रेडियोका चुनौती

सन्दर्भ : १९ औं वार्षिकोत्सव
१९ वर्षको गर्विलो इतिहासलाई भविष्यमा सुनौला अक्षरले लेख्न रेडियो कान्तिपुरले प्रसारण पत्रकारिता क्षेत्रमा एउटा छुट्टै मानक स्थापित गर्न जरुरी छ । अहिलेको प्रमुख चुनौती भनेकै यही हो ।
पवन आचार्य

काठमाडौँ — सेयरकाष्ट इनिसियटिभ्सले सन् २०१७ को फेब्रुअरीमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा जनसंख्याको ५२ दसमलव ८ प्रतिशतका घरमा रेडियो सेट छन् । ७२ प्रतिशतका घरमा टेलिभिजन सेट र झन्डै ९८ प्रतिशत घरधुरीमा मोबाइल सेट छ । यस हिसाबले प्रयोगका दृष्टिकोणले पनि रेडियो निकै चुनौतीपूर्ण स्थानमा छ । 

सन् २०१३ सम्म जनसंख्याको ६० प्रतिशतले रेडियो सुन्ने गरेकोमा घटेर ५४ प्रतिशतमा पुगेको तथ्याङ्क पनि सोही संस्थाले सार्वजनिक गरेको छ । २०१६ मा त रेडियो सुन्ने श्रोता घटेर ३५ प्रतिशतमा पुगेका थिए । मुलुकमा सम्पन्न भएको विभिन्न चरणका निर्वाचनमा सूचना र समाचार तत्काल सम्प्रेषण गरेबाट श्रोताको संख्यामा केही बढोत्तरी भएको हो । रेडियो सुन्ने श्रोताको चाहना र आवश्यकता एकातिर र रेडियोका कार्यक्रम र समाचारजन्य सामग्री अर्कोतिर हुने गरेकाले श्रोताको रोजाइबाट रेडियो विस्तारै ओझेल पर्ने त हैन ? भन्ने प्रश्न उठिसकेको छ ।

Yamaha

सर्वेक्षणले के पनि देखाएको छ भने श्रोताहरू पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ–बिहान बाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यहीं रेडियोको सामग्री पुर्‍याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरूमा आइपरेको छ । श्रोताको चाहनाको विविधतालाई समेट्न एउटै रेडियोबाट समेट्न मुस्किल पर्न थालिसकेको छ । त्यसैले पछिल्ला दिनमा विषय र प्रस्तुति केन्द्रित एफएमहरू खुल्ने क्रम बढ्दो छ । किनभने श्रोताका चाहना समयसँगैपरिवर्तन हुँदै गइरहेका मात्रै छैनन् कि एउटा विषय विशेषमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिले जस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् । रेडियो कान्तिपुरजस्तो व्यावसायिक एफएमलाई आफ्नो प्रस्तुतिमा विविधता सिर्जना गर्नुमात्रै नभएर सबैको मागलाईसम्बोधन गर्नुपर्ने चुनौती पनि थपिएको छ । किनकि पहुँचका हिसाबले रेडियो नेपालपछि मुलुककै ठूलो एफएम रेडियो कान्तिपुर नै हो ।

सूचना तथा सञ्चार मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म ७ सय २ वटा एफएमले इजाजत लिइसकेका छन् । तीमध्ये जम्मा ५ सय ६५ वटामात्र नियमित सञ्चालनमा छन् । रेडियोप्रतिको आकर्षणका कारणले इजाजत लिइए पनि ५० वटाजति एफएम बन्द भइसकेका छन् । रेडियोको संख्यामा बढोत्तरी हुनुको मुख्य कारण भनेको समाचार स्रोतका रूपमा श्रोताले दर्शाएको माया नै हो । सेयरकाष्टकै सर्वेक्षणलाई आधार मान्दा पनि झन्डै ४५ प्रतिशतले रेडियोबाट आफूले समाचार र सूचना प्राप्त गर्ने बताएका छन् । ४० प्रतिशतले टेलिभिजन र ६ प्रतिशतले अनलाइन पोर्टल र मात्रै ३ प्रतिशतले सामाजिक सञ्जाललाई समाचारको स्रोत बताउने गरेको पाइएको छ । पछिल्लो समय रेडियोमा अर्धव्यवसायिक जनशक्तिको आगमन, उनीहरूको दक्षता अभिवृद्धिमा लगानीकर्ताको अरुचि र सञ्चारकर्मी स्वयंले गर्ने हेलचेक्र्याइँले रेडियोको विश्वसनीयतामा विस्तारै ह्रास आउन थाले पनि अहिले कायम रहेको श्रोताको विश्वासलाई कायम राख्नु अर्को चुनौती हो ।

संविधान घोषणा भएर मुलुकमा तीनै तहको निर्वाचन पनि सम्पन्न भइसके । राजनीतिक संक्रमणको चरण पार गरेर मुलुक नयाँ खाले संक्रमणको चरणमा होमिइसकेको छ । मुलुकको प्राथमिकतासँगै श्रोताका चाहना र आवश्यकता पनि विस्तारै बदलिने क्रममा छन् । आर्थिक र सामाजिक विषयवस्तु बढीभन्दा बढी रेडियोबाट प्रसारण होउन् भन्ने उनीहरूको चाहना छ । विभिन्न सर्वेक्षणले पनि के देखाएको छ भने आफू वरपरको समाचार र स्थानीय गतिविधिमा श्रोताको चाख छ । त्यसपछि सबैभन्दा बढी सुनिने भनेको गीत–सङ्गीत नै हो । ६० प्रतिशतले स्थानीय समाचार सुन्ने बताउँदा ५६ प्रतिशतको रोजाइमा गीत–सङ्गीत, राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचारमा ३३ प्रतिशत, धार्मिक कार्यक्रम र प्रवचनमा ९ प्रतिशत, स्थानीय भाषाका कार्यक्रममा ८ प्रतिशत र स्वास्थ्य सम्बन्धी सामग्रीमा ६ प्रतिशतको रुचि रहेको सर्वेक्षणले देखाएको छ । महिलाका विषय–वस्तुबारे सुन्न चाहने श्रोता ५ प्रतिशत छन् ।

श्रोताको चाहनाको विविधता र गहिराइ नापेर कार्यक्रम उत्पादन र प्रसारण गर्नु रेडियो कान्तिपुरका लागि चुनौतीपूर्ण त छँदैछ, त्यसमाथि संघीय संरचना अनुसारको संरचनागत विकास गर्नु पनि अर्को अपरिहार्य काम रहेको छ । किनभने व्यापक पहुँच बनाएको रेडियो हुनुको नातालाई प्रमाणित गर्ने बेला पनि अहिले नै हो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन तथा संघीय संसदको माथिल्लो सभा राष्ट्रियसभा निर्वाचनका क्रममा सूचना र समाचार पस्किंँदा रेडियो कान्तिपुरले आफूलाई सर्वव्यापी पहुँचमा रहेको छनक दियो नै । साथै दूरदराजका सूचना र आवाजविहीनहरूको आवाजलाई मूलधारमा ल्याउने यथोचित प्रयत्न पनि गर्‍यो ।

२०५५ सालबाट ललितपुरको अक्षेयश्वर महाविहार अगाडिको आफ्नै स्टेसनबाट व्यावसायिक प्रसारण सुरु गरेको रेडियो कान्तिपुर यतिखेर चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनकुटा, कास्की, कैलालीमा विस्तार भइसकेको छ । २० वर्ष टेक्ने क्रममा रेडियो कान्तिपुरले विभिन्न आरोह–अवरोहको सामना गर्नुपर्‍यो । ती सबै अवरोहले रेडियोलाई थप मजबुतमात्रै पारेन, श्रोतासँग निकट पनि ल्याइदियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मध्यरातमा रेडियोका उपकरणहरू लुटिंँदा र प्रसारण बन्द गर्ने धम्की आउँदा पुलचोकस्थित रेडियो स्टेसनमा श्रोता र अभियन्ताहरूले मानवसाङ्लो निर्माण गरेर रेडियोको रक्षामात्रै गरेनन्, रेडियो कान्तिपुरप्रति सद्भाव र मायाको वर्षा गराए । श्रोताका तिनै व्यवहार र मायाले रेडियो कान्तिपुरको इतिहास गर्विलो, वर्तमान सुमधुर र भविष्य सुनिश्चित देख्न सकिएको छ ।

श्रोताको यही अविचलित स्नेह र प्रेमलाई जीवन्त राख्ने क्रममा रेडियो कान्तिपुरले आफूलाई सदैव तटस्थ उभ्याएको छ । जुनसुकै घटनाक्रम र परिवेशमा पनि हाम्रो स्थान भनेको श्रोतापट्टि नै हो । कुनै अमूक राजनीतिक दल, व्यक्ति वा संस्थाको पक्ष वा विपक्षमा उभिनेभन्दा पनि सन्तुलित र तटस्थ हुने यत्नलाई नै हामीले सर्वोपरी ठान्यौं, ठानिरहने छौं । गत निर्वाचनमा सञ्चार माध्यमले प्रस्तुत गरेका समाचार र सूचनालाई आधार मानेर नेपाल प्रेस काउन्सिलले गरेको मिडिया अनुगमनमा पनि रेडियो कान्तिपुर अब्बल सावित भयो ।सन्तुलित समाचार र तटस्थ विचार पस्किने रेडियो हुनुका पछाडि श्रोताका मार्गदर्शनले पनि भरपुर भरथेग गर्‍यो भन्ने हाम्रो बुझाइ हो ।
श्रोताका यिनै चाहनाको विविधतालाई विगत २ दशकदेखि सम्बोधन गर्दै आएको रेडियो कान्तिपुरले आगामी दिनमाआफ्ना सामग्रीलाई थप परिस्कृत गर्नुपर्ने देखिएको छ । किनभने कुनै पनि सञ्चार माध्यमका लागि २० वर्षको समय भनेको निकै लामो हो । आफूलाई परिपक्व पार्दै सूचना र मनोरञ्जनको दुनियाँमा नयाँ मानक स्थापित गर्न व्यावसायिक एफएमहरूमाझ अभिभावकीय भूमिका निर्वाह पनि रेडियो कान्तिपुरले नै गर्नुपर्छ । नेपालमा व्यावसायिक रेडियो प्रसारणको इतिहास रेडियो कान्तिपुरसँगै जोडिएकाले यो जिम्मेवारीलाई बोक्ने अभिभारा पनि कान्तिपुरकै काँधमा छ । पछिल्लो दुई दशकमा रेडियो कान्तिपुरले यसका लागि देखाएको अग्रसरता सबैसामु छर्लङ्ग छ ।

कार्यक्रममा विविधता, सूचना सङ्कलनदेखि प्रसारणसम्म गुणस्तरीयता र प्रविधिमा नयाँपन खोज्न जरुरी भइसकेको छ । साथै संघीयता कार्यान्वयनमा स्थानीय तहलाई बलियो पार्दै लैजाने क्रममा स्थानीय समाचार र विषयलाई मूलधारमा स्थापित गराउनुका साथै भाषिक, क्षेत्रीय र जातीय विविधतालाई समेत सम्बोधन गर्नुपर्ने आजको माग हो ।

रेडियोको विश्वसनीयता कतिसम्म छ भने अझै पनि हाम्रो समाज रेडियो र टेलिभिजनलाई विश्वासिलो संस्थाका रूपमा हेर्छ । समाजले दर्शाएको यही भरोसालाई अक्षुण्ण राख्न श्रोताको चाहना र हामीले पस्किने कार्यक्रम र समाचारबीच तादत्म्यता मिल्न जरुरी छ । यसका लागि रेडियोले अहिलेसम्म गर्न नसकेको श्रोता सर्वेक्षण गर्न पनि जरुरी भइसकेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो रेडियो स्टेसन हुनुको नाताले पनि यस कर्ममा रेडियो कान्तिपुरले नेतृत्व लिन आवश्यक छ । किनभने १९ वर्षको गर्विलो इतिहासलाई भविष्यमा सुनौला अक्षरले लेख्न रेडियो कान्तिपुरले प्रसारण पत्रकारिताका क्षेत्रमा एउटा छुट्टै मानक स्थापित गर्न जरुरी छ । अहिलेको प्रमुख चुनौती भनेकै यही हो ।

आचार्य रेडियो कान्तिपुरका समाचार प्रमुख हुन्।

Esewa Pasal

प्रकाशित : माघ २६, २०७४ ०७:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेइमानीबाट भोगेको ‘महासंकट’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका विचारवान नेता रामचन्द्र पोखरेलको माघ २५ को लेख ‘कांग्रेसको महासंकट’मा धरातलीय यथार्थ समेटिएको छ । नेतृत्वबाट गल्तीमात्र होइन, बेइमानीका कारण यसपालीका सबै निर्वाचनमा कांग्रेसले अभूतपूर्व पराजय भोग्नुपरेको तितो यथार्थलाई उहाँले आत्मसात गर्नुभएको छ कि छैन ? स्पष्ट भएन ।

गल्ती गर्न पाइन्छ, तर बेइमानी गर्न पाइँदैन । गल्ती पनि दोहोर्‍याउन पाइँदैन । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको मात्र होइन, निर्वाचनअघि गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत आफैँमा केन्द्रित गरेर गरिएको यस निर्वाचनको परिणामबारे उहाँले जवाफदेहिता स्वीकार गर्नुपर्छ । निर्वाचनभन्दा अघि एकपछि अर्को मनपरी र निर्लज्ज प्रकारले गरिएका निर्णयहरूको एकमुष्ट जवाफ कांग्रेसले जनताबाट पाएको हो । १२ वर्षअघि देउवा प्रधानमन्त्री भएर पार्टी फुटाउनुभयो । १२ वर्षपछि पार्टीलाई आजको हालतमा पुर्‍याउनुभएको हो ।
कांग्रेसको १३ औं महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण प्रतिनिधिसमक्ष पुस्तिकाको रूपमा उहाँले बाँड्नुभएको ‘मेरो प्रतिबद्धता’मा वाचा गर्नुभएको छ, ‘म विधिको शासनमा आधारित सुदृढ एवं समृद्ध र अन्याय तथा विभेदबाट मुक्त नेपाल निर्माणमा विश्वास गर्छु ।......साथै नेपाली कांग्रेसलाई सुदृढ र गतिशील पार्टी बनाउनेछु । पार्टी र यससँग आबद्ध संगठनहरूलाई विधानसम्मत ढङ्गले चलाउने परिपाटीलाई संस्थागत गर्ने मेरो प्रयास हुनेछ । पार्टीका साथीहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै एकताबद्ध पार्टी बनाउन प्रतिबद्ध छु ।’ आज कहाँ गए उहाँका यस्ता लिखितमका वाचाहरू ? आजभोलि कांग्रेसभित्र र बाहिर व्यापक रूपमा सुनिँदैछ,चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि र आफ्नै पत्नी आरजु राणा देउवालाई उहाँ राष्ट्रपतिबाटमनोनित गराएर राष्ट्रियसभाको सांसद बनाउने दाउमा हुनुहुन्छ । एकपछि अर्को यस्ता बेइमानीहरू पार्टी सभापति देउवाबाट अनगिन्ती हुँदै आएका छन् । पार्टी फुटाउँदा उहाँले ‘दासत्वबाट मुक्ति पाएको’ नारा लगाउनुभएको थियो । तर उहाँकाअक्षम्य गल्तीहरूबारे निष्ठावान नेता र कार्यकर्ताहरूको बोली भासिएको देख्दाचाहिँ दासत्वबाट मुक्ति होइन, निरन्तरतादिएको देखेर उदेक लाग्छ ।
– चन्द्रमणि गौतम
बसुन्धरा, काठमाडौँ

प्रकाशित : माघ २६, २०७४ ०७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT