कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नुनको आत्मकथा

डा. राजेन्द्र कोजु

‘तपाईको खाना मिठो भएन ? कि खल्लो भयो ? सायद म नभएको हुनाले होला । म स्वादिलो पारिदिन्छु, तपाईंको खाना ।’

नुनको आत्मकथा


भान्सामा गृहिणीको अति प्रिय अनि नभई नहुने वस्तु हुँ म । मलाई तपाईले भान्साको कुनै पनि ठाउँमा सानो सिसी वा बट्टामा महत्त्वपूर्ण र सबैको पहुँच हुनेगरी राखिराख्नु हुन्छ । किनकि तपाईलाई म दिनमै ३/४ पटकसम्म चाहिन्छ । बिहानको ब्रेक फास्ट वा खाना, दिउँसोको खाजा या लन्च, रातिको खाना वा डिनर, बीच–बीचमा खाजा, नास्ता । बिहानदेखि बेलुकासम्म तपाईलाई मेरो आवश्यकता धेरैपटक पर्छ । चिनी भएको चिया वा गुलियो खानाजस्तै केही खानाबाहेक सबैजसो खाने कुरामा मेरो उपस्थितिबिना स्वाद आउनेवाला छैन । मेरो उपस्थिति छैन भने तपाईंको खानाको स्वादमा कुनै रौनक आउने छैन । मात्र यत्ति हो, तपाई मलाई कति मात्रामा प्रयोग गर्नुहुन्छ ? सबै गृहिणी वा अरू खाना पकाउनेलाई थाहा छ, मेरो मात्रा कत्ति हो ? तर जति परिकार थप्दै जानुहुन्छ, त्यत्ति नै मेरो मात्रा पनि बढ्दै जानेछ ।
धेरैजसोले घर–घरमा मलाई खाना पकाउने बेलामै मिसाएर पकाउँछन्, रेष्टुरेन्टको कुरै अलग । मलाई छुट्टै सानो सिसीमा थोरै–थोरै निस्कन मिल्ने गरेर चिटिक्कसँग सजाएर टेबल–टेबलमै पनि राखिराख्छन् । यसले गर्दा मलाई हरेक व्यक्तिको चाहना अनुसार थप्न मिलोस् । म पनि मख्ख । सानो सिसीमा हल्लिँदै तपाईको खानालाई अझ तिख्खर बनाई स्वादिलो बनाउन तम्तयार । त्यही रेष्टुरेन्टमा खाना पकाउने विज्ञ कुकहरूले मलाई सायद सयौंपटक प्रयोग गर्छन् । खानाको परिकार हेरी–हेरी मिसाएर, छर्केर, टेबलमा सजाएर अनेक गरेर धेरैपटक प्रयोग गरी नै राख्या हुन्छन् । म पनि दंग । सबैको स्वादमा झुन्डिन पाउँदा ।
आजभोलि मेरो हुलिया पनि राम्रो देखिन्छ । दशकौंअघि मलाई जुटको बोरामा ढिक्का–ढिक्कामा फोहोर देखिनेगरी राखिन्थ्यो । पसल–पसलमा बाहिरै राखिन्थ्यो । मलाई कसैले चोर्दैन पनि । म यस्तो चिज थिएँ कि मलाई दिएर कसैलाई गुन लगाइयो भने त्यो कुनै पनि हालतमा तिर्नुपथ्र्याे । भनिन्थ्यो नै ‘नुनको गुन कहिल्यै नबिर्सनु ।’
आजभोलि मलाई धुलो बनाएर सेतो देखिनेगरी राम्रो प्लाष्टिकको प्याकेटमा बेचिन्छ । ढिक्का अवस्थामा आउँदाखेरी आयोडिनको कमी हुनेहुनाले आयोडिनसमेत मिलाएर मलाई पेस गर्ने गर्छन् । यो आयोडिन हाम्रो शरीरलाई नभई नहुने वस्तु हो । यसको प्रयोगले निकै थोरै गलगाँड भेटिन्छ । यो मेरै आयोडिनयुक्त रूपको करामत हो, मेरो प्रयोग खानाको स्वादको लागिमात्र हुँदैन । अरू काममा पनि प्रयोग हुन्छ । मेरो जरुरत हरेक शरीरका लागि अति आवश्यक छ । शरीरमा मेरो उपस्थितिमा अलिकति पनि तलमाथि भइदियो भने थुप्रै समस्या आउन सक्छ । कसैलाई झाडावान्ता भई जलवियोजन भयो भने १ लिटर पानीमा १/२ चम्चा नुन, ६ चम्चा चिनी राखेर पिलायो भने जलवियोजनबाट बच्न सकिन्छ । आजभोलि त जीवनजल नै पाइन्छ, जसमा नुन पनि हुन्छ ।
आजभोलि धेरैजसोमा रक्तचाप बढिराखेको हामीलाई थाहा नै छ । त्यो रक्तचाप बढ्नुमा अरू धेरै कारण भइकन पनि मेरो कारण पनि अति महत्त्वपूर्ण छ । मेरो मात्रा जब शरीरमा बढ्छ, रक्तचाप पनि बढ्न मद्दत पुग्छ । तपाई जति स्वादमा मलाई मनपराउँदै थप्दै जानुहुन्छ, त्यत्ति नै रक्तचाप पनि बढाउँदै लानुहुन्छ । भोजभतेरमा थुप्रै परिकार सेवन गर्नुहुन्छ, मेरो मात्रा र साथी चिल्लो पनि बढ्दै जान्छ । मेरो उपस्थितिले रक्तचाप बढाइहाल्छ र साथी चिल्लोले अलिक समय लिएर तपाईको धमनी नै साँघुरो बनाइदिन्छ । साँघुरो धमनी अनि चाप पनि धेरै भएपछि त्यो रक्तनली (धमनी) फुट्न के बेर ? त्यसैले मेरो उपस्थिति स्वादिलो लागे पनि सधैं स्वस्थकरचाहिंँ हुँदैन है । मेरो अधिक प्रयोगले तपाईको शरीरलाई हनिकारक नै हुनसक्छ । 
कति प्रयोग गर्ने त भनेर सोध्नुहोला । म भन्छु– सकेसम्म मलाई प्रयोग नै नगर्नुस् । फेरि सोध्नुहोला । भन्न खोज्या के हो ? भन्न खोज्या म नुनमा पाइने खनिज पदार्थ सोडियम र क्लोराइड अरू तरकारी, फलफूलमा पनि पाइन्छ । अत: तरकारी, फलफूल खाँदाखेरी मेरो अर्कै रूपमा उपस्थिति भइहाल्छ । तर तपाई मान्नुहुन्न कि मेरो प्रयोग नहोस् । कारण स्वाद त चाहिहाल्यो । 
त्यसो हो भने तपाई मलाई एकथरी वा बढीमा दुईथरी परिकारमा मात्र प्रयोग गर्नुस् । ३/४ थरी परिकारमा प्रयोग गर्दा मात्रा बढिहाल्छ । कि सबैमा थोरै हाल्नुपर्‍यो, नभए नहाल्नुपर्‍यो । यति भनिराख्दा घरमा पकाउने वा रेष्टुरेन्टमा खानेमात्र सम्झिनु होला । मेरो उपस्थिति त तयारी खानामा झन् गतिलो तरिकाले हुन्छ । चिजबल्स, पपकर्न, तयारी चाउचाउ (नुडल्स), चिप्स, क्याक्रर, पानीपुरी, चटपटे के–के हो के–के । सबैमा मबिना खल्लो । यी खानेकुरालाई पनि ध्यान पुर्‍याउनु होला है ।
तपाईं जति धेरै प्रकारको खानामा प्रयोग गर्नुहुन्छ, जति धेरैपटक उपभोग गर्नुहुन्छ, त्यत्ति नै तपाईको रक्तचाप बढ्न मद्दत पुग्छ । यो काम मबाट हुनुमा प्राकृतिक नियम नै छ । शरीरमा मेरो उपस्थिति बढ्यो भने पानीको मात्रा पनि बढ्छ । त्यसैले उच्च रक्तचाप मात्र होइन, हार्टफेलर (मुटुको कमजोरी) भएको, सुन्निएको, मृगौलाको रोग भएकाहरूले पनि मलाई कम सेवन गर्नुपर्छ । तसर्थ मेरो काम अति महत्त्वपूर्ण र राम्रो भइकन पनि उचित मात्रा भएन भने नकारात्मक असर पर्छ । हुन त मेरो मात्रा कति चहिन्छ भनेर तौलेर पनि भन्न सक्छु । तर तपाई मलाई जोखेर खानुहुन्न । तैपनि मेरो आवश्यक मात्रा भनिदिन्छु । मलाई दिनमा २/३ ग्रामभन्दा बढी सेवन नगर्नुस् । त्यो भनेको १ चिया चम्चा नुन हो । दिनभरिमा १ चिया चम्चा नि । सबै खाना गरेर त्यति भनेको । तर यहाँ त कहिलेकाहीं एकैपटक त्यति खाइदिनु हुन्छ र पो ।
त्यसैले कम मात्रामा खानुस् नै भन्छु । उच्च रक्तचाप भएको व्यक्तिले मेरो सेवन कम गर्‍यो भने रक्तचाप घटाउन सकिन्छ ।
यदि कसैले मलाईमात्र कम गरेर रक्तचाप नियन्त्रण गर्छु भन्ने सोचेको छ भने त्यसोमात्र पनि होइन नि । अरू कर्म पनि गर्नुपर्छ, रक्तचाप नियन्त्रण गर्न । जस्तै– धूमपानको त्याग, शारीरिक व्यायाम, सागसब्जी, फलफूल सेवन, अधिक चिल्लो–गुलियोको कमी, अधिक तौल घटाउने, तनावको नियन्त्रण आदि पनि गर्नुपर्छ । तर मेरो सेवन कम गर्‍यो भने रक्तचापमा कमी हुन्छ । साँच्चै कसैले चिकित्सकको सल्लाहबाट औषधी सेवन गरेको छ भने यो पनि निरन्तर गरिराख्नुपर्छ– चिकित्सकको परामर्शसंँगै । अन्त्यमा फेरि भन्छु, आजभोलि मेरो उपस्थिति तपाईहरूमाझ धेरै छ । अलिक कम गर्नुस् । म खुसी नै हुन्छु ।

 

प्रकाशित : मंसिर २७, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?