कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बीच सडकमा

सिउँडी
विमल निभा

काठमाडौँ — ‘एकताको के स्थिति छ?’ एउटाले आएर अर्कोको पिठ्युँमा बेस्सरी धाप मार्‍यो।

‘कुन एकता?’ अर्काेले फनक्क टाउको घुमाएर सोध्नेसँग नै प्रतिप्रश्न गर्‍यो।‘अरू कुन एकता?’ पछि आउने थोरै मुस्कुरायो, ‘तपाईहरूका पार्टी एकता नि !’‘यो त तपाईलाई नै थाहा हुनुपर्छ।’ पहिलेदेखि उभिएकोले भृकुटी तन्क्यायो, ‘तपाईहरू पनि त एकताको अर्काे पक्ष हो नि !’


‘त्यो त हो।’‘अनि मसँग केको प्रश्न?’‘होइन, तपाईहरू पार्टी एकताका लागि निकै हडबडाएकोले सोधेको हँु।’ अर्काेको मुस्कान गाढा भयो।‘यो भनेको मिलेन।’ पहिलोको स्वर केही उचालियो, ‘तपाईकै पार्टीले एकता–एकता भनिरहेको हो।’


‘एकता त हामी चाहन्छौं नि !’‘आेंठे एकताले के हुन्छ?’‘के भन्नुभएको?’‘साँचो एकता भनेको हुँ मैले।’

‘हामी साँच्चिकै एकता चाहन्छौं।’‘अनि तपाईका नेताहरूका फरक–फरक भनाइ किन आइरहेको त?’ पहिलोको बोलीमा तिक्तता थियो।‘तपाईका पार्टी नेताहरूका भ्वाइस पनि त एक छैन।’ अर्काेले नाक खुम्च्यायो।‘हाम्रो नीतिमा चल्ने पार्टी हो।’


‘हाम्रो पार्टी के बेनीतिमा चल्छ?’‘म के जानुँ?’‘ठिक भन्नुभयो।’ पछि आउनेले टाउको हल्लायो, ‘तपाईलाई केही जानकारी छैन।’‘तपाई अलि विचार पुर्‍याएर कुरो गर्नाेस्।’ पहिलोको स्वर तातियो।‘म तपाईजस्तो होइन।’‘म पनि तपाईजस्तो होइन।’‘तपाई मजस्तो हुन पनि सक्नुहुन्न।’‘बेसी फुर्ती नगर्नाेस् मसँग।’

‘यो फुर्तीको सवाल होइन।’‘मलाई तपाईहरूका विषयमा सबै थाहा छ।’


‘मलाई केही थाहा नभएको भनी नठान्नोस्।’‘के थाहा छ, तपाईलाई?’‘तपाईहरू एकता विरोधी हो।’

‘तपाईंहरू पनि एकताको पक्षमा रहेको त लाग्दैन मलाई।’‘हामीले सच्चा मनले एकता चाहेका हौं।’

‘सच्चा मन !’ पहिलेदेखि उभिएको व्यंग्यले मुस्कुरायो, ‘मुखले सच्चा मन भनेर के हुन्छ?’‘तपाईहरू जस्तो हाम्रो मन कालो छैन।’ पछि आउने एक्कासी भड्कियो, ‘हामी त चाँडो एकता चाहन्छौं।’


‘चाँडो एकता !’ पहिलोको बोलीको व्यंग्य मुखर भयो, ‘कति चाँडो एकता?’‘हाम्रो अध्यक्षले इमानदारीका साथ एकताको प्रयास गरेको देख्नुभएन?’‘हाम्रो अध्यक्षले पनि कुनै बेइमानी गर्नुभएको छैन नि !’‘अब मेरो मुख धेरै नखुलाउनोस्, तपाई।’‘तपाईले भन्न खोज्नुभएको के?’


‘तपाईहरू कुरो एउटा र काम अर्काे गर्नुहुन्छ।’‘यस्तो झुठो आरोप नलगाउनोस्।’ पहिलो पुरै उत्तेजित भयो, ‘जे मन लाग्यो, त्यो भन्न पाइँदैन।’‘तपाई कुरै बुझ्नुहुन्न।’ अर्काेको स्वर पनि चर्काे भएर फाट्यो, ‘त्यसै निहुँ खोज्छ बा !‘त्यसै निहुँ खोज्ने त तपाईहरू नै हो।’‘हामी निहुँ खोज्नुमा विश्वास गर्दैनौं।’

‘मलाई सबै थाहा छ।’‘के थाहा छ?’


‘तपाईको पार्टी अहंकारले एकता नभइरहेको हो।’‘आफ्नो पार्टीको विश्वासघाती चरित्रबारे के भन्नुहुन्छ नि?’‘जे मुखमा आयो, त्यो प्याच्च नभन्नोस्।’‘तपाईहरूले नै एकता बिथोलिरहेको हो।’‘तपाईहरूका एकता विरोधी कार्य हामीलाई थाहा नभएको भनी नठान्नोस्।’ पहिलेदेखि उभिएकोले जोडले भन्यो।

‘हामीले के एकता विरोधी कार्य गर्‍यौं?’ पछि आउनेको आवाज अझ उँचो भयो।दुवै एकअर्कालाई भीषण क्रोधको आँखाले हेराहेर गरिरहेका थिए। यसको फलस्वरूप बीच सडकमा तनाव उत्पन्न भएको थियो। घना तनाव। यसै बखत दृश्यमा एउटा अर्काे व्यक्ति आएर ठिंग उभियो, ‘के भइरहेको छ हो, मित्रहरू?’

‘केही होइन।’ पहिलोले रुष्टतामै भन्यो।


‘हामी एकताको कुरा गरिरहेका थियौं।’ अर्काेले सफासफी उत्तर दियो।‘के एकता भइसक्यो र?’ तेस्रोले चकित भई दुवैका अनुहारमा पालैपालो गरी हेर्‍यो।‘हामीले त चाहेको हो।’ पहिलोले अर्काेतिर देखायो, ‘तर उहाँहरूका पार्टीको सहयोग भइरहेको छैन।’‘यो सरासरी गलत हो।’ अर्काेको निधार खुम्चियो, ‘उहाँहरूकै पार्टीले एकता नगरिरहेको हो।’


‘वाहियात कुरो नगर्नाेस्।’‘के वाहियात कुरा?’‘शान्त–शान्त !’ तेस्रोले दुवैलाई चुप लगाउन खोज्यो, ‘अहिले तपाईहरूका पार्टी एकताको के अवस्था छ, त्यो भन्नोस् मलाई मित्रहरू।’‘उहाँहरूले एकता गर्न चाहेकै होइन।’‘यो तपाईहरूका आफ्नै कुरो हो।’‘नचाहिँदो कुरो नगर्नाेस् है।’‘बढ्ता नहोऊ, कांग्रेसी पिठ्ठु।’

‘चुऽऽप विदेशी दलाल !’एकाएक ठूलो–ठूलो आवाजमा भनाभन हुनलागेकोले बाटो हिंँड्नेहरू आकर्षित भए। (रोकिए) र केही बेरमै सडकमा एउटा सानोतिनो हुलको निर्माण भयो। यही हुलबाट एकजनाले बाझाबाझ रोक्न खोजिरहेको ‘तेस्रो’सँग सोध्यो, ‘के भइरहेको हो दाइ?’‘केही होइन।’ तेस्रोले गम्भीर स्वरमा प्रश्नकर्तालाई जवाफ दियो, ‘यो वाम एकता भइरहेको हो, भाइ।’

प्रकाशित : माघ २७, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?