कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

निर्वाचनपछिको कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन वर्तमान संविधान कार्यान्वयनको दिशामा ऐतिहासिक उपलब्धिको कोशेढुङ्गा हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत, सुदृढ र व्यवस्थापन गर्दै आर्थिक विकास र राष्ट्रिय समृद्धिको ढोका खोल्न यो निर्वाचनले मुलुकलाई दिशानिर्देश गरेको छ ।

निर्वाचनपछिको कांग्रेस

यसलाई सुखद प्रारम्भको साथै आशा र व्यग्रतापूर्ण प्रतीक्षाको अग्निपरीक्षाको रूपमा हेरिएको छ ।

१५० भन्दा बढी हिंसात्मक बम विस्फोटन भए । एकजना म्यादी प्रहरीको ज्यान गयो । यसका बाबजुद यो निर्वाचन गराउनु निश्चय नै कांग्रेस नेतृत्वको सरकारको सफलता हो । लोकतन्त्रवादीहरूको लागि जनअभिमत सर्वोपरि र शिरोधार्य पक्ष हो । हामी जनादेशलाई हार्दिकतापूर्वक स्वागत गर्छौँ । यस अघिको निर्वाचनमा जस्तो हारबाट आतङ्कित भएर पराजय नस्वीकार्ने र अनेक अत्तो थाप्ने काम नेपाली कांग्रेसबाट हुँदैन । लोकतन्त्रको आधारभूत मान्यता नै जनअभिमत हो । लोकतन्त्रमा सञ्चालक पक्ष र एजेन्डा असफल हुनसक्छ । पद्धति कहिल्यै असफल हुँदैन, बरु परिमार्जित, सुन्दर र सुधिँदै सर्वग्राह्य हुँदै जान्छ भन्ने ठोस प्रमाण यही निर्वाचनमा संलग्न लोकतन्त्रभन्दा नितान्त भिन्न दर्शन, चिन्तनका यात्राबाट लोकतान्त्रिक यात्रामा संलग्न भएका गठबन्धनहरू नै ताजा साक्षी हुन् । 
२००७, २०४७ र २०६२/६३ सालका परिव
र्तनमा मात्र होइन, शान्ति प्रक्रियाको नेतृत्व, वर्तमान संविधान निर्माण र यसलाई कार्यान्वयनको प्रारम्भिक चरण, तीनै तहको निर्वाचन पनि प्रथम चरण बाहेकको नेतृत्व कांग्रेसबाटै भयो । यो ऐतिहासिक योगदानलाई कसैले छेकेर वा भ्रामक प्रोपोगन्डाको जति खेती गरे पनि गलत सावित हुन सक्दैन । राजनीतिक परिवर्तनको नेतृत्वमात्र होइन, ७१ प्रतिशत राष्ट्रिय बजेट ग्रामीण क्षेत्रमा प्रवाहित गर्ने आर्थिक विकासको नयाँ ढाँचा र दिशानिर्देश पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ ।

यो ऐतिहासिक योगदानका बाबजुद हालै भएको निर्वाचन परिणामले समस्त लोकतन्त्रवादी, नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई स्तब्ध बनाएको छ । यस निर्वाचनले हामी अभूतपूर्व पराजयसाथ प्रतिपक्षको भूमिकामा पुगेका छौँ । यत्रो ऐतिहासिक योगदान र आर्थिक क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धि पुँजीकृत हुन सकेन । हाम्रा प्रचार–प्रसार संयन्त्रहरू किन बोधो र निष्प्रभावी भए, यसबारे हामी प्राय: मौन रह्यौँ, तर प्रचार–प्रसार हुन सकेन । यसका प्रमुख कारण र कारक तत्त्वहरू, आग्रह–पूर्वाग्रहभन्दा अलग रहेर कसैको मुख नहेरी निर्मम समीक्षा र आत्मालोचनासाथ नग्न सत्यलाई खुलाउनु आज सबैको साझा जिम्मेवारी भएको छ । एकले अर्कालाई दोष थोपरेर आफू चोखो हुन खोज्ने प्रवृत्तिबाट कसैले मुक्ति पाउँदैन । यथार्थपरक सिंहावलोकन, समीक्षा, विश्लेषण र ठोस निष्कर्ष आजको आवश्यकता हो । वैचारिक पुनर्जागरण र पार्टीको पुन:संरचना आजको माग हो ।

हामीले यो चुनाव हारेका छौँ, तर लोकतन्त्रले जितेको छ । हिजो विभिन्न, दर्शन र उद्गमस्थलबाट यात्रा सुरु गर्ने राजनीतिक दल वा पक्ष आज कांग्रेसको अविरल यात्रालाई मूलप्रवाह मानेर लोकतन्त्रको महासागरमा सम्मिलित भएका छन् । इतिहासले लोकतन्त्र र नेपाली कांग्रेसलाई एकअर्कासँग जोडेको छ । यो सुखद पक्ष हो । त्यसैले एउटा आवधिक चुनावको परिणाम आफ्नो प्रतिकूल भयो भन्दैमा कुनै लोकतन्त्रवादी निराश हुनुहुँदैन । हारलाई स्वीकार्न नसक्ने लोकतन्त्रवादी हुन सक्दैन भन्ने हेक्का कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ । यो पराजयलाई पुन: जितमा परिणत गर्ने संकल्प र दृढता नै हाम्रो अबको नयाँ यात्राको प्रारम्भ–विन्दु हो । कांग्रेसको जनाधारमा कुनै विचलन आएको छैन, यसलाई समानुपातिक मतपरिणाम र प्रत्यक्ष निर्वाचनको मतान्तरले प्रमाणित गर्छ । तर समय–सापेक्ष, नीति, नेतृत्व र संस्थागत प्रक्रिया र अपारदर्शिताबाट नै हामी यो परिस्थितिमा पुगेको यथार्थलाई अब दोहोरिन नदिने संकल्प र सपथ जरुरी छ ।

राज्य सञ्चालन प्रक्रियामा भएका काण्ड, स्वतन्त्र न्यायपालिका र सुरक्षा अंगसँग जोडिएका कतिपय संवेदनशील कुरा न संस्थागत निर्णयबाट गरियो, न यसका पक्षमा जनतामा वास्तविकता पुर्‍याउन सकियो । केही व्यक्तिको संकीर्ण घेरालाई नै पार्टी ठान्ने मनोवृत्ति अपारदर्शी निर्णय प्रक्रिया, विधिविहीनता र संस्थालाई पन्छाउने र यसलाई पूर्णतासमेत नदिएर तदर्थवादी सोचले पार्टीलाई यस्तो विनाशको दिशामा धकेलिएको छ ।

पराजित पक्षले पूर्वाग्रह, मोलाहिजा र अतिशयोक्तिबाट मुक्त मानसिकताका साथ परिणाममुखी भएर स्वपक्षको हारका कारण खोज्नु उसको जिम्मेवारी हो । उम्मेदवारीको टिकट दिने कामदेखि नै हाम्रा प्रक्रियागत त्रुटि, कमजोरी र तदर्थवादी कार्यशैली देखापरे । संसदीय समितिको गठन विधान बमोजिम १५ जनाको हुनुपर्नेमा २२ जनाको बनाउनु, समानुपातिक उम्मेदवारको बन्दसूची संसदीय समितिकै सदस्यहरूले देख्न नपाउने जस्ता चरम स्वेच्छाचारी शैली हावी भयो । यस्ता गतिविधिलाई सहनु म पनि आफ्नो कमजोरी ठान्छु । उम्मेदवार निश्चित गर्न ढिलाइ गरिदिँदा उम्मेदवारहरू आ–आफ्ना क्षेत्रमा ढिलो पुग्नाले कांग्रेसले प्रतिस्पर्धीहरूका लागि मैदान छोडिदिए जस्तो भयो । अर्कातिर प्रभावशाली तथा होनहार युवा नेताहरूलाई उम्मेदवारी दिन सकिएन । 
लोकतन्त्र विधि, मूल्य, पद्धति र संस्थाहरूबाट परिचालित हुन्छ । यसलाई एकातिर थन्क्याएर नेतृत्व नै नीति, पद्धति, प्रक्रिया र सबै थोक हो भन्ने मनोवृत्ति अत्यन्त धेरै हावी भयो । पार्टीका विभागहरू, जहाँ हजारौँ साथी सम्मिलित र सक्रिय हुनसक्थे, तिनको गठन नै गरिएन । भ्रातृ संस्थाहरू केवल नाममा सीमित र मञ्चका शृङ्गार बने । त्यस बाहेक अत्तोपत्तो रहेन । स्थानीय तहको निर्वाचनका लागि पहिलो र दोस्रो चरणमा एक प्रकारको मापदण्ड तर तेस्रो चरणमा आफूखुसी निर्णय गरियो । ६८ जिल्लाका सभापतिहरू यो प्रक्रियामा पूर्णत: बहिस्कृत रहे भने कतिपय स्थानमा सोझै र अन्तिम घडीमा हस्तक्षेप गरी उम्मेदवार तोकियो । 

पार्टी भित्रको आन्तरिक प्रतिपक्ष मानिने साथीहरू विधि पालनामा जोड दिने वा प्रतिरोध गर्नुको साटो आन्तरिक भागबन्डामा आफ्ना केही कुरा थपेर चुपचापसँग सौदाबाजी र सम्झौता गर्ने र विधि तथा प्रक्रिया लत्याउनमा संलग्न हुनु र शुभेच्छुक तथा भ्रातृ संस्थाहरूको भागबन्डाका नाममा दर्खास्त परेर म्याद गुज्रेपछि फिर्ता लिने कसरत पनि नगरी सर्वसम्मतिको घोषणाजस्तो अप्रजातान्त्रिक गतिविधिसमेत भयो ।

सरकारको आकार र कार्यशैलीलाई लिएर सबैलाई भन्ने ठाउँ दिइयो । ६४ जनाको विशाल मन्त्रिपरिषद छ, तर गृह र परराष्ट्र मन्त्रीको पदचाहिँ खाली छ । यसले पनि नेपाली कांग्रेसको पक्षमा आउनलागेको मत नै भड्काएर घटाउने काम गर्‍यो । आफ्नै नेतृत्व वा संयोजनको भूमिकाद्वारा निर्मित वर्तमान संविधानका मौलिकताहरूको विरुद्ध नै जिम्मेवार पदाधिकारीको नै पटक–पटक अभिव्यक्ति आयो । यसमा केन्द्रीय कार्यसमितिले कहिल्यै प्रस्ट पारेन । म वितरणमुखी अर्थव्यवस्थाको पक्षपाती होइन । राज्यको सीमित स्रोत–साधनलाई जनताका असीमित आवश्यकता र आकांक्षा पूर्ति गर्ने क्रममा प्राथमिकतासाथ परिचालन गर्नुपर्छ भन्ने कांग्रेसको स्थापित मान्यता र नीतिभन्दा म बाहिर छैन । तर राज्यको दायित्वमा समेट्नुपर्ने न्यायोचित कल्याणकारी कार्यक्रम, सामाजिक सुरक्षा र आर्थिक न्यायका पक्षमा हामी किन कमजोर देखियौँ ? पार्टीका लाखौँ कार्यकर्ताको यो साझा प्रश्न आजसम्म अनुत्तरित छ ।

पार्टी भित्रको आन्तरिक गुटबाजी सबै ठाउँमा सबै गुटबाट केही न केही असर पुर्‍याउने काम भयो, जसले गर्दा कार्यकर्ताहरूलाई लाचार बनाएर विलखबन्द र किंकर्तव्यविमुढको अवस्थामा पुर्‍यायो ।
एकातिर प्रथम पार्टी र तेस्रो पार्टीको गठबन्धन नै पराजयको प्रथम कारकतत्त्व बन्यो भने अर्कातिर हाम्रा रणनीतिक सोच र प्रचार संयन्त्र अत्यन्त दुर्बल रह्यो । 

यी सम्पूर्ण पक्षको विश्लेषण तत्काल केन्द्रीय समितिको बैठकमा छलफल गरी अन्तिम निर्णय र समाधानका लागि पार्टीको महासमिति बैठक वा विशेष अधिवेशनसम्म जानुपर्ने र पार्टीलाई वैचारिक तथा चारित्रिक पुनर्जागरणद्वारा नयाँ जीवन दिनु सबैको कर्तव्य हो । यो पीडादायक पराजयपछि डढेलो लागेको जङ्गलमा नयाँ पालुवा पलाउँछ वा पतझर मौसमपछि फेरि हरियाली आउँछ भन्ने भगवान–भरोसावादी सोच लियौँ भने हामी समाप्तिको दिशातिर उन्मुख हुनेछौँ । यसको वास्तविक कारण र जिम्मेवार को कति मात्रामा हुन् भन्ने खोज्नु जरुरी छ । सर्वप्रथम पार्टीको नेतृत्व पदाधिकारी, हामी संसदीय समितिमा रहेकाहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू, जिल्ला, क्षेत्र र गाउँ/नगरसम्मको नेतृत्वको मात्रात्मक फरक होला, तर सबैको जिम्मेवारी पक्कै छ । यसमा नेता, नेतृत्व, नीति र संरचनामा नै कतिपय परिवर्तनको आवश्यकता छ भने पनि गर्नु आवश्यक छ । यसको निम्ति केन्द्रीय कार्यसमितिमा ब्यापक छलफल गरी महासमिति वा विशेष महाधिवेशनबाटै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ । २०१२ सालमा वीरगन्जमा सम्पन्न भएको छैठौँ महाधिवेशनपछि २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भएकै हो । 

अब टालटुले समाधान, बासी बानी, थोत्रा विचार छिपछिपे ज्ञान होइन, नयाँ उत्साह, नयाँ जाँगर, नयाँ विश्वासका साथ युवाशक्तिको परिचालन र पार्टीको कार्यशैलीलाई जनसमूहमा आधारित रूपबाट कार्यकर्तामा अनुशासित र दृढ संगठन बनाउनतिर लाग्नु अनिवार्य छ । पार्टीको क्रियाशील सदस्यता सम्पूर्ण रूपबाट खारेज गरी निश्चित वैधानिक मापदण्डका आधारमा पार्टीका गतिविधिमा क्रियाशील हुनसक्ने योग्यता, जनताप्रति जिम्मेवार आचरणलाई हेरी नयाँ सदस्यता दिनुपर्ने आवश्यकता भएको छ । यसबाट शिक्षा प्राप्त गर्न र यसलाई जागृतिको आह्वानको रूपमा समयमै ग्रहण गर्न नसके यो पराजय मुलुक र लोकतन्त्रकै लागि दुर्घटना निम्त्याउने कारक नहोला भन्न सकिन्न । पार्टीभित्र परिवर्तन र सुधार गरेमा वर्तमान जे–जस्तो भए पनि गौरवमय इतिहास बोकेको नेपाली कांग्रेस तथा लोकतन्त्रको भविष्य फेरि समुन्नत र उज्ज्वल छ भन्ने कुरामा कुनै द्विविधा छैन ।
केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
[email protected]

प्रकाशित : पुस ४, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?