१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मौनावधिको बम

सिउँडी
विमल निभा

चुनाव प्रचार चलिरहेको थियो । र यसको समानान्तर बमहरू पनि पड्किरहेका थिए । यही क्रममा चुनावको मौन अवधि आयो । अत: म मौन रूपले हिंँडिरहेको थिएँ । ठ्याक्कै गणेशथानको मोडनेर केही चल्मलाएको देखियो ।

मौनावधिको बम

चुनाव प्रचार चलिरहेको थियो । र यसको समानान्तर बमहरू पनि पड्किरहेका थिए । यही क्रममा चुनावको मौन अवधि आयो । अत: म मौन रूपले हिंँडिरहेको थिएँ । ठ्याक्कै गणेशथानको मोडनेर केही चल्मलाएको देखियो । कुनै गोलो–गोलो वस्तु । होइन, अन्डाकार जस्तो । केही नजिक गएर हेरेंँ– के हो यो ? केही थाहा हुन नसकेकोले फर्कन लागेको थिएँ, त्यसबाट भरभराउँदो आवाज आयो, ‘मलाई चिन्नु भएन ?’

म भयभीत भएँ । कतै कुनै ट्रेडिसनल भूत त होइन ? अर्थात स्थानीय भकुन्डे ख्याक । यसको कथा बुढीबजैको मुखबाट केटाकेटी बेलामा सुनेको थिएँ । पक्कै त्यही भकुन्डे भूत नै हुनुपर्छ । म डरले लगभग दगुरेर अघि बढेंँ । केही पर पुगेपछि मेरो डर हरायो । र त्यसको स्थान एक प्रकारको उत्सुकताले लियो । त्यसकारण म फेरि सोही ठाउँमा फर्किएँ । मलाई आएको देखेर अन्डाकार वस्तुबाट उही प्रश्न दोहोरियो, ‘मलाई चिन्नु भएन ?’

‘अहँ, चिन्न सकिएन ।’ मैले सहज उत्तर दिएँ ।

‘अचेल जताततै मेरै चर्चा त भइरहेको छ ।’ भरभराउँदो आवाजले भन्यो, ‘कसरी चिन्न सक्नु भएन ?’

‘तपाई को ?’ मैले साहसका साथ दुई पाइला अघि सारेर सोधेंँ ।

‘म बम हँु ।’

‘बम... ।’ यस्तो अप्रत्यासित उत्तरले मेरो कण्ठनली झन्डै जाम नै भयो ।

‘तपाई यसरी नडराउनोस् ।’ उसले ढाडस दियो, ‘मबाट कुनै खतरा हुने छैन ।’

‘आखिर बम त बम नै हो ।’ मेरो सकसपूर्ण बोली विस्तारै निस्क्यो, ‘बमबाट

कसरी खतरा हँुदैन ?’

‘हेर्नाेस्, म त्यस्तो बम होइन ।’

‘अनि कस्तो बम त ?’

‘मलाई कुनै सामान्य बम नठान्नोस् ।’ बम गम्भीर भयो, ‘म एक लोकतान्त्रिक बम हुँ ।’

‘लोकतान्त्रिक बम ?’ मेरो आवाज आश्चर्यले उचालियो ।

‘एक लोकतान्त्रिक बम भएकोले म पनि चुनावी मौनताको नियमपूर्वक पालना गरिरहेको छु ।’ उसको आवाजको गम्भीरता बढेको थियो, ‘यही मेरो नपड्किने कुराको पूर्ण ग्यारेन्टी हो ।’

मेरो रक्तनलीकामा शनै:–शनै: साहसको सञ्चार भइरहेको थियो । त्यसैले म एक साक्षात् बमसँग संवादरत थिएँ । यद्यपि यो विलकुलै अविश्वसनीय थियो । तर असत्यचाहिंँ थिएन । यसको जीवित साक्षी म नै हँु । मैले वाचाल बमसँगको कुराकानीलाई अघि बढाएँ, ‘हिजोसम्म त तपाई बेसरी पड्किरहनुभएको थियो, बमज्यू ?’

‘सही भन्नुभयो ।’ बमको हलुका हाँसो ध्वनित भयो, ‘म एक बम भएकोले मेरो यही कार्य हो ।’

‘यसको कारणचाहिँं के होला नि ?’ मैले स्वाभाविक प्रश्न गरँें ।

‘यसको जवाफ तपाईले मसँग खोज्ने होइन ।’

‘अनि कोसँग खोज्ने त ?’

‘तपाई सुरक्षा व्यवस्थाको जिम्मा लिने प्रहरीहरूसँग भन्नोस् ।’ बमको स्वर भारी भयो, ‘वास्तवमा यसको यावत जानकारीका लागि सरकारसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।’

‘सरकार त आफूलाई केही थाहा नभएको लाचारी व्यक्त गरिरहेको छ ।’ मैले जनाउँ दिन खोजेंँ ।

‘यो सरकारसँग जनताको परस्परको मामिला हो ।’ बमले सुस्तरी भन्यो, ‘मैले जान्ने भएर तपाईहरूका बीचमा आउनु शोभनीय होइन ।’

‘तर सवाल त तपाईको पड्काइको हो, बमज्यू ।’

‘अवश्य नै मेरो पड्काइको हो ।’ बमले थोरै अड्किएर भन्यो, ‘तैपनि लोकतान्त्रिक सरकारको विषयमा कुनै टिप्पणी गर्नु मेरो अधिकार क्षेत्रमा आउँदैन ।’

‘यो कसको अधिकार क्षेत्रमा आउँछ त ?’ मैले थोरै झर्किएर स्वरको भोलुम बढाएँ ।

‘यो आफै बुझ्नोस्, तपाई ।’ बमको हाँसो फुत्क्यो फेरि, ‘कुनै–कुनै बम त त्यसै पनि

पड्किरहेका छन् ।’

‘कस्तो त्यसै बमज्यू ?’

‘यसको उत्तर तपाई आफ्नै क्षेत्रका उम्मेदवारसँग सोध्नोस् ।’ बमको हाँसो जारी थियो, ‘त्यतैबाट उत्तर पाउनु राम्रो हुनेछ ।’

‘मैले बुझिन बमज्यू, तपाई के भन्न खोजिरहनुभएको छ ?’ मैले भनेंँ ।

एक भुस्याहा कुकुर छेउको गल्लीबाट निस्केर यतातिर आएकोले हाम्रो संवादमा व्यवधान पैदा भयो । त्यो कुकुरले बमनेर गएर एक टाङ उचाल्यो । र आफ्नो सनातन बानी बमोजिमको क्रिया सम्पन्न गरेर गयो । म सावधानीका साथ त्यतातिर हेरिरहेको थिएँ । याने अवाक् बमलाई । एकाएक एक कालो टोपी लगाएको व्यक्ति भनेर आएर उभियो, ‘यहाँ के भइरहेको छ ?’

‘केही होइन ।’ मैले पुरानो पञ्चायतकालीन सीआईडी जस्तो अनुहारतिर हेरँें ।

‘अनि के गरिरहेको त ?’ उसले कडा स्वरमा हप्कायो ।

‘म वातचित गरिरहेको छु ।’

‘कोसित बातचित ?’

‘ऊ त्यससँग ।’ मैले बमतिर संकेत गरेर भनेंँ ।

‘के हो त्यो ?’ उसले उही पाराले भन्यो ।

‘बम हो ।’

‘बम ।’ मेरो जवाफ सुनेर त्यो कालो टोपी लगाएको पञ्चायतकालीन सीआईडी जस्तो अनुहार चुप लाग्यो । र एक नजर सरसर्ती बमतिर दिएर अघि बढ्यो । (आएकै दिशातर्फ) ।

‘तपाई चुपचाप किन बमज्यू ?’ एक छिनपछि म बमतिर फर्किएँ ।

‘के तपाई मलाई सुनिरहनुभएको छ ?’ कुनै उत्तर नआएकोले मैले फेरि सोधेंँ ।

‘तपाईलाई के भयो, बमज्यू ?’ मैले तेस्रोपटक प्रयास गरेंँ ।

‘किन केही बोलिरहनुभएको छैन ?’ मैले जोड दिएर भनँें, ‘के भयो, बमज्यू ?’

बमको उत्तरहीनता यथावत थियो । यो गाढा मौनताले मेरो मनमा शंका उत्पन्न भयो– कतै मौन अवधि समाप्त हुनलागेको त छैन ? यस्तो हो भने यो बम कुनै बेला पनि बेसरी पड्किन सक्छ । अब यसको कुनै भरोसा रहेन । म असाध्यै भयभीत भएँ । र बमलाई त्यहीं छाडेर फटाफट घरतिर लम्किएँ ।

प्रकाशित : मंसिर २३, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?