३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेसका ऐंजेरू

रामेश्वरी पन्त

प्रत्यक्ष निर्वाचनमा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले समानुपातिकमा एमाले बराबरकै सिट जित्नुले यो दलप्रति जनताको विश्वास खस्कि नसकेको देखाउँछ । यो परिणामले ‘कांग्रेस पत्तासाफ भयो’ भन्दै ‘काखी बजाइरहेकाहरू’लाई पनि सोचनीय बनाएको होला ।

कांग्रेसका ऐंजेरू

जे होस्, प्रत्यक्ष र समानुपातिकको नमिल्दो परिणामले एउटा गम्भीर प्रश्न भने उठाएको छ । त्यो प्रश्न हो– किन कांग्रेसका ‘मै हुँ’ भन्नेहरू धेरैले प्रत्यक्ष निर्वाचनमा पराजय भोगे ? यसको सही उत्तर अब पार्टी भित्रैबाट खोजिएन र कांग्रेसलाई सुधारिएन भने बचेखुचेको जनविश्वास पनि आगामी निर्वाचनमा धुमिल बन्ने पक्का छ । 

मतदाताले कांग्रेसलाई माया नगरेको भए र यो पार्टी साँच्ची नै पत्तासाफ होस् भन्ने चाहेको भए समानुपातिकमा पनि नतिजा प्रत्यक्षकै जस्तो आउनुपर्ने हो । तर माया गरेरै पार्टीको भविष्य सुधार्न प्रत्यक्ष चुनावमार्फत मतदाताले कांग्रेस नेतृत्वलाई गतिलो सन्देश दिएका छन् । यसैले कांग्रेस नेतृत्वले बेलैमा यो सन्देशको मर्म बुझ्न जरुरी छ । इतिहासका पाना पल्टाउँदै ‘टालो सुँघेर’ मात्र भविष्य बन्दैन । कांग्रेस नेताहरूमा पलाएको ‘अहंकारको ऐँजेरु’ भलै उनीहरूले देखेनन् होला । तर जनता, जसले कांग्रेसलाई माया गरिरहे, उनीहरूले बुझे र त्यो एँेजेरुको जरा उखेल्न जरुरी ठाने । कांग्रेसको ‘ऐँजेरु’ अरु केही नभएर स्वयं कांग्रेसभित्रैका अहंकारी, भ्रष्ट, निष्ठाहीन, सिद्धान्तहीन, क्षमताहीन र लोभी नेताहरू हुन्, जसले जहिल्यै देश र जनताको हितभन्दा व्यक्तिगत स्वार्थलाई महत्त्व दिए र पदका लागि मरिमेटे । यिनै ‘ऐँजेरुहरूले लोकतन्त्रको दुहाइ दिँदै बारम्बार जनतासँग अनुमोदित हुनपुग्ने, तर सत्तामा पुगेपछि जनचाहनाको बेवास्ता गर्ने गरेकाले नै यस पटकको निर्वाचनमा जनताले यस्ता ऐँजेरु उखेलेर फालिदिएका हुन् । नत्र समानुपातिकमा आउने मत किन आएन प्रत्यक्षमा ? 

लोकतन्त्रमा जनता नै नेताका भाग्य निर्माता हुन् । हरेक दलका राम्रा–नराम्रा गतिविधि मूल्यांकन गरेर जनताले निर्वाचनको तराजुमा तल–माथि पारिदिन्छन् । सधैं एकै दल वा व्यक्तिको पल्ला भारी हुँदैन भन्ने कुरा २०६४, ०७० र अहिलेको चुनावी परिणामले देखाइदिएको छ । एक दशक बीचको चुनावी नतिजाले दिएको सन्देश यही हो कि जनताको काँध चढेर माथि पुग्नेहरू कोही पनि नमात्तिए हुन्छ, नत्र पछारिनु अनिवार्य छ । 

एमालेको अभूतपूर्व विजयमा कांग्रेस नेतृत्वको अकर्मण्यताले महत्त्वपूर्ण भूमिका खेल्न पुग्यो र उसको भागको अधिकांश मत एमालेको पोल्टामा पर्‍यो । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने त उखानै छ । एमाले नेतृत्वसँग बोल्ने कला छ । जनताको मन जित्न कुनै ‘पपुलर नारा’ कांग्रेसले बोकेन । चुनावी दौरानमा एमालेले विकास र समृद्धिका कुरा गरेर मतदाताको मन जित्ने काम गर्‍यो । कांग्रेसका शीर्षनेताहरू जहाँ–जहाँ पुगे, त्यहाँ–त्यहाँ विपक्षीलाई गाली गर्ने र तिनलाई ‘डरलाग्दो भूत’को रूपमा प्रस्तुत गर्ने गरे । अरुलाई नराम्रो देखाएर ‘तिनलाई भोट नदेऊ’ भन्न भ्याए, तर कांग्रेस यो–यो कारणले असल छ, चुनाव जितेपछि यो–यो काम गरेर देखाउनेछ’ भन्न सकेनन् । तल्लो तहदेखि माथिल्लो तहसम्म सांगठनिक हिसाबले वाम शक्तिभन्दा कांग्रेस कमजोर थियो नै, कुनै ठोस रणनीति पनि यसको देखिएन । यसबाट प्रचारशैली प्रभावित नहुने कुरै भएन । 

चुनावको मुखमा जनभावना विपरीतका काम गरेर मतदाता चिढ्याउने अनेक कार्य गर्दै गरेको कांग्रेस नेतृत्वले वाम गठबन्धनदेखि अत्तालिएर लोकतन्त्र विरोधी दलहरूसँग साँठगाँठ गर्नुले पनि कांग्रेसप्रति आस्थावान जनता चिढिए । यसले गर्दा कांग्रेसको भागका भोट एमालेको भागमा पर्नपुगे । यसको एउटा उदाहरण रूपन्देही हो, जहाँका मतदाताले नत मधेस आन्दोलन गर्नेलाई काखी च्यापेको रुचाए, न रूपन्देहीबाट पटक–पटक चुनाव जितेर पनि भारतीय नाकाबन्दीमा एक शव्द नबोलेका मन्त्रीलाई रुचाए । त्यस्तै ५ नम्बर प्रदेश टुक्र्याउने कुरामा कांग्रेसको मौनता र एमालेको अडान चुनावको बेला रूपन्देही क्षेत्र नं. ३ का मतदाताबीच चलेको बहसको विषय बन्यो । नाकाबन्दीका बेला नेपालीले पाएको सास्ती र कांग्रेसको मौनताका कारण पनि कांग्रेस पराजयको कारण बन्यो । एमालेले देखाएको ‘राष्ट्रवादी सहानुभूति’ले पनि उप्रति जनाकर्षण बढ्यो । तर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय मुद्दामा कांग्रेस चुक्नु उसको पराजयको कारण बन्यो । पार्टीभित्रैका त्यागीलाई टिकट नदिएर ‘आफ्ना’, पैसा ठेल्ने ‘जोकोही’लाई दिनुले पनि अधिकांश उम्मेदवार पराजित भए र तिनका आक्रोशित भोट एमालेमा पर्न गए । यतिमात्र होइन, कांग्रेसको शासन गर्ने शैलीले पछिल्लोपटक देशैभरका मतदातालाई प्रभावित पारेको चुनावी परिणामले छर्लङ्ग पारेको छ ।

कांग्रेस पराजयको प्रमुख कारण प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नै हुन् । किनकि उनको कार्यशैली र बोल्ने शैली दुबैले कांग्रेसको शाख गिराउने काम भयो । तर दोषी उनीमात्र हुन् भन्नु पनि सत्य होइन । जसरी परिवारका सदस्य गलत बाटोमा हिँडे तिनलाई तह लगाउने जिम्मा अभिभावकको हुन्छ, त्यसैगरी संगठनभित्र पनि अगुवा गलत बाटोमा लाग्न थाल्यो भने उसलाई तह लगाउने कर्तव्य नयाँ पुस्ताको हुनजान्छ । तर कांग्रेसभित्रका नयाँ पुस्तामा त्यो उत्साह र हिम्मत कहिल्यै देख्न पाइएन । यसले गर्दा नेतृत्वमा अहंकार बढ्दै गयो र आज यो दिन देख्नुपर्‍यो । अत: यसको जिम्मेवारी नयाँ पुस्ताले पनि लिनैपर्छ र अबका दिनमा रुखरूपी कांग्रेसका काम नलाग्ने, सुकेका, मक्किएका हाँगाबिँगा छिमल्दै यसमा उम्रिएका ऐँजेरुलाई फाली नयाँ पालुवाबाट हराभरा पार्ने दायित्व नयाँ पुस्ताले लिने हिम्मत गर्नुपर्छ । 

प्रकाशित : पुस ५, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?