१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृषि विश्वविद्यालयको सबलीकरण

आंगिक कलेजमा प्रमुख मात्र खटाएर पुग्दैन । कम्तीमा विषयगत एक–एक जना पूर्णकालीन शिक्षक पनि अनिवार्य चाहिन्छ ।
डा. हीराकाजी मानन्धर

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रामपुर, चितवनस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (आईएएएस) को बनिबनाउ भौतिक स्वरुप र संंरचनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) स्थापना भएको आगामी असारमा ८ वर्ष पूरा हुन्छ । यो अवधिमा एएफयुको धेरै समय त्रिविसंग भूमि लगायत भौतिक संरचना सम्बन्धी किचलोमै बित्यो ।

अहिले त्यो समस्या समाधान भइसकेको छ । आईएएएस अब केही समयमा रामपुरबाट हट्दैछ । एएफयुको स्थापनापश्चात पहिलो नेतृत्वको कार्यकाल सकिएर अहिले दोस्रो नेतृत्वले कार्यभार सम्हालिरहेको छ । यो अर्थमा एएफयु अहिले दोस्रो चरणमा छ । पहिलो चरणमा विश्वविद्यालयको जग बस्यो, पाठ्यक्रम बने र पठनपाठन सुरु भयो । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय विश्वविद्यालय र संस्थाहरूसँग समन्वय र सम्पर्क स्थापना भयो । यथेष्ट नभए पनि आवश्यक बजेट जोहो भयो । यही अवधिमा गुरुयोजनासहित एएफयुको आकर्षक लाग्ने केन्द्रीय प्रशासनिक भवनहरूको निर्माण कार्य लगभग पूरा भयो ।


अहिले दोस्रो चरणमा ती केन्द्रीय भवनहरूको निर्माणकार्य सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । पठनपाठन सुचारु छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य बढ्दो छ । मुख्य कुरा आंगिक कलेजहरू खोल्ने काम भइरहेको छ । दुई वर्षअघि कास्कीको पुरनचौरमा पहिलो आंगिक कलेज स्थापना भयो । अब सातवटै प्रदेशमा आंगिक कलेज खोल्ने क्रम छ । सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रिवास र कैलालीको टीकापुरका लागि प्रमुखहरू नियुक्ति भइसकेका छन् । प्रगति सन्तोषजनक देखिन्छ ।


के एएफयुले अहिलेसम्म गर्नसक्ने र गर्नुपर्ने यति नै हो त ? पक्कै होइन । यो लेखको उद्देश्य टड्कारा केही पक्षबारे विवेचना गर्नु हो । पहिलो, एएफयुमा शिक्षकको कमी छ । कुनै विभागमा करारका बाहेक शिक्षक छैनन् । एएफयु स्थापना हुँदा त्रिविबाट समायोजन भएर आएका शिक्षकहरू बाहेक नयाँ शिक्षकहरू खासै भर्ना भएका छैनन् । एएफयुको सेवा आयोगले उद्देश्य अनुरुप काम गर्न पाइरहेको छैन । गुणस्तरीय शिक्षकहरू तुरुन्त भर्ना हुनुपर्‍यो । अब पनि भागबन्डामै शिक्षक भर्ना गर्ने हो भने एएफयु त जसोतसो चलिरहला, तर मुलुकले अपेक्षा गरेको गुणस्तरीय जनशक्ति उत्पादनको लक्ष्य पूरा हुँदैन । म ४० वर्षअघि यही रामपुरमा बीएस्सी एजी पढ्न आउँदा सबै विभागमा पूर्णकालीन वरिष्ठ प्राध्यापक थिए । अहिले तिनका अनुहारमात्र सम्झिँदा पनि मलाई गौरवको अनुभूति हुन्छ । त्यतिले नपुगेर करारमा भारतबाट अब्बल शिक्षक ल्याइएका थिए । त्यसबेला सीमित संख्यामा बीएस्सी एजीसम्मको मात्र पढाइ हुन्थ्यो । अहिले मास्टर्स र पीएचडीको पनि पढाइ हुन्छ ।


भनिरहनुपर्दैन, प्रत्येक आंगिक कलेजमा प्रमुखमात्र खटाएर पुग्दैन । कम्तीमा विषयगत एक–एकजना पूर्णकालीन शिक्षक पनि अनिवार्य चाहिन्छ । शिक्षक भर्ना गर्नैपर्छ । अहिलेभैंm यताउताबाट शिक्षक ल्याएर/पठाएर एक सत्र (सेमेस्टर) को पढाइ दुई–तीन सातामा पढाएर भ्याउनु हुन्न । यसले विद्यार्थीको कक्षामा बस्ने बानीमा प्रतिकूल असर पर्छ । विद्यार्थीकालमा कक्षा कोठामा बिताउने समयले पनि अर्थ राख्छ । कक्षामै नबसी नोट र उपलब्ध सामग्री पढ्दा र यो–यो पढ्नु भनेर छोटो समयमा पढाउन सक्दा विद्यार्थी र शिक्षक दुवैलाई सजिलो त होला, तर पठनपाठनको मर्ममाथि न्याय हुन्न ।


दोस्रो, भौतिक सुविधा र प्रयोगशालाको व्यवस्था । ‘एएफयु’ नामले नया भए पनि यसले पुरानै बनिबनाउ भौतिक संरचना पाएको छ । एउटा दृष्टिले यो फाइदाजनक भए पनि अर्कोतिर पुरानै छँदैछ नि भन्ने मानसिकताले नयाँ बन्न सकिरहेको छैन, एकाध अपवाद बाहेक । नयाँ नबनेको मात्र होइन, पुरानालाई पनि खासै सुधार गर्ने चासो देखिएन । यसो हुनुमा शिक्षकहरूको अभाव नै प्रमुख कारण हो । शिक्षकै नभएपछि चासो राख्ने पनि भएन ।


तेस्रो, कृषि शिक्षा, अनुसन्धान र प्रसार तथा सेवा बीचको समन्वय । बिर्सन नहुने कुरा एउटा छ– एएफयुको पहिलो चरणको नेतृत्वले कृषि विकास मन्त्रालयसँग विशेष समन्वय राख्न गरेको प्रयास । यतिसम्म कि एएफयुको तालुकदार मन्त्रालय नै कृषि मन्त्रालय होस् भन्नेसम्मको पहल भयो । ऐन अनुसार एएफयुलाई शिक्षा, अनुसन्धान र प्रसारसम्मको प्रावधान भएकाले सम्बन्धित मन्त्रालयसँग कार्यगत सम्बन्ध राख्नु वाञ्छनीय पनि छ । यही वर्षदेखि एएफयुका स्नातक तहका अन्तिम सत्रका विद्यार्थीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका विभिन्न जोनमा ४ महिना फिल्डमै काम गर्ने ‘ली’ (लर्निङ एक्सपेरिन्सियल एक्पोजर) कार्यक्रममा सहभागी हुने मौका मिलेको छ । विभिन्न क्षेत्रमा एएफयुको आफ्नै कृषि विज्ञान केन्द्र खोल्ने क्रममा मकवानपुरको पालुङमा एउटा केन्द्र खोलिसकेको छ । यसले कृषि अनुसन्धान, प्रसार तथा सेवामा टेवा पुर्‍याउनेछ । तथापि कृषि सम्बन्धी राज्यको अरु निकायसँग यसको तारतम्य मिल्नुपर्छ । त्यही नहुँदा कृषि क्षेत्रको अपेक्षित विकास नभइरहेको सर्वविदितै छ ।


एएफयुले सातवटै प्रदेशमा आंगिक कलेज खोल्दैछन् । खोलिएका मध्ये पाख्रीबासको चाहिँ कृषि अनुसन्धान केन्द्रकै नजिक छ । यहाँ केन्द्रका वैज्ञानिक/विज्ञहरूका साथै भौतिक संरचना र प्रयोगशाला यथासम्भव प्रयोग गर्न सकिन्छ । यसले तत्कालका लागि शिक्षकको कमीलाई पनि सम्बोधन गर्छ । खोल्न बाँकी कलेजका लागि यथासम्भव विद्यमान कृषि केन्द्र नजिक ठाउँ छान्नुपर्छ । यसले कृषि शिक्षालाई अनुसन्धान र विकाससँग आबद्घ गर्न सहयोग मिल्छ । जहाँकहीँ जग्गा प्राप्ति हुने बित्तिकै कलेजका लागि उपयुक्त नहुन सक्छ । अरु पूर्वाधार धेरै चाहिन्छ । बरु त्यस्ता उपलब्ध ठाउँहरूमा कृषि विज्ञान केन्द्रहरू खोल्न सकिन्छ ।


६ महिनाअधि निजी कृषि कलेजहरूलाई सम्बन्धन दिने विषयमा विद्यार्थीले गरेको चर्को विरोध गरेका थिए । विश्वविद्यालयले सम्बन्धन दिन पाउँछ, दिन्छ । त्यो विश्वविद्यालयको अधिकार हो । तर सम्बन्धन दिने विश्वविद्यालय आफैले राम्ररी खुट्टा टेकिसकेको छ कि छैन ? एएफयुको उद्देश्यअनुरूप अहिलेसम्म कति प्रगति हासिल भयो ? यी कुराले पनि ठूलो माने राख्छ ।

जहासम्म शिक्षाको व्यापारीकरण भयो भन्ने सवाल छ, त्यो राज्यको नीति र सामथ्र्यमा भर पर्छ । अहिले संसारको जहाँकहीँ पनि निजी स्तरका शैक्षिक संस्था खुलेका छन् र खुल्दैछन् । त्यसलाई रोक्न सकिन्न । निजी भनेकै व्यापार हो । त्यसलाई रोक्ने हो भने सरकारले नै यथेष्ट मौका सिर्जना गर्न सक्नुपर्‍यो । निजी स्तरमा शिक्षालाई अत्यधिक बढावा दिने मुलुक अमेरिकामा पनि राज्यले धानेका सार्वजनिक विश्वविद्यालय नै पहिलो प्राथमिकतामा हुन्छन् र प्रत्येक राज्यमा राज्यको स्रोतबाट चल्ने विश्वविद्यालय छन् ।


विडम्बना र दु:खको कुरा के रह्यो भने एएफयुचाहिँ खुल्यो, तर त्रिभुवन विश्वविद्यालयसँगको किचलो अनि राजनीतिक दलहरूको दलदल र बाँडफाँडमै अल्झियो । अहिलेको असन्तुष्टि र विरोधचाहिँ एएफयु आफूले दिनुपर्ने सेवा (प्राध्यापन) नदिने अनि निजी कलेजलाई सम्बन्धन दिँदै विद्यार्थीलाई आर्थिक मारमा पार्न पाइन्न भन्नेमा हो जस्तो लाग्छ । यो कुरा जायज पनि छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?