कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजेन्द्र लिङ्देन : विजातीय गठजोडबाट उदय

पर्वत पोर्तेल

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघिदेखि नै चर्चामा आए । खासमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँंगको चुनावी घम्साघम्सीले ‘लो प्रोफाइल’का लिङ्देनलाई चर्चित बनायो ।

राजेन्द्र लिङ्देन : विजातीय गठजोडबाट उदय

निर्वाचनको अन्तिम परिणामपछि यिनको चर्चा थप चुलिन पुग्यो । राजावादी नेताको छवि बनाएका लिङ्देनले गणतन्त्रवादी नेता सिटौलालाई कांग्रेसले ‘गढ’ ठान्ने झापा क्षेत्र नम्बर ३ मा भारी मतान्तरले पराजित गरे । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाउँदा सिटौलाले ३१ हजार १ सय ५९ मतमात्रै पाए । रोचक त के भने राप्रपाबाट चुनाव जित्ने देशकै एक्ला नेता हुन्– लिङ्देन । पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा समेतलाई वामपन्थी भेलले बगाउँदा लिङ्देनचाहिँ वामपन्थीकै समर्थन पाएर सांसद बन्ने भाग्यमानी भए । एउटा नेपाली आहान छ, ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ । राप्रपाले यो चुनावी अनिकालमा एउटा भए पनि ‘बिउ’चाहिँ जोगाएको छ । 
‘जित स्वाभाविक थियो’, विर्तामोडको चारपानेस्थित निवासमा लिङ्देनले बुधबार कान्तिपुरसंँग भने, ‘जनताले नेतृत्व परिवर्तन चाहिरहेका थिए । त्यो परिवर्तनको भेलले मलाई रोज्यो ।’ 
दक्षिण झापाका जनता अझै पनि चरम गरिबी र पछौटेपनको सिकार छन् । विकासका दृष्टिकोणले पनि ज्यादै पछाडि छ, यो क्षेत्र । स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता आधारभूत पूर्वाधारसमेत पाएका छैनन् । ‘झापाको कर्णाली’कै रूपमा रहेको यो क्षेत्रको विकास र जनताको उन्नतिका खातिर अहिलेसम्म काम नभएको यथार्थ हो । लामो समयदेखि यो क्षेत्रको सांसद चुनिँदै आएका सिटौला पटक–पटक सत्ताको सिँढी उक्लिए । तर क्षेत्रको विकासका लागि सम्झनयोग्य काम अहिलेसम्म गरेनन् । जसको प्रतिफल यसपालिको चुनावी नतिजाले देखायो । 
सिटौलाको यही कमजोरीको फाइदा लिङ्देनले उठाएका हुन् । २०४८ पछि सिटौलाले तीनपटक चुनाव जिते । ‘लामो समय सत्तामा रहँदा पनि क्षेत्रको विकासमा कुनै काम गरेनन्’, स्थानीय मतदातासमेत रहेका बुद्धिजीवी डा. केआर खम्बु भन्छन्, ‘२५ वर्षदेखि निरन्तर सत्तामा रहँदा पनि केही नगर्दा जनताले विकल्प त खोजिहाल्छ नि ।’
सिटौला–लिङ्देनबीच पहिलो चुनावी भिडन्त ०५६ को आमनिर्वाचनमा भएको थियो । दोस्रो ०७० मा र तेस्रो यसपटक भयो । दुईपल्ट पराजय व्यहोरेका लिङ्देनले सिटौलाको ह्याट्रिक यात्रामा पूर्णविराम लगाउँदै पहिलो जित चाख्ने मौका पाएका छन् । 
वामपन्थी साथ
वाम शक्तिहरूबीचको एकतापछि नेपाली कांग्रेसले राप्रपालगायत दलहरूलाई बटुलेर लोकतान्त्रिक गठबन्धन बनायो, खासगरी चुनावी तालमेलका रूपमा । कांग्रेस र राप्रपाबीच देशैभरि चुनावी तालमेल हुने भयो । कांग्रेस–राप्रपाले लिखित रूपमै सम्झौता गरे, झापा ३ राप्रपाको भागमा छुट्याउने । उम्मेदवारका रूपमा 
लिङ्देनलाई उभ्याउने । तर अन्तिममा कांग्रेस कृष्ण सिटौलालाई आफ्नो उम्मेदवारका रूपमा अघि सार्न बाध्य बन्यो । समानुपातिकको सूचीमा एक नम्बरमा थियो, सिटौलाको नाम । तर उनले प्रत्यक्षबाटै उम्मेदवार बन्ने अडान नछाडेपछि कांग्रेस–राप्रपाबीचको सहमतिमा तुषारापात भयो, खासगरी झापाको हकमा । आफूसँग सल्लाह नै नगरी समानुपातिकमा राखेको भन्दै सिटौला पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध अलि बढ्ता झोंँक्किएका थिए । उनले कान्तिपुरकर्मीसँग बारम्बर भने, ‘शेरबहादुरजीले डुबाएका हुन्, मलाई ।’ 
कांग्रेसले ‘धोका’ दिएको भन्दै राप्रपाले वाम गठबन्धनको समर्थन माग्यो । यही मेसोमा केपी ओली र कमल थापाबीच एउटा रोचक सहमति भयो, ‘राप्रपाले झापाभर वाम गठबन्धनलाई सघाउने, राप्रपालाई झापा ३ मा समर्थन गर्ने ।’ मनोनयन दर्ताको अघिल्लो दिन वामपन्थी गठबन्धनले विर्तामोडमा बृहत् समारोहबीच लिङ्देनलाई सघाउने उद्घोष गर्‍यो । 
लिङ्देनलाई सघाउने निर्णयप्रति सुरुमा एमाले–माओवादीका कार्यकर्ताले कुनै ‘आइडियोलोजी’ नै नमिल्ने विचारविहीन दलसँग ‘विजातीय गठजोड’ भएको भन्दै असन्तुष्टि त पोखे, तर छरपस्ट हुन पाएन । एमाले–राप्रपाबीचको सहमतिले सबभन्दा बढी दु:खी कोही थिए भने सिटौला थिए । शान्ति प्रक्रिया हँुदै गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने मान्छेलाई ‘बाइपास’ गरेर राजावादी लिङ्देनलाई एमाले, माओवादीले बोकेको भन्दै सिटौलाले तीव्र आक्रोश पोखे । ‘शेरबहादुरजीले मलाई गाईको गोठालो बनाउन खोज्या थिए, तर सकेनन्,’ सिटौलाले चुनावअघि कान्तिपुरसँग भनेका थिए, ‘राप्रपाको झोला बोकेर हिँड्नुभन्दा पराजय स्विकार्छु भनेर चुनावमा उठेको हुँ ।’
वाम गठबन्धनको समर्थनमा अत्यधिक मत पाएर विजयी बनेका लिङ्देन ‘एमाले प्रवेश गर्छन्’ भन्ने चर्चा यतिबेला व्यापक छ । तर उनीचाहिँ यो कुरा नकार्छन् । ‘एमाले या अन्य कुनै पार्टीमा जाने भए पहिले नै जाने थिएँ,’ लिङ्देनको प्रस्टोक्ति छ, ‘कुनै पार्टीमा जान्नँ, आफ्नै पार्टीको शुद्धीकरणमा लाग्छु ।’ 
सांसद र मन्त्री मात्रै प्राथमिकताको विषय भएको भए यिनले धेरै अवसर पाएका थिए । ‘तर सत्ता र पद कहिल्यै मेरो प्राथमिकता बनेन,’ लिङ्देन भन्छन् । उनले वाम गठबन्धनसँगको सहकार्य अहिलेका लागि सकिएको र भविष्यमा नेपाली जनताको विकास र समृद्धिको साझा मुद्दामा सहकार्य हुन सक्ने बताए । 
केपी ओलीले राप्रपाले एक सिटचाहिँ जितेर राष्ट्रिय दल बनोस् भन्ने मनसाय राखेको लिङ्देन बताउँछन् तर थ्रेस होल्ड पूरा गर्न राप्रपालाई गाह्रो छ । ३ प्रतिशत मत कट्न सक्ने अवस्था छैन । यदि समानुपातिकमा ३ प्रतिशत मत पुर्‍याउन नसके लिङ्देन सांसद त बन्छन्, तर हैसियत स्वतन्त्र हुनेछ । 
पञ्चायतदेखि गणतन्त्रसम्म सँगै
लिङ्देनको राजनीतिक धरातल विगतमा बलियो थिएन, जति अहिले छ । विद्यार्थी राजनीतिबाट उदाएका लिङ्देनलाई ०४६ सालको परिवर्तनपछि मान्छेले चिन्न थालेका हुन् । त्यसअघि खास पहिचान थिएन, यिनको । जब पञ्चायती समयमै राप्रपा निकटको विद्यार्थी संगठनका संस्थापक अध्यक्ष नै बने, त्यसपछि यिनी चर्चामा आए । 
यिनलाई चर्चित बनाउने अर्को घटना पनि छ । पञ्चायत समर्थित राष्ट्रवादी विद्यार्थी मण्डल र आन्दोलनरत दलका विद्यार्थीहरूबीच मेची क्याम्पसमा दोहोरो झडप भएको थियो, २०४६ चैत १३ मा । क्याम्पस बन्द गर्ने र नगर्नेबीचको झडपका क्रममा विद्यार्थी राम थापालाई कसैले छुरा प्रहार गर्‍यो । उनी मारिए । त्यो घटनामा मुछिए, लिङ्देन । ‘त्यो घटना हुँदा म क्याम्पसमा थिइनँ,’ लिङ्देनको दाबी छ, ‘राम थापा हत्यामा मेरो रौं बराबरको पनि हात छैन, कसैले मेरो संलग्नता पुष्टि गर्छ भने म त्यसको आजीवन नोकर बस्न तयार छु ।’ राम थापा हत्या आरोपमा उनी करिब पाँच महिना जेल नै बसे । 
जब–जब मुलुकमा राजनीतिक परिवर्तन आयो, तब राजावादी लिङ्देन गणतन्त्रवादी दलहरूको ‘तारो’ बने । 
२०६२/६३ पछि उनीमाथि दुव्र्यहार मात्रै भएन, ज्यानै लिने नियतसाथ हमला भयो । २०६४ मा पूर्वमन्त्री स्व. रवीन्द्रनाथ शर्मा विर्तामोड आएका बेला माओवादीले मोसो दल्ने प्रयास गरे तर सकेनन् । त्यसको बदलामा लिङ्देनमाथि कुटपिट भयो । राजनीतिक कारण देखाउँदै तत्कालीन गृहमन्त्री सिटौलाले पुलिस नपठाएको लिङ्देनको आरोप छ । 
२०३८/३९ सालतिर ‘देउसी काण्ड’ चर्चित घटना भयो, झापा गोलधापमा । यो घटनामा स्थानीय प्रजापति सापकोटा मारिए । घटनामा लिङ्देनको नाम पनि आरोपितका रूपमा थियो । त्यही समय लिङ्देन र सिटौलाबीच पहिलो भेट भएको थियो । सिटौला वकालत गर्थे । सिटौलाले लिङ्देनलाई दोषमुक्त गर्न सघाएका थिए । २०४६ सालपछि भने राजनीतिक पक्षधरताका कारण सिटौला–लिङ्देनबीच निरन्तर टकराव बढेको हो । 
 ट्विटर : @parwatportel2

प्रकाशित : पुस १, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?