कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाङ्गेमुढाका केशरबहादुर र सन्देशगृह

सन्देश गृहमा उपलब्ध अखबारमा छापिएका भारतीय स्वतन्त्रता आन्दोलन सम्बन्धी समाचारहरूबाट अप्रत्यक्ष रूपमा नेपालका आन्दोलनकारीलाई प्रेरणा र उत्साह प्राप्त हुन्थे।
मल्ल के. सुन्दर

काठमाडौँ — ठमाडौंको तीनधारा पाठशालाको छुट्टै पहिचान र इतिहास छ, नेपालको राजनीतिमा। 

बाङ्गेमुढाका केशरबहादुर र सन्देशगृह

२००७ सालको राजनीतिक परिवर्तनका बेला यो ठाउँ एउटा राजनीतिक गतिविधिको मूल थलो थियो। यस परिसरमा कुनै न कुनै धर्ना, जुलुस, आमसभा दिनहँुजसो हुने गर्थे। विशेषत: राजनीतिक दल तथा तिनका भ्रातृ संगठन तिनका आयोजक हुन्थे।


त्यस दिन परिदृश्य भिन्न थियो– त्यतिकै कार्यकर्ता, दर्शक अनि मञ्चबाट वक्ताहरूका अति जोशिला र क्रान्तिकारी भाषण। तर त्यो कुनै दल विशेषको आमसभा थिएन, कुनै दल विशेषको भ्रातृ संगठन पनि आयोजक थिएन। २००९ जेठ १९ को अपरान्ह– नेपाल सरकारका तल्लो दर्जाका कर्मचारीको विशाल भेला थियो। मञ्चमा वक्ताका रूपमा उभिएका थिए– केशरबहादुर मास्के। न्यून वैतनिक कर्मचारी संघका अध्यक्षको हैसियतमा उनको सम्बोधन थियो। सरकारी कर्मचारीहरू त्यसमा पनि तल्लो तहकाहरूले पाउने तलबबाट जीवन धान्न सकिने अवस्था थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि बजार भाउ छोइनसक्नु थियो। छाक टार्न पुग्दैन थियो, तलबबाट। तलब बाहेक अन्य सुविधा थिएन।


कर्मचारीहरूको ग्रेड वृद्धिको समेत व्यवस्था थिएन। यिनै समस्या समाधानको माग राख्दै नेपाल सरकारका न्यून वैतनिक कर्मचारीहरूका तर्फबाट गरिएको हडतालको पहिलो दिन थियो। इतिहासमा पहिलोपटक आह्वान गरिएको सरकारी कर्मचारीको त्यो आन्दोलनका कारण नेपाल सरकारका सम्पूर्ण कार्यालय ठप्प रहे। त्यस आन्दोलनको समर्थनमा प्रत्येक दिन विद्यार्थीको जुलुस प्रदर्शन हुनथाले। सहरका मूल बजारसमेत बन्द गरिएको थियो, ऐक्यबद्धता जनाउन। हडतालमा संलग्नहरू विरुद्ध वारेन्ट जारी गरिए। जागिर खोसिए। प्रधानमन्त्री थिए, मातृकाप्रसाद कोइराला। भनिन्छ, पछि जजसले सरकारी कागज गरी सम्झौता गरे, उनीहरू सबैको पुनर्बहाली गरियो। तर केशरबहादुर सरकारी कागजमा हस्ताक्षर गर्न कहिल्यै तयार भएनन्। उनको सरकारी नोकरी सधंैका लागि अन्त्य भयो।


त्यही ऐतिहासिक आन्दोलनका अगुवा केशरबहादुरका लागि सय वसन्तपश्चात यही १३ माघ जीवनको अन्तिम दिन भयो। केशरबहादुरको बाल्यकाल मामासँंगै मधेसतिर बित्यो। त्यतैबाट पटना पुगेर उनले

म्याट्रिक गरे। तर भारत बसाइ उनका लागि अंग्रेज शासक विरुद्धको स्वतन्त्रता आन्दोलन सम्बन्धमा धेरै जान्ने–सिक्ने अवसर भयो। जागरण र चेतनाको भावनासहित काठमाडौं फर्केका केशरबहादुरमा नेपालको तत्कालीन परिस्थितिमा परिवर्तनका लागि आफूले पनि केही गर्नुपर्छ भन्ने आकांक्षा तीव्र भयो।


केशरबहादुर थिए– काठमाडौं भित्री सहर, बाङ्गेमुढाका वासिन्दा। उनको जन्मभन्दा दुई दशक अगाडि विसं १९५५ तिरै माधवराज जोशी ललितपुरको वंकुबहालस्थित आफ्नो कूल स्थानबाट स्थानान्तरण भइसकेका थिए। केशरबहादुरको घरछेउ नै माधवराजको नयाँ बसोबास थियो। त्यहीँ उनले आर्यसमाज खोले। दयानन्द सरस्वती जस्ता समाज सुधारकबाट प्रभावित भई कोलकाताबाट फर्केका माधवराजले नेपालमा

छुवाछूत, कर्मकाण्ड, सामन्ती रीति–संस्कारदेखि मूर्तिपूजा विरुद्ध जागरणका अभियान चलाएका थिए। चन्द्रशमशेरको शासनकाल, अन्धविश्वास र अन्ध परम्पराका संरक्षक दरबारिया पुरोहित र बडा गुरुज्यूका लागि उनको अभियान सह्य बनेन। माधवराजलाई दरबारमै बोलाएर चन्द्रशमशेरकै अगाडि चुटियो। रक्ताम्य पारियो। जातिच्युत गरियो।


उनी पानी नचल्ने भए। अनि दुई वर्षको कारावास तोकियो। सपरिवार निर्वासन सुरु भयो। संयोगको कुरा, आर्य समाजको कार्यालयको ठिक सामुन्नेको अर्को घरमा खुल्यो, महावीर इन्स्टिच्युट। चिनियाँलाल सिंह आफै संस्थापक भई खोलिएको यस इन्स्टिच्युट अंंग्रेजीसहित अन्य आधुनिक विषयगत अध्यापन गराउने त्यसबखतको चर्चित शिक्षालय थियो। औपचारिक शिक्षाका अतिरिक्त त्यहाँ राजनीतिक चेतनाको प्रवचन हुन्थ्यो। स्वयम् सहिद गंगालाल श्रेष्ठ, शुक्रराज जोशीका साथसाथै पूर्णबहादुर

मानव, टंक विलासले पढाउँथे। यथार्थमा त्यो नेपाल प्रजापरिषदको नियमित बैठक बस्ने भूमिगत केन्द्र नै थियो। रामहरि शर्मा, चूडाप्रसाद निरन्तर आइरहन्थे। १९९७ कात्तिक २ सम्म पुग्दा त्यो इन्स्टिच्युट बन्द गरियो। संस्थापक चिनियाँलाल पक्राउ परे। सर्वस्वहरण र आजन्म कारावासको सजाय भयो। अन्तत: चिनियाँलालको कारावासमै सहादत भयो।


सम्भवत: महावीर इन्स्टिच्युटकै प्रभावमा होला, दिवाकर भाजु (राजभण्डारी) ले न्हैकन्तलास्थित आफ्नै घरको छिँडीमा अर्को पाठशाला खोले, नेपाल पद्मज्योति पाठशाला। उता नघलमा अष्टमङ्गल बज्राचार्यसँंग मिलेर अमिरबहादुर राजभण्डारीले आफ्नै निवासमा अर्को शिक्षालय सञ्चालनमा ल्याए। भेडासिंहमा त्यहाँका युवा नन्दलाल जोशी र भुवनलाल जोशीले अर्को विद्यालय चलाए। अन्तत: यिनै तीन पाठशालालाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा सञ्चालनमा ल्याइयो, शान्ति निकुञ्ज हाइस्कुल, जुन त्यसबेलाको एक क्रान्तिकारी संस्था थियो। भुवनलाल प्रधान त्यसको पहिलो प्रधानाध्यापक चुनिए।


यता नेपाल नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज जोशी नेपालीहरूमा राजनीतिक चेतना जागरण गराउने उपाय खोज्दै थिए। समितिकै अर्का सदस्य गंगालाल सहितले इन्द्रचोकमा धार्मिक प्रवचन आयोजना गरे। शुक्रराजले १९९७ माघ ११ का दिन फाँसीको सजाय भोगे। अर्का सहिद पनि बाङ्गेमुढा टोलकै वासिन्दा थिए। यद्यपि सहिद गंगालालको पुख्र्यौली घर क्षेत्रपाटी थियो, पछि प्याफलतिर सरे।


तर बाङ्गेमुढा उनको उठबस हुने मूलकेन्द्र रह्यो। एकातिर आफूले पढाउँदै आएको महावीर इन्स्टिच्युट र शुक्रराजको निवास यहीं नै। उनकी श्रीमती हसनाको घर पनि बाङ्गेमुढामै। यति नै बेला केशरबहादुरकै छिमेकी बाङ्गेमुढाका जागरुक युवाहरू फत्तेबहादुर सिंह र चन्द्रमान सिंहलाई पनि ०९७ साल काण्ड अन्तर्गत सर्वस्वहरण सहित कारवास पुर्‍याइयो।सम्भवत: आफ्नो टोल–छरछिमेकको यस्ता परिवेशले निकै प्रभाव पारेको थियो, केशरबहादुरलाई पनि। अनि भारत रहंँदा विद्यार्थीकालमा त्यहाँको स्वतन्त्रता

आन्दोलनले पारेको गहिरो छापका कारण बाङ्गेमुढाका युवा केशरबहादुरको मनमा पनि सामाजिक जागरणका लागि केही गर्नुपर्छ भन्ने चेत जागेको हुंँदो हो। हृदयचन्द्रसिंह प्रधान र महाकवि लक्ष्मीप्रसाद देवकोटासंँगको सामिप्यता भइसकेको थियो। उहाँहरूको उठबसमा नेपाल शान्ति समाज नामक संस्थाको माध्यमबाट केही गतिविधि सुरु भएको थियो। केशरबहादुरको आफ्नै घरको कोठामा त्यसको कार्यालय थियो। तर यतिले मात्र केशरबहादुरले खोजेजस्तो कुरा भइरहेको थिएन। यता कृष्णचन्द्रसिंह प्रधान त दौंतरी नै भए। सबैको सल्लाह र मिलेमतोमा एउटा यस्तो केन्द्र सञ्चालनमा ल्याउने सोच बन्यो, जहाँ मानिसले सजिलैसंँग विश्वभरका सूचना प्राप्त गर्न सकुन्। जागरणका सामग्री अध्ययन गर्न पाउन्। त्यसका लागि कृष्णचन्द्रसिंह र केशरबहादुरले नौलो खालको पुस्तकालय सञ्चालनमा ल्याउने योजना

बनाए। त्यसताका काठमाडौंमा केही पुस्तकालय त थिए, तर त्यहाँ पुस्तकहरू मात्र पढ्न पाइने। उनीहरू चाहन्थे, अब खोलिने पुस्तकालयमा विश्वका खबर पनि पढ्ने अवसर मिलोस्। त्यही योजना अनुरूप उनीहरूले भारतको बनारस, पटना र कोलकाताबाट भारतीय पत्रपत्रिका झिकाउने व्यवस्था गरे। आफ्नै गोजीबाट टेबल, मेच र दराजको चाँजोपाँजो मिलाए। भारतबाट अखबार आउन थाले। अखबारमा नयाँ कुरा हुन्थे। त्यस अतिरिक्त भारतमा त्यसबेला चलिरहेको स्वतन्त्रता आन्दोलनका समाचार हुन्थे। कतिपय अवसरमा नेपाल सम्बन्धी समाचार पनि छापिन्थे। ती अखबारमा गान्धी, नेहरू, सरदार पटेल, जिन्हा र नेताजी सुभाषका कुरा हुन्थे। स्वाभाविक हो, मानिसमा चासो, उत्सुकता त्यतिकै थियो। भारतीय स्वतन्त्रता आन्दोलनका तत्कालीन समाचारहरूबाट अप्रत्यक्ष रूपमा नेपालका आन्दोलनकारीका लागि प्रेरणा र उत्साह प्राप्त हुन्थे। आम नागरिकमा परिवर्तनका चेतना जगाउन बाङ्गेमुढामै खोलिएको ज्ञानको थलो बन्यो, ‘सन्देश गृह’। त्यो २००३ सालको कुरा थियो, केशरबहादुरको दूरदृष्टिको एउटा मूर्तता।


विस्तारै सन्देश गृह एउटा यस्तो केन्द्रमा रूपान्तरित हुंँदै गयो, जहाँ प्रत्येक साँझ नेपालका मूर्धन्य राजनीतिज्ञ बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामहरि शर्मा, डिल्लीरमण रेग्मी, पुष्पलाल, मनमोहन अधिकारी, निर्मल लामा आदिबीच जम्काभेट हुन्थ्यो। एक प्रकारले राजनीतिक जमघटको केन्द्रजस्तो। सरकारी उच्च अधिकारीहरू पनि अखबारको खोजीमा त्यहाँ पुग्थे।


स्वाभाविक हो, यस्तोमा सरकारी गुप्तचरहरू पनि त्यतिकै भेटिन्थे, त्यस वरपर। सन्देश गृहकै कारण पुन: एकपटक बाङ्गेमुढा टोल अप्रत्यक्ष रूपमा राजनीतिक केन्द्रजस्तै बन्न पुग्यो।रमाइलो कुरा, त्यतिखेर आफ्नै विश्वविद्यालय थिएन, नेपालमा। धनाढयका सन्तान पढ्न भारतको विभिन्न सहर पुग्थे। पछि विद्यार्थीहरूको संख्या वृद्धि हुनथालेपछि नेपालमै बसेर म्याट्रिकदेखि आईए, बीए वा सो सरहका पठनपाठन गर्नसक्ने व्यवस्था भयो। तर परीक्षा भने भारतकै विभिन्न विश्वविद्यालयको व्यवस्थापन अन्तर्गत

सञ्चालन गरिन्थ्यो। दुई–तीन महिनामा परीक्षाको अन्तिम नतिजा निस्किन्थ्यो।


परीक्षाफल थाहा पाउने एउटैमात्र माध्यम थियो, भारतीय पत्रपत्रिका। त्यस्ता पत्रपत्रिका सन्देश गृहमा मात्र उपलब्ध हुन्थे। परीक्षाफल हेर्न सहज होस् भनेर बाङ्गेमुढाको डबलीमा अखबारको पन्ना टाँसिन्थ्यो। प्रत्येक तहको विश्वविद्यालय परीक्षाफल प्रकाशनको समय बाङ्गेमुढामा विद्यार्थीको भिडभाड हुन्थ्यो। सन्देश गृह परीक्षाफल सूचना केन्द्रसरह थियो। नेपालमै विश्वविद्यालय खोलिएपछि त्यो क्रम रोकियो।

विविध कारणले अहिले त्यो ऐतिहासिक केन्द्र सञ्चालनमा रहेन, अनि रहेनन्, सन्देश गृहका द्रष्टा केशरबहादुर।

प्रकाशित : माघ २७, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?