कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस सुधारको मार्गचित्र 

कांग्रेसलाई पुनर्जीवन दिने हो भने देउवाको राजीनामा, विशेष महाधिवेशन र नयाँ वैचारिक नेतृत्व पूर्वसर्तहरु हुन् ।

काठमाडौँ — बीपी कोइरालाको नेतृत्वमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच महावीरशमशेरको कोलकाताको टाइगर सिनेमाहलमा एकीकरण भई अस्तित्वमा आएको नेपाली कांग्रेसको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय भएपछि यसको भविष्यको बारेमा गम्भीर बहस प्रारम्भ भएको छ ।

कांग्रेस सुधारको मार्गचित्र 

कांग्रेसको सैद्धान्तिक विचलन, असफल नेतृत्व र अनिश्चित भविष्यको बारेमा लामो समयदेखि बहस हुँदै आइरहे पनि नेतृत्व वर्गले गम्भीर रूपमा लिएको थिएन । तर निर्वाचन परिणाम सार्वजनिक भएपछि उक्त बहसले कांग्रेसभित्र पनि ठोस आकार ग्रहण गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा विशिष्ट योगदान गरेको पार्टी किन यसरी पराजित भयो ? कांग्रेसका केही नेताहरूले दाबी गरेजस्तै वामपन्थी गठबन्धन र अन्तरिक घात–प्रतिघातको कारणले मात्रै हो कि पराजयका अन्य कारणहरू पनि छन् ? कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको असफलता हो कि कांग्रेसको नीति र सिद्धान्त जनताबाट अस्वीकृत भएको हो ? उक्त आधारभूत प्रश्नहरूमाथि कांग्रेसले आत्मसमीक्षा गर्ने कि नगर्ने ? यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने उक्त प्रश्नहरूको वस्तुनिष्ठ समीक्षा गरी ठोस निष्कर्षमा पुग्नु अपरिहार्य छ ।

सिद्धान्तको पुनर्परिभाषा

कांग्रेसका दस्ताबेजहरूमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा व्याख्या गरिएको छ । तर ती सिद्धान्तहरूमाथि कांग्रेसकै कारणले पटकपटक प्रश्नचिह्न खडा भएको छ । उसले राष्ट्रियताको संरक्षण र संवद्र्धनलाई मूलमन्त्रको रूपमा व्याख्या गरेको छ । तर राष्ट्रियताको संवद्र्धन तथा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षार्थ इतिहासको कतिपय कालखण्डमा कांग्रेस चुकेको आरोप लाग्दै आएको छ । कांग्रेस सरकारको समयमा भारतसँग भएका प्राकृतिक साधनस्रोतका सम्झौताहरू मात्रै होइन, २०७२ मा संविधान जारी भएपछि गरिएको भारतीय नाकाबन्दी प्रकरणमा रहस्यमय मौनताको कारणले राष्ट्रियताप्रतिको प्रतिबद्धता खण्डित भएको छ । त्यसैले कांग्रेसको छवि भारतपरस्त बनेको छ । भारतसँग घनिष्ठ तथा विशिष्ट कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध छ । त्यसैले भारतसँगको सम्बन्धलाई नेपालले विशेष महत्त्व दिनुपर्छ । तर विशेष सम्बन्धको नाममा नेपालको राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिनु हुँदैन । त्यसैले कांग्रेसले राष्ट्रियता, नेपालको विदेश नीति तथा भारत र चीनसँगको सम्बन्धको बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्छ र कांग्रेसले पुनर्जीवन पाउन वास्तविक राष्ट्रवादी पार्टीको रूपमा स्थापित हुन सक्नुपर्छ ।

कांग्रेसले जहानियाँ राणा शासन र निरंकुश पञ्चायती शासन उन्मूलन गरी लोकतन्त्र तथा तानाशाही राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो । तर लोकतन्त्रको संवद्र्धन र संस्थागत विकासमा अपेक्षित योगदान गर्न नसकेको मात्रै होइन, कांग्रेसको शासनकालमा नै लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आँच आएको आरोप लाग्दै आएको छ । स्वच्छ छवि भएकी सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र नेपाल प्रहरीको आईजीपी नियुक्तिमा सरकारको नाङ्गो हस्तक्षेपले लोकतान्त्रिक मूल्यमान्यता, न्यायिक स्वतन्त्रता तथा विधिको शासनलाई मात्रै चुनौती दिएन कि लोकमानसिंह कार्की प्रकरणमा संदिग्ध चरित्रले कांग्रेसको नियतमाथि नै प्रश्न उठेको थियो । यसैगरी भ्रष्टाचार, आर्थिक अनियमितता तथा प्रधानमन्त्री देउवाका विवादास्पद निर्णयहरूका कारणले कांग्रेस जनतामा अत्यन्त अलोकप्रिय भएको थियो ।

बीपीले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादी अर्थनीति त्यागेर उदारीकरण, भूमण्डलीकरण र निजीकरणलाई अनुकरण गर्दा जनाधार कमजोर भएको आवाज पनि स्वयम् कांग्रेसभित्रैबाट उठेको छ । तर सन् ’९० को दशकमा उदार अर्थनीतिको विकल्प थिएन । पहिलो, विश्वव्यापी रूपमै उदार लोकतन्त्र र उदार अर्थतन्त्रको लहर थियो । दोस्रो, शास्त्रीय समाजवादी अर्थनीति पनि समाधान थिएन । तर नेपाली कांग्रेसको आदर्शअनुरूप कल्याणकारी राज्य र समतामूलक समाज स्थापनार्थ उदार अर्थनीतिले कति सकारात्मक योगदान गर्‍यो ? गम्भीर समीक्षाको विषय हो । पुँजीवाद र उदार अर्थनीतिको प्रणेता अमेरिका नै उदार अर्थनीति र भूमण्डलीकरणको विपक्षमा गएपछि आर्थिक वृद्धि र सामाजिक सुरक्षाका बीचमा सन्तुलन गरी समाजवादलाई पनि पुनव्र्याख्या गर्नुपर्ने अनिवार्य परिवेश सिर्जना भएको छ ।

स्थापनाकालदेखि अंगीकार गरेको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार गरेको कारणले कमजोर भएको सार्वजनिक अभिव्यक्ति कतिपय समय र सन्दर्भमा कांग्रेसका केही जिम्मेवार नेताहरूले दिंदै आएका छन् । तर गणतन्त्र, धर्मरिपेक्षता, संघीयतालाई स्वीकार गरेको कारणले होइन, जनताको भावनाअनुरूप भएको परिवर्तनलाई आत्मसात् गर्न नसकेको कारणले कांग्रेस अलोकप्रिय भएको हो । सायद बीपी जीवित भएको भए गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको प्रस्तावक उनी नै हुने थिए । बीपीको नेतृत्वमा कांग्रेस सबैभन्दा राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील थियो । त्यसैले स्थापनाको ५ वर्षमै राणा शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने २०१५ सालको आम निर्वाचनमा दुईतिहाइ सिटमा विजय हासिल गरेको थियो । त्यसैले कांग्रेसलाई ‘कन्जरभेटिभ’ होइन, थप लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ ।

पार्टी पुन:संरचना

देश संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण भएको एक दशक भइसक्यो । तर कांग्रेस अहिलेसम्म पनि एकात्मक प्रणालीकै आधारमा सञ्चालित छ । त्यसैले विधान संशोधन गरी सबैभन्दा पहिले पार्टीको संघीयकरण गर्नुपर्छ र संघीय प्रणालीको अभ्यासअनुरूप पार्टी सञ्चालन गर्नुपर्छ । वास्तवमा संघीयकरण गर्ने उद्देश्यले मात्रै होइन कि कांग्रेसको शास्त्रीय र पुरातन संगठन प्रणालीलाई पनि आमूल परिवर्तन गर्नु अपरिहार्य छ । कांग्रेसको विधान र संगठन प्रणाली नै नीतिमुखीभन्दा नेतामुखी छ । केन्द्रदेखि गाउँसम्मका संगठन संयन्त्रहरू गतिशील र कार्यमूलक छैनन् । पार्टीको निर्णय प्रक्रिया पनि लोकतान्त्रिक र समावेशी छैनन् । पार्टीका महत्त्वपूर्ण निर्णयहरू सभापति, पदाधिकारी र सीमित प्रभावशाली नेताहरूले गर्छन् । त्यसैले कांग्रेसका अधिकांश निर्णय विवादास्पद हुन्छन् । केन्द्रीय सदस्यहरूले समेत सार्वजनिक सञ्चारमाध्यमबाट उक्त निर्णयहरू जानकारी पाउनुपर्ने अवस्था छ भने पार्टी सञ्चालन प्रवृत्ति कति अलोकतान्त्रिक र अपारदर्शी होला ?

नेताहरूले सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई महत्त्व दिएको देखिन्छ । कांग्रेस पार्टीका कार्यकर्ताहरू पनि जनतामुखी होइन, नेतामुखी छन् । उनीहरू जनताको घरदैलो होइन, नेताहरूको घरदैलो धाउँछन् । त्यसैले कांग्रेसका नेतादेखि कार्यकर्तासम्म जनतासँग विमुख भएका छन् । त्यसैले उसको विधान मौलिक रूपमा नै संशोधन गरी पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा सञ्चालित हुने प्रणालीलाई प्रत्याभूत गर्नुपर्छ । नेतादेखि कार्यकर्तासम्मलाई जनता र पार्टीका सदस्यप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ र विधिसम्मत प्रक्रियाअनुरूप पार्टी सञ्चालन गर्नुपर्छ । यसरी पुन:संरचना गर्दा कांग्रेसले लोकतान्त्रीकरण, पारदर्शिता र समावेशीकरणलाई विशेष प्राथमिकता दिनुपर्नेछ र आन्तरिक लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्नेछ ।

पार्टी सञ्चालन प्रणालीलाई लोकतान्त्रिक, पारदर्शी र समावेशी बनाउन संस्थापक नेता बीपीबाट शिक्षा लिए हुन्छ । बीपीले समावेशी शब्दको प्रयोग गरेनन् । तर उनले नेतृत्व गरेको कांग्रेस अहिलेभन्दा भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक दृष्टिले समावेशी थियो । त्यसैले गणेशमान सिंह, परशुनारायण चौधरी, शेख इद्रिस, योगेन्द्रमान शेरचन, प्रेमराज आङदेम्बे, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, धनमानसिंह परियारहरू नेतृत्व पंक्तिमा पुगेका थिए । बीपीको कार्यकालमा पार्टी सञ्चालन प्रक्रिया लोकतान्त्रिक र निर्णय प्रक्रिया समावेशी थियो । त्यसैले कांग्रेस लोकप्रिय पार्टीको रूपमा स्थापित भएको थियो ।

नेतृत्व हस्तान्तरण

निर्वाचनमा लज्जास्पद पराजयपछि सभापति देउवाले नैतिकताको आधारमा राजीनामा गर्नुपथ्र्यो तर गरेनन् । जति दिन देउवा सभापति रहन्छन्, कांग्रेस थप कमजोर र अलोकप्रिय हुँदै जानेछ । यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने देउवाको राजीनामा, विशेष महाधिवेशन र नयाँ वैचारिक नेतृत्व पूर्वसर्तहरू हुन् । विशेष महाधिवेशनमा पार्टीको पराजयलगायत सिद्धान्त, नीति र नेतृत्वको बारेमा व्यापक बहस गर्नुपर्छ । तर देउवाको नियत र कांग्रेसको विगतको नजिरको आधारमा विश्लेषण गर्दा देउवाको राजीनामा र विशेष महाधिवेशनको सम्भावना क्षीण देखिन्छ । सम्भवत: कांग्रेस संसदीय दलको नेता र अर्को महाधिवेशनमा सभापतिको उम्मेदवार पनि देउवा आफैं भए भने आश्चर्य नमाने हुन्छ । निर्वाचन भएको डेढ महिनासम्म केन्द्रीय समितिको बैठक त बसेको छैन भने देउवा कति संवेदनाशून्य होलान् ?

सत्ता र शक्तिलाई नै सिद्धान्त ठान्ने देउवाले सहज रूपमा नेतृत्व हस्तान्तरण नगर्लान् । तर अब उनीसँग पनि विकल्पहरू सीमित छन् । त्यसैले ढिलो वा छिटो नेतृत्व हस्तान्तरणको विकल्प छैन किनभने देउवाको असफलता र नेतृत्व हस्तान्तरणको प्रश्न पार्टी पङ्क्तिबाटै यति सशक्त रूपमा उठ्दै गइरहेको छ कि उनले चाहेर पनि रोक्न सक्ने सम्भावना छैन । अब ‘कस्मेटिक’ सुधारको कुनै अर्थ छैन, आमूल परिवर्तन नगरेसम्म कांग्रेसको पुनर्जीवन सम्भव छैन । तर नेतृत्व हस्तान्तरण विगतमा जस्तो कुल, गोत्र र वंशज वा वरिष्ठता र मर्यादाक्रमका आधारमा होइन, एक्काईसौं शताब्दीका जटिल चुनौतीहरूको सामना गर्न सक्ने विचार, सिद्धान्त, योग्यता र क्षमताको आधारमा गर्नुपर्छ ।

विगत लामो कालखण्डदेखि कांग्रेसमा नेतृत्व विकास प्रक्रिया अवरुद्ध छ । गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डेजस्ता लोकप्रिय युवा नेताहरूले पार्टीमा अपेक्षित भूमिका नपाएको मात्रै होइन, सकेसम्म निषेध गर्ने प्रयास गरिँदै आएको छ । अहिले विश्वप्रकाश शर्माको प्रवक्तामा नियुक्ति नेतृत्व हस्तान्तरण प्रक्रियाको प्रारम्भिक संकेत हो । २०४८ सालमा प्रधानमन्त्री बनेपछि गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महत र महेश आचार्यजस्ता युवा अर्थशास्त्रीहरू तथा नरहरि आचार्यजस्ता बौद्धिक व्यक्तित्वहरूलाई अगाडि बढाएका थिए । तर देउवा सभापति भएपछि आफ्नो गुटको संरक्षणबाहेक कुनै उल्लेखनीय काम गरेनन् ।

कांग्रेसको वर्तमान नियति र भविष्यको बारेमा विश्लेषण गर्दा दुइटा उदाहरण अत्यन्त सान्दर्भिक छन्— भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उतारचढाव । भारतीय कांग्रेसको असफलता र बेलायतको लेबर पार्टीको सफलताबाट शिक्षा लिनु स्वयम् कांग्रेस र कांग्रेसीहरूकै स्वास्थ्यका लागि उपयुक्त हुनेछ । बेलायती साम्राज्यवादलाई पराजित गरी भारतलाई स्वतन्त्र बनाएको तथा आधुनिक भारत निर्माणमा विशिष्ट योगदान गरेको भारतीय कांग्रेसको इतिहास नेपाली कांग्रेसको भन्दा सुनौलो र गौरवशाली छ । तर भारतीय कांग्रस इतिहासमा अहिले सबैभन्दा कमजोर छ, किन ? तपसिलमा अनन्त कारणहरू पनि छन् । तर प्रमुख कारणहरू हुन् : वंशजको आधारमा आएका राहुल गान्धीको कमजोर नेतृत्व र मनमोहन सिंहको सरकारका भ्रष्टाचार र आर्थिक अनियमितताका विवादास्पद निर्णयहरू ।

परिवर्तित परिवेशमा आर्थिक नीतिप्रति अकर्मण्य भएको कारणले सन् ८० को दशकदेखि ओरालो लागेको लेबर पार्टीलाई वैचारिक नेता टोनी ब्लेयरले ‘न्यू लेबर’ का रूपमा पार्टीको सिद्धान्तलाई पुनर्परिभाषित मात्रै गरेनन्, पार्टी संरचनामा आमूल परिवर्तनसमेत गरे । त्यसैले सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतसाथ लेबर पार्टीले विजय हासिल गर्‍यो र ब्लेयर प्रधानमन्त्री बने । नेपाली कांग्रेसलाई भारतीय कांग्रेस बनाउने कि बेलायतको लेबर पार्टी ? राहुल गान्धीजस्तो दृष्टिकोणविहीन र अलोकप्रिय व्यक्तिलाई कि टोनी ब्लेयरजस्तो वैचारिक र लोकप्रिय

नेतालाई नेतृत्व हस्तान्तरण गरी पार्टीलाई अनुप्राणित गर्ने ? निर्णय कांग्रेस र कांग्रेसीहरूले गरे हुन्छ ।

निष्कर्ष

कांग्रेस अहिले नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको छ । यदि परिवर्तित परिवेशअनुरूप आफ्नो सिद्धान्तलाई पुनर्परिभाषित तथा संगठनमा आमूल सुधार गरी ‘भिजनरी’ नेतृत्व चयन गरेको खण्डमा कांग्रेसको भविष्य सुखद छ । अब प्रगतिशील सिद्धान्त, गतिशील संगठन र ऊर्जाशील नेतृत्व भएन भने कांग्रेसको औचित्य समाप्त हुनेछ । यदि उक्त वास्तविकतालाई कांग्रेसको नेतृत्व पंक्ति र सुधारको अभियानमा लागेका अभियन्ताहरूले आत्मसात् गरेनन् भने कांग्रेसको ‘ओबिच्योरी’ (मृत्युपश्चात् लेखिने लेख) लेख्न प्रारम्भ गरे हुन्छ भन्ने निष्कर्ष कांग्रेसजनहरूलाई जति अप्रिय भए पनि कठोर वास्तविकता यही नै हो । त्यसैले कांग्रेसको भविष्य कांग्रेसमा नै निर्भर छ ।

ट्विटर : @GejaWagle

प्रकाशित : माघ १, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?