२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कुकुर हराए सूचना, छोरी हराए चुप

मधु शाही

मायाले पालेको कुकुर घरमा देखिएन भने धमाधम खोजी–तलासी सुरु हुनथाल्छ । अझ अलि धनीहरूले त अखबारमा मोटो रकम तिरेर ‘कुकुर हराएको सूचना’समेत दिने गर्छन् । तर मान्छे नै गायब हुँदा खोजीको तीव्रता कति होला ?

कुकुर हराए सूचना, छोरी हराए चुप

मानव बेचबिखन विरुद्धको अभियानमा ३ दशक अनुभव बटुलेकी दुर्गा घिमिरे भन्छिन्, ‘कुकुर हराएको सूचना आउँछ, तर छोरी बेपत्ता हुँदा चुप लाग्छ, हाम्रो समाज ।’ उनले यसो भनिरहनुको तात्पर्य थियो। लैंगिक हिंसामा महिलामाथि गरिने अपमान र बेवास्ता अझै उस्तै छ ।

सिन्धुपाल्चोकको ताजा घटना उनीसँंग छ । चेलीबेटी बेचबिखन विरुद्ध सडक नाटक लिएर त्यहाँ पुगेकी उनले नमिठो अनुभव सुनाइन् । सडक नाटक सकेर बेलुका गाउँ डुल्दा एकजनाले छुस्स कुरो सुनाए, ‘भान्जी हराएकी रहिछन् ।’ अचम्म के थियो भने अरूले थाहा पाए इज्जत जाने डरमा परिवारले छोरी हराएको कुनै सुइँको नै दिन खोजिरहेको थिएन । दिनभरि बेचबिखन सम्बन्धी जनचेतना दिनपुगेको ठाउँमै अज्ञानता देखेर दुर्गा खिन्न भइन् । 

जनावरभन्दा छोरीको महत्त्व कम मान्ने समाज अझै जिउँदैछ, चाहे त्यो अप्रत्यक्ष होस् या प्रत्यक्ष । लैंगिक हिंसा विरुद्धको अभियानमा यतिबेला देशले मानवअधिकार महाभेला धुमधामले मनाउँदैछ । डिसेम्बर ९, १० र ११ तीन दिनसम्म ९ औं मानवअधिकार राष्ट्रिय महाभेला मनाउन लागिएको छ । यसको उद्देश्य महिला र पुरुष बराबरी मान्नु हो । जुन समाजमा महिलाको अस्तित्व गौण छ त्यहाँ कसरी मानवअधिकारको सुरक्षा हुन्छ ? महाभेलामा सरिक हरेक संघ/संस्था र सरोकारवालाले हरेक वर्ष यसै विषयमा गन्थन गर्छन् । परिणामचाहिँ घतलाग्दो पाउँदैनन् ।

राष्ट्रिय महिला आयोगले संकलन गरेको मिडिया विवरणमा आधारित २०७२ र ०७३ सालमा सञ्चार माध्यमबाट महिला हिंसासंँग सम्बन्धित जम्मा ८ सय ५२ घटना प्रकाशित भएको देखिन्छ । त्यसमा मानव बेचबिखन सम्बन्धी घटना ७७ थान रेकर्ड छन् । हत्या सम्बन्धी ६४ थान, वैदशिक रोजगारमा पीडित, ठगी, यातना, यौन दुव्र्यवहार, बलात्कार, हत्या गरी जम्मा ६९ घटना, घरेलु हिंसाका घटना ९५ थान, महिला विरुद्ध हुने कुरीतिजन्य हिंसा ७१ थान, बोक्सी आरोपमा २८, बहुविवाहमा १८, बालविवाहमा ३२ र सार्वजनिक स्थलमा हुने हिंसामा ३८ थान रेकर्ड रहेका छन् । आमसञ्चारको पहुँचसम्म समाजका थुप्रै मुद्दा आइपुग्न सक्दैनन् । छोरीको सन्दर्भमा त अझै चुप छ, समाज । मानव अधिकारकर्मीहरू यसको कारण पुरुषप्रधान सोच रहेको उल्लेख गर्छन् । 

वैदेशिक रोजगारमा विदेशिएका छोरी पनि गुमनाम छन् । कुवेतमा ५ वर्षदेखि घरेलु काम गरिरहेकी मिनाले (नाम परिवर्तन) घर फर्किने सपना बुनेको निकै भयो । तर उनी परिवार र समाजको कारण उतै विलिन हुन बाध्य छिन् । ५ छोरीमध्ये जेठी उनीमाथि घरको ठूलो जिम्मेवारी छ । छोरी उतै बसेर कमाइदिए हुन्थ्यो भन्ने परिवारको आशय बुझेकीले मिना नेपाल फर्किन नचाहेको बताउँछिन् । मिना जस्ता थुप्रै चेली विदेशिएका छन् । तर खोजी भने न परिवारले गर्न चाहन्छ, नत राज्यले नै । चेलीबेटी बेचबिखनबाट बल्लतल्ल उम्किएका महिलाहरू समाजको हेलाकै पात्र बनेका छन् । 

उनीहरूलाई घरमा गरिने अमानवीय व्यवहारले दैनिक जीवन गुजारा गर्न गाह्रो पर्छ । बेचबिखनबाट ‘रेस्क्यु’ भएकी सिरहाकी अनिता (नाम परिवर्तन) ले परिवार नभेटेको चार वर्ष पुग्यो । छोरीले नाक काटी भन्दै बुबाआमा र दाजुभाइले गाली गरेपछि उनी घर फर्किने आँट गरिनन् । जीविकोपार्जन गर्न उनी अहिले काठमाडौंमै संघर्ष गर्दैछन् । छोरीको संरक्षण गर्नुको सट्टा उल्टै दोषी ठहर्‍याएर बहिस्कार गर्नु पनि मानवअधिकारको जघन्य अपराध हो । अपराध गर्नेलाई गल्तीको बोध गराउने कि पीडित उल्टैलाई बहिस्कार गर्ने ? सामाजिक र सांस्कृतिक कुरीतिका कारण छोरी अन्यायमा परेका छन् । 

छोराको चाहनामा गर्भमै छोरी तुहाउने सोच, बेचिएकी छोरी पुन: समाजमा स्थापित हुन कठिनाइ, सम्बन्धविच्छेद भएकी महिलाप्रति सहज मनसाय नहुनु लगायत हाम्रो समाजको कुविचारले परिवारमा महिला स्थापित हुन नसकेका हुन् । देशको समृद्धि परिवार मिलेपछि हुन्छ । र परिवार महिला–पुरुषकै संयोजनले बन्ने हो । तर हामीकहाँ खराब सोचबाट नै समस्या सिर्जना भएको पाइन्छ । 
[email protected]

प्रकाशित : मंसिर १९, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?