कालो धनको कालो राजनीति

उही मुटु उही भावना
कालो धनले बढावा पाउने र त्यसले थप अराजकता सिर्जना हुने अवस्था कुनै पनि देशका लागि हितकर हुँदैन ।
डा. कमल लामिछाने

काठमाडौँ — जनताले मत खसालेर आफ्नो दायित्व पूरा गरे पनि केही कानुनी र त्योभन्दा बढी फोहोरी नियतले मुलुकले नयाँ सरकार अझै पाएको छैन । बल्लतल्ल निर्वाचन आयोगले चुनावी परिणाम सार्वजनिक गरेसँगै त्यसतर्फको पाइला सहज हुनथालेको छ ।

वैधानिक रूपले नयाँ प्रधानमन्त्री नबनिसके पनि कुनै चामत्कारिक घटना नभएमा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो जिम्मेवारी सम्हाल्ने निश्चितजस्तै छ । निर्वाचनबाट सबभन्दा ठूलो दलको रूपमा उदाएको र त्यसमाथि माओवादी केन्द्रसँग पार्टी एकता नै गर्ने भनिएकाले अंकगणितले उसलाई आरामदायी स्थितिमा पुर्‍याएको छ । त्यसैको जगमा सरकार बनाउनुपूर्व नै उनले प्रधानमन्त्रीजस्तै गरी विभिन्न अभिव्यक्ति दिएका मात्रै छैनन्, छिमेकीहरूसँग पनि त्यही अनुरुप वार्तालाप गरिरहेका छन् । सत्तामा पुग्नु पहिले नै छिमेकीहरूसँग हिमचिम बढाउने उनको हतारो विवादमुक्त भएन । खास गरेर गत महिना उनले भारतीय विदेशमन्त्रीसँग गरेको भेट तथा व्यापारीहरूका सामु कालो धनलाई सेतो बनाउनेतर्फ सोच्ने पो हो कि भनिदिएको अभिव्यक्तिले मौसम ततायो । यो लेखलाई सम्पत्ति शुद्धीकरण गर्दा पर्नसक्ने सम्भावित नकारात्मक असरमा केन्द्रित गरिएको छ ।

सामान्यतया सम्पत्ति शुद्धीकरण भन्नाले पद, शक्ति, नीतिगत भ्रष्टाचार, कमिसन कार्टेलिङ लगायत यावत गलत बाटो गरेर कमाइएको पैसालाई राज्यले नै संरक्षण गरेर ‘लाउन्ड्रिङ’ अर्थात् शुद्ध गर्ने भन्ने बुझिन्छ । त्यसरी शुद्ध गर्दा नत उनीहरूको सम्पत्ति आर्जनको स्रोत खोजिन्छ, न त्यसबापत कर नतिरेकोमा कुनै कारबाही नै गरिन्छ । त्यसरी स्रोत नखुलाइकन र राज्यलाई कर पनि नतिरिकन जम्मा गरिने सम्पत्तिलाई कालो धन अर्थात् ‘बल्याक मनी’ भनिँदो रहेछ । कालो धनलाई राज्यले संरक्षण गर्दा त्यहाँ ‘व्ल्याक इकोनोमी’ मौलाउन सक्छ, जुन एउटा असल मुलुकको न्यूनतम विशेषताभित्र पर्दैन । असल राज्यमा नागरिकले कमाउन सक्ने वातावरण निर्माण गर्ने र त्यसबापत सरकारलाई कर तिर्ने अनि राज्यले पनि जनताको करको जगमा नागरिकप्रति जवाफदेही बन्ने आशा राखिएको हुन्छ । तर त्यस्तो न्यूनतम अपेक्षा विपरीत हाम्रा सम्भावित प्रधानमन्त्री ओलीले चाहिँ व्यापारीहरूको एउटा समूहलाई साक्षी राखेर कालो धनबारे मुख खोले । यस्ता गलत क्रियाकलापका सन्दर्भमा व्यापारीहरूले विगतमा आफूले सोझै भन्न नसकेपछि व्यक्ति या केही सञ्चार माध्यमको प्रयोग गरी अभिव्यक्ति सार्वजनिक गरेर कस्तो प्रतिक्रिया आउँछ अर्थात सरकार अनि जनताको नाडी छाम्ने प्रयत्न गरेको नपाइएको होइन । तर यसपटक त उनीहरू एक कदम अघि बढेरै सम्भावित सरकार प्रमुखकै मुखबाट कालो र सेतोको बीचको दूरी मेटाउने आशय प्रकट गराउन सफल भए । सरकार भनेको त गलत कामलाई दण्डित र सही कामलाई प्रोत्साहन गर्ने संस्था हो । त्यहाँ पुग्ने जोकोहीले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा सजकता अपनाउनुपर्छ । तर जुन संस्थाले आफूले गलत गरेर अकुत कमाएकोमा कारबाही गर्ला कि भनेर त्रासमा बसेका छन्, त्यसैको सम्भावित प्रमुखले नै एक पटकका लागि ‘अन्डर ग्राउन्ड मनी’लाई बाहिर ल्याउन दिए कसो होला भनेको विषय किमार्थ सामान्य होइन । बरु यसबाट अनुमान गर्न सकिन्छ, देशमा को हावी भइरहेछ र त्यसले कालान्तरमा कस्तो परिणाम दिनेवाला छ ।

भनिरहन परोइन, कालो धन गरिबसँग हुँदैन । गरिबलाई त हातमुख जोड्नै धौधौ हुन्छ । अनि अवैध बाटो गरेर धन कमाउनेगरी माथिसम्मको पहुँच कसरी राख्न सक्नु । त्यस अर्थमा नयाँ बन्ने वामपन्थीहरूको सरकार कथंकदाचित सम्पत्ति शुद्धीकरणको बाटोमा हिँड्यो भने उसको रुचि कतातिर रहेछ, गरिबतिर कि धनाढ्यतिर, श्रमजीवी जनतातिर कि कर्पोरेट हाउसतिर भन्ने प्रस्टिने छ । हुन त नेपालका वामपन्थीहरू
आफ्नो हैसियत नहुँदामात्रै गरिबको पक्ष र आफूले धनी बन्ने बाटो पहिल्याएपछि चाहिँ पुँजीवादीहरूकै पथमा हिँड्ने गरेको आरोप लाग्दै आएको छ । त्यस्तो नहुँदो हो त शिक्षा र स्वास्थ्यमा यो हदसम्म व्यापारीकरण हुने थिएन, भ्रष्टाचारले मलजल पाउने थिएन, अनि एउटै विषयमा निरन्तर डा. गोविन्द केसीहरूले चिच्याइरहनुपर्ने थिएन । साथै समानुपातिक कोटामा आर्थिक र सामाजिक रूपले सबैभन्दा बढी सशक्तीकरण भएका चौधरी, दुगड, गोल्छा अनि खेतानहरूलाई पठाएर साँच्ची नै पछाडि परेका समुदायहरूको मर्म र भावनामाथि प्रहार गरी प्रतिनिधित्व खोसिने थिएन ।

राज्यकै सहयोगमा पैसालाई ‘लाउन्ड्रिङ’ अर्थात् शुद्धीकरण गरेपछि केपी ओलीका शब्दमा अहिलेसम्म ‘अन्डरग्राउन्ड’ रहेका उनीहरू अबचाहिँ खुल्लमखुल्ला मूल अर्थतन्त्रको हिस्सा बन्न पुग्छन् । त्यसरी अर्थतन्त्रको हिस्सा बनेपछि उनीहरूले अझ बढी सम्पत्ति जम्मा गर्न सक्छन् । किनभने त्यो पैसा लगानीका विभिन्न क्षेत्रमा जानेछ र त्यसले दिने प्रतिफलको हकदार स्वाभाविक रूपमा उनीहरू नै हुनेछन् । अवैध र अशुद्ध सम्पत्तिलाई शुद्धीकरण गरिदिँदा त्यसबापत राज्यलाई कर तिर्ने भएकाले राम्रै हो भन्ने गाइँगुइँ पनि नसुनिएको होइन । तर सँगसँगै के भुल्नु हुँदैन भने अर्काको सम्पत्ति चोरेर, लुटेर, ठगेर या कब्जा गरेर कसैलेआफ्नो बनाएपछि जसरी त्यो सम्पत्तिमार्फत कर तिर्छु भनेर उन्मुक्ति पाउँदैन । त्यस्तै र त्योभन्दा अझ बढी आपराधिक हुनेछ, कालो धनको शुद्धीकरणको बाटो । किनभने त्यस्तो बाटोमा हिँड्ने प्रयासबाट दुष्परिणाम नै निस्कने हो । अर्थात् अवैध बाटोबाट कमाएका तर सार्वजनिक गर्न नसकेकाहरूमा एकातिर नयाँ उत्साह र उमंग थपिनेछ भने अर्काेतिर अरुलाई समेत त्यस्तै बाटोको खोजी गर्न प्रेरित गर्ने खतरा बढ्नेछ । अनि सहजै अनुमान गर्न सकिन्छ, त्यस्तो देशमा सुशासन कहाँ हुनेछ र भ्रष्टाचारको बिरुवा मौलाएर कत्रो बन्नेछ ?

साथै एकातिर जिम्मेवार नेताहरूले अशुद्ध सम्पत्ति शुद्धीकरण गर्ने आशय दर्शाउनु र अर्कोतिर स्रोत नखुलेको भनी अजय सुमार्गीजस्ता केही व्यक्तिका नाममा राष्ट्र बैंकमा रोकिएको रकमलाई अन्तरिम आदेशद्धारा सर्वोच्च अदालतले फुकुवा गर्नुलाई केवल संयोग मान्न गाह्रो हुन्छ । त्यसैगरी सहसचिव चूडामणि शर्माले त आफ्नो अर्बभन्दा माथिको सम्पत्तिको मूल हिस्सा नै पुस्तकको रोयल्टीबाट कमाएको भनेका छन् । यसको सोझो अर्थ के हो भने जति उनले रोयल्टीबापत कमाएका छन्, त्योभन्दा बढी उनका पुस्तकका प्रकाशकहरूले पनि कमाएको हुनुपर्छ । किनभने सामान्यतया रोयल्टीभन्दा प्रकाशकले पाउने रकम बढी नै हुने गर्छ । त्यसैले उनीहरूको सम्पत्तिएकपटक हेरिदिने हो भने चूडामणि शर्माको सम्पत्ति कमाइको राज थाहा भइहाल्नेछ । तर लाग्दैछ, अदालतका गतिविधिहरू त्यसतर्फ क्रियाशील छैनन् । बरु कानुनका छिद्राहरूकोसहारा लिई अब बन्ने सरकारले कालो धनलाई सेतो बनाउने कदम चालेमा सहयोगी बन्ने आशय दर्शाउन शर्मा र सुमार्गीहरूलाई चोख्याउनेतर्फ उद्यत भएको नागरिक आरोप छ । जुन किमार्थ शुभ होइन ।

कालो धनले बढावा पाउने र त्यसले थप अराजकता सिर्जना हुने अवस्था कुनै पनि देशका लागि हितकर हुँदैन । त्यसैले स्रोत नखुलेको, पद र शक्तिको दुरुपयोगबाट आर्जित सम्पत्तिलाई राज्यकरण गर्ने र उनीहरूलाई आवश्यक कारबाही गर्नेगरी कानुनको निर्माण गरिएको हुन्छ । आतंकवाद, लागूपदार्थ ओसारपसार अनि अन्य आपराधिक क्रियाकलापका कारण मुलुकहरू दुई पक्षीय र बहुपक्षीय सहयोगसमेत आदान–प्रदान गरी दोषीहरूलाई कानुनको दायरामा ल्याउने काममा निकट भएर काम गरिरहेका छन् । यसर्थ कसैको लहडमा प्रचलित यो अभ्यास विपरीत नेपाल जाने कल्पनासम्म पनि हानिकारक हुन्छ ।

अन्त्यमा, अशुद्ध पैसा अर्थात ‘डर्टी मनी’लाई शुद्धीकरण गर्नु भनेको फिल्टरबाट छानेर पिउनलायक शुद्ध पानी निकालेजस्तो होइन । नेपालले केही वर्षसम्म यस सम्बन्धी ऐन नै बनाएको थिएन । अन्तर्राष्ट्रिय रूपमै कालो सूचीमा राख्ने चेतावनी आएपछि नचाहेरै पनि हाम्रो संसदले यस सम्बन्धी ऐन बनाएको मात्रै छैन, अन्तर्राष्ट्रिय रूपमै प्रतिबद्ध पनि बनिसकेको छ । यसर्थ सरकारले अब कमाऊ, स्रोत नखुलाऊ, अनि अलिअलि हामीलाई पनि बाँड, म एक पटकका लागि अवैध सम्पत्तिलाई वैध बनाइदिन्छु भनेमा लागूपदार्थ अनि सुन तस्करीका रूपमा परिचित नेपालले अर्को परिचय पनि पाउनेछ, संघीय लोकतान्त्रिक नयाँ ट्याक्स हेवनका रूपमा । यसको सोझो अर्थ के हुनेछ भने सरकार अवैध सम्पत्तिलाई शुद्ध बनाउने अवैध गतिविधिमा संलग्न छ । त्यस्तो दुष्कर्म ट्याक्स हेवन भनिने मुलुकहरूमा स्वाभाविकै होला, तर हामीले हिँड्न खोजेको बाटो त्यो होइन । हामीलाई विकास चाहिएको पनि सत्य हो । हामीले समृद्धिको बाटोमा हिँड्न खोजेको पनि झुटो होइन । तर त्यस्तो विकास र समृद्धिमा अरुबाट लुटिएको, ठगिएको, पद र शक्तिको दुरुपयोग गरी भ्रष्टाचारबाट कमाइएको कालो धनको प्रयोग होस् भनेर जनताले चाहेका छन् भनी बुझ्नुचाहिँ झुटो हो । किनभने कालो धन राज्यलाई कर तिर्न नचाहेकाहरूसँग हुने हो, अनि आफ्नो विकास र समृद्धिको पिलर नै करछलीको सम्पत्तिबाट बनाएर सबै प्रयासलाई अशुद्ध बनाउने प्रयत्नलाई सही ठम्याउने रहर कुन स्वाभिमानी नेपालीलाई होला र ?

प्रकाशित : फाल्गुन १, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

सह–अस्तित्वको प्रतीक शिवरात्रि

शैव दर्शनले शिवलाई संहारकर्ताको रूपमा स्वीकार गरे पनि त्यसको कारक तत्त्व सृष्टि मानेकाले प्रकृति र पुरुषको संगम शिवलिंगमा देखाइएको हो । 
प्रा. विणा पौडेल

काठमाडौँ — फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा आदिदेव शिव शिवलिङ्गको रूपमा प्रकट भएको उल्लेख विभिन्न साहित्यिक स्रोतहरूमा पाइन्छ । आदि शिवलिङ्ग राति उत्पन्न भएकाले शिवरात्रि भन्ने प्रचलनमा रह्यो । यो पर्व परोपकार र सह–अस्तित्वको प्रतीक हो ।

सनातन हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा प्राचीन र सर्वाेत्कृष्ट शास्त्र वेद र उपनिषदलाई मानिएको छ । वेदमा रुद्रको रूपमा बलिसमेत स्वीकार गर्ने शिव समयसँगै परिवर्तन भएर महादेव र पशुपतिका रूपमा पुजित भए । शिवलिङ्ग र प्रतिमा दुवै स्वरुपमा पुजित महादेवका सौम्य र उग्र स्वरुपका चित्र र मूर्तिहरू प्राचीन समयदेखि नै बन्दै आएका छन् । संसारका अधिकांश सभ्यतामा लिङ्ग र योनिलाई विभिन्न आकृतिमा कँुंदेर आआफ्नो ढंगले सम्मान, पूजा र अर्पण गरेका उदाहरण प्रशस्त छन् । भारतको गुडडिमल्लममा प्राप्त एउटा शिवलिङ्ग त्यसमा लिङ्गकै आकृतिमा कँुंदिएका कलाकृतिको कारण निकै चर्चित छ । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र सम्हारकर्ता शिव भन्ने मान्यता पौराणिक कालमा व्यापक थियो ।

शैव दर्शनले शिवलाई संहारकर्ताको रूपमा स्वीकार गरे पनि त्यसको कारक तत्त्व सृष्टि मानेकाले प्रकृति र पुरुषको संगम शिवलिङ्गमा देखाइएको हो । झट्ट हेर्दा शिवलिङ्ग शैव सम्प्रदायका अनुयायीहरूले मात्र पूजा गर्ने देवजस्तो लाग्छ । तर शिवलिङ्गको माथिल्लो भाग रुद्र, बीचको विष्णु र सबैभन्दा तल्लो ब्रह्म भाग हो । जलहरी स्त्री शक्तिको प्रतीक हो । मुखरहित सादा वा पञ्चमुखी शिवलिङ्ग पूजा गर्दा देवीसहित त्रिदेवको पूजा गरिने भएकाले पनि शिवलिङ्ग स्थापना र पूजा व्यापक भएको हो । पञ्चतत्त्वहरू पृथ्वी, जल, तेज, वायु र आकाशको प्रतीककै रूपमा शिवका पञ्चमुख शिवलिंगमा कँुदिने विधान छ । तत्पुरुष (वायुतत्त्व), सद्योजात (पृथ्वीतत्त्व), वामदेव (जलतत्त्व) अघोर (तेजतत्त्व) र ईशान (आकाशतत्त्व) लाई क्रमश: पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतर्फ कँुदिन्छ । शिवलिङ्गको पञ्चमुखलाई महादेवमुख, नन्दीमुख, उमामुख, भैरवमुख र सदाशिव मानेर पूजा गरिन्छ । विष्णुधर्मोत्तर पुराणमा शिवलिङ्ग र मूर्ति निर्माण गर्ने विधान छ । त्यस अनुसार शिवलिङ्गमा कुंँदिएका हातहरूमा अक्षमाला र कमण्डलु (महादेवको हातमा…) धनु र वाण (सदाशिवको हातमा), दण्ड र त्रिशूल (नन्दीमुखका हातमा) ऐना र नीलो कमल उमाको हातमा राख्ने विधान छ । तर काठमाडौंमा निर्मित अधिकांश मुख लिङ्गका हातमा कमण्डलु र जप माला बनाएको देखिन्छ । शिवलिङ्गमा ब्रह्मसूत्र, चन्द्रमा र जनैको स्वरुपमा वासुकि नाग बनाउने चलन प्रचलित छ । शिवको पांँचमुख भए तापनि चारै दिशामा मुख कुंँद्ने र आकाशतत्त्व खाली छोड्ने प्रथा प्राचीन शिवलिङ्गहरूमा पाइन्छ । नयाँ शिवलिङ्गमा भने ईशान तत्त्वको प्रतिनिधित्वमुख नै बनाउने प्रचलन छ । प्रस्तरको सादा शिवलिङ्ग बनाएर मन्दिरको गर्भगृहमा स्थापना गर्ने र धातुको कोश (मुख कुँदिएको) ले छाउने चलन मल्लकालदेखि नै चलेको देखिन्छ । धातुको कोश निकालेर नित्य पूजा सम्पन गरिन्छ । नेपालका केही मन्दिरमा शिवकोशलाई विशेष पर्वमा खट वा रथमा राखेर जात्रा सम्पन्न गर्ने चलन पनि छ । जनैपूर्णिमाको दिन ललितपुर कुम्भेश्वर मन्दिरमा ठूलो जात्रा लाग्छ ।

कुम्भेश्वर मन्दिर भित्रको पोखरीमा सर्वेश्वर महादेवको धातुको कोश खटमा स्थापना गरेर जलाभिषेक र पूजा गरिन्छ । गोसाइँकुण्डको जलकुम्भेश्वरमा प्रवाह हुने मान्यताले त्यसै दिन मन्दिर परिसरमा घुइँचो लाग्छ । सुन्दर र आकर्षक ढंगले नागैनागले घेरेर बेरिएको शिवलिङ्गकोशको एक झलक पाउन सर्वसाधारण भक्त र झांँक्रीहरू बाजागाजासहित पुग्छन् । देवपाटनको पशुपति क्षेत्र, गोकर्णेश्वर महादेव, पाटनको सर्वेश्वर, पाटन सुनागुठीको भृङ्गारेश्वर, पाँचथरको गुप्तेश्वर स्थान, दैलेखको शिरस्थान, अछामको वैजनाथ धाम र कपिलवस्तुको शिवगढीमा शिवरात्रिका दिन भव्य मेला लाग्छ ।

पुरातात्त्विक प्रमाणको आधारमा पाटन सुनागुठीमा भृङ्गारेश्वर शिवलिङ्ग लिच्छवि कालभन्दा पूर्व नै स्थापित भइसकेको देखिन्छ । यसमा अभिलेख कँुंदिएको छैन, तर मन्दिर परिसरमा लिच्छवि कालका अभिलेख प्राप्त छन् । अभिलेख र मिति कँुंदिएको सबैभन्दा पुरानो शिवलिङ्ग भने लाजिम्पाटको धौबीचौरमा छ । नर वर्माले स्थापना गरेको त्यो शिवलिङ्गमा संवत् ३८८ (४६६ ई.) कुंँदिएको छ । शिवलिङ्गको जलहरीमा कुंँदिएका अभिलेखको आधारमा यो सर्वप्राचीन शिवलिङ्ग हो । लिच्छवि लिपि र संस्कृत भाषामा नर वर्माले मन्दिरमा शिवलिङ्ग प्रतिस्थापन गरेको व्यहोरा अभिलेखमा प्रस्ट पारिएको छ । धनबज्र बज्राचार्यका अनुसार प्राचीन कालदेखि प्रतिष्ठित शैव धर्मको यो एउटा सुन्दर उदाहरण हो । त्यसमा भनिए अनुसार शुद्ध काम गर्ने, जसले नीतिसहितको शुर्‍याइँले राम्ररी जितेर राज्य गर्नुभयो । अशल बुद्धि भएका उहाँको (मानदेवको) आज्ञाले भक्त सेवक नर वर्माले संवत् ३८८ ज्येष्ठ शुक्ल चतुर्दशीमा कल्याण गर्नाका कारण भएको मन्दिरसहितको मिल्दो राम्रो लिङ्ग यहाँ स्थापना गरे । अहिले लाजिम्पाट धौबीचौरको ढिस्कोमा शिवलिङ्गछ, तर मन्दिर छैन । मानदेवको समयमा निर्मित सादाशिवलिङ्गहरू लाजिम्पाट, विष्णुपादूका, बूढानीलकण्ठ, पशुपतिको सूर्यघाट र पलाञ्चोक मन्दिर संरक्षणका पर्खाइमा छन् । मन्दिररहित यी शिवलिङ्गहरूले सर्वसाधारणबाट दैनिक पूजा पाइरहेका छन् । मल्लकाल र लिच्छविकालमा बनेका शिवलिङ्ग एवं शैव मूर्तिहरू प्रशस्त मात्रामा रहेका छन् ।

गोपाल र भाषा वंशावलीमा पाटन सुनागुठीस्थित भृङ्गारेश्वर शब्द उल्लेख परेको छ । इतिहासकारहरूले देउपाटनस्थित पशुपतिनाथको शिवलिङ्गभन्दा भृङ्गारेश्वरस्थित शिवलिङ्ग पुरानो मानेका छन् । पशुपतिको हालको शिवलिङ्ग भने ने.सं. ४८० (विसं १४१७) बैसाख शुक्ल द्वितीयाका दिन महामन्त्री जयसिंहरामले जीर्णोद्धार गरेको उल्लेख गोपाल राजवंशावलीमा छ । बंगालका सुल्तान शमशुद्दिन पूर्वतिरको बाटो भई नेपाल उपत्यकामा पसेर भक्तपुरमा लुटपाट गरेर पशुपति मन्दिरमा पुगेका थिए । ने.सं. ४७० मा आक्रमण भएको १० वर्षपछि पशुपतिको मन्दिरमा धार्मिक विधान अनुसार शिवलिङ्ग स्थापना गरिएको थियो । यी प्रमाणहरूको आधारमा पनि भृङ्गारेश्वर शिवलिङ्गलाई इतिहासकारहरूले प्राचीन मानेका छन् । भृङ्गारेश्वर महादेव मन्दिर १९९० सालको भूकम्पमा भत्किएको थियो । मन्दिरमा प्रयोग भएका कलात्मक ठूलठूला टुंँडाल देख्दा यो मन्दिर २/३ तले छाने शैलीको मन्दिर भएको अनुमान सहजै गर्न सकिन्छ । हाल गुम्वज शैलीको मन्दिरमा शिवलिङ्ग छ ।

सादा शिवलिङ्गसँगै १, ३ र ५ वटा मुख बनाइएका शिवलिङ्गलाई स्थापना गरेर अहोरात्र जलधारा अर्पण गरेर पूजा–आराधना गर्ने विधानको उल्लेख शास्त्रमा छ । यी बाहेक १०८ वटा र १००० वटा लिङ्ग बनाइएको अष्टात्रर र सहस्रलिङ्गको निर्माण र पूजा गर्ने विधान पनि छ । पशुपति भूवनेश्वरीमा रहेको एउटा शिवलिङ्गमा पञ्चतत्त्वको प्रतीक कँुंदिने मुखमुहार बाहेक सनातन धर्मावलम्बीहरूको चारधामको नाम स्मरण गर्दै पूजा गर्ने परम्परा छ । जगन्नाथ, द्धारका, केदारनाथ र रामेश्वर गरी चारधामको मान्यता अनुरुप भूवनेश्वरी शिवलिङ्गमा पूजा गरिन्छ । सम्हारका देवता मानिएको शिवलाई देवता र दानव दुबैले प्रसन्न पारेर वरदान प्राप्त गरेका उदाहरण पुराणहरूमा भेटिन्छन् । लंकाका राजा रावण र गन्धर्वका राजा पुष्प दन्ताचार्यले शिवलाई पुकारेर रचना गरेका स्तुतिहरू स्तरीय भक्तिले ओतप्रोत र कालजयी छन् । शिवको परोपकारी पक्ष समुद्र मन्थनको कार्यले प्रस्ट पारेको छ । देवता र दानवले मिलेर समुद्र मन्थन गरेपछि बहुमूल्य वस्तुहरू चन्द्रमा, अप्सराहरू, वारुणीदेवी, कौस्तुभमणि लक्ष्मीदेवी, कामधेनु, कल्पवृक्ष, ऐरावत हात्ती, उच्चैश्रवा घोडा र अमृतसँगै विष पनि निस्कियो । बहुमूल्य वस्तुहरू देवता र दानवहरूले बांँडे । कालकुटविषले ब्रह्माको सुन्दर सृष्टि नष्ट गर्न थालेपछि शिवले विषपान गरेर जोगाए । त्यसैले सम्पूर्ण देवताहरूमध्ये शिवलाई परोपकारी मानिन्छ । भौतिक सुखसुविधालाई त्यागेर सरल जीवनयापन गर्न शिवको बाह्य स्वरुप र शिवदर्शनले हामीलाई मार्गनिर्देशन गर्छ ।

२०४५ सालदेखि शिवरात्रिको दिन सेना दिवस पनि मनाउने परम्परा सुरु भएको हो । बैसाख १ गते मनाउँदै आएको सेना दिवस र शिवरात्रिको बढाइँ विशेष बढाइँ गरेर सेना दिवस शिवरात्रिका दिन सम्पन्न गरिन्छ ।

प्रकाशित : फाल्गुन १, २०७४ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्