२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

निर्वाचनबाट हिंसा खारेज

कृष्ण पहाडी

जितमा फुर्किने र हारमा झोँक्किने चरित्र साधारण नेताको हो । जितको उन्माद र पराजयको पीडाभन्दा माथि उठ्न सक्नु नै राजनेताको चरित्र हो । सत्तालाई नै सर्वस्व ठान्नेहरू टापटिपे राजनीतिज्ञ हुन् भने मूल्य र निष्ठाको राजनीति गर्नेहरू इतिहासमा अंकित हुने पात्र हुन् ।

निर्वाचनबाट हिंसा खारेज

यस पटकको निर्वाचनमा केही उम्मेदवारले निर्वाचनपश्चात प्रदर्शन गरेको शालिन आचरणले धेरैको मन जितेको छ । तीमध्ये एउटा पात्र हुन्, रामचन्द्र पौडेल । २०४८ सालपछिको संसदीय निर्वाचनमा अपराजित रहँदै आएका पौडेल यसपटक पराजित हुनपुगे । अन्तिम परिणाम सार्वजनिक भएपछि पौडेलले विजेता उम्मेदवारलाई बधाईमात्र दिएनन्, वाम गठबन्धनको विजय जुलुसमै पुगेर सबै विजेतालाई खादा ओढाई बधाई र सम्मान पनि प्रकट गर्न पुगे । लोकतन्त्रका लागि एक दशकभन्दा बढी काराबास भोगेका पौडेलले स्पष्ट सन्देश दिएका छन्, निर्वाचनमा जितहार हुन्छ, परिणाम स्वीकार गर्नुपर्छ । लोकतन्त्रभन्दा माथि कोही हुँदैन ।

त्यस्तै अर्का पराजित उम्मेदवार हुन्, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जसले मतपरिणाम पूरा नआउँदै आफ्ना प्रतिद्वन्द्वीलाई बधाई तथा शुभकामना दिए । निर्धक्कसँग आफ्नो पराजय स्वीकार गर्ने आँट साधारण नेतामा हुँदैन, त्यसमा पनि माओवादीका एकजना वरिष्ठ नेताबाट प्रदर्शन भएको यो शिष्टता असाधारण नै मान्नुपर्छ । नारायणकाजी श्रेष्ठले स्पष्ट सन्देश दिएका छन्, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, तर राजनीतिमा शत्रुता हुनुहुँदैन । 

अमेरिकामा राष्ट्रपति निर्वाचनको परिणाम आउनासाथ पराजितले विजयी उम्मेदवारलाई पहिलो बधाई दिने परम्परा विद्यमान छ । अमेरिकामा सन् २००८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याककेनका समर्थकहरूले भन्थे कि ओबामाले जति वर्ष सिनेटमा बिताएका छन् (झन्डै ४ वर्ष) त्योभन्दा बढी म्याककेनले युद्धबन्दीका रूपमा यातना भोगेका छन् । पराजित भएपछिको सभामा आफ्ना कतिपय समर्थकको अनिच्छा र सुस्केराका बाबजुद म्याककेनले ओबामालाई बधाई दिएका थिए । 

२ वर्ष अघिसम्म मधेस अशान्त थियो । ६ महिना अघिसम्म मधेस केन्द्रित दलहरूले पहिलो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेका थिए । बहिष्कारबाट होइन, लोकतन्त्रको धारालाई स्वीकार गरेर मात्र जनताको मन जित्न सकिन्छ भन्दै उपेन्द्र यादवले निर्वाचनमा भाग लिने साहसिक निर्णय गरे र त्यसैलाई महन्थ ठाकुर र राजेन्द्र महतोले पछ्याए । आज यी पात्र आफूमात्र निर्वाचनमा विजयी भएका छैनन्, अपितु संसदमा आफ्नो दललाई सम्मानजनक स्थान दिलाउन पनि सफल भएका छन् । यी र यस्ता अनेकौं उदाहरण छन्, जसले अब नेपालमा लोकतन्त्रको विकल्प सोच्न पनि नसकिने सन्देशसहित लोकतान्त्रिक विधिबाटै समस्याको समाधान हुनसक्छ र गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । 

निर्वाचन बिथोल्ने नियतले आततायीहरूले गराएको विस्फोटमा परेर विनोद चौधरीको मृत्यु भयो । तत्कालीन म्यादी प्रहरी चौधरी निर्वाचनका लागि खटिएका एक होनहार नागरिक थिए भने नेपाल आमाका एक सपुत । कर्तव्य निर्वाह गर्ने क्रममा विनोद चौधरीले वीर गति प्राप्त गरे, यस्तै वीरताले हिंसाको त्रास पानीको फोकाजस्तै फुटेर गयो । बम र बारुदले जनताको विवेकलाई बन्धक बनाउन सकेन । हिंसालाई खारेज गर्दै मतदानका लागि बस्ती–बस्तीबाट निस्किएको लस्कर विश्वकै लागि उदाहरण हो । यसबारे आउँदा दिनमा अझ धेरै खोजिनेछ, लेखिनेछ, बोलिनेछ र त्रासदीलाई चिर्दै कसरी नेपालीले हिंसालाई खारेज गरे भन्ने उदाहरण शेष विश्वलाई दिनेछ । 

समाचार अनुसार मंसिर २१ गते बिहानीपख पाल्पामा १०१ वर्षीया वृद्धाको कालगतिले मृत्यु भयो । सदगत गर्न नदी किनारतर्फ लागेका मलामीहरू शव बोकेरै मतदान गर्न मतदान केन्द्रतिर लागे र मृतकका छोरा युद्धराज गैरे लगायत १६ जना मलामीले पाल्पामा मतदान गरे । मतदानको दिन मतदान गर्न छोडेर तास खेल्दै राजनीति र लोकतन्त्रलाई सत्तोसराप गर्नेहरूबारे अब भन्नु केही पनि छैन । तर स्व. लीलाकुमारी गैरेका मलामीहरूले स्थापित गरेको उदाहरण धेरै वर्षसम्म पढिनेछ, सुनिनेछ र गुञ्जिनेछ । गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचनको दिन मंसिर २१ गते अपरान्ह आफ्नी आमाको निधन भएको दु:खद खबर पाए । कर्तव्यपरायणताको दृष्टान्त हो, यो उनी रातभरि मतगणनामा व्यस्त रहे । यी यस्ता उदाहरण हुन्, जुन विश्वका समृद्ध भनिएका लोकतन्त्रमा पनि विरलै पाइन्छ । 

सय वर्ष हाराहारीका बाआमाहरूले मतदानमा सहभागिता जनाउँदा सिंगो नेपालले गौरवानुभूति गरेको छ । लाग्थ्यो, उनीहरू नेपालको लोकतन्त्र चिरस्थायी होस् भनी सबैलाई आशिर्वाद दिँदैछन् । मतदानस्थल अपांगमैत्री नहुँदा पनि शारीरिक रूपमा अपाङ्गता भएकाहरूले मतदान प्रक्रियामा देखाएको उत्साह झनै उदाहरणीय छ । शारीरिक रूपमा होचा हुन् वा पुड्का, मतदानप्रतिको निष्ठाले तिनलाई धरहराजस्तै अग्लो बनाएको छ । कमजोरी त तिनीहरूको सोचमा छ, जो लोकतन्त्रमा सधैं खोट देख्छन् । देश र जनतालाई कहीं पनि गाली गरिँदैन, गर्न पाइँदैन । ‘नेपाल देश नै यस्तो हो, नेपाली नै यस्ता छन्’ भनी देश र जनतालाई धारेहात लाएर सराप्ने/गाली गर्नेहरूको मनमस्तिष्कमा छ, कमजोरी ।

युवा पुस्ता राजनीतिमा अझ सक्रियतासाथ जोडिन थालेको छ । विगतमा निर्वाचनका दौरान उदासीन देखिँदै आएको यो पुस्ता अहिले इन्टरनेट/सामाजिक सञ्जालमार्फत राजनीतिक बहसमा तीव्र रूपमा सहभागी हुनथालेको छ । कतिपयले आफूलाई विचारकको रूपमा प्रस्तुत गर्न थालेका छन् भने कतिपयले आफैँ उम्मेदवारझंै भाव व्यक्त गर्न थालेका छन् । यसका लागि न तिनलाई कुनै प्रकाशन गृहसम्म धाउनुपरेको छ, न सेन्सर बोर्डको स्वीकृति पाउनुपरेको छ । मतदाताले उम्मेदवार/दलमा आफ्नो विचारको प्रतिविम्ब खोज्छ र मन–विचार मिल्नेलाई नै रोज्छ । निर्वाचन र राजनीतिप्रति तन्नेरी पुस्तामा यसपटक देखापरेको उत्साहले उज्यालो भविष्यको संकेत गर्छ । 

स्थानीय, प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचनपश्चात मतपरिणाम थाहा पाउन आम नागरिकमा देखापरेको हुटहुटी अर्को चाखलाग्दो पक्ष हो । कछुवाको गतिमा सुरु भएको मतगणना रिठ्ठो नबिराई झन्डै ७ दिनसम्म टेलिभिजनमा हेर्ने, रेडियोमा सुन्ने र इन्टरनेटमा झुन्डिएको दृश्यले नेपालीको निर्वाचनप्रतिको मोह र गहिरो चासो प्रस्ट गर्छ । 

यो निर्वाचनमा बधाईका अनेकौं पात्र छन् । कैयौं कमजोरी भए तापनि निर्वाचन सम्पन्न गराएरै छाड्ने कट्टिबद्धता निर्वाचन आयोगमा देखियो । यसका लागि समग्र निर्वाचन आयोग र त्यसको नेतृत्व अयोधिप्रसाद यादव बधाईका पात्र छन् । केही वर्ष अघिसम्म लोडसेडिङबाट आक्रान्त वातावरणमा सुधार ल्याउँदै निर्वाचनका दौरान पनि लोडसेडिङ हुन नदिने अर्का सुपात्र कुलमान घिसिङलाई पनि यहाँ स्मरण गर्नैपर्ने हुन्छ । आफ्नो मताधिकारभन्दा पनि पनि शेष नेपालीको मताधिकार सुरक्षित गर्न अहोरात्र खट्ने सबै सुरक्षा निकाय, प्रशासन संयन्त्र सबै बधाईका पात्र छन् ।

मंसिरको चिसोमा हिमाली क्षेत्रमा निर्वाचन सबैका लागि कष्टप्रद हो भने स्वयं पहाड र तराईमा पनि अनुपयुक्त हो । अत्यधिक चिसोका कारण हिमाली क्षेत्रबाट बेँसीमा झर्न आतुर नागरिक चिसो छिचोल्न एक गाउँबाट अर्को गाउँ सर्दै मतदान गर्ने मितिसम्म पर्खिएको घटना आफैमा अभूतपूर्व छ । हिंसाको पसल थापेर बसेका तराईका सशस्त्र समूह र घृणाको व्यापारीहरूको आँखा छलेर भए पनि मधेसका दूरदराजका नागरिकले आफ्नो मत हालेरै छाडेका छन् । अनेकांै प्रतिकूलताका बाबजुद ७० प्रतिशतको हाराहारीमा मतदान हुनु अभूतपूर्व घटना हो । यसरी लोकतन्त्र र आवधिक निर्वाचनले देशलाई अझ बलियो गरी जोडेको छ । टोपी, धोती, कछाड वा अरु जेजस्तो पोसाक लगाउने नागरिक हुन्, एकले अर्कोलाई जिताउन कम्मर कसेर लागेको देखिएको छ । सयभन्दा बढी भाषामा मत मागिएको छ । हरेक संस्कृतिले निर्वाचनलाई पर्वको दर्जा प्रदान गरेको छ भने निर्वाचन नै संस्कृतिको रूपमा स्थापित भएको छ । लोकतन्त्रले नै सद्भावको धारालाई विस्तारित गरेको छ । समग्रमा, लोकतन्त्रको स्वामित्व ग्रहण भएको छ । लोकतन्त्रप्रति जनताको अपनत्वमा वृद्धि भएको छ । 

लोकतन्त्रको संरक्षकका रूपमा जनता आफै अघि बढेका छन् । जनता जति बलियो हुँदै जान्छन्, नेपाल राष्ट्र अझ बलियो हुँदै जान्छ र नेपालको स्वाभिमान अझ उँचो हुँदै जान्छ ।
प्राविधिक रूपमा जय र पराजय निर्वाचनको दुइटा पाटा हुन् । एक मत हासिल गर्नु पनि एक आत्माको विश्वास प्राप्त गर्नु हो । तसर्थ उपलब्धि हो । विजयको स्वाद जति मिठो हुन्छ, पराजयको स्वाद त्यति नै तितो । मिठो मुखमा धेरैबेर रह्यो भने किटाणु पैदा हुन्छ । तसर्थ कुल्ला गरिहाल्नुपर्छ । तितो मनमा रहिरह्यो भने सबैभन्दा बढी आफैँलाई कोक्याउँछ । निर्वाचनमा मत दिएनन् भनेर जनतालाई गाली गर्नु आफ्नै अयोग्यता प्रदर्शन गर्नु हो । यो निर्वाचनमा कोही हारेर पनि जितेका छन् भने कोही जितेर पनि हारेका छन् । हिंसालाई अपराधको रूपमा लिँदै प्रारम्भदेखि नै स्पष्ट दृष्टिकोणसहित गृहको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तुत भएको भए नेपाली कांग्रेसले पनि सायद यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन होला ।

अमृत मन्थन गर्दा यदाकदा विषको पनि प्रादुर्भाव हुन्छ । निर्वाचनका दौरान विषको रूपमा कैयन विकृति पनि देखिएका/भित्रिएका छन् । ती विकृति निदानका लागि गम्भीर भएर भविष्यमा विकृति दोहोरिन नदिनु सबैको दायित्व एवं कर्तव्य हो । त्यस्ता विकृतिले लोकतन्त्रलाई खण्डित बनाउँछ र विगतमा निरंकुश सत्ताको स्वाद चाखिसकेका र वर्तमानमा हिंसाको च्याँखे थापेर बसेका जुवाडेहरूलाई मात्र उत्साहित तुल्याउँछ । समग्रमा, हिंसा अपराध हो भने जघन्य हिंसा मानवता विरुद्धको अपराध हो । यस्तो अपराध जजसले गरे, तिनीहरू मानवता विरुद्धका अपराधी हुन् । त्यस्तो हिंसालाई खारेज गरेर नेपाली जनताले असाधारण वीरताको प्रदर्शन गरेका छन् । निर्वाचनको हलुवामा त्रासदीको बालुवा मिसाउन खोजे तापनि जनताले त्यस्तो बालुवालाई चालेर हलुवाको मौलिकता जोगाएका छन् । यसरी हेर्दा निर्वाचन एउटा पर्वका रूपमा मनाउँदै समापन भएको छ । यो पर्व हरेक ५ वर्षको अन्तरालमा अझ उत्साहसाथ मनाइनेछ । 

जनयुद्धको नाममा जसरी एक दशकसम्म हिंसामा लिप्त भएकाहरू यो निर्वाचनमा उत्साहसाथ भाग लिए, त्यसैगरी वर्तमानमा विस्फोटनको ताण्डव मच्चाउनेहरू अर्को निर्वाचनमा भाग लिने वातावरण बन्नेछ । कसलाई दण्डित गर्ने र कसलाई पुरस्कृत गर्ने भन्ने अधिकार जनतामै निहित भएको हुँदा निर्वाचनको माध्यमबाट जनतामा जानु बाहेक अर्को विकल्प छैन भन्ने हेक्का सबै उपद्रवीहरूले बेला छँदै बुझ्नु जरुरी छ । यसैगरी लोकतन्त्रको काँधमा चढेर लोकतन्त्रकै घाँटी न्याक्ने अपराध कसैले गरे भने अन्तत: जनताले नै सजाय दिनेछन् । जनताको विश्वासलाई खण्डित गर्नेहरू जनताबाटै दण्डित हुनेछन् । तसर्थ सुशासनलाई प्रत्याभूत गर्नु, पारदर्शितालाई उच्च तवरमा अवलम्बन गर्नु र समृद्धिको दिशामा अग्रसर हुनु अब बन्ने सरकार र संसदको प्राथमिकता हुनुपर्छ । तब मात्र जनताले प्रकट गरेको अभूतपूर्व साहसको सम्मान हुनेछ र जनताप्रति न्याय हुनेछ । अहिंसाको मार्गबाटै सद्भावको धारालाई प्रवाहित गराउँदै तोड्ने होइन, जोड्ने कार्यमा सबैको समर्पण नै नेपाल राष्ट्रप्रति योगदान हुनेछ । 

प्रकाशित : पुस ५, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?