निर्वाचनपछिको कांग्रेस

अर्जुननरसिंह के.सी.

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन वर्तमान संविधान कार्यान्वयनको दिशामा ऐतिहासिक उपलब्धिको कोशेढुङ्गा हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत, सुदृढ र व्यवस्थापन गर्दै आर्थिक विकास र राष्ट्रिय समृद्धिको ढोका खोल्न यो निर्वाचनले मुलुकलाई दिशानिर्देश गरेको छ ।

यसलाई सुखद प्रारम्भको साथै आशा र व्यग्रतापूर्ण प्रतीक्षाको अग्निपरीक्षाको रूपमा हेरिएको छ ।

Yamaha

१५० भन्दा बढी हिंसात्मक बम विस्फोटन भए । एकजना म्यादी प्रहरीको ज्यान गयो । यसका बाबजुद यो निर्वाचन गराउनु निश्चय नै कांग्रेस नेतृत्वको सरकारको सफलता हो । लोकतन्त्रवादीहरूको लागि जनअभिमत सर्वोपरि र शिरोधार्य पक्ष हो । हामी जनादेशलाई हार्दिकतापूर्वक स्वागत गर्छौँ । यस अघिको निर्वाचनमा जस्तो हारबाट आतङ्कित भएर पराजय नस्वीकार्ने र अनेक अत्तो थाप्ने काम नेपाली कांग्रेसबाट हुँदैन । लोकतन्त्रको आधारभूत मान्यता नै जनअभिमत हो । लोकतन्त्रमा सञ्चालक पक्ष र एजेन्डा असफल हुनसक्छ । पद्धति कहिल्यै असफल हुँदैन, बरु परिमार्जित, सुन्दर र सुधिँदै सर्वग्राह्य हुँदै जान्छ भन्ने ठोस प्रमाण यही निर्वाचनमा संलग्न लोकतन्त्रभन्दा नितान्त भिन्न दर्शन, चिन्तनका यात्राबाट लोकतान्त्रिक यात्रामा संलग्न भएका गठबन्धनहरू नै ताजा साक्षी हुन् । 
२००७, २०४७ र २०६२/६३ सालका परिव
र्तनमा मात्र होइन, शान्ति प्रक्रियाको नेतृत्व, वर्तमान संविधान निर्माण र यसलाई कार्यान्वयनको प्रारम्भिक चरण, तीनै तहको निर्वाचन पनि प्रथम चरण बाहेकको नेतृत्व कांग्रेसबाटै भयो । यो ऐतिहासिक योगदानलाई कसैले छेकेर वा भ्रामक प्रोपोगन्डाको जति खेती गरे पनि गलत सावित हुन सक्दैन । राजनीतिक परिवर्तनको नेतृत्वमात्र होइन, ७१ प्रतिशत राष्ट्रिय बजेट ग्रामीण क्षेत्रमा प्रवाहित गर्ने आर्थिक विकासको नयाँ ढाँचा र दिशानिर्देश पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ ।

यो ऐतिहासिक योगदानका बाबजुद हालै भएको निर्वाचन परिणामले समस्त लोकतन्त्रवादी, नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई स्तब्ध बनाएको छ । यस निर्वाचनले हामी अभूतपूर्व पराजयसाथ प्रतिपक्षको भूमिकामा पुगेका छौँ । यत्रो ऐतिहासिक योगदान र आर्थिक क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धि पुँजीकृत हुन सकेन । हाम्रा प्रचार–प्रसार संयन्त्रहरू किन बोधो र निष्प्रभावी भए, यसबारे हामी प्राय: मौन रह्यौँ, तर प्रचार–प्रसार हुन सकेन । यसका प्रमुख कारण र कारक तत्त्वहरू, आग्रह–पूर्वाग्रहभन्दा अलग रहेर कसैको मुख नहेरी निर्मम समीक्षा र आत्मालोचनासाथ नग्न सत्यलाई खुलाउनु आज सबैको साझा जिम्मेवारी भएको छ । एकले अर्कालाई दोष थोपरेर आफू चोखो हुन खोज्ने प्रवृत्तिबाट कसैले मुक्ति पाउँदैन । यथार्थपरक सिंहावलोकन, समीक्षा, विश्लेषण र ठोस निष्कर्ष आजको आवश्यकता हो । वैचारिक पुनर्जागरण र पार्टीको पुन:संरचना आजको माग हो ।

हामीले यो चुनाव हारेका छौँ, तर लोकतन्त्रले जितेको छ । हिजो विभिन्न, दर्शन र उद्गमस्थलबाट यात्रा सुरु गर्ने राजनीतिक दल वा पक्ष आज कांग्रेसको अविरल यात्रालाई मूलप्रवाह मानेर लोकतन्त्रको महासागरमा सम्मिलित भएका छन् । इतिहासले लोकतन्त्र र नेपाली कांग्रेसलाई एकअर्कासँग जोडेको छ । यो सुखद पक्ष हो । त्यसैले एउटा आवधिक चुनावको परिणाम आफ्नो प्रतिकूल भयो भन्दैमा कुनै लोकतन्त्रवादी निराश हुनुहुँदैन । हारलाई स्वीकार्न नसक्ने लोकतन्त्रवादी हुन सक्दैन भन्ने हेक्का कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ । यो पराजयलाई पुन: जितमा परिणत गर्ने संकल्प र दृढता नै हाम्रो अबको नयाँ यात्राको प्रारम्भ–विन्दु हो । कांग्रेसको जनाधारमा कुनै विचलन आएको छैन, यसलाई समानुपातिक मतपरिणाम र प्रत्यक्ष निर्वाचनको मतान्तरले प्रमाणित गर्छ । तर समय–सापेक्ष, नीति, नेतृत्व र संस्थागत प्रक्रिया र अपारदर्शिताबाट नै हामी यो परिस्थितिमा पुगेको यथार्थलाई अब दोहोरिन नदिने संकल्प र सपथ जरुरी छ ।

राज्य सञ्चालन प्रक्रियामा भएका काण्ड, स्वतन्त्र न्यायपालिका र सुरक्षा अंगसँग जोडिएका कतिपय संवेदनशील कुरा न संस्थागत निर्णयबाट गरियो, न यसका पक्षमा जनतामा वास्तविकता पुर्‍याउन सकियो । केही व्यक्तिको संकीर्ण घेरालाई नै पार्टी ठान्ने मनोवृत्ति अपारदर्शी निर्णय प्रक्रिया, विधिविहीनता र संस्थालाई पन्छाउने र यसलाई पूर्णतासमेत नदिएर तदर्थवादी सोचले पार्टीलाई यस्तो विनाशको दिशामा धकेलिएको छ ।

पराजित पक्षले पूर्वाग्रह, मोलाहिजा र अतिशयोक्तिबाट मुक्त मानसिकताका साथ परिणाममुखी भएर स्वपक्षको हारका कारण खोज्नु उसको जिम्मेवारी हो । उम्मेदवारीको टिकट दिने कामदेखि नै हाम्रा प्रक्रियागत त्रुटि, कमजोरी र तदर्थवादी कार्यशैली देखापरे । संसदीय समितिको गठन विधान बमोजिम १५ जनाको हुनुपर्नेमा २२ जनाको बनाउनु, समानुपातिक उम्मेदवारको बन्दसूची संसदीय समितिकै सदस्यहरूले देख्न नपाउने जस्ता चरम स्वेच्छाचारी शैली हावी भयो । यस्ता गतिविधिलाई सहनु म पनि आफ्नो कमजोरी ठान्छु । उम्मेदवार निश्चित गर्न ढिलाइ गरिदिँदा उम्मेदवारहरू आ–आफ्ना क्षेत्रमा ढिलो पुग्नाले कांग्रेसले प्रतिस्पर्धीहरूका लागि मैदान छोडिदिए जस्तो भयो । अर्कातिर प्रभावशाली तथा होनहार युवा नेताहरूलाई उम्मेदवारी दिन सकिएन । 
लोकतन्त्र विधि, मूल्य, पद्धति र संस्थाहरूबाट परिचालित हुन्छ । यसलाई एकातिर थन्क्याएर नेतृत्व नै नीति, पद्धति, प्रक्रिया र सबै थोक हो भन्ने मनोवृत्ति अत्यन्त धेरै हावी भयो । पार्टीका विभागहरू, जहाँ हजारौँ साथी सम्मिलित र सक्रिय हुनसक्थे, तिनको गठन नै गरिएन । भ्रातृ संस्थाहरू केवल नाममा सीमित र मञ्चका शृङ्गार बने । त्यस बाहेक अत्तोपत्तो रहेन । स्थानीय तहको निर्वाचनका लागि पहिलो र दोस्रो चरणमा एक प्रकारको मापदण्ड तर तेस्रो चरणमा आफूखुसी निर्णय गरियो । ६८ जिल्लाका सभापतिहरू यो प्रक्रियामा पूर्णत: बहिस्कृत रहे भने कतिपय स्थानमा सोझै र अन्तिम घडीमा हस्तक्षेप गरी उम्मेदवार तोकियो । 

पार्टी भित्रको आन्तरिक प्रतिपक्ष मानिने साथीहरू विधि पालनामा जोड दिने वा प्रतिरोध गर्नुको साटो आन्तरिक भागबन्डामा आफ्ना केही कुरा थपेर चुपचापसँग सौदाबाजी र सम्झौता गर्ने र विधि तथा प्रक्रिया लत्याउनमा संलग्न हुनु र शुभेच्छुक तथा भ्रातृ संस्थाहरूको भागबन्डाका नाममा दर्खास्त परेर म्याद गुज्रेपछि फिर्ता लिने कसरत पनि नगरी सर्वसम्मतिको घोषणाजस्तो अप्रजातान्त्रिक गतिविधिसमेत भयो ।

सरकारको आकार र कार्यशैलीलाई लिएर सबैलाई भन्ने ठाउँ दिइयो । ६४ जनाको विशाल मन्त्रिपरिषद छ, तर गृह र परराष्ट्र मन्त्रीको पदचाहिँ खाली छ । यसले पनि नेपाली कांग्रेसको पक्षमा आउनलागेको मत नै भड्काएर घटाउने काम गर्‍यो । आफ्नै नेतृत्व वा संयोजनको भूमिकाद्वारा निर्मित वर्तमान संविधानका मौलिकताहरूको विरुद्ध नै जिम्मेवार पदाधिकारीको नै पटक–पटक अभिव्यक्ति आयो । यसमा केन्द्रीय कार्यसमितिले कहिल्यै प्रस्ट पारेन । म वितरणमुखी अर्थव्यवस्थाको पक्षपाती होइन । राज्यको सीमित स्रोत–साधनलाई जनताका असीमित आवश्यकता र आकांक्षा पूर्ति गर्ने क्रममा प्राथमिकतासाथ परिचालन गर्नुपर्छ भन्ने कांग्रेसको स्थापित मान्यता र नीतिभन्दा म बाहिर छैन । तर राज्यको दायित्वमा समेट्नुपर्ने न्यायोचित कल्याणकारी कार्यक्रम, सामाजिक सुरक्षा र आर्थिक न्यायका पक्षमा हामी किन कमजोर देखियौँ ? पार्टीका लाखौँ कार्यकर्ताको यो साझा प्रश्न आजसम्म अनुत्तरित छ ।

पार्टी भित्रको आन्तरिक गुटबाजी सबै ठाउँमा सबै गुटबाट केही न केही असर पुर्‍याउने काम भयो, जसले गर्दा कार्यकर्ताहरूलाई लाचार बनाएर विलखबन्द र किंकर्तव्यविमुढको अवस्थामा पुर्‍यायो ।
एकातिर प्रथम पार्टी र तेस्रो पार्टीको गठबन्धन नै पराजयको प्रथम कारकतत्त्व बन्यो भने अर्कातिर हाम्रा रणनीतिक सोच र प्रचार संयन्त्र अत्यन्त दुर्बल रह्यो । 

यी सम्पूर्ण पक्षको विश्लेषण तत्काल केन्द्रीय समितिको बैठकमा छलफल गरी अन्तिम निर्णय र समाधानका लागि पार्टीको महासमिति बैठक वा विशेष अधिवेशनसम्म जानुपर्ने र पार्टीलाई वैचारिक तथा चारित्रिक पुनर्जागरणद्वारा नयाँ जीवन दिनु सबैको कर्तव्य हो । यो पीडादायक पराजयपछि डढेलो लागेको जङ्गलमा नयाँ पालुवा पलाउँछ वा पतझर मौसमपछि फेरि हरियाली आउँछ भन्ने भगवान–भरोसावादी सोच लियौँ भने हामी समाप्तिको दिशातिर उन्मुख हुनेछौँ । यसको वास्तविक कारण र जिम्मेवार को कति मात्रामा हुन् भन्ने खोज्नु जरुरी छ । सर्वप्रथम पार्टीको नेतृत्व पदाधिकारी, हामी संसदीय समितिमा रहेकाहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू, जिल्ला, क्षेत्र र गाउँ/नगरसम्मको नेतृत्वको मात्रात्मक फरक होला, तर सबैको जिम्मेवारी पक्कै छ । यसमा नेता, नेतृत्व, नीति र संरचनामा नै कतिपय परिवर्तनको आवश्यकता छ भने पनि गर्नु आवश्यक छ । यसको निम्ति केन्द्रीय कार्यसमितिमा ब्यापक छलफल गरी महासमिति वा विशेष महाधिवेशनबाटै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ । २०१२ सालमा वीरगन्जमा सम्पन्न भएको छैठौँ महाधिवेशनपछि २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भएकै हो । 

अब टालटुले समाधान, बासी बानी, थोत्रा विचार छिपछिपे ज्ञान होइन, नयाँ उत्साह, नयाँ जाँगर, नयाँ विश्वासका साथ युवाशक्तिको परिचालन र पार्टीको कार्यशैलीलाई जनसमूहमा आधारित रूपबाट कार्यकर्तामा अनुशासित र दृढ संगठन बनाउनतिर लाग्नु अनिवार्य छ । पार्टीको क्रियाशील सदस्यता सम्पूर्ण रूपबाट खारेज गरी निश्चित वैधानिक मापदण्डका आधारमा पार्टीका गतिविधिमा क्रियाशील हुनसक्ने योग्यता, जनताप्रति जिम्मेवार आचरणलाई हेरी नयाँ सदस्यता दिनुपर्ने आवश्यकता भएको छ । यसबाट शिक्षा प्राप्त गर्न र यसलाई जागृतिको आह्वानको रूपमा समयमै ग्रहण गर्न नसके यो पराजय मुलुक र लोकतन्त्रकै लागि दुर्घटना निम्त्याउने कारक नहोला भन्न सकिन्न । पार्टीभित्र परिवर्तन र सुधार गरेमा वर्तमान जे–जस्तो भए पनि गौरवमय इतिहास बोकेको नेपाली कांग्रेस तथा लोकतन्त्रको भविष्य फेरि समुन्नत र उज्ज्वल छ भन्ने कुरामा कुनै द्विविधा छैन ।
केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
arjunnkc@gmail.com

प्रकाशित : पुस ४, २०७४ ०८:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लोकतन्त्र र वाम गठबन्धन

अर्जुननरसिंह के.सी.

काठमाडौँ — बडादसैँ नसकिँदै नेपाली राजनीतिमा एउटा नाटकीय घटना मञ्चन भयो, ‘वाम गठबन्धन’को । दुई कम्युनिस्ट पार्टीसहित थप एकलाई ‘एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने....’ दाबीसाथ ६ बुँदे सहमतिद्वारा चलाइएको यो कदम लोकतान्त्रिक दृष्टिकोणबाट मात्र होइन, माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट पनि कति यथार्थपरक र व्यावहारिक छ भन्ने आम जिज्ञासा रहेको छ।

यो गठबन्धनको दीर्घकालीन प्रयोजन के हो? वास्तवमा यो स्वचालित हो कि सञ्चालित? भन्ने प्रश्नहरूको ओइरो छ।

गठबन्धनका रचनाकार, सूत्रधार र प्रायोजकहरू जोसुकै हुन्, तर यसका आयोजक र संयोजकहरू विज्ञापनजस्तो अतिरञ्जित शैलीमा गठबन्धनको औचित्य वा प्रयोजनको ढोल र नगरा बजाइरहेका छन्, जसबाट जनतालाई अन्योलग्रस्त र दिग्भ्रमितमात्र बनाउने प्रयत्न भएको छ। दुई ठूला निर्वाचनको संघारमा पुगेको बेला विकसित यस्ता घटनाक्रमलाई संक्रमणकालीन र शान्ति प्रक्रियाको अन्त्य, संविधानका ऐतिहासिक उपलब्धि संस्थागत गर्न कति बाधक हुन्छ भन्ने दृष्टिले हेरिएमात्र सही निष्कर्षमा पुगिन्छ।

२०६२/६३ मा जुन अवस्था विरुद्ध जनआन्दोलन भएको थियो, त्यो अवस्था आज निमिट्यान्न हुन बाँकी रहेका पक्षहरू झन् जटिल र चाम्रो भएर रहेको छ। शान्ति प्रक्रिया टुङ्गिनसकेको, लोकतान्त्रिक गणतन्त्र संस्थागत भइनसकेको र संविधानको पूर्ण कार्यान्वयन भइनसकेको अवस्थाकै बीच बनेको यो गठबन्धनले प्रमुख दलहरूबीच ‘सहमति, सहकार्य र एकता’को औचित्यलाई लत्याइदिएको छ र थिलथिलो भएको मुलुकमा सहमतीय संस्कृति विपरीत ध्रुवीकरणलाई बढावा दिएको छ।

लोकतान्त्रिक पद्धतिमा दलहरूबीच सन्धि, सहमति र एकता हुनु सकारात्मक पक्ष हो। तर कम्युनिस्ट एकीकरणको मूल उद्देश्यबाट निर्देशित उक्त ६ बुँदे सहमतिको अन्तरनिहित आशयलाई केलाउँदा वर्तमान संविधानले सुनिश्चित गरेका अन्तरवस्तुमाथि नै प्रहार गर्ने जोखिम देखिन्छ। जस्तो, यो संविधानद्वारा परिलक्षित लोकतन्त्र र यसका प्रमुख आधारमाथि नै प्रश्न उठाइएको छ। तीन तिहाइ बहुमत र साम्यवादी शासनको स्थापनाको उद्घोष पार्टीलाई भन्दा पनि लोकतन्त्र विरुद्धको चुनौतीका रूपमा आएको छ। यसको अर्थ साविकमा एमाले लोकतान्त्रिक विकल्पको रूपमा थियो, यस प्रकरणपछिको गठबन्धन लोकतन्त्रकै विकल्पका रूपमा देखा पर्दैछ।

वाम गठबन्धनले खोजेजस्तो कार्यकारी राष्ट्रपति व्यवस्था अमेरिका बाहेक सबैजसो मुलुकमा बदनाम भएको छ। पाकिस्तान, दक्षिण कोरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, जिम्बाब्वे, ब्राजिल, चिली, भेनेजुएला आदि मुलुकका कार्यकारी राष्ट्रपतिहरूले ओहदाको दुरुपयोग गरेका कहालीलाग्दा घटना यहाँ स्मरणीय हुन्छ।
यो संविधान अन्तर्गत हुने कुनै पनि निर्वाचन जनताको सर्वोच्चतामा प्रतिस्पर्धात्मक, आवधिक र सार्वभौम हुनुपर्छ। तर वाम गठबन्धनको भाषाले प्रतिस्पर्धात्मक निर्वाचनलाई केवल प्रतीकात्मक बनाउन लागेको गम्भीर आभास दिन्छ।

संविधानको मौलिकता समाप्त गर्न दुई तिहाइ मत हत्याउने कसरत गरिए पनि वाम गठबन्धन चुनावी तालमेलमात्र हो, त्यसपछि त्यहाँभित्र हुने सत्ता प्राप्तिको हानथाप अर्को महाभारतका रूपमा प्रकट हुने अवश्यम्भावी छ। एमालेले सन्देह, सावधानी र छुट्टै गोप्य तयारीका साथ यस कार्यलाई अगाडि बढाएकोले ‘गठबन्धन’ सहज र स्वाभाविक रूपमा भएको लाग्दैन। जस्तो, एमालेले विगतमा बारम्बार ‘स्वार्थी, धूर्त र शंकालु’ भनी औँल्याएका प्रचण्डलाई सन्तुलन र नियन्त्रणमा राख्नकै लागि डा. बाबुराम भट्टराईसहितको नयाँ शक्तिलाई पनि भित्र्याएको छ।

वाम गठबन्धनमा राष्ट्रवादको नारा खुबै घन्किँदैछ। आफूमात्र राष्ट्रवादी, कांग्रेससहित अरू सबै अराष्ट्रवादी भन्ने आशयका नारा घन्काउनु पञ्चायतकालीन आभास हो। एकदलीय सर्वहारा अधिनायकत्वमा राष्ट्रवादको कुनै गुञ्जाइस हुँदैन। ठिक यही नारा पञ्चायतले आफ्नो औचित्यहीनतालाई छोप्न ३० वर्षसम्म घन्काइरह्यो, जुन नारामा कांग्रेसलाई ‘अराष्ट्रिय तत्त्व’ भनी औँल्याएको हुन्थ्यो। कम्युनिस्टहरूले ‘मुख्य दुश्मन’ र पञ्चायतले ‘अराष्ट्रिय तत्त्व’ भनी एकसाथ परिभाषित गरेको कांग्रेसचाहिँ उनीहरूका लागिसमेत लोकतन्त्र र स्वतन्त्रताको संघर्ष दृढतापूर्वक लडिरह्यो। पञ्चायती मार्का उग्रराष्ट्रवादको जडौरी नाराको औचित्य आजको युगमा छँदै छैन। यस गठबन्धनलाई नेपाली कांग्रेसले विरोध र चुनौतीका रूपमा भन्दा अवसरको रूपमा उपयोग गर्नुपर्छ। तदनुरूप पार्टी सुदृढीकरण र सम्पूर्ण एकतातिर लाग्नुपर्ने चाहिँ हामीमा चुनौती छ।

वाञ्छित नैतिकताका कारणले पनि यो गठबन्धनलाई औँला ठड्याउनुपर्ने भएको छ। वाम गठबन्धनको हर्ताकर्ता नेकपा (माओवादी केन्द्र) ले सत्तामै बसेर गठबन्धनका गतिविधि गरिरहेको छ। हालको गठबन्धन सत्ता छोडेर विदा लिएपछि मात्र उसलाई नैतिकताले बाटो दिन्थ्यो। द्वन्द्वकालीन मानवता विरुद्धको अपराधमा कारबाही हुने प्रबल सम्भावनाले माओवादीलाई एमालेतिर पहिचान विसर्जन गर्न धकेलेको विश्लेषण र तर्कले बजार गर्माएको छ। ‘म अब माओवादीमात्र होइन, कम्युनिस्ट पनि छैन...’ भन्दै एमालेलाई ‘तेस्रो लिङ्गी’ भनी विगतमा धेरैपटक दुत्कार्नु भएका डा. बाबुराम भट्टराई फेरि कम्युनिस्ट, त्यो पनि ‘तेस्रो लिङ्गी’कै नाम र निसान बोक्न पुग्नुभएको अर्को रमिता त्यहाँ छ।

साम्यवादका सिद्धान्तकार लेनिनकै परिभाषाको कसीमा हेर्दा यो गठबन्धन अवसरवादी र संशोधनवादी चरित्रको ठहर्छ। अवसरवाद र संशोधनवादबारे लेनिनले भनेका छन्, ‘प्रत्येक नयाँ परिस्थिति अनुसार आफ्नो आचरण निर्धारण गर्नु, वर्तमान घटना, सानातिना राजनीतिक तिकडम अनुसार आफूलाई ढाल्नु, सर्वहाराको मूल हित र सम्पूर्ण पुँजीवादी व्यवस्थाका आधारभूत लक्षणहरू, सम्पूर्ण पुँजीवादी विकासबारे बिर्सिदिनु, वास्तविक अथवा अनुमानित क्षणिक लाभको लागि यी मूलभूत हितहरूको बलिदान गर्नु– यही हो संशोधनवादी नीति।’ (लेनिन, संकलित रचना–१, पृ. ३३)।

लोकतान्त्रिक गठबन्धन
वैज्ञानिक न्युटनको ‘तेस्रो नियम’ राजनीतिमा पनि लागू हुन्छ, ‘हरेक क्रियाको उत्रै विपरीत प्रतिक्रिया हुन्छ।’ यस अनुसार वाम गठबन्धनको स्वाभाविक परिणति लोकतान्त्रिक गठबन्धन विकसित भएको छ। नेपाली कांग्रेससँग माओवादीले गरेको ३ बुँदे सहमति तोडेपछि हाम्रालागि यो अवस्था रहर होइन बाध्यता हो। लोकतान्त्रिक गठबन्धनमा सामेल भएका ६ वटा दलमध्ये सबैले आ–आफ्नो विशिष्ट पहिचानको प्रतिनिधित्व गरेका हुनाले वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनका धेरै जनआकर्षण, आयाम र व्यापक विशेषता रहेका छन्। यी सबै संसद्मा उपस्थित राष्ट्रिय दलहरू हुन्।

२०४६ सालमा जनआन्दोलनको नेतृत्वद्वारा कांग्रेसले वर्तमान एमालेलाई प्रजातान्त्रिक मूलधारमा समावेश गर्न एवं वर्तमान माओवादी केन्द्रलाई शान्ति प्रक्रियाको माध्यमद्वारा बहुलवादी खुला लोकतान्त्रिक राजनीतिको मूलप्रवाहमा आउन सहजकर्ता र समन्वयकारीको भूमिका निर्वाह गरेको हो। कांग्रेस आफ्नालागि मात्र होइन, आफ्नो विरोध गर्नेहरूको मुक्ति र स्वतन्त्रताका लागिसमेत लडेको पार्टी हो। आफ्ना लागि धेरै अधिकार र अरूका लागि थोरै अधिकारका लागि पनि लडेको होइन, सबैको बराबरी अधिकारका लागि कांग्रेसले आफ्नो संघर्षशील र आन्दोलनकारी संस्कारलाई कायम राख्दैआएको छ।

यो लोकतन्त्रको युग हो, साम्यवादको युग होइन। विश्वभरि नै स्वतन्त्रता र लोकतन्त्रको आवाज घन्किरहेको युगमा हामी छौँ। २००७ सालको क्रान्तिले पूर्णता दिन नसकेका कार्यभारलाई कांग्रेसले पटक–पटकका जनआन्दोलनबाट पूरा गरेको छ। संविधानसभाले बनाएको संविधान कांग्रेसकै लोकतान्त्रिक आदर्श अनुरूप परिकल्पना गरेको दस्तावेज हो, जसमा प्रत्येक नागरिकले आफ्नो अनुहार हेर्न सक्छ। हो, संविधानलाई परिमार्जन र संशोधन गर्दै अझ सर्वानुकूल र ब्यापक बनाउँदै लैजाने जिम्मेवारी छ, कांग्रेस त्यसलाई पूरा गर्न दृढसंकल्पित छ। त्यसैले हाल विकसित घटनाक्रमबाट नेपाली कांग्रेसका कार्यकर्ताहरूले कमजोर महसुस गर्नुपर्ने कुनै कारण छैन। आफ्नो स्थापनादेखि नै अनेकौँ चुनौती र व्यवधानलाई चिर्दै संघर्षै–संघर्षको इतिहास बोकेको कांग्रेसलाई यस्ता गठबन्धनले कुनै फरक पार्दैन। बाहिरी प्रहारको भूमिकाले कांग्रेस कमजोर होइन, झन् बलियो भएर आउँछ।

साँच्चै भन्नुपर्दा, कांग्रेसको समस्या पार्टी बाहिर होइन, पार्टीभित्रै छ।
उपरोक्त परिस्थितिले नेपाली कांग्रेसलाई अझ संवेदनशील, सम्पूर्ण एकता, जिम्मेवार र सावधानीसाथ अग्रगामी कदम चलाउनुपर्ने अनिवार्यता थपेको छ। थोत्रा आश्वासन, बासी बानी, विचार र विगतको शिक्षाबाट विमुख भएर वाम गठबन्धनको झैँ जनतालाई लट्पटयाएर जिम्मेवारीको बेडा पार गराउने धृष्टता अब निरर्थक कल्पना हुन्छ। गति छाडा र विधि टाढा भएको गतिविधिको नतिजा कहिल्यै सुखद नहुने हेक्का राख्नैपर्छ।

जनाधारमा अहिले पनि कांग्रेस बहुमत तथा सबल अवस्थामा छ। तर निरुत्साहित जनाधारलाई आशा र भरोसाको सञ्चार गरी उत्साही बनाउने, जनप्रिय पात्रलाई मात्र उम्मेदवारीको टिकट दिने, पार्टी अनुशासनको अत्यन्त कडाइसाथ पालन गर्नैपर्छ। अनुशासन तोड्ने र निर्वाचनमा अन्तरघात गर्नेलाई मोलाहिजा गर्न थालियो भने भएको जनाधार पनि निर्ममतासाथ गुम्ने भएकोले कांग्रेस केन्द्रीय समितिको हालैको बैठकले केही ठोस निर्णय लिएको छ। इतिहासले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक आन्दोलनको नामद्वारा अंकित गरेको छ। फेरि एकचोटी सबै प्रजातान्त्रिक शक्तिलाई संयोजन गर्दै प्रजातन्त्रको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व यसलाई आएको छ। तसर्थ वाम गठबन्धनका चहलपहल र भ्रामक प्रपोगन्डाबाट हामीले अनुभव, परिपक्वता र सफलता हासिल गर्ने अवसरबाट स्वयंलाई वञ्चित गर्नु हुँदैन।

केसी सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।
arjunnkc@gmail.com

प्रकाशित : आश्विन २४, २०७४ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT