१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ग्लिन्डफिडिच

सिउँडी
विमल निभा

काठमाडौँ — ‘यो देशलाई बेइमानहरूले सखाप पार्दै छन् । अब हामीले नै केही गर्नुपर्छ । नत्र सबथोक बर्बाद हुनेछ । बुझ्नुभयो ?’ उसले एक सासमा गिलास स्वाट्ट पारेर भन्यो, ‘अहिले बेइमानहरू निकै नै बढेका छन् ।’
उनी मेरो परिचित हो । यसो ता अरूहरू पनि उसलाई राम्ररी चिन्छन् । वास्तवमा धेरैलाई थाहा छ, यो आफैं बेइमान हो ।

एउटा उच्च कोटीको बेइमान । अर्थात् बेइमानीको क्षेत्रमा एक बहुतै स्थापित नाम । तर अहिले अचम्मैसँग मसामु बेइमानीको विरोधमा धाराप्रवाह ढंगले बोलिरहेको छ । यो पचाउन मलाई असाध्यै गाह्रो भएकोले भनेंँ, ‘तपाई के भनिरहनुभएको छ ?’

‘यस्तो नबुझिने के भनेंँ र मैले ?’ उसले फुर्तीसाथ टाउको घुमायो ।

‘तपाई बेइमानीको विरोध गरिरहनुभएको छ नि मान्यवर !’

‘मैले बेइमानीको विरोध गरेंँ †’ केही क्षण चुप लागेर टाउको उचाल्यो’, म बेइमानहरूका विरोध किन

नगरुँ मिष्टर ?’

‘के यो साँच्चिकै विरोध हो त ?’ मैले जोड दिएर भनेंँ ।

‘यसमा के झुठ देख्नुभयो तपाईंले ?’ यस पटक झडंग क्रोधसाथ हेर्न थाल्यो । मलाई त्यसउसले कुरालाई छर्लंग पार्न मुख खोल्नैपर्ने भयो मैले । तर यसमा एउटा बडेमानको खतरा भने थियो । अर्थात् उसको क्रोधको आगोमा प्रज्वलनशील पदार्थ पर्न सक्थ्यो । तथापि साहसपूर्वक भनँें, ‘के म भनँु त मान्यवर ?’

‘के भन्नुछ, तपाईंलाई ?’ उसले क्रुद्ध मुद्रामै अगाडिको बोतलतिर हात बढायो, ‘लौ भन्नोस् ।’

‘तपाई आफैं बेइमान हुनुहुन्छ ।’ मैले झट्ट भनिहालँें, ‘एक परिचित बेइमान ।’

मेरो आशाको विलकुलै विपरीत ऊ बेसरी हाँस्न थाल्यो– हो, हो, हो । यसको माने के भने उसको क्रोध पुरै गायव भइसकेको थियो । एक छिनपछि उसले यही पाराले हाँस्दाहाँस्दै भन्यो, ‘मलाई बेइमान भनेर भन्छन् ?’

‘हो, ठूलै बेइमान मान्यवर ।’

‘ठूलै बेइमान ?’

‘सबै यही भनिरहेका छन् ।’

‘यो कुन नयाँ कुरा हो र मिस्टर ?’ उसले हाँसो रोकेर गम्भीरताका साथ भन्यो, ‘यो त मलाई पनि थाहा छ ।’

‘एक बेइमान भएर बेइमानीको यसरी विरोध गर्न मिल्छ त मान्यवर ?’ मेरो बोलीमा थोरै रोष थपिएको थियो ।

उसको अनुहारमा पुन: क्रोध देखिन थालेको थियो, तर तुरुन्तै शान्त भएर उसले मतिर हेर्‍यो । अनि विस्तारै भन्यो, ‘हेर्नाेस्, के मिल्छ र के मिल्दैन, यस्तो कुरा छाड्नोस् मिस्टर । तर एउटा कुराचाहिंँ जरुरै असत्य होइन, हामीकहाँ बेइमानी बढेको छ ।’ एकछिन रोकिएर फेरि भन्यो, ‘यो कुनै पनि अवस्थामा राम्रो लक्षण होइन । त्यसैले हामीले बेइमानीको विरोध त गर्नैपर्छ । म एकदमै बेइमानहरूका विरोधमा छु ।’ उसले भरिएको गिलासलाई एक झट्कामा उचालेर मुखमा लग्यो ।

हँ, यो के भन्न खोजिरहेको छ † कुरो त झन् अल्झियो बा † अब यो बेस्कन कस्सिएको गाँठोलाई के गरी फुकाउने होला ? म एक प्रकारको अप्ठ्यारोमा थिएँ । अब के गर्ने ? केही बेरपछि उसको लठ्ठिएको आँखामा हेरेर भनेंँ मैले, ‘एउटा कुरा सोधुँ मान्यवर ?’

‘के सोध्नुछ, तपाईलाई मिस्टर ?’

‘तपाई बेइमानीको विरोधमा हुनुहुन्छ ?’

‘यो कस्तो प्रश्न हो, मिस्टर ?’ उसले ओँठ टेढो पार्‍यो, ‘म अघिदेखि यही भन्न त खोजिरहेको छु ।’

‘मैले कुरा बुझ्न सकिन मान्यवर ।’

‘हेर्नोस्, कुनै पनि बेइमानी–सेइमानीको म ठूलो

विरोधी हँु ।’

‘हो र मान्यवर ?’

‘यसमा के शंका छ, मिस्टर ?’

‘त्यसो भए तमाम प्रकारका बेइमानीलाई यो देशबाट निर्मूल पार्नुपर्‍यो ।’ मैले उसको भनाइमा विश्वास गर्नैपर्ने भयो, ‘यही होइन त मान्यवर ?’

‘तपाईले के भन्नुभएको हो, एक पटक फेरि भन्नोस् त मिस्टर ।’ उसले फेरि बोतलबाट आफ्नो गिलास

भरेर भन्यो ।

‘यो देशबाट बेइमानी निर्मूल पार्नुपर्‍यो ।’

मैले दोहोर्‍याएँ ।

‘यहाँ तपाई एक गलत शब्दको प्रयोग गरिरहनुभएको छ ।’ उसले गिलास खाली गरेर भन्यो, ‘यो तुरुन्तै सच्याउनुपर्‍यो, मिस्टर ।’

म कुरोको आशय बुझ्न नसकेर एकहोरो ढंगले हेर्न थालँें, उसलाई ।

‘हेर्नोस् के हो यो निर्मूल भनेको ? यो शब्द नै यहाँ फिट छैन । हामीले शब्द प्रयोगमा पनि ध्यान दिनुपर्छ, मिस्टर । जथाभावी बोल्नु ठिक होइन ।’ ऊ आफैमा फतफताउन थालेको थियो, ‘केको निर्मूल–सिर्मूल ?’

‘बेइमानी निर्मूल ।’ मैले बेइमानीमा बल दिएर भनेंँ ।

‘अब किन बेइमानी निर्मूल पार्नुपर्‍यो, तपाईले ?’ एकाएक पडकिएकोले उसको आवाज फाटियो ।

‘होइन बेइमानी निर्मूल त बेठिक होइन नि मान्यवर ।’ म आफ्नो भनाइमा अडेको थिएँ ।

‘हेर्नाेस् मिस्टर, अरू जेसुकै भए पनि बेइमानीचाहिँं निर्मूल हुन सक्दैन । यसलाई जति हटाए पनि केही त बाँकी रहन्छ । अब त्यसलाई तपाई बेइमानी भन्नोस् या अर्कै कुनै नाम दिनोस् । के फरक पर्छ ? मेरो मतलव के भने जुनसुकै अवस्थामा पनि बेइमानी त रहनुपर्‍यो नि † हेर्नाेस्, केही त रहन्छ नै ।’ उसले दार्शनिक पारामा अर्थपूर्ण ढंगले भन्यो, ‘हेर्नाेस्, यही यथार्थ हो, मिस्टर ।’

‘किन मान्यवर ?’

‘अब किन भन्ने.....सबथोक खोलेर भन्न मिल्दैन......तपाईमा प्रतिभा छ भने आफैं बुझ्नोस्, मिस्टर....बुझ्नेहरू त बुझ्छन् नि.....बुझिरहेका छन् पनि....तपाई केही बुझ्नुहुन्न भने म के गरुँ.....?’ उसको स्वर लर्बरिन थालेको थियो, ‘बेइमानहरू यो देशका ठूलो दुश्मन हुन्......तिनीहरूका विरोध हामीले गर्नैपर्छ......बेइमानी गर्नु राम्रो काम होइन......म बेइमानहरूका पक्का विरोधी हुँ.....एक नम्बरको विरोधी.....यहाँबाट बेइमानी हट्नैपर्छ.....बेइमानहरू मुर्दावाद....।’ उसले आफ्नो कामिरहेको हात लगभग खाली भइसकेको बोतलतर्फ बढायो ।

उसको कुरा सुनेर म अवाक थिएँ । मलाई चुपचाप पाएर उसले हाइक्वालिटीको ग्लिन्डफिडिच सिंगल माल्टस्कच ह्विस्कीको सातौं पेगलाई स्वाट्ट पार्‍यो, एक सासमा ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?