३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एटीएम सुरक्षित बनाऊ

सम्पादकीय

अटोमेटेड टेलर मसिन (एटीएम) लगायत विद्युतीय कार्डहरूमा जोखिम बढ्दै गए पनि तदनुरूप सुरक्षाका उच्चतम उपाय अझै अवलम्बन गरिएका छैनन् ।

एटीएम सुरक्षित बनाऊ

जुनसुकै समयमा पनि आफूलाई पायक पर्ने स्थानबाट रकम झिक्न सकिने, बैंकसम्म पुग्नुपर्ने झन्झट नहुनेलगायतका कारण विद्युतीय कार्ड प्रयोग गर्नेको संख्या हामीकहाँ पनि बढेको छ । तर केही वर्षयता एटीएमबाट पैसा चोरी भएका धेरै घटना भएका छन् । एटीएम असुरक्षित हुनुमा प्रमुख जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरू नै देखिएका छन् । तिनले एटीएम र एटीएम कार्डको स्तरोन्नतिमा ध्यान नदिँदा जोखिम कायमै रहेको हो । 

एटीएम कार्ड प्रदायक कम्पनी ‘भिजा’ ले २०७४ असोज १५ भित्र एटीएम स्तरोन्नतिका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको थियो । एटीएमलगायत विद्युतीय कार्ड कारोबारलाई सुरक्षित बनाउन यस्तो आग्रह गरिएको हो तर धेरै बैंक तथा वित्तीय संस्थाले सुझाव पालना गरेका छैनन् । एटीएम संयन्त्र स्तरोन्नति नगर्ने बैंक तथा वित्तीय संस्थामा वित्तीय जोखिम धेरै देखिन्छ । 
एटीएम संयन्त्र ‘युरोपे मास्टर कार्ड एन्ड भिजा’ (ईएमभी) को मापदण्डअनुसार स्तरोन्नति गर्न भेन्डर कम्पनी र राष्ट्र बैंकले छुट्टाछुट्टै आग्रह गरेका थिए । तोकिएको समयभित्र एटीएम स्तरोन्नति नगर्ने बैंक तथा वित्तीय संस्थाको पैसा कार्डमार्फत चोरी भए त्यसबापतको क्षति ‘भिजा कार्ड’ प्रदायक कम्पनीले नबेहोर्ने स्पष्ट पारिसकेको छ । यसको अर्थ ती बैंकमा कार्डबाट पैसा चोरी भए सम्बन्धित बैंकले नै क्षतिपूर्ति गर्नुपर्छ । कार्डमार्फत ग्राहकको खाताबाट पैसा चोरी भए बैंकले नै क्षतिपूर्ति गर्ने भएकाले ग्राहकको रकम भने सुरक्षित रहन्छ । यद्यपि त्यसले अनावश्यक समस्या र झन्झट बढाउनेछ । 
अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ मा आधारित विद्युतीय कार्ड, जसमा ग्राहकको महत्त्वपूर्ण विवरण रहेको हुन्छ, बनाइसकेका छन् । तर, तिनले कार्डमा प्रयोग गरिएका ‘चिप’ पढ्न सक्ने गरी एटीएम संयन्त्रको स्तरोन्नति गरेका छैनन् । चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिँदैन । चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ तर, बैंकहरूले चिप पढ्न सक्ने गरी मसिनको स्तरोन्नति नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरी हुने सम्भावना कायमै छ । 
विद्युतीय कारोबार सुरक्षित बनाउने उद्देश्यले राष्ट्र बैंकले दिएका निर्देशन पनि बैंक तथा वित्तीय संस्थाले पालना गरेका छैनन् । निर्देशनअनुसार ०७४ असारसम्म बैंक तथा वित्तीय संस्थाले सबै विद्युतीय कार्ड चिपमा आधारित बनाउनुपर्ने थियो, तर हालसम्म पनि सबै बैंकले यो निर्देशन पालना गरेका छैनन् । ०७४ असोजसम्म ‘पोस्ट अफ सेल’ (पीओएस)/‘पोस्ट अफ ट्रान्जेक्सन’ (पीओटी) स्तरोन्नति गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यो पनि अधिकांश बैंकले पालना गरेका छैनन् । ०७४ पुससम्म सबै एटीएम ‘ईएमभी’ मा आधारित हुनुपर्छ । राष्ट्र बैंकले एटीएमबाट हुने सबै कारोबार ०७४ माघ १ देखि चिप र पिनमा अधारित हुनुपर्ने बताएको छ । बैंकहरूको तयारी हेर्दा यो पनि सम्भव देखिँदैन । एटीएमलगायत विद्युतीय कार्ड असुरक्षित बन्दै जानुमा राष्ट्र बैंक पनि उत्तिकै जिम्मेवार छ । राष्ट्र बैंकले प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा अहिलेको अवस्था आएको हो । निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्न नसक्नु राष्ट्र बैंकको ठूलो कमजोरी हो । कति बैंकले निर्देशन पालना गरेका छन् भन्ने तथ्यांकसमेत राष्ट्र बैंकसँग छैन । 
पछिल्लो पटक ‘स्विफ्ट ह्याक’ मार्फत समेत बैंकबाट रकम चोरी भएपछि गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थालाई बोलाएर सूचना प्रविधिमा लगानी बढाउन आग्रह गरेका थिए । तर, सामान्य आग्रह गरेकै भरमा बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिमा खर्च बढाउने सम्भावना छैन । यसकारण कार्डलगायत विद्युतीय भुक्तानी सुरक्षित बनाउन राष्ट्र बैंकले नियमनमा कडाइ गर्नुपर्छ । राष्ट्र बैंक घटना भइसकेपछि मात्र तात्ने गरेको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त पहल गरिएको पाइन्न । निर्देशन जारी हुन्छन् तर पालना भए/नभएको बारे जानकारी राखिन्न । दण्डहीनता मौलाउन नदिन निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्नुपर्छ । सर्वसाधारणले आफूलाई भन्दा बढी विश्वास गरी बैंकमा पैसा राखेका हुन्छन् । बैंकहरू असुरक्षित हुँदै गए बैंकप्रति जनताको विश्वास टुट्नेछ । बैंकहरू जनताको पैसाले चल्ने हुन् । बैंकले जनताको पैसामा लापरबाही गर्नु हँुदैन । बैंक तथा वित्तीय संस्थाले मुनाफालाई मात्र नहेरी कारोबार प्रणाली सुरक्षित बनाउन उचित प्रबन्ध मिलाउनुपर्छ । उनीहरूले कारोबार प्रणाली र सम्बन्धित उपकरण स्तरोन्नतिमा पर्याप्त लगानी गर्नुपर्छ । 

 

प्रकाशित : पुस २, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?