२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नसा रोगबारे भ्रम

डा. कपिलमणि केसी

काठमाडौँ — आजभोलि नसा च्यापिने रोगसँंग धेरै मानिस परिचित छन्। मानिसको संवेदनशीलता यति धेरै बढिरहेको छ कि शरीरको टाउकोदेखि खुट्टासम्म कुनै अंगमा दुखाइ भए नसाको कारणले हो भनेर बुझ्ने परम्परा बढ्दो छ।

घुँडा दुख्ने कुनै–कुनै बिरामीले आफूलाई घुँडाको नसा दुखेको बताउँछन्। वास्तवमा घुँडाको नसा भनेर बिरामीलाई आफै थाहा हुने सम्भावना कम हुन्छ। मानव शरीरको घँुंडामा नसामात्र नभएर छाला, मासु, लिगामेन्ट, टेन्डन र हड्डीजस्ता चिज हुन्छन्। त्यसकारण पनि कुनै अंगमा दुखाइ भए त्यो नसाले हो वा होइन भनेर सबैले बुझ्नुपर्छ।


घुँडामा भएको दुखाइ नसाले मात्र नभएर हड्डी खिएर, लिगामेन्ट च्यातिएर, मासु तन्किएर, टेन्डनमा समस्या भएर, युरिक एसिड, बाथ लगायत अरू थुप्रै कारणले हुनसक्छ। नसाले भएको दुखाइ ढाडबाट सुरु भएर घुँडा हुँदै खुट्टासम्म पुग्छ। हड्डी खिएको दुखाइ सुरुको अवस्थामा पलँेटी मारेर बस्दा, टुक्रुक्क बस्दा, भर्‍याङमा तलमाथि गर्दा गाह्रो हुने, बसेर उठ्दा अप्ठ्यारो हुने वा हात टेकेर मात्र उठ्न सक्ने हुन्छ। दुखाइ एक ठाउँमा मात्र सीमित नभएर घुँडाको अगाडि–पछाडि, साइड–साइड वा कहिलेकाहीं तिघ्राको मासुसम्म पनि हुन्छ। बिरामीले दुखाइ हड्डीबाट भएको नभई मासु वा नसाबाट भएको महसुस गर्ने भएकाले यो समस्या हड्डी खिएर हो भनेर स्वीकार गर्न गाह्रो हुन्छ। लिगामेन्ट च्यातिएर र मासु तन्किएर हुने दुखाइमा लडेको पृष्ठभूमि हुन्छ। त्यसैगरी युरिक एसिड र बाथको समस्या भए कुनै कारणबिना अचानक घँुडा सुन्निने र दुख्ने हुन्छ।


सामान्यतया मानव शरीरमा ढाड र घांँटी पछाडिको मेरुदण्डको हड्डीमा नसा च्यापिन सक्छ। अझै विस्तृत रूपमा भन्दा मेरुदण्डमा भएका हड्डीहरूको बीचमा रहेको कुरकुरे हड्डी अथवा डिस्क पछाडि सरेर नसा च्यापिन्छ। यी बाहेक मेरुदण्डको हड्डी भाँच्चिएर, हड्डी पलाएर वा दुई हड्डीहरूको बीचमा अवस्थित नसा पास हुने बाटो साँंघुरो भएर पनि नसा च्यापिन सक्छ। ढाडको नसा च्यापिँदा दुखाइ ढाडबाट सुरु भएर दायाँ वा बायाँ खुट्टाको पैतलासम्म पुग्छ। दुखाइको मात्रा यति बढी हुन्छ कि बिरामी सुत्दा, कोल्टे फर्कंदा, हिँडडुल गर्दा वा अरू सामान्य प्रकृतिका दैनिक काम गर्न पनि निकै कठिनाइ हुन्छ। दुखाइका साथसाथै तिघ्रा र खुट्टाका केही भागमा छुएको थाहा नहुने, झमझम गर्ने, लाटो हुने, पूरा तागत नभएको जस्तो महसुस हुन्छ र सुतेर खुट्टालाई सिधा बनाई माथि उठाउन गाह्रो हुन्छ। ठूलो साइजको कुरकुरे हड्डी पछाडि सरेर ढाडमा भएका धेरै नसा एकैपटक च्यापिए दिसा–पिसाब भएको पनि थाहा नहुन सक्छ जसलाई कौडा इक्वेना सिन्ड्रम भनिन्छ।


यो नसा च्यापिएको एकदमै गम्भीर अवस्था हो, जसमा ४८ घन्टाभित्र शल्यक्रिया नगरे दिसा–पिसाब गर्ने र खुट्टा चलाउने नसा पूर्णरूपमा बिग्रन सक्छ। घाँंटी पछाडिको हड्डीमा दुई तरिकाले नसा च्यापिन सक्छ। धेरैजसो बेला हातमा जाने नसा च्यापिँदा दुखाइ घांँटीबाट सुरु भएर पाखुरा, कुहिना हुँदै हातसम्म पुग्छ। हातको कुनै निश्चित भागमा छोएको राम्रोसंँग थाहा नहुने वा झमझम गर्ने हुन्छ। घांँटी पछाडि भएको मूल नसा वा स्पाइनल कर्ड नै च्यापिए बिरामीहरू अनियन्त्रित भएर हिँड्ने वा रक्सी खाएको मान्छेजस्तै हिँड्ने, हातखुट्टा आफ्नो नियन्त्रणमा राख्न नसक्ने र दिसा–पिसाब पनि नियन्त्रण गर्न नसक्ने हुन्छ, जसलाई सर्भाइकल माएलोप्याथी भनिन्छ। यस्तो अवस्थामा पनि शल्यक्रिया गरेर मात्र मूल नसालाई

बिग्रनबाट बचाउन सकिन्छ।


यी बाहेक पाखुरा, कुहिना, नाडी, तिघ्राको माथिल्लो भाग र कुर्कुच्चानेर पनि नसा च्यापिन सक्छ। पाखुरानेर भएको नसा, जसलाई रेडियल नर्भ भनिन्छ, च्यापियो भने नाडीको जोर्नीबाट हातलाई माथि उठाउन सकिँदैन र बूढी औंलाको बेसमा छोएको थाहा हँुदैन। कुहिनाको भित्री भागमा रहेको अल्नार नर्भ भन्ने नसा च्यापिए कान्छी औंलाको पूरा भाग र साहिली औंलाको आधा भाग लाटो हुनुका साथै हत्केलाको वरिपरि भएको मासु सुक्दै जान्छ। यसका साथै हातको तागत पनि कम भएको महसुस हुन्छ। नाडीनेर भएको मेडिएन नर्भ भन्ने नसा च्यापिने अवस्थालाई कार्पल टनेल सिन्ड्रम भनिन्छ। यो समस्या शरीरको तौल ज्यादा भएका, कम्प्युटरमा लगातार काम गर्ने, थाइराइडको समस्या भएका र गर्भवती भएका महिलालाई बढी हुन्छ। यो समस्या भए बूढी औंलाको साइडतिर भएका तीनवटा औंलामा लाटो हुने, झमझम गर्ने र दुखाइ हुने हुन्छ। दुखाइ विशेषगरी रातको समयमा हुने गर्छ र दुखाइकै कारणले बिरामीहरू निद्राबाट पटक–पटक उठ्ने र हातलाई झड्काउने गर्छन्।


त्यसैगरी तिघ्राको माथिल्लो भागमा घँुंडानेरको कमन पेरोनिएल भन्ने नसा च्यापिए खुट्टा कुर्कुच्चाको जोर्नीबाट माथि उठाउन सकिँदैन र खुट्टा लत्रिएर हिँड्नुपर्ने हुन्छ। कुर्कुच्चाको जोर्नीनेर भएको प्लान्टर नर्भ भन्ने नसा च्यापिए पैतालाको भाग दुख्ने र झमझम गर्ने हुन्छ।लक्षणहरूलाई राम्रोसंँग अध्ययन गरिसकेपछि कुन समस्या नसाले हो र कुन समस्या अरू कारणले हो भनेर छुट्याउन गाह्रो हुँदैन। प्राय:गरी बिरामीले औषधी पसलमा काम गर्ने फर्मासिस्ट र नजिकको स्वास्थ्य केन्द्रका कर्मचारीसंँग सरसल्लाह लिने गर्छन्। उनीहरूलाई सही विषयको विशेषज्ञ डाक्टरकहाँ पठाउने सल्लाह दिनुपर्छ।


विशेषज्ञ चिकित्सकहरूले पनि आफ्नो विषयभित्र नपरेका बिरामीलाई सबै जांँच एकैपटक गराएर हेर्नुभन्दा सम्बन्धित विभागका चिकित्सकलाई रेफर गर्दा राम्रो हुन्छ। यसो गर्दा बिरामीलाई आर्थिक भार कम पर्नुका साथै उपचार छिटोछरितो र गुणस्तरीय बन्छ।

डा. केसी अर्थोपेडिक सर्जन हुन्।

प्रकाशित : माघ २७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?