२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मुखिया प्रवृत्ति

कुनै गाउँका मुखियालाई शिखर यात्रामा जान मन लागेछ । सबै गाउँलेले पत्याएका अनि आफ्नो अगुवा मानेका हुनाले उनको कुरामा गाउँलेको असहमति हुने प्रश्नै रहेन । उनको इच्छा र चाहनाको सम्मान गर्दै गाउँलेहरू पनि साथ लागेछन् ।

मुखिया प्रवृत्ति

कुनै गाउँका मुखियालाई शिखर यात्रामा जान मन लागेछ । सबै गाउँलेले पत्याएका अनि आफ्नो अगुवा मानेका हुनाले उनको कुरामा गाउँलेको असहमति हुने प्रश्नै रहेन । उनको इच्छा र चाहनाको सम्मान गर्दै गाउँलेहरू पनि साथ लागेछन् । यात्रा निकै लामो र चुनौतीपूर्ण थियो, तर अनुभव तथा स्रोतसाधन उनीसँग मात्र । यात्रा थालियो, समय बित्दै गयो, कैयाँै बिसौनी आए–गए, दिन–रात, हिउँद–वर्षा भए, यात्रा रोकिएन । हरेक उचाइमा पुग्दाको सफलताले मुखियाको मनोबल अहम्मा परिणत हुन थाल्यो । सफलताको उन्मादमा उनी अझै माथि–माथि जाने सपना देख्न थाले । यही सपनाले उनलाई उनको वास्तविकता बिर्साइदियो । त्यसैले उनले पछि फर्केर हेर्न चाहेनन् । आफूसँग आएका आफन्त तथा गाउँले कसैलाई पनि सम्झेनन् । निरन्तर उकालो चढिनै रहे । अन्तत: एकदिन सर्वोच्च स्थानमा पुगे अनि आफ्नो जितको खुसी बाँड्न पछाडि फर्केर हात उठाउँदा त त्यहाँ केवल शून्यता भेट्टाए । कोही एकजना पनि उनको साथ थिएन । छाँगाबाट खसेझैँ भएर उनले परपरसम्म नियालेर हेर्न थाले, तर कसैको उपस्थितिको आभाषसम्म उनलाई भएन । आफ्नो खुसी कसैलाई बाँड्न नपाउँदा अनि यात्राको अनुभव साँट्न नपाउँदाको पीडाले छटपटाउँदै उनी जब आफ्नो गाउँमा पुगे, त्यहाँ त केवल औंलामा गन्न सकिने गाउँलेको उपस्थिति पाए, जो त्यस कठिन यात्राबाट बचेर फर्केका थिए । बाँकी सबै त बीचैमा रोग, भोक तथा प्राकृतिक प्रकोप आदिको सिकार भइसकेका रहेछन् । आफ्नो भुलप्रति लज्जित हुँदै उनले तबमात्र संघको महत्त्वबोध गरेछन् ।

एकादेशको यो कथा हालै सम्पन्न निर्वाचनका सन्दर्भमा सान्दर्भिक देखिएको छ । नेपाली कांग्रेसको नेतृत्वमात्र विजयी हुनु तर सङ्गठन पराजयी भएको परिप्रेक्ष्यमा कांग्रेसका विजयी उम्मेदवारहरूमध्ये अधिकांशले फर्केर हेर्दा यही नियति भोग्नुपरेको देखिन्छ । कांग्रेसको यस्तो लज्जास्पद पराजयका पछाडि दृश्य रूपमा विभिन्न पक्ष जिम्मेवार भए पनि अदृश्य रूपमा भने यसको नेतृत्वको उही मुखिया प्रवृत्ति नै जिम्मेवार देखिन्छ । इतिहासलाई फर्केर हेर्ने हो भने नेपाली कांग्रेस जहानियाँ राणाशासन विरुद्ध संघर्ष गर्ने एक्लो दल थियो । प्रजातन्त्रको पुन:स्थापनाका लागि पनि लामो संघर्ष गरेको यसले २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्दै तत्पश्चात्को निर्वाचनमा २ पटक अग्रस्थानमा आएर पूर्ण बहुमतको सरकार बनाएको थियो । दुर्भाग्यवश, त्यो सरकारले पूर्णकाल उपयोग गर्न त पाएन नै, त्यसपछि आजसम्म पनि कुनै दलले आफ्नो एकमना सरकार बनाउने अवसर पाएका छैनन् । आफ्नै पार्टीको सरकार ढालेर मख्ख परेका कांग्रेसी नेताहरूलाई जनमतको श्राप त लाग्यो नै, त्यसबाट अन्य दलहरू पनि अछुतो रहन सकेनन् । प्रजातन्त्रको पुन:स्थापनापछि पनि राजनीतिक अस्थिरता कायमै रह्यो । आफ्नै दलभित्रको असन्तुष्टि, सत्ता र शक्ति संघर्ष तथा जितको उन्माद आदिजस्ता कारणले कमजोर बन्दै गएको कांग्रेसले जनचाहना बुझ्न नसक्नु तथा संगठन सुधारमा ध्यान नदिनाले हालै सम्पन्न निर्वाचनको यस्तो परिणाममा चित्त बुझाउनुपरेको छ ।

जनताबाट पाएको समर्थन र मतलाई आफ्नो अधिकार सम्झने अनि जनअपेक्षाको सम्बोधन गर्नतिर ध्यान नदिने जस्ता प्रवृत्ति कांग्रेसका कमजोरी बने । यसका साथै दलभित्र कहिले फुट अनि कहिले जुट हुँदै चरम गुटबन्दी सिर्जना हुँदै गयो । पुराना र त्यागी कार्यकर्तालाई पाखा लगाएर नवप्रवेशीहरू हावी हुँदै जानु यसका लागि राम्रो लक्षण थिएन भने आमजनता तथा कार्यकर्ताले नरुचाए पनि पटक–पटक उही अनुहार पार्टीको नेतृत्व तह र जनप्रतिनिधिको दाबेदार भइरहनु, सङ्गठनलाई भन्दा व्यक्तिलाई महत्त्व दिनु, नेतृत्व वर्गले पार्टीलाई आफ्नो पुस्तौनी विरासत ठान्दै त्यसमा निरन्तर आफ्नो र आफ्नाहरूको प्रभुत्व कायम राख्नका लागि आम कार्यकर्ता असन्तुष्ट हुनेगरी निर्णय लिनु, गत स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनसम्म पनि जिताउने उद्देश्यले नभई गुन लगाएर आफ्नो बनाउने नियतले उम्मेदवार सिफारिस गर्नु आदिजस्ता कमजोरी कांग्रेसको पराजयका भागिदार देखिन्छन् । यसका साथै जनताले पत्याएको दल भएर जनमत पाएपछि जे गरे पनि जनताको समर्थन पाइन्छ भन्ने गलत सोचाइ पनि यसका लागि प्रत्युत्पादक देखिएको छ ।

हालै समपन्न निर्वाचनको परिणामले जनताका केही अपेक्षाको प्रतिविम्बन गरेको देखिन्छ, ती अपेक्षा हुन्— राजनीतिक स्थिरता, दिगो शान्ति एवं विकास र समृद्धि । वर्षौंदेखिको अस्थिर राजनीति र त्यसले उब्जाएको किचलोको निकास खोजिरहेका आम नेपालीले हालैको निर्वाचनमार्फत स्थिर सरकारको चाहना राखेका छन् । निरन्तर खस्किरहेको आर्थिक–सामाजिक अवस्था अनि बढिरहेका अनेक विकृति–विसङ्गतिको कारण राजनीतिक अस्थिरता हो भन्ने सुन्दै आएका जनताले स्थिर सरकारका माध्यमबाट उपयुक्त समस्याबाट मुक्ति चाहेका छन् । यसैगरी निर्वाचन परिणामले देखाएको अर्को पक्ष हो, जनताको सचेतता । जनता कुनै व्यक्ति, दल अनि विचारको बन्दी नभएर स्वतन्त्र छन् । उनीहरू जनादेशको पालना गराउन खबरदारी गर्नसमेत सक्षम भइसकेका छन् ।

विकास निर्माण एवं समृद्धिका दृष्टिले पछि परे तापनि आम जनताको चेतनास्तर निकै माथि पुगिसकेको छ । आफ्नो हक–अधिकार तथा सही–गलतबारे आम नागरिक सचेत भइसकेको अवस्थामा अहिलेको वाम गठबन्धनले प्राप्त गरेको बहुमत पनि कम चुनौतीपूर्ण छैन । यो विजय तथा जनताबाट प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्ने हो भने जनताले पुन: अर्को बाटो रोज्नेछन् । ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ भन्ने उखान चरितार्थ गर्दै गठबन्धनभित्र किचलो झिक्ने अनि यो जितलाई कुनै दल विशेषले अहम् र उन्मादमा परिणत गर्ने प्रयाससम्म गर्नु पनि उसका लागि प्रत्युत्पादक बन्नेछ । किनभने शिखरमा पुग्नु जति चुनौतीपूर्ण हुन्छ, त्यहाँ टिकिरहनु त्योभन्दा कैयौँ गुणा कठिन र चुनौतीपूर्ण हुन्छ । कुनै पनि दल तथा नेतालाई सफलताको शिखरमा पुर्‍याउने आम जनताका हात तबसम्म मात्र उसको साथमा रहन्छन्, जबसम्म उनीहरूको समर्थनको मान रहिरहन्छ । माथि पुगेपछि जे–जस्ता निर्णय गरे पनि जनसमर्थन पाइहालिन्छ भन्ने गलत सोचको अन्त्य पनि यस निर्वाचनको सन्देश बनेको देखिन्छ । जसरी रुखका हाँगाबिँगाले आफू झाङ्गिनुको जश जरालाई दिन बिर्सने हो भने ती सुकेर झर्न बेर लाग्दैन, त्यसरी नै कुनै पनि राजनीतिक दल तथा नेताले आफ्नो अवस्थितिसँग जनताको सम्बद्धतालाई बिर्सने हो भने ऊ एक्लिन पनि बेर लाग्दैन । त्यसैले हरेक राजनीतिक दलको नेतृत्वले इतिहासको सम्झना गर्दै आफ्नो दौडाहाको बीचबीचबाट फर्केर हेर्दै गर्नुपर्छ, ताकि ऊ एक्लै छ या अरू कोही पनि उसको साथ आइरहेछन् ।

विजय या पराजय जे भए पनि सबैमा एउटा अवसर लुकेको हुन्छ । आज हाम्रो राजनीतिक मैदानको अग्रस्थानमा जो रहेका छन्, आफूलाई जनताको मालिक नभई सेवक मानेर निष्कलंक जनसेवा गर्ने अवसर छ, ताकि जनताको मनमा सदा उनीहरूप्रति सम्मान बनिरहोस् । जो पछि परेका छन्, उनीहरूसँग पनि अवसर छ, विगतका कमी–कमजोरीको लेखाजोखा गर्दै सङ्गठित भएर पुन: जनताको विश्वास प्राप्त गर्ने वातावरण बनाउने । रात जति नै कालो र कष्टकर किन नहोस्, त्यसको समाप्ति निश्चित छ, अनि सुनौला बिहानीको प्रतीक्षा गर्न सक्नुपर्छ । अत: यो निर्वाचन परिणामले नेपाली कांग्रेसलाई मात्र होइन, अन्य दलहरूलाई पनि आफ्नो विगततर्फ फर्केर हेर्न बाध्य बनाएको छ ।
[email protected]

प्रकाशित : पुस ४, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?