२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

क्रिकेटमा सफलता र लगानी

दलीय नाता नहेरी काम गर्नेलाई जिम्मेवारी दिने हो भने नेपालले क्रिकेटमा तत्कालै छलाङ मार्न सक्छ ।
राजु घिसिङ

काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ को प्रतिस्पर्धा नेपालका लागि सजिलो भएन । लिग चरणमा एक खेल मात्र हार्‍यो तर जित हात पारेका चारै खेलमा निकै संघर्ष गर्नुपर्‍यो । हारको मुखैमा पुगिसकेको स्थितिबाट खेलाडीहरूले बहादुरीपूर्वक नेपाललाई सफलता दिलाए ।

क्रिकेटमा सफलता र लगानी

नेपाल डिभिजन २ को फाइनल खेल्दै विश्वकप २०१९ छनोटमा पुगेको खबर सामाजिक सञ्जालको ट्रेन्डिङमा अगाडि रह्यो । उच्च नेतादेखि प्रधानमन्त्रीसम्मले नेपाली टिमलाई बधाई दिन भ्याए । देशलाई एकताको सूत्रमा बाँधेको भन्दै ट्वीटर र फेसबुकमा बधाई र प्रशंसाको ओइरो लाग्यो ।

नेपाली टिम डिभिजन २ च्याम्पियन त हुन सकेन तर यस सफलता हाम्रा लागि अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि हो । किनभने नेपालले टेस्ट खेल्ने टिमहरूसँगै प्रतिस्पर्धा गर्ने ढोका खोल्यो । यसैमा रमाइरहने समय भने छैन । विगतमा सफलता हात पारेर फर्केका खेलाडीलाई सम्मानमा सहभागी हुन भ्याइनभ्याई हुन्थ्यो । विश्वकप छनोट दुई सातापछि नै हुने भएकाले अब टिम तत्काल उच्चस्तरको प्रतिस्पर्धाका लागि तयारीमा लाग्नैपर्ने अवस्था छ ।

डिभिजन २ मा नेपाललाई कुनै पनि खेल सजिलो भएन । नेपालले विश्वकप छनोटमा अझ स्तरीय र उत्कृष्ट टिमको सामना गर्नुपर्छ । त्यसैले मार्च ४ देखि २५ सम्म जिम्बाबेमा हुने विश्वकप छनोट अझ कठिन हुन सक्छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (वान डे) को विश्वकप छनोट नेपालले चार वर्षअघि पनि खेलेको थियो । बर्मुडामा जादुयी प्रदर्शन गर्दै डिभिजन ३ च्याम्पियन भएर नेपाल त्यसबेला छनोटमा पुगेको थियो । तर न्युजिल्यान्डमा भएको छनोटमा नेपालको खेल निकै कमजोर भएको थियो । बर्मुडामा जस्तै यसपालि नामिबियामा भएको डिभिजन २ मा नेपाललाई भाग्यले पनि साथ दियो । सधंै भाग्यमानी भइँदैन, आफ्नो भाग्य आफंै बनाउनुपर्छ । त्यसैले चार वर्षअघिको न्युजिल्यान्ड यात्राबाट पाठ सिक्दै यसपालि छनोटमा अगाडि बढ्नुपर्छ ।

नेपाली टिम सीमित खेलाडीमा निर्भर हुन्थ्यो । डिभिजन २ मा भने प्रत्येक खेलमा बेग्लाबेग्लै खेलाडी चम्किए । भर्खरै इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली डेयरडेभिल्समा आबद्ध स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर सोमपाल कामी र नयाँ ब्याटसम्यान रोहितकुमार पौडेलको प्रदर्शन मात्र एक रूपको रह्यो । कप्तान पारस खड्काले सदाझैं जिम्मेवारी पूरा गरे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका सन्दीपले डिभिजन २ कै सर्वाधिक १७ विकेट लिए । पारसले प्रतियोगिताकै सबभन्दा बढी २४१ रन बनाए । राउन्ड रोबिन लिगमा पारसले यूएई, रोहितले केन्या, वसन्तले नामिबिया र करणले क्यानडाविरुद्ध उत्कृष्ट खेलेर नेपाललाई जिताए । हरेक खेलमा फरक खेलाडी चम्किनु राम्रो संकेत हो । ब्याटिङमा कुशल उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी भने चल्न सकेनन् । तर विश्वकप छनोटमा उनीहरूको विकल्प खोज्ने समय छैन । अहिलेका खेलाडीलाई आत्मविश्वासी बनाएर राम्रो लयमा फर्काउनु नै प्रशिक्षक जगत टमाटाको मुख्य चुनौती हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले चार–चार वर्षमा वान डे विश्वकप आयोजना गर्छ । सन् २०१९ इंग्ल्यान्डमा हुने विश्वकपमा दस टिमले प्रतिस्पर्धा गर्दै छन् । आयोजक इंग्ल्यान्ड, वान डे वरीयताका शीर्ष सात टिम भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश र श्रीलंका विश्वकपमा छनोट भइसके । जिम्बाबेमा हुने छनोटबाट दुई टिमले विश्वकपमा अवसर पाउनेछन् । टेस्ट खेल्ने वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्यन्ड, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ, पपुवान्युगिनीसँगै डिभिजन २ बाट उक्लिएका यूएई र नेपालले छनोट खेल्दै छन् । यस आधारमा ५० ओभरको क्रिकेटमा नेपाल विश्व क्रिकेटमा १८ औं स्थानमा छ, जुन नेपालका लागि अहिलेसम्मकै उच्च ‘वरीयता’ हो ।

नेपालले छनोटको समूह ‘बी’ मा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङविरुद्ध खेल्नेछ । समूहका शीर्ष तीन टिमले सुपरसिक्स खेल्नेछन्, त्यसैबाट विश्वकप खेल्ने दुई टिमको फैसला हुनेछ । पुछारका चार टिमले घटुवाबाट बच्ने प्रयास गर्नेछन् । प्ले–अफमा नवौं र दसौं हुने टिम डिभिजन २ मा झर्नेछन् । नौपल्ट विश्वकपमा सहभागी जिम्बाबे १९९९ र २००३ मा सुपरसिक्समा पुगेको थियो । ओरालो लागे पनि उसको स्तर हामीभन्दा माथि नै छ । स्कटल्यान्डले तीनपल्ट विश्वकप खेल्यो । अफगानिस्तान लगातार दोस्रोपल्ट विश्वकप खेल्ने अभियानमा छ । त्यसैले छनोटमा नेपाललाई सजिलो हुने छैन । छनोटमा नेपाल, हङकङ र पपुवान्युगिनी मात्र विश्वकप नखेलेका टिम हुन् ।

आईसीसीको चारवर्षे चक्रमा आफ्नो बाटो तय गर्ने माध्यम पनि विश्वकप छनोट हो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टिममा पर्नु नै नेपालको ऐतिहासिक उपलब्धि हुनेछ, जसले २०२२ सम्मका लागि वान डे मान्यता दिलाउनेछ ।

नेपालले पहिलो उपाधिका रूपमा सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो । त्यसयता नेपाल डिभिजन ४, एसीसी ट्रफी (२०१२/यूएईसँगै संयुक्त विजेता), डिभिजन ३ (२०१३ र २०१४) मा च्याम्पियन भयो । नेपाली युवा टिमले सातपल्ट आईसीसी यू–१९ विश्वकप नै खेल्यो । यी सबै अवसरमा टिमको वाहवाही भएको थियो । क्रिकेटमा रहेका समस्याबारे बहस पनि भयो तर ती सबै गफमै सीमित रहे, समाधानतर्फ कहिल्यै जोड दिइएन । मैदानबाहिर त नेपाली क्रिकेटको कुरा गर्न पनि नाक खुम्च्याउनुपर्ने अवस्था छ ।

अन्तर्राष्ट्रिय रूपमै सफलता पाउने र देशकै ‘ब्रान्डिङ’ गर्ने सम्भावना भए पनि क्रिकेटलाई ओझेलमा पारिएको छ । यी सबै समस्या नेपाल क्रिकेट संघ, उसको व्यवस्थापनदेखि राजनीतिक नेतृत्वसम्मकै अल्झनले थुप्रिएको हो । तर संघका नेतृत्वकर्तालाई मात्र दोष दिएर पन्छिने अवस्था भने छैन । मुख्य कमजोरी सरकारकै हो । नेपालले डिभिजन २ को फाइनल खेल्दै गर्दा प्रधानमन्त्री भएका केपी ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकमै सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय गराए । अघिल्लोपल्ट देशको प्रमुख कार्यकारी हुँदा उनले धेरै स्थानमा अत्याधुनिक रंगशाला बनाइदिने भाषण दिएका थिए । हुन त उनले प्रधानमन्त्री छँदा दुई वर्षअघि च्याम्पियन भएको फुटबल टिमलाई घोषणा गरेको पुरस्कार खेलाडीले पाएकै छैनन् । न त रंगशाला निर्माण नै द्रुत गतिमा बढेको छ ।

अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई दुई किसिमले चिनिएको छ, सगरमाथा र बुद्धको देश । नेपाललाई ब्रान्डिङ गर्ने अर्को माध्यम क्रिकेट बन्न सक्छ । लोकिप्रय खेलमा नेपालले विश्वस्तरमै आफ्नो दरिलो उपस्थिति देखाउने सम्भावना भएको खेल क्रिकेट नै हो । यहाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्यो भने भारत, पाकिस्तान, श्रीलंकालगायत ठूला टिमलाई ल्याएर खेलाउन सकिन्छ । त्यसबेला टिमसँगै उसका समर्थक पनि आउनेछन् । र उनीहरूले गर्ने खर्च नेपालको आम्दानी हुनेछ । वान डे मान्यता पाउनसके विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले नेपाललाई ठूलै बजेट पनि दिनेछ ।

भ्रष्टाचार, आन्तरिक खिचातानी, राष्ट्रिय खेलकुद परिषद्को हस्तक्षेपपछि क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको दुई वर्ष हुन लाग्यो । त्यसयता नेपाली टिमको व्यवस्थापन आईसीसी आफंैले गरिरहेको छ । संघको विवाद दलका उच्च नेतृत्वकै पहलबिना असम्भवजस्तै छ । विवादलाई एक ठाउँमा राखेर विकासको गति बढाउनु आवश्यक छ । संघीय नेपालका स्थानीय, प्रदेश र केन्द्र सरकारलाई क्रिकेटमा काम गर्ने अवसर छ । क्रिकेटमा लगानी अनुत्पादक पनि होइन ।

नेपाली क्रिकेटको मुख्य आवश्यकता भौतिक पूर्वाधार र घरेलु क्रिकेटको व्यवस्थित संरचना हो । त्यसप्रति सरकारले सधैं सकारात्मक कुरा गर्छ तर कामप्रति इच्छाशक्ति भने देखाउँदैनन् । कोसिस नगरेको भने होइन तर राजनीतिक दलको कार्यकर्ता वा नेताका रूपमा मात्र क्रिकेटमा लाग्न चाहे । दलीय नाता नहेरी काम गर्नेलाई जिम्मेवारी दिने हो भने नेपालले क्रिकेटमा तत्कालै छलाङ मार्न सक्छ ।

नेपालले चारवर्षे चक्रका लागि खेल्दै छ भन्ने पहिला नै थाहा थियो । तर त्यसका लागि सरकारी तहबाट तयारी गरिएन । टिम आईसीसीले हेरिरहेको छ, खेल्ने प्रतियोगिता पनि उसैले आयोजना गर्ने हो । हाम्रो सरकार आफंैले चाहिँ किन केही गर्दैन ? नेपाली टिमको सफलता र यहाँको विकासले फाइदा हाम्रै देशलाई गर्छ । त्यसमा सरकारले लगानी किन नगर्ने ? संघ गैरसरकारी संस्था हो । त्यसैले देशकै फाइदा हुने क्षेत्रमा लगानी गर्न सरकार आफैं तयार हुनुपर्छ र उसले निजी क्षेत्रलाई पनि लगानीमैत्री वातावरण बनाइदिनुपर्छ । तर यी दुवैमा सरकार उदासीन छ । आवश्यक लगानी समयमै गरिएन भने अहिलेको सफलता फगत इतिहासमै सीमित हुन सक्छ ।

ट्वीटर : @rghising

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?