेर राम्ररी सञ्चार गर्न सकिँदैन, त्यसैले चित्रको माध्यमबाट केही हदसम्म भए पनि ज्ञान आदान–प्रदान गर्न सकिन्छ । शरीरको हरेक क्रियाकलापको सञ्चालक दिमागलाई सही स्वरूपमा राख्न हाम्रो सकारात्मक प्रयासले अहम् भूमिका खेल्न सक्छ । मानसिक रूपमा अस्वस्थ मानिसलाई हेलाहोचो गर्नु हुँदैन । मनोपरामर्शलाई व्यापक बनाउनुपर्छ । आफूलाई मात्र होइन, अरूलाई पनि स्वस्थ बनाउन तत्परताका साथ अघि बढ्न जरुरी छ । 

 

प्रकाशित : श्रावण ६, २०७४ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT