कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हारको जिम्मा

सिउँडी
विमल निभा

यो चुनावमा नेपाली कांग्रेस पार्टी यसरी नमज्जासँग हार्नेछ भन्ने मैले कल्पना गरेको थिइन । यद्यपि मेरो कल्पनाको भरोसामा कांग्रेसीहरू चुनावमा उठेका थिएनन् । केही गरी यस्तो भएको भए पनि अन्तत: रिजल्ट उही नै हुने थियो । अर्थात् कसैले पनि चुनाव जित्ने थिएनन् ।

हारको जिम्मा

(थोरबहुत कांग्रेसी जितको यहाँ कुनै गणना गर्ने प्रयास गरिएको छैन) । यो कुरा पक्कापक्की नै छ । किनभने मेरो तमाम आशा (र यससँग बलात् जोडिएर आउने विश्वास) का विपरीत कांग्रेसीहरूमात्र होइन, वामपन्थीले पनि चुनाव हारेका छन् ।
यस पटकको चुनावको केन्द्रीय विशेषता के रह्यो भने मुलुकभरि भीषण वाम विजयको उत्ताल तरंग नै उठेको थियो । यस्तो अपूर्व वाम लहरमा वामले नै किन हार्नुपरेको होला ? मेरो स्पष्ट संकेत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वाम नामधारी कमरेड वामदेव गौतमको अप्रत्यासित हारतर्फ हो । एकबाजी पहिले पनि यस्तो नभएको चाहिंँ होइन । त्यसबखत नेकपा एमालेसँग प्याट्ट फुटेर निर्मित नेकपा मालेका सम्पूर्ण चुनावी उम्मेदवार थोक हिसाबले हारेका थिए । सोही ऐतिहासिक हारको संस्मरणात्मक प्रतिनिधित्व तत्कालीन माले प्रमुख याने अहिलेका एमाले उपाध्यक्ष वामदेव कमरेडको यो ताजा हारले गरिरहेको त होइन ? जे होस्, एउटा कुराचाहिँं के मजैले स्थापित भएको छ भने कमरेड वामदेव गौतमलाई न पार्टी फुटेर कुनै खास लाभ हुनगयो, नत पार्टी जुटेकोमा नै । अझ अहिले त अचम्मैसँग झन्डै दुई तिहाइयुक्त वाम गठबन्धनको विजयी अवसरमा यो हार सम्पन्न भएको छ । र थप अचम्मको कुरो के भने यो जबर्जस्त वाम एकता कार्यमा वामदेव कमरेडकै भूमिका प्रशस्त रहेको छ भन्ने चर्चा राजनीतिक वायुमण्डलमा तरंगित छ ।
नेकपा माओवादी (केन्द) का उपाध्यक्ष कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को पनि एकल कम्युनिष्ट पार्टी निर्माणको सतत् प्रयत्नसहितको वाम गठबन्धनमा नेकपा एमालेका उपाध्यक्ष कमरेड वामदेव गौतमसरह नै महत्त्वपूर्ण योगदान रहेको छ । के यही कारणले उनले गोरखाबाट पुरानो वाम अर्थात् नयाँ दक्षिणपन्थी नेता डाक्टर बाबुराम भट्टराईसँग चुनाव हारेका हुन् त ? मेरो भन्नु के हो भने हाम्रोसामु कमरेड वामदेव गौतमको जीवित हारको रूपमा समानान्तर उदाहरण रहेको छ । अब जेजस्तो कारणले नारायणकाजी कमरेडको हार भएको भए तापनि एउटा कारणचाहिंँ म पनि हुनसक्छु । (कुन्नि, किन दुई–चार दिनदेखि मलाई निरन्तर यस्तै आत्मबोध भइरहेको छ !) वास्तवमा कुरो के हो भने उनको चुनावमा सकुशल जितका निम्ति मैले पनि बुद्धिजीवीको नाताले एक खुला विज्ञप्तिमा सआह्वान हस्ताक्षर गरेको थिएँ । एक थान हस्ताक्षरको भरमा बुद्धिजीवी हुन सकिन्छ भने मैले आफ्नो करकमलले हस्ताक्षर किन नगर्ने ? सम्भवत: यही मेरो स्वयंघोषित बुद्धिजीवीत्वको वास्तविक रहस्य हो । मेरो साथमा आधा दर्जनजति ख्यातनाम वाम बुद्धिजीवीहरूले पनि कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का जितका निम्ति पूर्ण विश्वासको हस्ताक्षर गरेका थिए । मलाई डाक्टर पिताम्बर शर्मा, डाक्टर दिपेन्द्रबहादुर क्षत्री, डाक्टर हरि रोका, डाक्टर महेश मास्के आदिजस्ता नेपाली बुद्धिजीवीहरूका असंदिग्ध बुद्धिजीवीपनमा कुनै टिप्पणी गर्नु छैन । यस्तो अतिरिक्त क्षमता मसँग छैन । म उहाँहरूसँग विनम्र क्षमायाचना गर्दै फगत आफ्नै शत–प्रतिशत निजी बुद्धिको कुरा गर्छु– नारायणकाजी कमरेडले मेरो हस्ताक्षरित बुद्धिमा अलिक बेसी नै विश्वास गरे कि ? यही उनको वर्तमान हारको पूर्वपीठिका पनि हुनसक्छ । यो एक शोधको गम्भीर विषय होइन र ? तथापि एक हस्ताक्षरकर्ता बुद्धिजीवीको हैसियतले म कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को दु:खद हारको पुरै जिम्मेवारी लिन्छु । यो भन्दा बढी एक (मजस्तो) बुद्धिजीवीले अरू के गर्न सक्छ ?
अन्त्यमा,
कमरेडद्वय वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को एकजोडी हारलाई स्मरण नगर्ने हो भने नेपालका वामपन्थीहरूले नेपाली कांग्रेस पार्टीको तुलनामा उपल्लो दर्जाको जित पाएकै हो । यसका निम्ति वाम गठबन्धनका असली सूत्रधार नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीलाई बधाई दिनमा विलम्ब किन गर्ने मैले ? एक सर्वथा चलनचल्तीको बुद्धिजीवीको नाताले मैले निकट भविष्यका सम्माननीय प्रधानमन्त्रीलाई नमन गर्नुमा कुनै नोक्सानी छैन । अतएव मेरोतर्फबाट कमरेड ओलीलाई सहस्र बधाई !

प्रकाशित : पुस १, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?