कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वामपन्थी सपनाको वियोगान्त

दुवै पार्टीसँग अलग–अलग आस मारेका वाम बौद्धिकहरु किन फेरि यी दुई पार्टी एक ठाउँमा आए भने वाम क्रान्ति नै हुनेजस्तो आशा गर्छन् ?
विष्णु सापकोटा

काठमाडौँ — विसं २००६ मा सुरु भएको ‘माक्र्सवादलाई नेपाली सन्दर्भमा विकास गर्ने’ सिलसिला ६८ वर्षका बिभिन्न वाम विद्रोह, क्रान्ति र आन्दोलनका प्रयोगहरूको चरण पार गरेर अहिले अर्को रोचक घुम्तीमा आइपुगेको छ । इतिहासको त्यो घुम्ती अहिले नेकपा—एमाले र माओवादी केन्द्रको तालमेलले प्राप्त गरेको चुनावी विजयको उत्साह र घोषित पार्टी एकताको भविष्यको आशा र संशयमा आएर अडिएको छ ।

वामपन्थी सपनाको वियोगान्त

दुई ठूला वाम पार्टीको एकता गरेर ‘माक्र्सवादलाई थप विकास गरी अझ उचाइमा लगिने’ आशाले सम्बन्धित दुबै पार्टीका नेता र सदस्यलाई उत्साह दिने कुरा त साधारण नै भयो । तर त्योभन्दा पनि धेरै उत्साह ती दलहरूभन्दा बाहिरका ठूलो संख्यामा रहेका वाम बुद्धिजीवी, लेखक तथा अन्य ‘वाम’ शुभचिन्तकमा छ । यस लेखले चर्चा गर्न खोजेको नेपाली वामपन्थी सपनाको वियोगान्त ठ्याक्कै त्यही गैरदलीय वामवृत्तको हालको उत्साहको मनोविज्ञानसंँग जोडिएको छ । नेपालको वामपन्थी आन्दोलन अहिले कहाँ पुगेको छ भनेर बुझ्न यी दल बाहिर रहेका तर इतिहासका बिभिन्न खण्डदेखि वामपन्थी नै भनिएर चिनिएकाहरूबीच वाम एकता हुने कुराले ल्याएको उमंग र तरंगको मर्मलाई बुझ्न जरुरी छ ।


कहिलेकाहीं फराकिलो विषयमा प्रवेश गर्न सांँघुरो सन्दर्भले बढी सजिलो बनाउँछ । हालै सम्पन्न निर्वाचनको संघारमा ११ जना ‘वाम बुद्धिजीवी’ले वक्तव्य निकालेर नेपाली वामपन्थी आन्दोलनको इतिहासका एक प्रमुख हस्ती बाबुराम भट्टराईलाई गोर्खाको संसदीय चुनावमा हराउन अपिल गरेका थिए । उनीहरूको नजरमा भट्टराईभन्दा ‘श्रेष्ठ’ नेता नारायणकाजी श्रेष्ठ थिए । ती ११ जना वाम बुद्धिजीवीको वक्तव्य आएपछि धेरैलाई आश्चर्य किन लाग्यो भने नेपालको वामपन्थी आन्दोलनलाई योगदान दिएको तुलना गर्ने हो भने पनि श्रेष्ठभन्दा भट्टराई नै अगाडि थिए । व्यक्तिगत योग्यताका हिसाबमा त झन् भट्टराई उनका समकालीन सबै पार्टीका नेतामध्ये योग्य भनेर सबैले स्वीकार गरेको कुरा थियो । त्यसमाथि पनि ती ११ जनामध्ये कतिलाई त भट्टराईकै पहलमा राज्यका बिभिन्न निकायमा लगेर काम गर्न भूमिका दिइएको भन्ने पनि थियो । यी सबै कुराका बाबजुद नारायणकाजीको पक्षमा आएको त्यो वक्तव्यलाई नेपालको वामपन्थी सपनाको वियोगान्तसँंग जोडेर मात्र बुझ्न सकिन्छ । वक्तव्य निकालेर जति नै कमसल उम्मेदवार भए पनि वाम गठबन्धनको व्यक्तिलाई जिताउनुपर्छ भनेर आºनो सपना छताछुल्ल पारेकाको संख्या सानो भए पनि अबको नेपालको क्रान्तिको स्वरूप नै दुइटा पार्टी मिल्नु हो भनेर विश्वास गर्ने वामपंक्तिको संख्या निकै ठूलो छ । विद्रोह, क्रान्ति र आन्दोलन सबैको चरण पार गरिआएको नेपाली वामपन्थको अबको मूल सपना र संघर्ष नै एउटा ठूलो संसदीय दल कसरी बनाउने र पाँच वर्ष सरकार र पार्टी कसले, कसरी चलाउने भन्ने कुरामा सीमित हुनआएको छ । ६८ वर्ष देखिको त्यो वाम सपनाको अहिलेको मोड र त्यो मोड किन वियोगान्त छ भन्ने बारेमा यस लेख केन्द्रित हुनेछ ।


नेपालको वामपन्थी आन्दोलनमा २०२० र ३० को दशकदेखि प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका व्यक्तिहरूमध्ये अहिलेसम्म धेरै जीवित त छन् नै, दलको नेतृत्वमा मात्र नभएर उनीहरू समाजका बिभिन्न क्षेत्रमा सक्रीय अवस्थामा पनि छन् । पार्टीमा रहेकाहरू त कहिले एउटा पार्टी वा कहिले अर्को, कहिले माक्र्सवादको एउटा चरण त कहिले अर्को गर्दै जिनतिन जीवन र राजनीति दुबै राम्रै चलाइरहेका छन् । तर २० को दशकमा सुरु भएर ३० र ४० को दशकसम्म जोडिँदै आएको एउटा ठूलो वाम जमात पार्टीको औपचारिक संरचनाभन्दा बाहिर छ । चाहे त्यो विश्वविद्यालयतिर पढाएर बसेको होस् वा कुनै बैंक वा अन्य सरकारी वा गैरसरकारी निकायमा काम गरेर बसेको होस् वा समाजको अन्य क्षेत्रमा रहेको होस्, त्यो ठूलो बौद्धिक र पेसागत समूह आफै प्रत्यक्ष वाम आन्दोलनमा अडिन त सकेन । तर क्रान्ति र त्यसमार्फत समाजको चामत्कारिक परिवर्तन सम्भव छ भनेर आफूले सुरुका युवा अवस्थामा देखेको वा आफूलाई देखाइएको त्यो सपनालाई उसले एउटा मिथ्या सम्झेर स्वीकार पनि गर्न कहिल्यै सकेन, सकेको छैन । आफू सपना साकार गर्ने बाटोमा प्रत्यक्ष छैन त के भो, अरूले त्यो गरिदिनुपर्छ भन्ने पनि आशा त्यो वर्गमा रहिराखेको छ । त्यस्ता क्रान्तिका आशामुखीहरू अन्य देशमा पनि हुन्छन् र तिनीहरू जस्तैलाई ‘आर्मचेअर माक्र्सवादी’ पनि भनिन्छ ।


जब झापा विद्रोह जनताको बहुदलीय जनवाद हुँदै अहिलेको एमालेसम्म आइपुग्यो, सबैभन्दा बढी एमालेलाई गाली गर्नेहरू गैरवामपन्थी त्यति थिएनन्, जति स्वयं वामपन्थी लेखक र बुद्धिजीवीहरू नै थिए । त्यसपछि तिनीहरूमध्ये धेरैले आºनो सपनाको घर स्थानान्तर गरेका थिए, माओवादी आन्दोलनमा । जब माओवादीले आºनो विद्रोहको चरण हुँदै, माक्र्सवाद र माओवाद समेतलाई फेरि विकसित गर्दै हेटौंडा महाधिवेशनमा आइपुग्यो, ऊ प्रकारान्तरले बहुदलीय जनवादमै पुगेको थियो । त्यसपछि फेरि ती गैरदलीय, क्रान्तिका स्वप्नद्रष्टाहरूले विस्तारै आºनो सपना देख्ने ठाउँ अन्यत्र खोज्न थालेका थिए । केहीले नेत्रविक्रम चन्द विप्लवमा पनि खोज्दै थिए वा अझै छन् होला । बिभिन्न चरणका यी वामपन्थी आरोहमा कति दलित अभियन्ता आºना सपना जोड्दै समाहित भए, कति जनजाति आए, कति मधेसी आए र कति तल्लो वर्गका आए । ती सपना वास्तविक आशाका सपना नै थिए । वर्गीय मुक्तिमात्र होइन, जातीय समता पनि कम्युनिस्ट क्रान्तिबाट सम्भव छ भनेर धेरै आए । र कतिपय समयक्रममा मोहभंग हुँदै दलबाट बाहिरिए । कति बाहिरिन चाहेर पनि सकेनन्, सकेका छैनन् ।


वामपन्थी सपनाको वियोगान्तको पाटो र लेखको सुरुमा लिइएको वाम बुद्धिजीवीको उदाहरण यहाँनेर आएर जोडिन्छ । एकैछिन विचार गरौं— वाम एकता हुने कुराबाट बढी उत्साहित हुनेमध्ये को–को छन् ? यो समूहमा धेरै तिनीहरू नै छन्, जो विगतमा एमालेलाई सक्नुजति आलोचना गर्नेहरू थिए— यो वामपन्थी दल नै हैन भनेर । अर्काथरी ती थिए, जसले माओवादी आन्दोलन नेपालको वाम आन्दोलनलाई बदनाम गराउने कुरामात्र हो भन्ने गर्थे । ठूलो संख्यामा रहेको वाम बौद्धिक समूहले सग्लो पार्टीका रूपमा एमालेबाट धेरै आशा राख्दैन र माओवादीबाट पनि आशा मारिसकेको छ । जब दुबै पार्टीसँंग अलग–अलग आस मारेका वाम बौद्धिकहरू किन फेरि यी दुई पार्टी एक ठाउँमा आए भने नेपालमा वाम क्रान्ति नै हुने जस्तो आशा गर्छन् त ? त्यो किन हो भने २० र ३० को दशकदेखि वामपन्थी सपनामा विश्वास गर्दै हुर्केको त्यो ठूलो पंक्तिलाई माओवादी आन्दोलनको विसर्जनपछि सपना देख्ने पनि कुनै ठाउँ बाँकी रहेको थिएन । र यो कुरालाई वियोगान्त भन्नुको पछाडि पनि कारण छ— नेपालको वामपन्थी सपना हुँदा–हुँदा यस्तो मोडमा आइपुगेको छ कि अबको सपना भनेकै संसद्मा सबैभन्दा ठूलो दल भएर पाँच वर्ष सरकार चलाउनु भएको छ । सम्पूर्ण वामपन्थी सिद्धान्तको समाजवादको सपनाको त कुरै छाडौं । यी दुई दल मिलेपछि के कस्तो सिद्धान्त र नीति अपनाउलान्, त्योसम्म पनि अझै थाहा छैन । माओवादी एमालेजस्तो हुने हो कि एमाले माओवादीजस्तो वा दुबै कोहीजस्तो पनि नरहने हुन् कि, त्यो पनि थाहा छैन । मधेसीको मुद्दामा माओवादी ‘लाइन’ हावी हुने हो कि जनजाति आदिवासीको मुद्दामा एमालेको ‘लाइन’, त्यो पनि प्रस्ट छैन । तर पनि रोचक के छ भने यी माथिका र यस्ता अन्य मुद्दाका पक्ष–विपक्षमा यसअघि प्रस्ट तर्क राख्दै आएको वाम बौद्धिक वृत्त अहिले यी धेरै मुद्दामा चुप लाग्ने स्थिति बनेको छ । किनकि उनीहरूलाई थाहा नै छैन, अब एक हुने पार्टी कुन मुद्दामा कता लाग्ने हो । देशको स्वास्थ्य नीतिमा, डा. गोविन्द केसीको आन्दोलनमा आºना सपनाका दलहरू निकृष्ट पुँजीवादी कित्तामा उभिएका छन् त के भो ? यिनै नेताहरू विगतमा पटक–पटक सरकारमा जाँदा अरू कोहीभन्दा फरक भएनन् त के भो ? आखिर दुइटा दल मिल्छन् भने र कम्युनिस्ट मात्रको सरकार जतिसुकै पुँजीवादी ढंगले चले पनि त्यो आखिर नेपालको वामपन्थी सपना साकार भएको स्थिति नै हो ।


नेपालको वामपन्थी सपनाको यो अवस्थिति हुनु कुनै व्यंग्यात्मक रूपमा हुँदै होइन, एक हिसाबमा निकै मार्मिक रूपमै वियोगान्त कुरा हो । तसर्थ ती ११ जना वाम बुिद्धजीवीलाई कुनै व्यंग्य गरेर हेर्नुभन्दा पनि किन त्यत्तिको नाम कमाएका मान्छेहरू एउटा पूर्वकम्युनिस्ट हस्तीका विरुद्ध वक्तव्य निकाल्न विवश भए भनेर सहानुभूतिपूर्वक बुझिनुपर्छ । किनकि उनीहरू र उनीहरू जस्ताको अब बाँकी रहेको सम्पूर्ण वाम सपना भनेकै दुइटा वाम दल मिलेर सरकार चलाउन पाएको अवस्था हो । अब दुइटा वाम पार्टी एउटा हुने भएपछि त्यहाँ न जनताको बहुदलीय जनवादको सवाल आउँछ, न माओवादको । यतिसम्म कि दुइटा वाम पार्टी मिलेपछि कुनै मार्गनिर्देशक खालको नीति र विचार त चाहिएला नि भनेर गैरवामले बरु प्रश्न गर्नसकेका होलान्, तर वाम वृत्तकाबाट त्यो प्रश्न पनि कम हुने गरेको छ । किनकि उनीहरूलाई डर छ, कुनै पनि सानो प्रश्नले यति लामो सपना साकार हुने अवस्था फेरि टाढा हुनसक्छ ।


वामपन्थी वृत्तमात्र त हैन, कांग्रेसतर्फका त्यस्तै ‘डेमोक्र्याट’हरूको बौद्धिक वृत्त पनि धेरै सानो छैन । बीपीले कल्पना गरेको लोकतन्त्र र समाजवाद कांग्रेसबाट सम्भव छ भनेर आशा गरेर बस्ने तर दलका औपचारिक संरचना बाहिर रहेको बौद्धिक वृत्त ठूलो नै थियो । तर ५० को दशकको मध्यसम्म कांग्रेसको तालमाल देखेर त्यो समूह दिग्भ्रमित भइसकेको थियो । बाँकी रहेकाहरू पनि शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस पुगेपछि आºनो भ्रमबाट मुक्त हुनपाए । तर वामपन्थी बौद्धिक वृत्तको विडम्बना के रह्यो भने एमालेबाट आशा मारेको बेला माओवादी आइदियो— आशा गर्ने ठाउँ देखाएर । माओवादी पनि जब उस्तै हुँदै गयो, तब मोहन वैद्यहरूले धानिदिए केही समय । अहिले अरू केही पनि बाँकी नरहेको अवस्थामा फेरि अर्को आशा आइदियो— पार्टी एकताको । एकतामा आउने दुबै दल बिग्रिसकेका किन नहुन् र पहिले यौवन कालमा सुनाइएको कथाको जस्तो एकदलीय साम्यवाद चलाउने दल होइन त के भो, कम्तीमा वामपन्थीको एकछत्र शासन भएको त हेर्न पाइने भयो ।


तसर्थ समग्रमा नेपाली वामपन्थको सपनाको इतिहास यति हो । २० का दशकमा सुनेका—पढेका बोल्सेभिक क्रान्तिका कथा, चीनमा माओले स्थापना गरेको शासन व्यवस्थाका कुरा, चे ग्वेभारादेखि अन्तिमतिर पेरुको ‘साइनिङ पाथ’ आदि सबैका नेपाली सपना अहिले केवल एमाले र माओवादीको एकता हुन्छ कि हुंँदैन भन्ने कुरामा संश्लेषित भएको छ । यो एकता प्रक्रिया जसरी पनि सम्भव गराउनु वाम बौद्धिक र शुभचिन्तकको हितमा मात्र छैन, समग्र देशको हितमा छ । किनकि एक त यो एकता भयो भने कम्तीमा एउटा स्थिर सरकार बन्ने सम्भावना हुन्छ, केही वर्षका लागि । जब यो र त्यो जो भए पनि धेरै फरक केही पर्नेवाला छैन भने एउटा दलको एउटा व्यक्ति नै भएको राम्रो हो, पाँच वर्षका लागि । र एकता भएपछि देशको लागि धेरै केही भएन भने पनि कम्तीमा नेपाल अगाडि बढ्न नसकेको एमाले र माओवादीको एकीकरण नभएको कारणले हो भन्ने कुरा बाँकी पनि हँुंदैन । त्यसपछि नेपालको वामपन्थी क्रान्ति भनेको के हो भन्दा पार्टी एकता हो भन्ने चरण पनि पूरा हुन्छ । नेपालमा जे पनि आफैले मात्र गर्ने—चलाउने हो भन्ने दक्षिणी छिमेकीलाई पनि दह्रो जवाफ यही हुनेछ कि उसको चाहना नहुँदा–नहुँदै पनि पार्टीहरू आफंै मिल्न र टुट्न सक्छन् । चीनसंँग व्यापार आदिका कुरा थोरै–धेरै जति अगाडि बढे पनि त्यो एकदम राम्रै हुने नै छ । यसबाट घाटा भएछ भने केवल अहिले एमाले र माओवादीका दुईजना शीर्ष बाहेकका अरू वरिष्ठ र प्रभावशाली तहका नेतालाई हुनसक्छ । किनकि एकतासँंगै उनीहरूले आफ्नो वरिष्ठता, प्रभाव, शक्ति र पद सबै बाँड्नु पर्नेछ । यो वियोगी वाम सपना साकार हुने बाटोमा तगारो कोही छ भने यी दुबै पार्टीका केन्द्रीय तहका प्रभावशाली नेतामात्र छन् । नत्रभने यो वियोगान्तको पटाक्षेप पनि अब धेरै टाढा छैन । र दुई पार्टीको एकतासंँगै जुन सिद्धान्त अपनाइनेछ, त्यसले नेपाली माक्र्सवाद र माओवादलाई पुन: एकपटक विकसित गरेर नयाँ उचाइमा पुर्‍याउने पक्कापक्की नै छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?