सामाजिक रूपान्तरणका सपना

वाम भनिएको गठबन्धन कुनै वाम नभई असली अर्थमा दक्षिणपन्थी गठबन्धन तथा पुरानै सत्ताको संरक्षक हो । 
मोहन वैद्य ‘किरण’

काठमाडौँ — जनताले लामो समयदेखि सामाजिक रूपान्तरणका मिठा र सुन्दर सपना देख्दै आएका छन् । यिनै सपनालाई साकार पार्न ठूलठूला सङ्घर्षहरू भए । जनताका छोराछोरीहरूले धेरै रगत र पसिना बगाए । कैयौं सहिद भए, कैयौं बेपत्ता पारिए र कैयौं घाइते र अपाङ्ग बने । परन्तु, सामाजिक रूपान्तरणका सपना अझै साकार बन्नसकेका छैनन् ।

सामाजिक रूपान्तरण मूलत: दुई प्रकारका हुन्छन्– मात्रात्मक र गुणात्मक । नेपालमा केही मात्रात्मक परिवर्तन त भएका छन् । राणातन्त्र ढल्यो, राजतन्त्र ढल्यो, देश धर्मनिरपेक्ष बन्यो, केही बाटाघाटा बने, सामान्य विकास निर्माणका केही काम भएका छन् । देशको संविधान पनि पटक–पटक फेरिएको छ । तर राज्यसत्ता र व्यवस्था भने पुरानै वर्गको हातमा छ । पटक–पटक फेरिने सरकारमा पुरानै अनुहारको उपस्थिति छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झन्–झन् विकराल बन्दै गएका छन् । वस्तुत: जनताले चाहेको सामाजिक रूपान्तरण मात्रात्मक र आंशिक होइन, अपितु गुणात्मक र समग्र हो । परन्तु त्यो भएको छैन । जनता राज्यसत्ताका मालिक अझै बन्नसकेका छैनन् ।

Yamaha

देशको राष्ट्रिय स्वाधीनताको प्रश्न झन्–झन् संवेदनशील र गम्भीर बन्दै गएको छ । भारतीय शासक वर्गले सीमास्तम्भ सारेको सार्‍यै छ, सीमा मिचेको मिच्यै छ । सरकार रमिते बनेको छ, बोल्न पनि डराउँछ । जलस्रोतका साथै समस्त प्राकृतिक स्रोतसाधन हडप्ने काम हुँदै आएको छ । हालै भारतका परराष्ट्र मन्त्रीद्वारा प्रधानमन्त्रीलाई अपमानित गरेर सम्भावित भावी प्रधानमन्त्रीसित गोप्य वार्ता गरिएको छ । राष्ट्रियताको राग अलाप्ने सम्भावित भावी प्रधानमन्त्री गोप्य वार्ता भएकोमा मख्ख परेका छन् । राजनीतिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक लगायत समग्र क्षेत्रमा बाह्य हस्तक्षेप बढेको बढ्यै छ । सरकारमा बसेका र भविष्यमा बस्नेहरू सबै चुपचाप छन् ।
देशमा लोकतन्त्र अथवा भनौं जनतन्त्र वा जनवादको हालत पनि कम दर्दनाक छैन । यहाँ लोकतन्त्र आएको छ, तर त्यो लोकतन्त्र अभिजाततन्त्र बनेको छ । कुनै खास निर्णय लिनुपर्‍यो वा सन्धि–सम्झौता गर्नुपर्‍यो भने संसदको कुनै अर्थ हुँदैन, प्रधानमन्त्रीले जे गरे पनि हुन्छ । बढीमा संसदीय पार्टीका दुई–चार शीर्ष नेताहरूको सहमतिमा सबैथोक चल्छ । त्यहाँ लोकतन्त्रलाई संसदीय व्यवस्था र शीर्ष नेताहरूको घेराभित्र कैद गरिएको हुन्छ । वर्तमान सत्ता तथा व्यवस्थामा बहुसङ्ख्यक जनताको जनतन्त्रलाई लोकतन्त्रका रूपमा स्वीकार गरिँदैन र त्यसबारे त्यहाँ छलफल तथा बहसको पनि कुनै गुञ्जाइस हुँदैन ।
जनजीविकाका समस्या पनि जटिल बन्दै गएका छन् । प्राकृतिक र मानवीय स्रोतसाधनका दृष्टिले समृद्ध भएर पनि हामी गरिब बन्नुपरेको छ । जलस्रोतमा दोस्रो धनी देश नेपाल त्यही स्रोतको स्वामित्वबाट वञ्चित बन्दै जानुपरेको छ । ३ करोड जनसङ्ख्याको हाराहारीमा पुगेको नेपालमा झन्डै एक करोड नेपाली रोजगारीको खोजीमा विदेशिन बाध्य भएका छन् । बजेट विप्रेषणले धानिएको छ र त्यो पनि घट्दै जान थालेको छ । कृषिप्रधान मानिएको नेपालले आज तरकारी, माछा–मासु, फलफूल, धान, चामलसहित अर्बौंका सामान आयात गर्नुपरेको छ । कृषिजन्य उत्पादनका लागि सरकारी अनुदान, कृषि औजार, यातायात र बजार व्यवस्थापनका समस्या गम्भीर बन्दै गएका छन् । उत्पादित वस्तुले उदारीकरणका रूपमा ठूलठूला शक्तिहरूसित प्रतिस्पर्धा गर्न नसकी एकाधिकारको सिकार बन्नुपरेको छ । संविधानमा शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, आवास र रोजगारीलाई मौलिक हक बनाइए पनि ती हात्तीका देखाउने दाँत बन्न गएका छन् र तिनले निजीकरण तथा व्यापारीकरणको भयावह पीडा भोग्नुपरेको छ ।
अहिलेसम्मका सरकार स्वतन्त्र तथा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने र जनताप्रतिको आर्थिक दायित्वलाई गम्भीरतापूर्वक लिने कार्यभारबाट पन्छिँदै र भाग्दै नवउदारवादी अर्थतन्त्रप्रति प्रतिबद्ध रही आर्थिक निजीकरण तथा व्यापारीकरणको दौडमा लागेका छन् । भावी सरकारको गन्तव्य पनि त्यही नै रहने कुरामा कुनै शङ्का छैन । भविष्यमा ‘वाम’, लोकतान्त्रिक वा मिश्रित जुनसुकै गठबन्धनको सरकार बने पनि जनताका समाज रूपान्तरणका सपना मृगतृष्णामा नै परिणत हुनेछन् । विकास, समृद्धि र स्थायित्वका जतिसुकै चर्का कुरा गरिए पनि ती नारामै सीमित हुनेछन् । र देश तथा जनता अझै भयावह पीडा, अभाव र असह्य उत्पीडनको अवस्थामाछट्पटाइरहनु पर्नेछ ।
आज देशमा वाम गठबन्धनको नाममा ठूलो विभ्रम खडा गर्ने काम भइरहेको छ । वाम भनिएको गठबन्धन कुनै वाम नभई असली अर्थमा दक्षिणपन्थी गठबन्धन तथा पुरानै सत्ताको संरक्षक हो । एमाले र माओवादी केन्द्र बीचमा पार्टी एकता भए पनि त्यस एकताले देश र जनताको हक, हित र मुक्तिको पक्षमा कुनै अर्थ राख्दैन । त्यो पुरातनपन्थकै नयाँ रूप हुने कुरा प्रस्ट छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तात्कालिक समस्या समाधानका लागि न्युनतम रूपमा पनि सत्तारूढ वर्ग र तिनका राजनीतिक दलहरूनिरङ्कुशता, अभिजाततन्त्र र विदेशको दलाली गर्ने प्रवृत्तिबाट मुक्त हुन सक्नुपर्छ । भारत लगायत अन्य मुलुकसित गरिएका असमान सन्धि–सम्झौता तथा समझदारीलाई खारेज गरी देश र जनताको हितमा नयाँ सन्धि–सम्झौता तथा सहमति गर्नुपर्छ । राजनीतिक, आर्थिक तथा सामाजिक सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप तथा उत्पीडनको अन्त्य हुनुपर्छ । देशका प्राकृतिक तथा मानवीय स्रोतसाधनको देश तथा जनताको पक्षमा सदुपयोग गरिनुपर्छ । स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र देशभित्रै रोजगारीको सिर्जना गर्न ठोस योजना बनाई दृढ कार्यान्वयनमा लाग्नुपर्छ । के यस प्रकारको कार्यभार वर्तमान सत्ताधारी वर्ग र तिनका राजनीतिक दलहरूबाट संवहन गर्न सम्भव छ ? एकदमै छैन र हुन पनि सक्दैन ।
नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधानका लागि अग्रगामी र पश्चगामी शक्तिहरूबीच सङ्घर्ष चल्दै आए । नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको गन्तव्यसम्म पुग्न १० वर्षसम्म महान जनयुद्ध पनि सञ्चालित भयो । तर यस प्रकारका सङ्घर्षहरूमा अन्तत: अग्रगामी शक्तिको पक्षमा अपेक्षित परिणाम प्राप्त हुनसकेन । आन्दोलनकै नेतृत्वमा रहेको एउटा पङ्क्तिबाट देश, जनता र सामाजिक रूपान्तरणप्रति विश्वासघात गरियो । आन्दोलनले गम्भीर धक्का र धोका खायो । आन्दोलनका प्रक्रियामा हाम्रा आफ्नै पनि कतिपय कमी, कमजोरी तथा सीमा रहे । तर अब अतीतबाट आवश्यक शिक्षा लिएर भविष्यतर्फ अग्रसर हुनुबाहेक हाम्रा अगाडि कुनै अर्को विकल्प छैन र हुन पनि सक्दैन ।
आज आन्दोलनका पुराना मित्रहरूले सामाजिक रूपान्तरणका सपनामा ताल्चा लगाइदिएका छन् । उनीहरूका लागि भविष्य होइन, अतीत नै सबैथोक बन्न गएको छ । उनीहरूले इतिहासको पुनरावृत्तिलाई नयाँ युगको शुभारम्भ भन्न पुगेका छन् । हिजो उनीहरू जुन शक्तिको विरोध गर्थे, आज तिनै शक्तिसित काँधमा काँध मिलाई लामबद्धहुनपुगेका छन् । यो इतिहासको एक गम्भीर विडम्बना र मजाक पनि हो ।
वस्तुत: जनताका सामाजिक रूपान्तरणका सपना धेरै अर्थपूर्ण र ओजमय छन् । ती कसैले मारेर मर्दैनन् । ती सपना जीवनका इच्छित भविष्य, उद्देश्य तथा आदर्श र इतिहासको आवश्यकतासित घनिष्ट रूपले जोडिएका छन् । त्यस प्रकारका सपनाहरूमा जीवनका समस्त गतिविधि, सामाजिक श्रमशक्ति, उद्देश्य प्राप्तिका साधन र असीम ऊर्जा सन्निहित रहेका छन् । देश र जनताका स्वतन्त्रता र मुक्तिका उदात्त आदर्श र सपनालाई साकार पार्न हामीले अझै ठूलठूला परिश्रम, त्याग एवं बलिदान गर्न जरुरी छ । आफ्नो गन्तव्यप्रति हामी प्रतिबद्ध रहिआएका छौं र भविष्यमा पनि रहनेछौं ।

Esewa Pasal

प्रकाशित : फाल्गुन ३, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेसबुकले बिथोलेको दैनिकी

फेसबुकले हाम्रो संस्कारभित्रको नाता सम्बन्धमा रहेको भावनात्मक तथा कर्तव्यबोधको गहिराइलाई औपचारिकतामा सीमित गर्दै लगेको छ ।
साधना प्रतीक्षा

काठमाडौँ — घाटको ब्रह्मनालमा राखिएको पार्थिव शरीरको फोटो सेयर गरिएको अनि त्यसलाई दिइएका असंख्य ‘लाइक’ देख्दा म चकित भएँ । अनायास मुखबाट निस्क्यो, ‘धन्य फेसबुक संस्कृति !’ प्रश्न आफैसँग गरेँ, ‘मृत्यु पनि लाइक हुन्छ र ?’ केटाकेटीमा पढेकी थिएँ, ‘लाइक’ले मनपराउनु भन्ने अर्थ दिन्छ ।

तर अहिले फेसबुकले यसको नयाँ अर्थ सम्प्रेषित गरिरहेको छ । कसले के लेख्यो वा के सेयर गर्‍यो, पुरै पढ्नु वा बुझ्नु नपर्ने, फेसबुक खोल्नासाथै जे देख्यो, त्यसैमा एक–एक लाइक गर्दै जानु अहिले फेसबुक प्रयोगकर्ताको धर्म बनेको रहेछ । अझै रोचक कुरा त के रहेछ भने कुनै व्यक्तिले आफ्नो रहर वा लहडमा लेखेका हरेक स्ट्याटस एवं फोटो दृश्यमा उसका फ्रेन्डहरूले पोजेटिभ कमेन्ट गरिदिनुपर्ने π यस्तै लाइक र कमेन्ट नै आज व्यक्तिको आफन्त र पराया वा शत्रुता र मित्रताको मापक बनिरहेको देखिन्छ । यति मात्र होइन, यसले नाता सम्बन्धभित्रै पनि दूरी बढाउने र घटाउने दुबै काम गरिरहेको छ ।
बिहान उठ्यो, एउटा स्ट्याटस लेख्यो वा कुनै फोटो–दृश्य आदि सेयर गर्‍यो, अनि बस्यो, त्यसमा आउने लाइक र कमेन्ट गन्न तथा त्यसको जवाफ दिन । अनि त दिन काटेको पत्तै नहुने π किन भौंतारिनु व्यर्थै कामको खोजीमा π केही समयअघि चीन घुम्न गएका एक आफन्त आत्तिँदै फर्केका थिए, किनकि उनी दिनभरजस्तो फेसबुकमा अपडेट हुने मान्छे, त्यहाँ त यहाँजस्तो फेसबुक चलाउन नपाइने रहेछ । अन्य कतिपय मुलुकमा पनि फेसबुकमा प्रतिबन्ध लगाएको पाइन्छ । केही देशमा भने यसका लागि निश्चित समय निर्धारण पनि गरिएको देखिन्छ । यस अर्थमा हामी भने निकै भाग्यशाली रहेछौँ, किनभने हामीकहाँ बाला, युवा, वयस्क, वृद्ध सबैले निर्वाध रूपमा यसको प्रयोग गर्न पाउँछौँ । के घर, के बाटो, के कार्यालय अनि के कलेज र विद्यालय π सर्वत्र यसले प्रवेश पाएको छ ।
विश्व परिवेशमा विज्ञान र प्रविधिले यति धेरै उन्नति गरिरहेको अवस्थामा हामी पनि सूचना प्रविधिको क्षेत्रमा यसरी विस्तारित हुनपाउनु पक्कै पनि गौरवको कुरा हो । फेसबुक लगायत सामाजिक सञ्जालका माध्यमबाट संसारको जुनसुकै कुनामा भएका आफन्तसँग एकाकार हुनसकेका छौँ । एकअर्काका गतिविधिसँग तुरुन्त परिचित हुनपाएका छौँ । भाइबर, मेसेन्जर आदिका माध्यमबाट निशुल्क कुराकानी गर्नेमात्र होइन, भिडियो कलका माध्यमबाट भौगोलिक रूपले टाढा रहेका आफन्त तथा मित्रसँग प्रत्यक्ष भेटघाटको अनुभूतिसमेत गरिरहेका छौँ ।
आफ्ना विचार, भावना तथा दृष्टिकोण फेसबुक तथा ट्विटरका माध्यमबाट आफन्त तथा मित्रबीच बाँड्नुका साथै त्यसको प्रचार–प्रसार गर्दै स्वस्थ प्रतिक्रियाद्वारा बौद्धिक विकासको अवसर पनि प्राप्त गरिरहेका छौँ । आफ्नो यात्रा, भावी कार्यक्रम, गन्तव्य आदिका बारेमा आवश्यक सूचना प्रवाह गर्ने सरल माध्यम पनि बनिरहेको फेसबुकले संसारभर छरिएर रहेका व्यक्तिहरूलाई वैचारिक तथा भावनात्मक रूपले जोड्ने काम पनि गरिरहेको छ । यस अर्थमा फेसबुक अत्यन्त उपयोगी भएकोमा कसैको दुईमत हुनसक्दैन ।
कुनै पनि कुराको फाइदा–बेफाइदा त्यसको प्रयोगमा भर पर्छ । फेसबुक जस्तो सामाजिक सञ्जालको प्रयोगमा पनि आज यही मान्यता लागु भैरहेको छ । हामीकहाँ यसको प्रयोगका लागि कुनै उमेर समूह, समय तथा स्थानको सीमा निर्धारित छैन, जसका कारण केही बालबालिका तथा अधिकांश किशोर–किशोरी प्रभावित देखिएका छन् । वैचारिक परिपक्वताको अभावका कारण उनीहरूलाई फेसबुक संस्कृतिले गलत बाटोतिर प्रेरित गरिरहेको देखिन्छ । स्कुल तथा कलेजमा समेत विद्यार्थीले लुकीछिपी यसको प्रयोग गर्नाले उनीहरूको पढाइ बिग्रिरहेको हुन्छ । कतिपय प्रविधिका नकारात्मक असरबाट अनभिज्ञ भएर वा त्यसप्रति बेवास्ता गरेर हामीले कलिला बालबालिकाका हातमा मोबाइल तथा ट्याब थमाउँदै फेसबुक र युट्युब संस्कृतितर्फ उनीहरूलाई प्रेरित गरिरहेका हुन्छौँ, जसको भावी प्रभाव भने सकारात्मक देखिँदैन ।
फेसबुक व्यक्तिको सामाजिक जीवनसँग सम्बन्धित हुनुपर्नेमा आजभोलि यसले व्यक्तिका नितान्त व्यक्तिगत अवस्था तथा प्रसङ्गहरूको प्रस्तुति गरेको देखिन्छ । कहिलेकाहीँ त यसका प्रयोगकर्ताले दाम्पत्य जीवनका निजी प्रसङ्ग, अवस्था, अभिव्यक्ति तथा फोटो सेयर गरेको देखिन्छ । यसले फेसबुकको सही उद्देश्य बहन गर्नसकेको देखिँदैन । यसैगरी कहिलेकाहीँ यो आपसी मनमुटाव तथा गालीगलौजको माध्यम पनि बन्ने गरेको पाइन्छ । किनभने यसमा स्ट्याटस लेख्ने अनि कमेन्ट गर्ने अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्छ । यसका कारण कतिपयको व्यक्तिगत तथा पारिवारिक जीवनमा नकारात्मक असर पर्नुका साथै बदनामसमेत भएका घटना पनि देखिएका छन् । यसैगरी मानिसहरू फेसबुकमा बढी केन्द्रित हुनाका कारण दैनिक जीवनका अन्य पक्षमा असहजता उत्पन्न पनि हुने गर्छ ।
कुनै पनि मुलुक र समाजलाई कमजोर पार्न त्यहाँको भाषा, कला तथा संस्कृतिमाथि प्रहार गर्ने गरिन्छ । यसरी प्रहार गर्ने एउटा माध्यम अहिले फेसबुक आदि सामाजिक सञ्जालको गलत प्रयोग पनि बनिरहेको छ । नक्कली एकाउन्ट बनाएर जाति, वर्ग, सम्प्रदाय तथा संस्कृतिमाथि आरोप–प्रत्यारोप गर्ने, सामाजिक सहिष्णुता र सद्भाव खलबल्याउने कार्य पनि हुने गर्छ । यस्तै निर्वाचनका बेला यो राजनीतिक परिवेशमा हिलो छ्यापाछ्याप गर्ने सर्वसुलभ साधन पनि बनेको देखिएको छ । यसैगरी हाम्रो सामाजिक परिवेशमा अश्लील लाग्ने दृश्य तथा तस्बिर, यौन उत्तेजनामूलक विषयवस्तु आदि सेयर गरिनाले परिवार तथा बालबच्चासामु फेसबुक खोल्दा लज्जित हुनुपर्ने अवस्था पनि आउने गर्छ । यस प्रकारका सामग्री समाजमा विकृतिको बाहक बन्ने गरेको देखिन्छ । फेसबुकको पाश्चात्य संस्कृतिको प्रभावमा आज हाम्रो परम्परागत पारिवारिक मूल्य–मान्यता पनि ओझेलमा पर्दै गएको छ । घर–परिवारमा एक–अर्काप्रतिको दायित्वबोध गर्नु अनि परेको बेला साथ–सहयोग गर्नुभन्दा फेसबुकमार्फत शुभेच्छा र खुसी व्यक्त गरिनुलाई महत्त्व दिइने हुनाले नै आज फेसबुकका लाइक र कमेन्टका आधारमा सम्बन्ध बन्ने र बिग्रने गरेको पाइन्छ । हाम्रो संस्कारभित्रको नाता सम्बन्धमा रहेको भावनात्मक तथा कर्तव्यबोधको गहिराइलाई यसले औपचारिकतामा सीमित गर्दै लगेको देखिन्छ । फेसबुकलाई व्यक्तिगतभन्दा सामाजिक जीवनसँग आबद्ध गरिनुका साथै लाइक, कमेन्ट र सस्तो मनोरञ्जनभन्दा माथि उठेर व्यक्तिगत मात्र नभई सामाजिक सञ्जालकै रूपमा प्रयोग गरिनुपर्ने बहस पनि आजको आवश्यकता बनेको देखिन्छ ।

प्रकाशित : फाल्गुन ३, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT