ओलीको दिग्विजय

केन्द्रीय प्रतिनिधिसभा र ७ प्रदेशसभाका लागि निर्वाचन सम्पन्न भएसँगै मुलुकलाई नितान्त नवीन कलेवर प्राप्त भएको छ, पात्र र प्रथा दुबैतर्फ । पात्र यस अर्थमा कि २००७ सालदेखि कायम नेपाली कांग्रेसको केन्द्रीयता समाप्त भएर उसको ठाउँ एमालेले लिएको छ ।

ओलीको दिग्विजय

यद्यपि पार्टीका रूपमा कांग्रेस अझै लोकप्रिय नै छ । २००७ सालका स्वप्नद्रष्टा बीपी कोइराला थिए, उनैको मार्ग पछ्याउँदै आएको कांग्रेस अहिले शेरबहादुर देउवामा आइपुग्दा सिट संख्यामा पछाडि धकेलिएको छ । कांग्रेसको ठाउँ एमालेले लिएको मात्र होइन, पात्रगत नेतृत्व पनि स्थानान्तरित भएको छ । बनारसमा कांग्रेस स्थापना पश्चात्को ७१ वर्ष र त्यही कांग्रेस, नेपाली कांग्रेस बनेको ६८ वर्षपछि बीपी कोइरालाको विरासत, कांग्रेस नेताहरूबाट उछिट्टिएर आज ओलीतर्फ हेरिरहेको छ । 
बीपीको विरासत लोकतन्त्र हो, यसपालिका तीन तहकै निर्वाचनमा कांग्रेस त्यो विरासत थाम्न असफल अर्थात् नेपाली राजनीतिको केन्द्रीय भावबाट विस्थापित भएको छ । यसो भनिरहँदा कदाचित कांग्रेसको अवमूल्यन गरेको नठानियोस्, किनभने यसको नेतृत्व सक्षम हुन्थ्यो भने विश्व नै लोकतन्त्रमय भइरहेको वर्तमान परिवेशमा कांग्रेसको यस्तो दुर्दशा हुने नै थिएन । नेतृत्व भन्नाले मैले कुनै व्यक्ति विशेषतर्फ औंला उठाएको होइन, अपितु एकपटक यसको नीति र नीतिका संवाहकहरूको अनुहार सम्झिन निवेदन गरेको हुँ । उनीहरूका क्रियाकलाप, व्यवहार र निर्णयतर्फ ध्यान दिन आग्रह गरेको हुँ । पछिल्लो समय कांग्रेसमा जति विचलन सायद माओवादी र दरबारियाहरूमा पनि आएको होइन । त्यही विचलनका क्रममा यसले आफ्नो लोकतान्त्रिक छवि त धमिल्यायो नै, राष्ट्रियताका मामिलामा पनि कुनै प्रस्ट दृष्टिकोण प्रस्तुत गर्न सकेन । बरु उल्टै अनावश्यक तुष्टीकरणको मार्ग अवलम्बन गर्‍यो । 
निर्वाचनको परिणाम आइसकेको छ । नयाँ संसद् र प्रदेशससभा गठन हुनासाथै संविधानत: संक्रमणकालको अन्त्य हुनेछ । देशमा एकैसाथ १ केन्द्र र ७ क्षेत्रीय सरकार हुनेछन् । यससँगै नेपालको एकात्मक इतिहासको अध्याय पूरा भएर संघात्मक अध्याय प्रारम्भ भएको छ, हुनेछ । यतिमात्र होइन कि मुलुक एकदमै नयाँ संरचनामा प्रवेश गर्दा, ०७ सालको जनक्रान्ति, ०३६ सालको विद्यार्थी आन्दोलन, ०३७ सालको जनमत संग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन तथा ०६२/६३ सालको लोकतन्त्र स्थापनाको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने नेपाली कांग्रेस भने आफ्नै इतिहासको लेखाजोखा गर्नुपर्ने अवस्थामा पुगेको छ । कांग्रेस केन्द्रको सत्ताबाट मात्र उछिट्टिएको होइन कि यसको कुनै पनि प्रदेशमा सरकार बनाउनेसम्म हैसियत शेष रहेको छैन । स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस पछारिएको छ, एमालेको प्रथम स्थान कायम भएको छ । 
संविधान नयाँ, राज्य संरचनामा आमूल भन्न मिल्ने परिवर्तन र त्यसको सञ्चालनमा दुई प्रमुख कम्युनिस्ट गठबन्धनको वर्चस्वलाई लिएर देशभरि एकातिर उत्साह छ भने अर्कातिर आशंका पनि छन् । हार्नेले त शंका–उपशंका गर्ने र आरोप लगाउने नै भए, तर तटस्थ रहेका मानिसमा समेत भावी शासनको चरित्रलाई लिएर केही जायज आशंका नभएका होइनन् । सर्वप्रथम त नयाँ बन्ने सरकार, त्यसमा पनि विशेष गरेर केन्द्रको सरकारसामु यी आशंका नै तगाराका रूपमा उपस्थित हुनेछन् । यसमा पहिलो अशंका हो, कम्युनिस्ट अधिनायकवाद । निश्चय नै कम्युनिस्ट अधिनायकवादको आशंका व्यक्त गर्ने कतिपयलाई आफैं पनि यसको अर्थ के हो भन्ने थाहा छैन । तर आरोप लगाउनेलाई त्यसको अर्थ थाहा हुनैपर्छ भन्ने हुँदैन । उसले आरोप लगाइदिन्छ, अनि त्यो अफवाह भएर फैलिँदै जान्छ । 
यद्यपि कम्युनिस्ट अधिनायकवाद, त्यो पनि यस युगमा, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारले लाद्न सक्ने कुरै होइन । तर यस्तो सम्भव छैन भन्ने सबैलाई थाहा हुँदैन । त्यसैले धेरैमा यो भय मनोवैज्ञानिक रूपमा जीवितै छ । यो मनोविज्ञानको उपचार र यसबाट उम्केर अघि बढ्न सजिलो छैन । यसर्थ एमाले–माओवादी गठबन्धनले देशभित्रकै सशंकित जनमत र विश्वभरका लोकतन्त्रप्रेमीहरूलाई आश्वस्त पार्दै काम गर्नुपर्ने हुन्छ । गठबन्धनसँग प्रत्यक्ष/अप्रत्यक्ष स्पष्टीकरण मागिनेछ, यसका नेताले दिइरहनु पर्नेछ । विधि–नियम मिच्ने काम गर्नु हुँदैन, त्यसमाथि यस गठबन्धनले त झन् पाइलो बिराउन पनि पाउँदैन । कथं बिरायो यदि भने कम्युनिस्टले सिध्याए भन्नेछन्, नरबिराउँदा पनि शंकाचाहिँं गरिरहनेछन् । 
कसैले अन्यथा नलिनु होला, विशेष गरेर आफैंलाई कम्युनिस्ट भन्नेहरूले किनभने म यहाँ केही कटु भनाइ राख्न गइरहेको छु । देशलाई अहिले सत्तासुखमा नमात्तिने मानिस चाहिएको छ । बिरलै मानिसमात्र सत्तासुखमा मात्तिंँदैनन् । सत्तासुखमा मात्तिनेहरूले शासनको सामन्तीकरण गर्छन्, आफ्ना शुभचिन्तक, समर्थकलाई भारदार ठान्छन् र जनतालाई रैती । अरू थरीका तुलनामा कम्युनिस्ट पृष्ठभूमि भएकाहरूमा यो दुर्गुण बढी हुन्छ भनिन्छ र देखिएको पनि त्यस्तै छ । नपत्याए रोल्पा र रुकुमबाट विद्रोहको उद्घोष गर्ने प्रचण्डलाई नै हेर्नुहोस्, उनी कहाँ थिए, कहाँ पुगे † कस्ता थिए, कस्ता भए † यस्तो अकारण भएको होइन, कारण छ । कारण हो, भोगको अतृप्त अभिलाषा । विगतमा दु:खकष्ट भोगेको सावाँ–व्याज असुल्ने मनोवृत्ति । 
यस्तो प्रवृत्ति निश्चय नै कम्युनिस्टमा मात्र होइन, कांग्रेसमा पनि प्रचुर छ । त्यस्तै त्यस्ता कार्य–कृत्यबाट सञ्चित हुँदै आएको परिणामस्वरूप नै आज कांग्रेसको यो बेहाल भएको छ । तर उसका कार्य–कृत्य कम्युनिस्टका तुलनामा कम आलोचित भएका छन् र हुन्छन्, किनभने उसलाई एक त लोकतन्त्रको सुरक्षा कवच प्राप्त छ, अर्को त्यहाँ अझै आध्यात्मिक निष्ठाले ओतप्रोत मानिस छन्, जसको छायामा बस्दा धेरै ताप शान्त हुन्छन् । कम्युनिस्टहरू, नेपालका सन्दर्भमा यद्यपि लोकतन्त्रका सहसंवाहक हुन्, तापनि यिनको निष्ठामा आध्यात्मिकता नभएकाले शंका हमेसा जीवितै रहने गरेको छ । हुन त ओली भन्ने गर्छन्, उनलाई कसैबाट आफ्नो लोकतान्त्रिक निष्ठाको प्रमाणपत्र आवश्यक छैन । उनले यसो भनिरहे पनि उनीबाट उनकै पार्टीको नामका कारण बारम्बार प्रमाण मागिइरहनेछ । जबसम्म उनी कम्युनिस्ट पार्टीका नेता रहन्छन्, तबसम्म उनले आफू लोकतन्त्रप्रति निष्ठावान रहेको प्रमाण पेस गरिरहनु पर्नेछ । 
जान्ने–बुझ्नेले निश्चय नै ओलीले लोकतन्त्र प्राप्तिका लागि भोगेका जेलनेल सम्झनेछन् । तर उनका कतिपय र विशेष गरेर उनका परमप्रिय बन्न आएका प्रचण्डका अनुयायीको जिम्मा सायदै उनले लिन सक्छन् । एमाले र माओवादीका कार्यकर्ताहरूको लोकव्यवहार कस्तो छ, त्यसको पनि अब शासन गर्नेहरूलाई ज्ञान हुनुपर्छ । कार्यकर्ता पंक्तिमा विचार नमिल्नेहरूप्रति विलकुलै सहनशीलता छैन । वडा, टोलमा पानीको सार्वजनिक पाइप वितरण हुँदासमेत एमाले र माओवादी कार्यकर्ता कम्युनिस्ट र कांग्रेस छुट्याउने गर्छन् । आफू धारा जोड्छन्, कांग्रेस समर्थकलाई रित्तै गाग्री फर्काउँछन् । यस्तो भेदभावपूर्ण व्यवहार लोकतान्त्रिक चरित्र होइन, तर अधिकांश एमाले र माओवादी कार्यकर्ता यस्तै मनोवृत्ति भएकाहरू छन् । 
साथै ओलीले भनेझैं एमाले नाममा मात्र कम्युनिस्ट होला, तर नाम त हो । यही नामले विश्वका धेरै मुलुकमा एकाधिकारवादी तानाशाही लादेको हो । यही नामले सोभियत संघमा लोकतान्त्रिक विधिद्वारा गठित संसद् कब्जा गरेर सन् १९१७ मा एकतन्त्रीय शासन प्रारम्भ गरेको हो । त्यसपछि पूर्वी युरोपका धेरैजसो मुलुकमा त्यही प्रयोग दोहोर्‍याइएको थियो । चीनको सांस्कृतिक क्रान्ति र तियानम्यान चोकको हत्याकाण्ड सम्झन नचाहँदैमा नसम्झिइने होइन । सन्दर्भ फेरियो, तर स्मृति बाँकी छन् । कम्युनिस्ट भन्नासाथ धेरै मानिस नरसंहारका प्रसंग सम्झिन्छन् । यहीं पनि निकट अतीतमा कथित जनवादी विद्रोहका नाममा १७ हजार मानिस मारिएका हुन् । 
हो, ओलीको लोकतन्त्रका प्रति अविचल निष्ठा छ, तर उनको पार्टी पंक्तिले यस निष्ठाको परिपालन गरिआएको छैन । धाक, धम्की बडप्पन यत्रतत्र पाइन्छ । साथै कतिपय अध्येताले भनेका छन्, कम्युनिस्टहरूमा संस्कारगत व्यवहार कुशलता हुँदैन अर्थात् ‘कल्चरल डिफिसियन्सी’ हुन्छ । कसैमाथि आरोप, आक्षेप लगाउनुपूर्व उनीहरू व्यक्तिको निजत्व, उसको आत्मसम्मानको विलकुलै परवाह गर्दैनन् । भनिरहन नपर्ला, मानवीय सम्बन्ध विनम्रतामा हुर्किन्छन्, लोकतन्त्रमा आत्मसम्मानको अहम् महत्त्व हुन्छ । यहाँ मैले किमार्थ ओली व्यवहार कुशल छैनन् भनेको होइन । तर उनको र उनीसित जोडिन आउने अर्को पार्टीको पंक्तिलाई व्यवहार कुशलताको प्रशिक्षण आवश्यक छ भनेर स्वीकार्नु र तदनुरूप प्रशिक्षित गर्नु नै उनको हितमा हुनेछ र साथै यसले आगामी ५ वर्षको दशा–दिशा तय गर्नेछ । 
किनभने एमाले–माओवादी अब विगतको भूमिकामा छैनन्, आगामी ५ वर्षका लागि राज्यका तीन तहमै शासनका कर्णाधार बनेका छन् । तर के ख्याल रहोस् भने यो जनमत एकतन्त्रीय ढंगले शासन सञ्चालन गर्न प्राप्त भएको होइन र तीनवटै तहका लागि जनादेश कम्युनिस्ट चरित्र प्रदर्शनका लागि प्रमाणपत्र नभएर लोकतान्त्रिक विधि, व्यवस्था सञ्चालनका लागि दिइएको हो । यहाँ कम्युनिस्ट चरित्र भनेको के हो भन्ने प्रश्न उठ्न सक्छ, त्यस्तो चरित्र निश्चय नै कम्युनिस्ट आफैंले हेर्दा जायज लाग्न सक्छ, तर अरूका लागि ज्यादै ननिको हुन्छ । माथि पनि भनियो, आफूसित विचार नमिल्ने मानिस अथवा समूहमाथि भेदभाव गर्नु, राज्यबाट प्राप्त हुने सेवासुविधामा काखापाखा गर्नु लोकतान्त्रिक चरित्र होइन, लोकतन्त्रमा राज्याधिकारीले विचार मिल्ने र नमिल्नेबीच सेवा वितरणमा भेदभाव गर्नु हुँदैन, गर्न पाइँदैन ।
आगामी ५ वर्षका लागि एमाले–माओवादी गठबन्धनले शासनका तीनवटै तह सञ्चालन गर्ने जनादेश पाएको छ । ओलीको नेतृत्वमा कम्युनिस्ट गठबन्धनले चुनावी दिग्विजय हासिल गरेको छ । प्रकारान्तरमा यो ओलीकै दिग्विजय हो । तर स्मरण रहोस्, यस गठबन्धनले लोकतन्त्रका मूल्य, मान्यताको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि मार्गप्रशस्त गर्ने आफ्नो वाचा पुरा गर्नु पर्नेछ । नगरे के हुन्छ ? यो त पक्कै भनिरहनु पर्दैन, किनभने कांग्रेसजस्तो इतिहासको स्वर्णिम हस्ताक्षर आफ्नै नेताहरूको कार्य–कृत्यका कारण संसद्को एउटा कुनामा सीमित हुनपुगेको अवस्था हेरेमात्र पनि पुग्छ ।

 

प्रकाशित : मंसिर २९, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?