कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनाव र देश

समय रेखा
अभि सुवेदी

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम ऐतिहासिक निर्वाचनमा भोट दिन असुरक्षा र उत्साहबीच २१ मंसिरमा जाँदैछौं । अनेक वैचारिक कुरा उठेका छन् । धुमिल प्रतिज्ञा सडक, भित्ता र गल्लीहरूमा छरिएका छन् ।

चुनाव र देश

प्रतिज्ञाको अनौठो चरित्र हुन्छ । पूरा भएनन् भने तिनले राजनीति नै उपहासपूर्ण बनाउँछन् ।

त्यस्तै चुनावमा ठूलो धनराशिको प्रयोग हुनथालेको छ । समयमा रोकिएन भने त्यसले भ्रष्टाचारलाई वैधानिक चरित्र दिनेछ । होस पुर्‍याइएन भने कसरी एउटा सम्पन्न र महत्त्वपूर्ण देश पनि कङ्गाल हुनेरहेछ भन्ने ‘न्यारेटिभ’ हो, यो लेख । यो अफ्रिकी देश जिम्बाब्वे र यसका शासक रबर्ट मुगाबेको कथा हो । राजनीतिमा प्रयोग, प्रयास र प्रतिज्ञाको तिरोधान भएको कथा हो, यो । संविधानभित्रै चलेको राजनीतिले पनि कसरी ‘डिक्टेटर’ जन्माउँछ भन्ने इतिहास हो । 

जिम्बाब्वेका अधिनायकवादी शासक रबर्ट मुगाबेको ३७ वर्ष निरंकुश शासन नाटकीय ढंगले यही नोभेम्बरको अन्तिम साता समाप्त भएपछि अनेक चर्चा भए । पुराना मित्र र उपराष्ट्रपति कमरेड इमर्सन मनन्गाग्वालाई हटाएर आफूभन्दा ४१ वर्ष कान्छी पत्नी कमरेड गुच्ची ग्रेसलाई आफ्नो उत्तराधिकारी बनाउने मुगाबेको विचारलाई उनका मुक्तियोद्धा मित्रहरू र सैनिकले मानेनन् र उनलाई अपदस्थ गरेर मनन्गाग्वालाई राष्ट्रपति बनाए । 

हरारेका सडक, वास्तुकला जताततै राखिएको हरियो चौरभरि मानिस पागलजस्तै भएर खुसीले रुने र हाँस्ने गर्दै नाचेका दृश्य टीभीमा देखिए । यी ठाउँ परिचित देखिए । मण्डला बुक प्वाइन्टका माधवलाल महर्जन र म किताब प्रदर्शनी र ‘अफ्रिकी डिस्कोर्स अनि डायस्पोरामा रचिएको अफ्रिका’ विषयको सम्मेलनमा भाग लिन हरारे गएका थियौं । अगस्ट ४, २००४ का दिन मेरो कार्यपत्र थियो । 

माधव र मैले त्यो हरियो चौरको ढुङ्गाका वास्तुकला गाडेको परिवेशमा ३ अगस्ट २००४ को दिन हाम्रा किताब प्रदर्शन गरेर राख्यौं । स्कुल र कलेजका युवक–युवती एकछिन स्टलहरू अगाडि नाचेर अन्तै जान्थे । एउटा मुखभरि रङ्ग दलेको मानिस पहिला नाच्दै र उफ्रिँदै आउँथ्यो, अनि उसको पछिपछि स्कुले केटाकेटीलाई भट्याउन लगाउँदै अर्को आउँथ्यो । 

भट्याउनेले भन्थ्यो, ‘ब्रिदिङ ब्रिदिङ’, केटाकेटी त्यही भन्थे । भट्याउने भन्थ्यो, ‘एनिह्वेर–एनिह्वेर’, ‘एनिटाइम–एनिटाइम’, केटाकेटी पनि त्यही दोहोर्‍याउँथे । मलाई नेपालमा देउसी खेलेजस्तो लाग्यो, त्यो । माधवले सुनेछन्, ‘मुगाबे चोर, देश छोड् !’ उनले त्यसोभन्दा म खुलेर हाँसेँ, तर विचारमा मग्न माधवको मुड देखेपछि म पनि त्यस्तै सुन्न थालेँ । गम्भीर भएँ । लाग्यो, हाम्रो मनभरि त्यही ‘देश छोड्’को नाराको ध्वनि बसेको थियो । नेपालमा त्यो बेलासम्म हामीले धेरैलाई देश छोड् भनिसकेका थियौं ।

 एकाध वर्षपछि भयानक रूपले देश छोड् भन्ने नारा घन्कायौं । कसैले देश छोडेनन् । तर त्यसको अर्थ थियो, शासन छोड् ! नेपालमा शासन छोडे, राजाले । मुगाबेले छोडेनन् । भर्खरै मुगाबेको शासन अन्त्य भएपछि अहिले सम्झिन्छु, त्यो नारा । युवा दौंतरी समाजमा त्यहाँ काम गरेर बसेका रवीन्द्रमान शाक्यसँग भेट भयो । मैले यो कुरा उनलाई सुनाएँ । तिनले भने, ‘मुगाबेले कहिल्यै छोड्दैनन्, देश ।’

मुगाबेले देश छोडेका छैनन्, तर ९३ वर्षको उमेरमा ३७ वर्ष एकछत्र शासन गरेर शक्ति छोड्न उनी बाध्य भए । नोभेम्बर १६, २०१७ को ब्रिटेनको ‘इकोनोमिक्स’ पत्रिकाले मुगाबेलाई प्राचीन रोमका कठोर शासक कालिगुलासँग तुलना गरेर लेख लेख्यो । इशाको पहिलो शताब्दीको सुरुमा ४ वर्ष शासन गरेका यी रोमन बादशाह अति निरङ्कुश भनेर चिनिन्छन् । 

उनको नाममाथि फ्रान्सेली लेखक अलबेर क्यामुले ‘कालिगुला’ शीर्षककै नाटक लेखेका छन् । यसमा उनको संवेदनाहीन चरित्रको नाटकीकरण भएको छ । ‘इकोनोमिक्स’ पत्रिकाले लेख्यो, ‘कालिगुलाले आफ्नो घोडालाई रोमको विधानले दिने मेजिष्ट्रेट वा कन्सल बनाउन चाहेजस्तै मुगाबेले आफूभन्दा त्यति धेरै कान्छी पत्नी गुच्ची ग्रेसलाई आफ्नी कन्सल सदृश शक्तिपात्र बनाएका थिए ।’ 

तर पत्रिका भन्छ, ‘विचरा कालिगुलाको घोडाले कुनै मोडल केटीलाई बिजुलीका तारले हानेर चोट लगाएन । रोमनबासीमा भोकमरी चलेको बेला भयानक खर्चिला सामान खरिद गर्न त्यो घोडा निस्केन ।’ ग्रेसको आलोचना हो, त्यो तुलना । मुगाबे र ग्रेसको तुलना माओ र उनकी उमेरले धेरै कान्छी पत्नी चियाङसँग गर्दैछन्, जिम्बाब्वेका मानिस, आजकाल । माओ ८२ वर्षको उमेरमा मरेपछि चियाङ र अरू तीनजना उनका कमरेडहरू जेल परे । चियाङ सायद जेलमै मरिन् । तर मुगाबेको लामो शासनको दोष एउटी नारीलाई दिएर बिसाउन सजिलै सकिँदैन । 

एउटा प्रसङ्ग सम्झिन्छु । जिम्बाब्वेको पहिलो नाम रोडेसिया भएको बेलाको कुरा हो । इयान स्मिथ नामका गोरा यसका प्रधानमन्त्री थिए । लन्डनमा सन् १९७९ मा मुगाबे र उनका सहयोद्धा अर्को जातिका जोसुवा एन कोमो भन्ने वार्ता गर्न आएका समाचार सर्वत्र आउँथे । म त्यो बेला एडिनबरा विश्वविद्यालयमा पढ्थेँ । 

टीभीमा यी मुगाबेलाई हेर्न र उनले बोलेको सुन्न मलाई असाध्यै मनपथ्र्यो । मुगाबे मार्गरेट थ्याचरलाई सोझै गाली गर्थे । यत्तिकी शक्तिशाली, मेरो छात्रवृत्ति खोस्ने, ठाडो बोल्ने महिलालाई अंग्रेजीमा तँतँ–ममजस्तो भाषामा उनले गाली गरेको सुनेँ, एक दिनको समाचारमा । चकितै भएँ । मुगाबेको विषयमा खोजेर पढें । उनी क्रान्तिकारी थिए । उनी नेल्सन मण्डेला हुन् कि भन्नेजस्तो लाग्थ्यो । एन कोमो पनि त्यत्तिकै क्रान्तिकारी थिए । त्यहाँ भएको सम्झौता अनुसार नै जिम्बाब्वे मुक्त देश भयो । मुगाबेले १९८० को चुनाव जिते । गोराहरूसँग पनि मण्डेलाले जस्तै व्यवहार गरे अनि सबै मिलेर देश बनाउने हो भने । 

तर उनलाई शक्तिको मात चढ्दै गयो । उनी आफ्नो शासनको आलोचना गर्नेलाई दबाउनेपट्टि लागे । एन कोमो पाखा लागे । पछि उनको मृत्यु भयो । जिम्बाब्वेको दोस्रो ठूलो जातिलाई दबाउन मुगाबेले उत्तर कोरियामा तालिम दिलाएको पाँचौं ब्रिगेड भनिने पल्टन प्रयोग गरे र धेरैको हत्या गरे । पैसा सकिँदै गएपछि मुगाबेले गोरा किसानका फार्महरू कब्जा गरे, अनि आफ्ना मान्छेलाई बाँडे । उनले आफूलाई एक सोसलिस्ट शासकको रूपमा राख्दा सजिलो हुने देखे । समाजवादी शब्दको दुरुपयोग गरे । सबै उनको जानु पीएफ पार्टीका नेता, मन्त्री, पुराना मुक्ति योद्धालाई कमरेड भन्नुपर्ने बनाए । माधव र मलाई एउटा रेष्टुराँमा खाजा खाइरहेका एकजना जिम्बाब्वेकै गोरा मानिसले नेताहरू जतिका नाम लिँदा सबैलाई कमरेड भनेको अनौठो लाग्यो ।

 उठ्ने बेला तिनले भने, ‘यो मेनुमा लेखेको दाम देखेर ढुक्क नपर्नु, तिमीहरू उठ्ने बेला यो बढिसक्छ ।’ नभन्दै हामीले बिल तिर्ने बेला दाम बढिसकेको थियो । जाने बित्तिकै आयोजकले हामीलाई जनही १६ लाख डलरका दुइटा बिटा दिएकोमा चकित परेका थियौं । त्यही बन्डलबाट किताब प्रदर्शनीमा मैले चार लाख एक्काइस हजार डलरमा ‘मार्भेलस अफ दी अफ्रिकन वल्र्ड’ (२००३) अथवा अफ्रिकी जगतका भयानक उपलब्धि नामको ढड्डु किताब किनेँ । मेरो प्रियग्रन्थ हो, यो । 

मुगाबेले संविधानको उल्लङ्घन गरेनन्, तर त्यसको नराम्ररी प्रयोग गरे । एक पटक शक्तिमा आएपछि उनका कमरेडहरूको शासन सुनिश्चित गर्न, अकुत धन जम्मा गर्न र आम जनतालाई भोकै र पीडित बनाएर राख्न र आफू र आफ्ना क्रोनीहरूलाई धनी बनाउन संविधानकै प्रयोग गरे, उनले । यो धनी देशका हीरा–मोतीका खानीहरू शक्तिमा आसिन कमरेडहरूले सबै लुटे । 

भ्रष्टाचार खुला कर्म भयो, उनीहरूको, जसको प्रयोग उनीहरूले विना संकोच गरे । अरूले चुनाव उठे र जित्ने जस्तो भयो भने (विरोधी दलका मोर्गन चेङ्गराईको उदाहरण छ) तिनलाई दु:ख दिएर भए पनि हतोत्साही बनाए मुगाबेले, तर संविधान भने मिचेनन् । कमरेडहरूको शासन चलिनै रह्यो । देश कङ्गाल भयो । विदेशी लगानी गर्नेहरू तर्सेर भागे । मुगाबे राष्ट्रपति भएको बेला अफ्रिकाको यो हीरा देश उनको भ्रष्ट र शासन नछाड्ने चेतनाले गर्दा बिजोग भयो । मुगाबेले ठिक–ठिक समयमा चुनाव गराए, तर शक्तिमा आफू र आफ्ना नक्कली समाजवादीहरू आउने बाटो भने छोडेनन् । 

देशका चुनाव र संविधान मात्रले राज्य लोकतान्त्रिक हुँदैन भन्ने बलियो उदाहरण मुगाबेको जिम्बाब्वे भयो । त्यो देशका मानिस अति उज्याला, पठित र बुद्धि भएका रहेछन् । ‘डिक्टेटर’ले संविधानको बाटोबाटै आएर कसरी त्यस्ता जनतामाथि शासन जमाएर दु:ख दिनेरहेछ भन्ने देख्दा आश्चर्य लाग्छ । मुगाबेका बाहिरी हिरोहरू अधिनायकवादी थिए । 

उनलाई त्यस्ता मोडलबाट देशमा विद्रोही दबाउन अनि देश कङ्गाल बनाएर आफू र कमरेडहरू धनी हुन मद्दत मिल्यो । १ करोड ७० लाख जनसंख्या भएको देशका ५० लाख योग्य नरनारी दक्षिण अफ्रिका र अन्तै लागे । 

नेपालका सबै दल लोकतान्त्रिक हुन्, तर उर्लँदो भ्रष्टाचारलाई छोप्न तिनीहरूरूका सरकार र क्रोनीहरूले भोलि संविधान प्रयोग गरे भने नेपालको हालत जिम्बाब्वेको जस्तो हुन बेर लाग्ने छैन । 

प्रकाशित : मंसिर १८, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?